`

यसवर्षको दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।
“नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन । तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ”, पोखरेलले भने, “सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ ? जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ ।”

सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो । सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो ।

दसैँको मुखमा सटही गरिएका नोट उक्त चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराई बताए ।

“विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रने तथा कुहिने अवस्था सृजना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हो”, उनले भने ।

नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ ।

साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताए ।

चाडबाडका समयमा मुख्यतयाः ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन रहेको पाइन्छ । पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबार अनुरुप माग हुने गरेको छ ।

देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटहरुलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ । मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो ।

आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोटमात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोट खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउन पनि नोट सफा राखिराख्नु आवश्यक छ ।

चलनचल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटमात्र चलनचल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलानमार्फत चलनचल्तीबाट हटाउँदै लैजाने काम राष्ट्र बैंकले गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थामा रहेका नोटलाई गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरे/नगरेकोबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएमलगायतका मेसिनहरूको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनुपर्ने व्यवस्था छ ।

बैंक नोटको अवस्थाअनुसार त्यसलाई छुट्याएको/नछुट्याएको विषयमा राष्ट्र बैंकले अनुगमन गर्ने गरेको सहप्रवक्ता पोखरेल बताउँछन् । एटिएमलायत मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा सेतो रङ र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङको स्लिप प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, कीराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्बिरअङ्कित नोटलाई पुनः निष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंकले नष्ट गर्ने गरेको छ ।

टीका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेको वा मैलिएका हातहरूले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउँदैनन् । नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङरू लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने/गराउनेउपर कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा परिच्छेद २२ मा मुद्रासम्बन्धी कसुरसम्बन्धी व्यवस्था गरिएको छ । दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यवस्था रहेको छ ।

यदि त्यस्तो कसुर गरे वा गराएमा गर्ने र गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । त्यस्तै, अपराध संहिताको दफा २६४ मा झुत्रो बैंक नोट दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था रहेको छ ।

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्नेजस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नु हुँदैन । यसमा आवश्यकतानुसार रबर, प्लास्टिक, पेपर बैण्ड प्रयोग गर्न सकिन्छ ।

बोइङको स्टारलाइनर सुनिता विलियम्सलाई नलिई आइएसएसबाट पृथ्वीमा फर्कने

बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग भएको छ । उक्त यान अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिई पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । 

यानले शनिबार (स्थानीय समय) मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने लक्ष्य बनाएको छ । 

नासाका अन्तरिक्ष यात्री बेरी ‘बुच’ विल्मोर र सुनिता ‘सुनी’ विलियम्स जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आफ्नो पहिलो चालक दलको उडानका लागि जुन ६ मा अन्तरिक्ष स्टेसनमा पुगेका थिए । दुवै अन्तरिक्ष यात्री एउटै उडानबाट पृथ्वीमा फर्कने अपेक्षा गरिएको थियो । 

स्टारलाइन परिक्रमा प्रयोगशालामा पुग्दा नासा र बोइङले हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टर्समा समस्याहरू भएको पहिचान गरे । त्यसैले अन्तरिक्ष यात्रीहरूको सुरक्षाका लागि नासाले अगस्ट २४ मा स्टारलाइनर चालक दलबिना स्टेसनबाट पृथ्वीमा फर्कने घोषणा गर्यो । 

बुच विल्मोर र सुनी विलियम्सले कार्गोका साथ स्टारलाइनर प्याकिङ र फिर्ताका लागि यसको क्याबिनलाई कनफिगर गर्ने काम पूरा गरे । नासाले दुवै अन्तरिक्ष यात्रुलाई चालक दलबिना प्रस्थानका लागि तयार गर्न बिहीबार दिउँसो अन्तिम पटक स्टारलाइनसको ह्याच बन्द गर्यो । 

विल्मोर र विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमै रहने र नासाको स्पेसएक्स क्रु–९ मिसनका लागि नियुक्त अन्य दुई चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत सन् २०२५ फेब्रुअरीमा घर फर्कनेछन् । 

स्पेसएक्स र बोइङ दुवै व्यावसायिक विक्रेताहरू हुन् । यिनीहरूलाई नासाले अमेरिकी–प्रक्षेपण अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउन जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद् गठन गर्न फ्रान्सका नयाँ प्रधानमन्त्रीसामु पहिलो चुनौती

फ्रान्सका नयाँ दक्षिणपन्थी प्रधानमन्त्री मिसेल बार्नियरले दुई महिनाको राजनीतिक गतिरोधपछि संसद्मा बहुमत जुटाएर सक्षम सरकार बनाउन शुक्रबार सबै पक्षसँग परामर्श सुरु गरेका छन् । 

हालै युरोपेली सङ्घ (इयु) को ब्रेक्सिट वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय पूर्वविदेशमन्त्री बार्नियर आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा वृद्ध प्रधानमन्त्री हुन् । 

आफूभन्दा आधा उमेरका मध्यमार्गी ३५ वर्षीय पूर्वप्रधानमन्त्री गेब्रियल अटालबाट पदभार ग्रहण गर्दै बार्नियरले ‘नम्रतापूर्वक’ आफ्नो नयाँ काम लिने वाचा गरे । अटाल मुलुकको पहिलो खुला समलैङ्गिक प्रधानमन्त्री थिए । 

नयाँ प्रधानमन्त्री बार्नियरले शिक्षा, सुरक्षा र ‘अध्यागमन नियन्त्रण’ आफ्नो प्राथमिकतामा रहेको भन्दै मुलुकको ‘वित्तीय ऋण’ मा सत्य बोल्न नडराउने बताए । यद्यपि उहाँले ‘परिवर्तन’ को पनि वाचा गरे । 

आफ्नो मध्यमार्गी गठबन्धनले आकस्मिक निर्वाचनमा संसदमा सापेक्ष बहुमत गुमाएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले हप्तौँको गतिरोधपछि बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । 

युरोपेली निर्वाचनहरूमा अति दक्षिणपन्थीहरूले आफ्नो गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले जुनमा संसद् भङ्ग गर्दै निर्वाचन गराउने जोखिम उठाएका थिए ।

निर्वाचनमा वामपन्थी गठबन्धन फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदायो तर ऊसँग बहुमतका लागि आवश्यक सिट थिएन । 

यसको सट्टा मरिन ले पेनको आप्रवासनविरोधी अति दक्षिणपन्थी नेसनल र्याली (आरएन) इयुको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र फ्रान्सको तल्लो सदनमा कुनै पनि विश्वासको प्रस्तावमा सबैभन्दा धेरै मतका साथ सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि तेस्रो स्थानमा म्याक्रोनको मध्यमार्गी समूह थियो । 

संसद्मा आरएनका सांसदहरूको नेतृत्व गर्ने पेनले नयाँ मन्त्रिपरिषद्मा आफ्नो पार्टी सहभागी नहुने बताए । यद्यपि बार्नियरलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे उनले संसद्सामु बार्नियरको पहिलो नीतिगत भाषणको प्रतीक्षा गर्ने बताए । 

लामो समयसम्म आफूलाई अति दक्षिणपन्थीविरुद्ध सुरक्षा कवचका रूपमा प्रस्तुत गरेर म्याक्रोनले ले पेनलाई वास्तविक रूपमा किङमेकर बनाएको आलोचकहरूले बताएका छन् । 

विशेषगरी वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयप्रति आपत्ति जनाएका छन् र सम्भवतः तल्लो सदनमा उनलाई हटाउन खोज्नेछन् । 

वामपन्थी प्रधानमन्त्री बन्न खोज्ने ३७ वर्षीया अर्थशास्त्री लुसी कास्टेट्सले भने “मलाई विश्वासघात भएको महसुस गरेका लाखौँ फ्रान्सेली मतदाताजस्तै म अत्यन्त क्रोधित छु ।” उनले बार्नियरविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने वाचा गर्दै भने, “राष्ट्रपतिले आफूलाई आरएनसँग जोड्दै हुनुहुन्छ ।”

नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल गर्न आफ्नो रिपब्लिकन (एलआर) पार्टीका नेताहरूसँग कुरा गर्नुअघि बार्नियरले शुक्रबार अटालसँग भेट्दैछन् । अटाल राष्ट्रपति म्याक्रोनको मध्यमार्गी टुगेदर फर द रिपब्लिक (इपिआर) समूहको नेता बनेका छन् ।

अगैया–नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज

नेपालगञ्ज । अगैया–नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो ।

“हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ”, राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने ।

अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उनले बताए । चौधरीले भने, “ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँच वटा बस सञ्चालनमा छन् ।”

राप्तीसोनारी गाउँपालिकाका–३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ । सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन् ।

वडाध्यक्ष चौधरीले सडकका कारण विकासको मूलप्रवाहीकरण भएकामा खुसी व्यक्त गर्दै वर्षाको समयमा हुने झन्झटको अन्त्य भएको बताए । हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ ।

स्थानीय दिनेश रतगैयाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताए । उनका अनुसार नेपालगञ्ज–अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएको छ । एउटा नालामा भने पुल निर्माण हुन बाँकी छ ।

राप्ती नदीमा निर्माणाधीन पुलले अगैया–नेपालगञ्जबाहेक नरैनापुरलाई समेत जोडेको छ । विसं २०७८ मा सुरु भएको उक्त सडक विसं २०८० मा सम्पन्न भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

दूरसंचार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । प्राधिकरणले औपचारिकरुपमा प्रतिबन्ध हटाउन आग्रह गरेपछि शुक्रबारदेखि सेवा प्रदायकले टिकटकमाथिको प्रतिबन्ध हटाएका छन् ।

औपचारिकरूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् ।

स्टाफ कलेज कोर्स सुरु गर्न नेपाल प्रहरीले गर्यो त्रिविसँग सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच नेपाल प्रहरीमा स्नातकोत्तर तहको मास्टर्स इन पुलिस साइन्स(एमपीएस) संचालनसम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा एमपीएस कार्यक्रम संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सझदारी पत्रमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै नेपाल प्रहरीमा अब औपचारिक रुपमा स्टाफ कलेज कोर्स सुरुवात भएको छ । उच्च प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रुपमा एमपीएस कार्यक्रम सुरु गरिएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । अब नेपाल प्रहरी एकेडेमीले वार्षिक क्यालेन्डर बनाएर स्टाफ कलेज अघि बढाउनेछ ।

प्रहरी निरीक्षकमा भर्ना भएको सात वर्ष पूरा भएका र जुनियर प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले स्टाफ कलेजको रुपमा एमपीएस कोर्स पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कोर्स पूरा नगर्नेले एसएसपी भन्दा माथि जान पाउने छैनन् । यसअघि स्टाफ कलेज कोर्स नेपाली सेनामा मात्रै थियो ।

म्यान्मामा सरकारी  सेनाको हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु

म्यान्माको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् । 

“सेनाले शुक्रबार स्थानीय समयानुसार करिब राति एक बजे नम्हकम सहरका दुईवटा क्षेत्रमा बमबारी गर्यो”, ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) का ल्वे याय ऊले भने ।

उनका अनुसार आक्रमणमा ११ जनाको मृत्यु र अन्य ११ जना घाइते भएका छन् । आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ । 

नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गत वर्ष धेरै साताको लडाइँपछि टिएनएलएका लडाकूहरूले उक्त सहरलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो । 

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइेत एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो । 

एउटा भिडियोमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ । एएफपी संवाददाताहरूले उक्त भिडियो नम्हकम साइटमा जियोलोकेसन गर्दै उक्त लोकेसेन कहिल्यै अनलाइन देखानपरेको बताएका छन् ।

सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएकोबारे अनुगमन गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसकुकमार्फत प्रधानमन्त्रीले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँ अनुदान दिन सरकारले ६० करोड बजेट अनुदान दिइरहेको बताए ।

‘दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच सयसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैरआवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । यसका लागि ५० करोड रकम विनियोजन भएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

यसैगरी उनले शैक्षिक दृष्टिले पछि परेका समुदाय, अतिविकट हिमाली जिल्लाका विद्यार्थीलगायत सातवटा लक्षित समूूहका ११ हजार चार सय विद्यार्थीका लागि मासिक पाँच हजार रुपैयाँका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको समेत बताए ।

‘उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ’, प्रधानमन्त्री ओलीले भने ।

विष्णु माझीले आखिर किन आफूलाई लुकाइरहेकी छन् ?

-शिव लम्साल

नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो । महिलाले आफ्ना खुसी र बेदना गीतमार्फत अभिव्यक्त गर्न किञ्चित नहिचकिचाउने अवसर भएकाले तीजको मुख्य विशेषता नाचगान नै हो, जसको आफ्नै मौलिक भाका र स्वाद छ।

अचेल गीत/सङ्गीत रेकर्डिङ सहज र जो पनि कलाकार बन्न सक्ने सुविधाले हुनसक्छ, तीज आउनु एक महिनाअघिदेखि नै तीज गीत भन्दै बजारमा अनेक भाव भङ्गीमाका भिडियोहरू सार्वजनिक हुने गरेका छन् । ती गीतहरू कतिपय शालिन र मर्मस्पर्शी पनि हुने गरेका छन्, कतिपय छाडा।

विडम्बना, तीजको मौलिक भाका, भाव र मर्मको उपहास गर्दै यस वर्ष पनि केही अश्लिल भाव झल्काउने उच्छृङ्खल खालका गीतहरू बजारमा आए । सामाजिक सञ्जालदेखि मूलधारका मिडियासम्ममा यसको चर्को आलोचना भयो । तीज गीतमा छाएको विकृतिप्रति चिन्ता व्यक्त भइरहेकै बेला चर्चित गायिका विष्णु माझीले तीजमा माइत जान असमर्थ चेलीको मर्म पोख्दै ‘आइन आमा ओई, यो तीजमा’ बोलको गीत सार्वजनिक गरिन्।


गायक/सङ्गीतकार सुन्दरमणि अधिकारीको शब्द र सङ्गीत अनि माझीको खिरिलो स्वरले सजिएको यो गीतको भिडियो युटयुबमा भाइरल भयो, जसले यी पङ्क्ति लेख्दासम्म करोड ‘भ्यू’ नाघिसकेको छ। यो गीतलाई धेरैले मन पराए।

कारुणिक भावको यस गीतमा चेलीहरू नाचिरहेका छन् । टिकटकमा पनि यही गीतको बोलबाला छ । विगतमा झैं यस गीतले पनि लोकसङ्गीतमा गायिका माझीको बर्चस्वलाई कायमै राखेको छ /।

एउटा अनौठो परिदृश्य केही वर्षदेखि पुनरावृत्ति भइरहेको हामी पाउँछौंँ । हरेक वर्ष तीजमा गायिका माझीको गीत सार्वजनिक हुने गर्छ । गीत भाइरल हुन्छ, स्रोतामाझ गायिकाको ‘क्रेज’ झन बढ्छ । यो ख्यातिसँगै बजारमा विभिन्न प्रश्नहरूका साथ एउटा मुद्दा चम्किन्छ–गायिका विष्णु माझी किन दर्शक/स्रोतामाझ देखा पर्दिनन् ? उनी किन गुमनाम जीवन बिताइरहेकी छिन् ? कतै कसैले उनलाई बन्धक बनाइरहेको पो हो कि ? आखिर उनी किन आफूलाई लुकाइरहेकी छिन्?

यसपालि त यो मुद्दा सङ्घीय संसदमै उठ्यो । गत १८ भदौमा प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गर्नुभयोे । सांसद भण्डारीले भन्नुभयोे, ‘म देख्छु, विष्णु माझीलाई, उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस्।’

सांसद भण्डारीले राखेको माग खासमा गायिका माझीलाई मन पराउने लाखौं दर्शक÷स्रोताको हो । ‘शीतल दिने पिपल समी छ’ देखि ‘ड्राइभर दाइ मनपर्‍याे मलाइ’, ‘लालुपाते नुघ्यो भूईतिर’, ‘नजाउ है सानु पँधेरीमा’, ‘सालको पातको टपरी’ हुँदै ‘कहाँ गयो जुरेली’, ‘चरी जेलैमा’ र अहिले ‘आइन आमा यो तीजैमा’सम्म एकभन्दा एक हिट गीत गाएर तहल्का मच्चाउने गायिकाको हाउभाउ र मुहार हेर्न अनि उनले प्रत्यक्ष गाएको सुन्न जो कोही लालायित छन्।

आश्चर्य, गायिका माझी न त कुनै साङ्गीतिक कार्यक्रम या महोत्सवहरूमा देखा पर्छिन्, न त भिडियोमै उनलाई देख्न सकिन्छ । विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता शून्य छ । स्टुडियोमा गीत रेकर्ड गर्न जाँदा पनि उनी आँखाबाहेक सम्पूर्ण मुहार छोपेरै जान्छिन् । अहिलेसम्म कुनै मिडियामा उनको एउटा पनि अन्तर्वार्ता पढन, हेर्न र सुन्न पाइएको छैन । अहो, कुन हदसम्मको गुपचुप जिन्दगी ? आफैँबाट आफैँमाथि छोपिएको यो कस्तो पर्दा ? कहाँसम्म भने अहिले इन्टरनेटमा सर्च गर्दा कालो र रातो मुगा मिश्रित माला पहिरिएको मुहारको उही पुरानो एउटा तस्बिर भेटिन्छ । भिडियोका हकमा पोखरामा धेरै वर्ष पहिले आयोजित दोहोरी कार्यक्रमा माझीले गाउँदै गर्दाको सानो क्लीप फेला पर्छ। यसबाहेक उनका तस्वीर, भिडियो केही भेटिदैनन्।


स्वरमार्फत दर्शकको कानमा जति पनि गुञ्जने तर प्रत्यक्ष प्रकट भएर दर्शक समक्ष साक्षात्कार नगर्ने । गायिका माझीको यो कस्तो शैली हो ? भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । उनी ‘मस्ट वान्टेड’ त हुन् तर आपराधिक हिसाबले हैन, लोकप्रियताका हिसाबले । देश–विदेशमा उनको व्यापक माग छ । आखिर उनले लुकी–लुकी हिंडनुपर्ने किन ? भन्ने यक्ष प्रश्न छ।

गायिका माझीको गोप्य जीवनबारे बिगतमा पनि अनेक प्रश्नहरू नउठेका हैनन् । चापाकोट, स्याङ्जामा जन्मिएकी माझी नेपालमै सबैभन्दा बढी पारिश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन् । २०६८ मङ्सिर २९ गते पोखराको राम मन्दिरमा गायक तथा सङ्गीतकार सुन्दरमणि अधिकारीसँग गायिका माझीको विवाह भएको थियो । उनी अहिले दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन्।

यद्यपि, पति सुन्दरमणिले नै गायिका माझीलाई सार्जजनिक हुन नदिएका हुन् भन्ने हल्ला पनि चल्यो । सामाजिक सञ्जालमा गायक तथा सङ्गीतकार सुन्दरमणिमाथि विभिन्न टीकाटिप्पणी पनि हुँदै आएका छन् । यसबारेमा अर्का चर्चित गायक भगवान भण्डारीले केही वर्ष पहिले आफ्नो फेसबुकमा स्पष्ट पारेका थिए, ‘हामी एउटै गाउँंका हाैँ। गाउँमा रोधी बस्दा गायिका माझी पछाडि बसेर सलले मुख छोपेर गीत गाउँथिन्।

खुलेर कसैसँग बोल्दिनथिन्, निकै लाज मान्थिन् । कतै कार्यक्रममा बोलाए पनि जान्नथिन् । गाउँमा हुने प्रतियोगिताहरूमा पनि भाग लिएको देख्दिनथें। मेरो विचारमा अहिले उनी जे जसरी छिन्, आफ्नै स्वभाव र इच्छाको कारण हो जस्तो लाग्छ।’

गायक भण्डारीले यसो भने पनि स्रोतारदर्शकको शङ्का मेटिएन । गायक तथा सङ्गीतकार सुन्दरमणिले नै कुनै करकाप या परिबन्दमा पारेर गायिका माझीलाई घरभित्रै खुम्च्याएको हुनसक्ने आशङ्कायुक्त लेख र समाचार आए।

यसै क्रममा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग र तात्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्म गायिका माझी सार्वजनिक हुनुपर्ने विषय प्रस्तुत भयो। २०७५ सालमा यो विषय अलि बढी नै चर्कियो । गायिका माझीबारे सर्वत्र जिज्ञासा बढेपछि स्याङ्जाका तात्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले सङ्गीतकार सुन्दरमणिलाई फोन गरे । एसपी लम्सालले गायिका विष्णुलाई जिप्रकामा ल्याउन आग्रह गर्दै ‘नल्याए प्रहरी परिचालन गरेर भए पनि झिकाउने’ सन्देश पनि दिए । त्यसपछि २०७५ पुस २९ मा सुन्दरमणि र गायिका माझी जिप्रकामा हाजिर भएका थिए।

स्याङ्जा जिप्रकामा गायिका माझी र सुन्दरमणिका साथमा विष्णुका दाइ बाबुराम, आमा धर्मकुमारी तथा पिता ताराबहादुर माझी पनि उपस्थित थिए । आखिर जिप्रकामा परिवारकै रोहबरमा भएको छलफलमा सार्वजनिक नहुनुको कारणबारे भनेका थिए, ‘हाम्रो बेग्लै लक्ष्य छ, त्यसैले बाहिर देखा नपरेका हौंँ।’

आश्चर्य त के भने सो छलफलमा विष्णुले पनि आफूलाई बाहिरी दुनियाबारे केही जानकारी नभएकाले पतिको सहयोग लिएको बताउँदै आफू कुनै करकापमा नपरेको स्पष्ट पारेकी थिइन् । पक्कै पनि हरेक मानिसलाई निजी जीवन आफ्नै हिसाबले बिताउन पाउने अधिकार छ । तर, लाखौं दर्शक/स्रोताको संवेदनामा खेलिसकेकी गायिका माझीलाई अब त्यसो भन्ने छुट छैन । या त उनले आफू पर्दाभित्रै रहनुको खास कारण देश र जनतालाई बताउनुपर्छ या दर्शक/स्रोतासामु उनी प्रकट हुनुपर्छ । आफ्नो निजी जीवनको अधिकारको जिकिर गरिरहँदा गायिका माझीले ती तमाम दर्शक/स्रोताको अधिकारको पनि ख्याल गर्नुपर्छ, जसको अपार मायाकै कारण उनी धेरै पारिश्रमिक लिने गायिकामा दरिएकी हुन्।

आफूलाई सार्वजनिक नगरी केही समय भूमिगत हुन सकिन्छ । विश्वमा सयौं मानिससँग हरेक क्षण सम्पर्कमा रहनुपर्ने व्यक्ति पनि केही साता गुमनाम जीवन बिताउन कतै एकान्तमा जाने गर्छन् । विपस्यना ध्यान साधनामा जानेहरू १० दिनसम्म गुमनाम हुन्छन् ।

तर, भूमिगत हुनु ‘स्टाइल’, ‘सनक’ या ‘स्टन्ट’को विषय भने हुनु हुँदैन । अहिलेको खुला समाजमा एकालकाँटे भएर घरभित्रै गुम्सिएर रहनु भनेको अलि नपच्ने शैली हो कि ? हरेक वर्ष आफू भूमिगत हुनुको चर्चा चलिरहोस्, मानिसहरू कुहिराका काग बनिरहून्, जिज्ञासा जीवन्त रहोस् र यही नियोजित रहस्यको लाभ लिएर सदा प्रख्यात भइरहुँ भन्ने गायिका माझीको सोच हो भने यस्तो सोच तत्काल त्यागिदिए हुन्छ । बरु, अब यही कौतुहललाई उनले भजाउन सक्छिन् ।

स्वरको जादुबाट धेरै लाभ लिइसकेकी गायिका माझीले अब आफ्नो गायन जीवनको दोस्रो अध्याय प्रारम्भ गर्नुपर्छ । उनी अब विभिन्न महोत्सव, सांस्कृतिक कार्यक्रमहरूमा छाउनुपर्छ । टक–शोहरूमा पनि देखा पर्नुपर्छ । देश–विदेशको यात्रा गर्नुपर्छ।

आफूलाई आजसम्म माया गर्दै आएका दर्शक/स्रोतालाई नजिकबाट स्पर्श गर्नुपर्छ, माया बाँड्नुपर्छ र स्रोतासँगै झुमेर, रोएर, हाँसेर, नाचेर गाउनुपर्छ । अहिले लोकसङ्गीत मन पराउने मात्र हैन, सिङ्गो नेपाली जनपङ्क्ति गायिका माझीलाई भूमिगत जीवन त्यागेर खुला भएको हेर्न चाहन्छ । के दर्शक/स्रोताको यो मागलाई सधैँ उपेक्षा गरिरहने? संसद्मै गुञ्जिसकेको यो मागप्रति गायिकाले अब गम्भीर भएर सोच्नैपर्छ । तीजको शुभकामनासहित गायिका माझीसमक्ष पङ्क्तिकारको पनि आग्रह छ– अब तपाइँ सार्वजनिक हुनैपर्छ। 
(लेखक नेपाल प्रेस युनियनका अध्यक्ष हुन्)

गोरखामा घाइते अवस्थामा भेटिएको चितुवाको मृत्यु

गोरखा । गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवाको मृत्यु भएको छ । बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृत फेलापरेको हो ।

मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए ।

‘स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन’, उनले भने, ‘बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला पर्यो ।’

चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उनको भनाइ छ । ‘शरीरमा घाउचोट केही छैन’, उनले भने, ‘चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ ।’

वन डिभिजन कार्यालय गोरखासँग चितुवा उद्धारका लागि डार्ट गर्ने जनशक्ति नहुँदा उद्धारमा ढिलाइ भएको प्रमुख शालिण्यको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा मृत चितुवाको परीक्षण गरी डिभिजन वन कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए ।

केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

नैरोबी । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ ।

प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेका थिए ।
“घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ”, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भने । प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । उनका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । “घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ”, उनले भने ।

आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।  

गैँडाको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौं । बर्दियामा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना पथ प्रदर्शक (नेचर गाइड)को मृत्यु भएको हो ।

त्यस्तै गैंडाको आक्रमणबाट एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । उनीहरु बिहान जंगलमा गएका बेला गैंडाले आक्रमण गरेको थियो ।

नेपाली सेनाका अनुसार गैंडाको आक्रमणबाट नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको हो । घाइतेहरुको भने भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।

खुलमटारमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरेका हुन् । उनले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गरेका थिए ।

त्यसक्रममा अध्यक्ष दाहालले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए ।

“ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ”, उनले भने, “खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित हो ।”

खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ । अहिले पलेशाले पदक जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुुसी भएका छन् ।”

पलेशाको जित राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्द्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उनले आगामी ओलम्पिकमा पनि थप सफलताको शुभकामना दिए । अध्यक्ष दाहालले यस जितका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो सङ्घ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकामा धन्यवाद र बधाई दिए ।

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सय रुपैयाँले वृद्धि

काठमाडौँ ।  शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दू नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला  एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । विहीबार प्रतितोला  एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा  एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ । 

जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा

जुम्ला ।  जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ  स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६  जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ । 

स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय  जना छन् । उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नौ सय ५० र माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन् ।

बालविकासतर्फ सामान्य साक्षरको सङ्ख्या चार सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेका हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ ।

हिमाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त भएको छ । शिक्षा क्षेत्रलाई अझै विशेष प्राथमिकतामा राखेर काम गर्ने अतिआवश्यक रहेको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले जानकारी दिइन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । हिमाले हरेक वर्ष ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । 

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा तीनजनाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–५ को बान्द्रे खोलामा गएराति आएको बाढीले स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी, २० वर्षीय कमल सापकोटाको मृत्यु भएको हो ।

दुई जनाको शव राति नै भेटिएको थियो भने कमल सापकोटाको शव भने आज बिहान फेला परेको हो । प्रहरीका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

को हो सडक संघर्षको मुख्यबाधक पक्ष ?

ऋषि कट्टेल ।
नेपाल कम्युनिष्ट पार्टीले जनविरोधी, भ्रष्ट सत्ताविरुद्ध सडक संघर्षको मूल नारा बनाएर सडक संघर्ष अगाडी बढाउन सुरु गरेको छ । प्रचारात्मक रुपमा सुरु भएको यो कार्यक्रम क्रमशः विस्तार हुन लागिरहेछ । काठमाडौं उपत्यकामा दिनहुँजसो कोण सभाहरु भइरहेछन् । सायद यो विस्तारै बढ्दैजाला पनि । अरु विभिन्न आन्दोलनहरु पनि सडकमा छन् तिनले पनि गति लेलान् ।

सडक संघर्षमा वस्तुगत अवस्था उपयुक्त हुँदाहुँदै पनि क्रान्तिकारी शक्तिहरुको आत्मगत पक्ष मुख्य कारण रहेपनि अरु केही सहायक कारणहरुले पनि व्यवधान खडा गरिरहेको छ । पहिलो कारण प्रतिगमन नेपाली जनता संघर्षमार्फत उन्नत जनताको गणतन्त्र स्थापित गर्न चाहन्छन् । क्रान्तिकारी शक्तिहरुको आत्मगत अवस्था सवल नभैसकेको अवस्थामा प्रतिगमनको खतरा बढी हुन्छ । अहिले केही त्यस्ता संकेतहरु देखिँदैछ । घोषित रुपमै प्रतिगामी नारा बोकेको राप्रपा मात्र हैन बालेनहरुजस्ताको अराजनीतिक जनप्रियताको आडमा र यथास्थितिवादीका अकर्मण्यताको असन्तुष्टिमा पनि यो प्रतिगमन तन्की रहेकोछ । यो सडक संघर्षको मुख्यबाधक पक्ष बनेको छ ।

अहिले सडक संघर्षले प्रतिगमन समाप्त गर्ने र यथास्थितिवादलाई पराजित गर्ने दोहोरो भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । यही जटिलताले आज सडक संघर्षले गति लिन सकिरहेको छैन ।

झरीमा पनि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो(फोटोफिचर)

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा व्रतालुहरू पानीको परवाह नगरी नाचगान गर्दै रमाइलो गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्नेहरुको घुइँचो देखिन्छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् ।

यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव–पार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास छ ।

यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा गएर पूजा गरिरहेका छन् । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर सुखदुःख भावका गीत र भजन गाउँदै नाचगान गर्दछन् ।

‘राजामती’ नेपाली भर्सनमा

काठमाडौं । नेपाल भाषाको लोकप्रिय गीत ‘राजामती’ लाई नेपाली भर्सनमा आएको छ । भारतको कलकत्तामा एकसय १५ वर्ष अघि रेकर्ड गरिएको गीत नेपालीभाषामा पनि पुनः लेखन, संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको हो ।

बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् । नेपालको पहिलो गायक सेतुराम प्रधानले वि.स. १९६५ ताका भारतको कलकत्ता गएर नेपाली र नेपालभाषाका राजमतीसहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएको बताइन्छ ।

यही गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो । सागर खनाल र सोनी लगुन लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेकी हुन् । गीतको निर्मातामा रश्मी प्याकुरेल छिन् ।

श्यामबहादुर पाण्डेलाई मरणोपरान्त ‘टुरिजम लाइफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौँ ।  स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपी प्रसाई ‘टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४’ प्रदान गरिएको छ ।

पिपी प्रसाई फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाण्डेका छोरा प्रवीण पाण्डेले प्रदान गरिन् ।

होटल सङ्घ नेपालका पूर्वअध्यक्ष तथा साङ्ग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए ।

त्यसैगरी, फाउन्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ विभिन्न शिक्षकलाई प्रदान गरिएको छ ।

जसमा कोशी प्रदेशबाट, श्री फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट श्री जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

साथै गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट श्री कालिका मानवज्ञान मावि, बुटवलका युवराज कँडेल, कर्णाली प्रदेशबाट श्री अमरज्योति मावि, सुर्खेतका अशोककुमार राई र सुदूरपश्चिम प्रदेशबाट श्री सरस्वती माविकी चन्द्रकला दवाडी प्रदान गरिएको छ ।

उनीहरुलाई जनही  ५० हजारसहित सम्मान गरिएको हो । सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

यसैगरी, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत  एक लाख राशिको पुरस्कार श्री राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरुको बुझाइ, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि तथा लब्धप्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरिएको फाउन्डेसनले जनाएको छ ।

विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।

यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने फाउन्डेसनको योजना छ । फाउन्डेसनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ ।

शिक्षासम्बन्धी पुरस्कारको निर्णायकमा धनञ्जय अधिकारी, टीका भट्टराई, रोशना सुब्बा र रिजुता महर्जन थिए । लाइफटाइम अचिभमेन्ट अवार्डको छनोट पर्यटनसम्बन्धी संस्थामा आबद्ध व्यक्तिको समूहले गरेको सञ्चारकर्मी एवं फाउन्डेसनका सचिव दिलभूषण पाठकले बताए ।

नटराज टुर एन्ड ट्राभल्सका संस्थापक प्रसाईको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षाको विकासको सपनालाई आत्मसात् गर्दै २०६७ साल फागुन ६ गते फाउन्डेसनको गठन गरिएको हो । प्रसाईको विसं २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।

किसानको दूधको बक्यौता तिर्न डीडीसीलाई सरकारले ६० करोड ऋण दिने

काठमाडौँ । सरकारले किसानको दूधको बक्यौता तिर्न दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्न संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो ।

कृषि मन्त्रालयको प्रस्तावमा संस्थानलाई ६० करोड ऋण दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा, परराष्ट्र सचिव सेवा लम्साल पनि महासभामा भाग लिन अमेरिका जानेछन् ।

राष्ट्रसंघको ७९औं महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्युयोर्कमा हुँदैछ। २८ सेप्टेम्बरसम्म चल्ने महासभामा विश्वभरिका राष्ट्र प्रमुखहरूको सहभागिता रहने बताइएको छ ।

त्यस्तै बैठकले पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ । बैठकले पलेशालाई दिइने ६५ लाख पुरस्कारमा कर छुट गर्ने निर्णय गरेको हो ।

सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा कास्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्ने खेलाडी पलेशालाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

घरेलु कामदार बालिका बलात्कारको आरोपमा काठमाडौंमा एकजना पक्राउ

काठमाडौँ । बालिका बलात्कारको आरोपमा काठमाडौंको कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्पीय पुरुष पक्राउ परेका छन् । बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोप लागेका पुरुषलाई पक्राउ गरिएको हो ।

६ बर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।

बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन् ।

यसरी प्राप्त गरिएको जानकारी र संयुृक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको देखिन्छ । प्रमुखको सचिवालय सदस्य धिरज जोशी भन्छन्, ‘यो प्रतिवेदन आफैँमा जाहेरी हो । हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ । अब कारवाही प्रक्रिया अगाडि बढ्छ ।’

आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ । अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकिएको छ ।

जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले जानकारी दिए ।

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशी यसअघि एक कार्यकाल बोर्डको सीईओ बनेका थिए । जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारीसमेत हुन् । सीईओका लागि पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको थियो ।

समितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व सीईओ धनञ्जय रेग्मी, जोशी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो ।

दर्ता नभएका पोषण परिपुरकको प्रभावकारी अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दर्ता नभएका पोषण परिपुरकहरुको जथाभावी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन, बिक्री वितरण लगायतलाई नियमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

बैठकमा स्वास्थ्य र जनसङ्ख्या व्यवस्थापनसम्बन्धी विद्यमान अवस्था र मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल भएको थियो ।

समितिले स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने विषयमा पनि निर्देशन दिएको छ । समितिले स्वास्थ्य बीमा अन्तर्गत समावेश तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाट सहजै प्राप्तिको सुनिश्चित गर्न निर्देशन दिएको हो ।

साथै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकले सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा विगतमा दिएका निर्देशनको कार्यान्वयनसम्बन्धी प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउनसमेत समितिले निर्देशन दिएको छ ।

उपत्यकाका नदी किनाराका जग्गाको समस्या समाधानका लागि एमालेले माग्यो प्रचण्डको सहयोग

काठमाडौं । नेकपा एमालेका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उपत्यकामा नदी किनाराका जग्गाबारे सर्वोच्च अदालतले दिएको आदेश र आदेश कार्यान्वयन गर्ने काठमाडौं महानगरको परिपत्रबारे जानकारी गराएको छ ।

नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको नेतृत्वमा नेकपा एमाले बागमतीको टोलीले प्रचण्डलाई भेटेको हो । खुमलटार पुगेर एमाले नेताहरुले सर्वोच्चको फैसला र महानगरको परिपत्र रोक्नका लागि प्रचण्डलाई आग्रह गरेका हुन् ।

भेटमा उनीहरुले नदी किनाराका जग्गामा देखिएको समस्या समधानमा पहलका लागि आग्रह गरेका थिए । भेटमा प्रचण्डले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्यासम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने जवाफ एमाले नेताहरूलाई दिएका छन् ।

त्यस्तै प्रचण्डले अदालतको निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठीकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय हुने जानकारी दिएको एमाले नेता भट्टराईले जानकारी दिएका छन् ।

नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको एमाले नेताहरूले बताएका थिए ।

अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०–२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ थियो ।

केहीदिन अघि एमाले नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत यसबारे जानकारी गराएका थिए । देउवाले पनि यो विषयमा भ्याकेटमा जान सुझाव दिएका थिए ।

अभिभावकको अनुमतिमा मात्रै अध्ययनका लागि विद्यार्थीलाई रुस जान दिइने 

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छिन् ।

बिहीबार मन्त्रालयमा रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँगको छलफलमा उनले अभिभावकले आफ्नो छोराछोरी जान मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र पठाउन सकिने बताएकी हुन् ।

‘अहिले रुस र युक्रेनको युद्ध चलिरहेको छ । यस्तो अवस्थामा अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउनुहुन्छ भने हामी प्रतिबद्धता जनाएर पठाउन तयार छौँ,’ उनले भनिन्, ‘दुई देशबीच युद्ध चलिरहेको बेला हामीले अध्ययन अनुमतिपत्र दिन सकेका थिएनौँ । परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा पठाउछौँ ।’

मन्त्रालयले ती विद्यार्थी पढ्न जाने ठाउँको स्थितिबारे परराष्ट्र मन्त्रायलसँग बुझेर मात्र अध्ययन अनुमति पत्र दिन लागेको हो । मन्त्री भट्टराईले विदेशभन्दा नेपालकै विश्वविद्यालयको शिक्षा सुधार गर्न आफू लागि परेको बताइन् ।

उनले १३ वटै विश्वविद्यालयको एउटै शैक्षिक पात्रो बनाएर समयमा भर्ना, पढाइ र परीक्षाफल प्रकाशित गर्न थालेको जानकारी दिइन् ।

शिक्षा सचिव डा. दीपक काफ्लेले रुसको १२ ठाउँमा ४० जना विद्यार्थी चिकित्सा शास्त्र, इञ्जिनियरिङलगायत विभिन्न विषयमा छात्रवृत्तिमा अध्ययन गर्न जान लागेको जानकारी दिए ।

उनले रुसस्थित नेपाली राजदूतावासले पनि ती विद्यार्थी पढ्न जाने ठाउँ सुरक्षित रहेकाले मन्त्रालयले अध्ययन अनुमति पत्र दिने प्रक्रिया अघि बढाउन सकिने जानकारी दिएको बताए ।

छलफलमा अभिभावक गंगा भण्डारीले रुसमा छोरीले चिकित्सा शास्त्र स्नातक तह (एमबीबीएस)मा छात्रवृत्तिमा नाम निकालेको हुनाले मन्त्रालयले अध्ययन अनुमतिपत्र दिनुपर्ने बताए । उनले रुस युक्रेनको युद्धले छोरी पढ्ने विश्वविद्यालय भएको ठाउँमा प्रभाव नपर्ने भएकाले अध्ययन अनुमतिपत्र दिन आग्रह गरे ।

उनकी छोरी संस्कृति भण्डारी मस्कोस्थित पिपुल्स फ्रेन्डसिप विश्वविद्यालयमा एमबीबीएसका लागि जान लागेकी हुन् । ‘उक्त विश्वविद्यालयमा चिनेजानेका धेरै दाइदिदीहरू हुनुहुन्छ । उहाँहरूले मस्कोमा युद्धको कुनै डर छैन, आउनुहोस् भन्नुभएको छ,’ संस्कृति भण्डारीले भनिन्, ‘त्यसैले मन्त्रालयले हामीलाई चाँडोभन्दा चाँडो अध्ययन अनुमतिपत्र दिएर छात्रवृत्तिमा अध्ययन गर्न स्वीकृत प्रदान गरोस् ।’

रसिया सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा परराष्ट्र मन्त्रालयले छनोट गरेपछि ती ४० जना विद्यार्थी रुस जान लागेका हुन । ती विद्यार्थी दुई वर्षदेखि छ वर्षसम्म चिकित्सा, इञ्जिनियरिङलगायतका विषय अध्ययन गर्न जान लागेका हुन् ।

अर्का अभिभावक रामनिवास पुरीले छोराले छात्रवृत्तिमा नाम निकालेको हुनाले मन्त्रालयले अध्ययन अनुमतिपत्र उपलब्ध गराएर रुस जाने वातावरण निर्माण गर्न अनुरोध गरे ।

उनले युद्धको नाममा छोराछोरीलाई अध्ययन अनुमतिपत्र रोक्न नहुने बताए । उनका छोरा अरुणकुमार पुरी पनि एमबीबीएस अध्ययनका लागि रुस सरकारद्वारा प्रदान गरिने छात्रवृत्तिमा जाने तयारीमा छन् ।

छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकले मन्त्रालयले अध्ययन अनुमतिपत्र दिनुपर्ने बताएका छन् । रुसस्थित नेपाली राजदूतावासले पनि ती विद्यार्थी पढ्ने ठाउँ सुरक्षित रहेकाले अध्ययन अनुमतिपत्र दिन आग्रह गरेको छ ।

बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्तद्वारा राजीनामा

ढाका । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनःनिर्वाचित भएकी थिइन् । हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि देश छाडेर भागेकी थिइन् ।

काजी हबिबुल अवाल र मुलुकका चार अन्य आयुक्तले पूर्वप्रधानमन्त्री हसिनाको निष्कासनलाई त्यसो गर्नुको कारण औँल्याएर राजीनामा दिए । 

उनीहरू केन्द्रीय बैंकका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूसहित हसिनाको पलायनपछि आफ्नो पद छाड्ने हसिनाद्वारा नियुक्त सार्वजनिक अधिकारीरूमध्ये पछिल्लो हुन् । 

“मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै म र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनायौँ”, अवालले पत्रकारहरूसँग भने । 

पाँच आयुक्तले जनवरीमा भएको निर्वाचनको अध्यक्षता गरेका थिए । निर्वाचनले हसिनालाई लगातार चौथो पटकको कार्यकाल र उनको अवामी लिग पार्टी र सहयोगीहरूलाई सिटहरूमा करिब एकाधिकारको ग्यारेन्टी दिएको थियो । 

कम मतदानका कारण निर्वाचन प्रभावित भएको थियो र मुख्य विपक्षी बङ्गलादेश नसनलिस्ट पार्टी (बिएनपी) ले हजारौँ सदस्य पक्राउ परेकाले निर्वाचन बहिष्कार गरेको थियो । 

अधिकार समूहहरू र पश्चिमी सरकारहरूले मतदानलाई अस्वाभाविक र अनुचित भन्दै आलोचना गरेका थिए । 

तर अवालले हसिनाप्रति वास्तविक राजनीतिक विरोधको कमी हुनु नै मतदान इमान्दारीका साथ भएको बताए । 

“मुख्य विपक्षी दल बिएनपी र समान विचारधाराका दलहरू निर्वाचनमा सहभागी भएनन्”, उनले भने, “यो एक दलीय निर्वाचन भएकाले निर्वाचनलाई प्रभावित गर्नुपर्ने कुनै आवश्यकता थिएन ।”

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

कोलकाता । चिकित्सकको बलात्कारपछि हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार बिहानै कोलकाताका सडकहरूमा जुलुस निकालेको छ । 

अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्यालाई लिएर मुलुकभर आक्रोश बढेको छ । 

चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।

उक्त नृशंस हत्याले सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाहरूको सुरक्षा अवस्थाको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरिरहेका छन् ।

बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि कोलकाता जस्तो विशाल सहरमा नियमित प्रदर्शनहरू जारी छन् । 

कोलकोताको जुलुसमा करिब एक लाख मानिसले भाग लिएको प्रहरीले बताएको छ । राजधानी नयाँदिल्लीमा पनि यस्तै सानो जुलुस आयोजना गरिएको छ । प्रदर्शनकारी रुबिना मुखर्जीले भनिन्, “सम्पूर्ण मुलुकको हृदय छियाछिया भएको छ ।” 

बुधबार साँझ अबेरसम्म हडतालमा रहेका सयौँ चिकित्सकसँगै हजारौँ मानिस भेला भएर विरोधमा मानव शृङ्खला बनाउन एकअर्काको हात समाइरहेका थिए । 

एक घन्टाका लागि बत्ती निभाइयो । सहरको एउटा ठूलो हिस्सा अँध्यारो भयो । प्रदर्शनकारीहरूले बलिरहेको मशाल बोकेर सहरको अँध्यारो आकाशलाई उज्यालो बनाइरहेका थिए । 

“न्याय नमिलेसम्म हामी बारम्बार रात बिताउनेछौँ”, ३५ वर्षीया गृहिणी स्मिता रायले भनिन् ।  महिलाहरूले भारतीय झन्डा फहराउँदै सामूहिक धर्ना दिएर सडक अवरुद्ध गरेकाले कोलकाताका सामान्यतया व्यस्त हुने मुख्य सडकहरूमा यातायात रोकिएको थियो ।

कहिलेकाहीँ भीडले क्रोधमा चिच्याउँदै ‘वि वान्ट जस्टिस’ भन्ने नारा लगाउँथे । तर मैनबत्तीहरू जलाउन सुरु गरेपछि त्यो नारा विस्तारै नरम गीत गाउनुअघि शान्त प्रतिबिम्बमा रोकिए । 

हत्या गरिएकी चिकित्सकका पिताले पनि शव फेला परेको अस्पतालबाहिरको जुलुसमा कुराकानी गरे । उनले छोरीको हत्यापछि आफ्नो परिवारको ‘छियाछिया भएको हृदय’ र हत्याले कसरी ‘मानसिक रूपमा स्तब्ध बनायो’ भन्नेबारेमा बताए ।

प्रदर्शनकारीहरूले हत्या गरिएकी चिकित्सकलाई ‘अभया’ उपनाम दिएका छन् । यसको अर्थ निडर हो ।

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । 

आफ्नो परिवारमाथि छोरीको शवलाई चाँडोभन्दा चाँडो अन्त्येष्टि गर्न ‘धेरै दबाब’ दिइएको भन्दै पिताले आक्रोश व्यक्त गरे । “हामी उनको शव राख्न चाहन्थ्यौँ, उनको अन्त्येष्टि गर्न के हतार थियो ? उनको मृत्यु रहस्यले ढाकिएको छ”, उनले भने । 

बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने मङ्गलबार पारित राज्यको एक कानुनलाई पनि उनले ‘लोकप्रिय देखावटी’ बाहेक केही नभएको भन्दै खारेज गरे ।

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको छ । 

यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो । कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिएका छन् । 

“हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद निधनका बारेमा थाहा पाएका छौँ”, युगान्डा ओलम्पिक समितिका अध्यक्ष डोनाल्ड रुकारेले एक्समा पोस्ट गर्दै भने, “यो कायरतापूर्ण र संवेदनहीन कृत्यले एउटा महान एथलिटलाई गुमाउनुपर्यो, उनको विरासत कायम रहनेछ ।”

प्रहरीका अनुसार चेप्टेगीका साथी डिक्सन एनडिमा मराङगजका रूपमा चिनिने हत्याराले आइतबार पश्चिमी काउन्टी ट्रान्स–नजोइयाको एन्डेबेसमा रहेको उनको घरमा पेट्रोल छर्केर जलाएका थिए । 

यो घटना ३३ वर्षीया चेप्टेगीले पेरिस ओलम्पिकमा म्याराथुनमा भाग लिएको केही सातापछि भएको हो । म्याराथुनमा उनी ४४औँ स्थानमा रहेकी थिइन् । 

आक्रमणमा परेकी चेप्टेगीको शरीरको ८० प्रतिशत भाग जलेको उनको उपचार भइरहेको अस्पतालका कार्यवाहक प्रमुखले मङ्गलबार पत्रकार सम्मेलनमा बताएका थिए । 

“हिजो राति उनको सबै अङ्ग खराब भए”, मोई टिचिङ एन्ड रेफरल अस्पतालका एक चिकित्सकले बिहीबार बताए । चेप्टेगीको उपचार गर्ने एक नर्सले उनको मृत्यु स्थानीय समयानुसार बिहान ५ बजे भएको जानकारी दिइन् । 

सङ्घीय निजामती विधेयक यथाशीघ्र पारित गर्न सुझाव

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार भएको छलफलमा उक्त विधेयक यथाशीघ्र पारित गर्नुपर्नेमा जोड दिइएको हो ।

छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले महत्वपूर्ण विधेयकलाई प्रथामिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘कर्मचारीतन्त्रलाई थप व्यवस्थित गर्न यो विधेयक छिटो पारित गर्न आवश्यक छ’, उनले भने।

समितिका सभापति रामहरि खतिवडाले कुनै पनि राजनीतिक दलको झल्को नदिइकन सबैको एकतामा विधेयक बनाउने प्रतिबद्धता जनाए। बिहीबारको बैठकमा सांसद दुर्गा राईले राज्य सञ्चालनको मुख्य जिम्मेवारी निजामती कर्मचारीको हातमा रहेको भन्दै समयमा विधायन संशोधन हुन आवश्यक रहेकामा जोड दिइन्।


सांसद मेनुकाकुमारी पोखरेलले कर्मचारीमा देखिएका असमझदारीको बीचमा पनि छलफल गरेर ऐन संशोधन गर्न आवश्यक रहेकामा जोड दिइन्।

सांसद प्रकाश अधिकारी निजामती कर्मचारीमा देखिएका समस्याका कारण कर्मचारीतन्त्र धेरै अस्तव्यस्त भएको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए।

सांसद चित्रबहादुर केसीले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र गलत गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए । ‘कार्यान्वयन गर्न नसक्ने सङ्घीय व्यवस्था केका लागि? तल्लो तहलाई अधिकार प्रत्योजन गर्न किन सकिएको छैन ?’, उनले प्रश्न गरे ।

सांसद बुद्धिमान तामाङले कर्मचारीतन्त्रमा राजनीतिकरण बन्द गर्नुपर्नेमा जोड दिए। उनले कर्मचारीतन्त्रलाई बलियो बनाउन राजनीतिकरण अन्त्य गरी समन्वय र सहकार्यको वातावरण बनाउनुपर्ने बताए ।

सांसद अशोक राईले कर्मचारीमा वैचारिक आस्था रहे पनि दलको भातृ सङ्गठनको रुपमा जाने विषयलाई रोक्नुपर्नेमा जोड दिए । सांसद हृदयराम थानीले ऐन बनाएर मात्रै होइन कार्यन्वयनको पक्ष पनि बलियो हुनुपर्ने बताए ।

सांसद कृष्णगोपाल श्रेष्ठले सङ्घीय शासन व्यवस्थालाई बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले परिस्थिति अनुकूल सुहाउने कर्मचारीतन्त्र आवश्यक रहेको भन्दै विधेयक संशोधन गर्न आवश्यक रहेको बताए।

मुख्य सचिव एकनारायण अर्यालले विधेयक ल्याउनका लागि ढिला भइसकेको भन्दै छिटो विधेयक पारित हुने विश्वास व्यक्त गरे । उनले सहकार्य, समझदारी र सहकारितामा आधारित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रशासनिक सेवालाई प्रभावकारी तथा नागरिकमैत्री बनाउन जनताले परिकल्पना गरेको कर्मचारीतन्त्र लागू गर्न विधायिकाले काम गर्नुपर्ने मुख्य सचिव अर्यालको भनाइ छ ।

‘सेवाग्राहीमैत्री निजामती सेवा बनाउनुपर्ने आवश्यकता छ । कानुन निर्माण भए पनि कार्यान्वयनमा समस्या छ’, उनले भने। समस्या समाधानतर्फ सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न चाइना साउदर्न इच्छुक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।

बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएका हुन् । ४० भन्दाबढी मुलुकमा सेवा दिँदै आएको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।

चीनको गौन्जाउबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो ।

चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, ‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहान्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाईदा पुग्ने छ । तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुबै मुलुकलाई फाइदा पुग्ने छ ।’

मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिने समेत प्रष्ट पारेका छन् ।

साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि त्यसबारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए । त्यसैगरी द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत उनले बताएका छन् ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार ९० अङ्कभन्दा धेरैले घटेको नेप्से बिहीबार १२ दशमलव १० अङ्कले घटेर दुई हजार सात सय २७ दशमलव ३६ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै नौ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर बने १० प्रतिशतले बढेको छ । आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १६ वटा कम्पनीका दुई करोड एक लाख कित्ता शेयर नौ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सको ४० करोड रुपैयाँको शेयर किनबेच भयो ।

विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्नु हुँदैनः शिक्षामन्त्री भट्टराई

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गरिन् । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उनको भनाइ छ ।

मन्त्री भट्टराईले समस्याका रुपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रुपमा लागिरहेको स्पष्ट पारिन् ।

उनले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताइन् । उनले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भाबी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको उल्लेख गरिन् ।

विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने मन्त्री भट्टराईको भनाइ छ । 

सबै राजनीतिक दलबीचमा सहमति मात्रै संविधान संशोधनः गृहमन्त्री लेखक

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् ।


धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेटघाटमा गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे ।


उनले भने, ‘मुलुकमा रहेका सबै राजनीतिक दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ ।’


विसं २०७९ को निर्वाचन पछिको डेढ वर्षमा पटकपटक समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाएर स्थिर सरकार गठन गरिएको गृहमन्त्री लेखकले बताए ।


देशमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि ठूला दलको समीकरण बनेको उल्लेख गर्दै उनले यो समीकरणको पूर्णपालना हुने प्रतिवद्धता व्यक्त गरे । 


नयाँ समीकरण र नयाँ सरकार बनेपछि जनतामा आशा देखिएको बताउँदै गृहमन्त्री लेखकले भने, ‘नयाँ सरकार बनेको ३० दिनमा १८ वर्षदेखि थातिरहेको ‘टिआरसी’ विधेयक पारित गर्न सफल भएका छौँ । यो विधेयक पारित हुँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट समर्थन प्राप्त भएको छ ।’

पशुपति क्षेत्रमा तीजको तयारी पूरा, तीन बजेदेखि चारै ढोका खोलिने, भक्तजनका लागि चार स्थानबाट लामको व्यवस्था

काठमाडौँ र  हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्नेगरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट छिरेका भक्तजन पूर्वी ढोकाबाट बाहिरिने छन् । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिनेछ ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिर अघिको खुला भागमा राखिनेछ ।

बाहिर चार लाम भएपनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नेका लागि दुईदेखि तीनवटासम्म लामको व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लाम व्यवस्थापन गर्न कोषले अधिकृतस्तरका कर्मचारीलाई विशेष जिम्मेवारीसहित परिचालन गर्ने तयारी गरेको छ ।

तीजका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खोल्ने गरी तयारी गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले बताए । उनका अनुसार बिहानैदेखि भक्तजनलाई सहज रुपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको छ ।

तीजका अवसरमा मूल मन्दिर क्षेत्रभित्र महिला प्रहरीमात्र खटाउने गरी व्यवस्था मिलाइएको छ । त्यसका छ सय महिला प्रहरीको सूची कोषमा प्राप्त भएको पत्रकार सम्मेलनमा आज जानकारी गराइएको हो ।

पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी सामग्री मेटाइने कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आइएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि पशुपति क्षेत्रमा समस्या हुने गरेको भन्दै कोषाध्यक्ष सुवेदीले यसको निगरानी कडाइका साथ गरिने बताए । सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले कडाइ गर्न लागेको उनको भनाइ छ ।

कोषले विगत वर्षदेखि गर्भगृहको तस्बिर खिचेमा  दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा  एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा  पाँच सय जरिवाना गर्न सुरु गरेको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे/नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेका कोषाध्यक्ष सुवेदीलेले जानकारी दिए ।

कोषले तीजका अवसरमा शुक्रबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । वृद्धवृद्धा एवं बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रुपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ ।

पलेसाले बढाएको देशको गौरव

डा शोभाकर पराजुली
फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा भिड्दै गर्दा नेपाली गोलाद्र्धतिर मध्यरात भइसकेको थियो । गत शनिबार बिहानमात्रै संसारभरि छरिएका नेपालीमा एउटा हर्षको सञ्चार भयो–पलेसाले कास्य पदक जितिन् । नेपालको खेल इतिहास अझ भनौं ओलम्पिक इतिहासमा पलेसाले ल्याएको यो ऐतिहासिक पदक हो । यसअघि यस्ता खेलमा नेपाली खेलाडीले पदकहरू जित्न सकेका छैनन् ।

ओलम्पिक यात्रा सुरुआतको २० वर्षपछि पहिलोपटक पदक ल्याउने खेलाडी बनेकी छिन् पलेसा । अपाङ्गता भएका खेलाडीलाई सहभागी गराउनका लागि सन् १९६० मा इटालीको रोमबाट सुरु भएको पारा ओलम्पिक यात्रालाई नेपालले सन् २००४ मा एथेन्स (ग्रीस)बाट पछ्याउन सुरु गरेको हो । त्यसको दुई दशकमा २१ वर्षीया पलेसाले ओलम्पिकमा नेपालको इतिहास रच्न सफल भइन् । पेरिसमा पलेसाले कास्य पदकका लागि भएको भीडन्तमा सर्बियाकी खेलाडी मारिजा मिकेभलाई १५–८ ले पराजित गर्दै नेपालका लागि कास्य पदक जितिन् । यो भनेको ५७ केजी तौल समूहका महिला खेलाडीको प्रतिस्पर्धा थियो ।

यसअघि पनि सन् २०१८ मा काठमाडौंमा भएको दोस्रो एउटा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । त्यही वर्ष भियतनाममा भएको चौँथो एशियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले कास्य जितिन् । यो उनको अन्तर्राष्ट्रिय पदकको यात्रा थियो । त्यसको तीन वर्षपछि उनले बहराइनमा भएको एशियाली युथ पारा गेम्समा पनि स्वर्ण पदक जितेकी थिइन् । सन् २०१६ देखि पारा राष्ट्रिय टिममा जोडिएकी पलेसा सन् २०१७ मा दक्षिण कोरियामा भएको एसियाली पारा तेक्वान्दोमा पाँचौं स्थानमा थिइन् । गत वर्षको अन्तिमतिर चीनमा भएको एसियाली छनोट चरण जित्दै पलेसाले पेरिस पाराओलम्पिकको यात्रा तय गरिन् ।

दक्षिण एसियाली छनोट चरणमा अहिलेसम्म तीन जनामात्रै नेपाली खेलाडी ओलम्पिक खेलेका छन् । त्यसअघि सन् २००४ मा ग्रिस ओलम्पिकका लागि सङ्गीना वैद्य र सन् २०१० मा दीपक विष्टले त्यो चरण पार गर्न सकेका थिए । वाइल्ड कार्डमार्फत सन् २०२० मा पनि पारालिम्पिक खेलेकी पलेसा त्यो पनि पदक नजिकै पुगेकी थिइन् । तर त्यसपछिको अथक मेहनत र कडा परिश्रमले उनलाई यसपालि कास्य पदक दिलायो ।

काठमाडौँ बागबजारकी पलेसा जन्मिदै अपाङ्गता भएकी खेलाडी हुन् । उनको बाँया हात पूर्ण छैन । १० वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेकी उनले २१ वर्षकै उमेरमा देशका लागि खेल इतिहासमा नयाँ पाना थपेकी छिन् । यति बेला सिङ्गो नेपाल हर्ष र खुसीले दङ्ग छ । संसारभरि छरिएका सारा नेपाली मख्ख छन् । संसारभरिबाट उनलाई अहिले बधाईको ओइरो आइरहेको छ । पुरस्कारका घोषणा भइरहेका छन् । देशका ऐतिहासिक पदक लिएर फर्किएकी पलेसालाई बुधबार विमानस्थलमै भव्य स्वागत भयो । उनका शुभेच्छुकहरूले खुसीयाली साट्दै नगर परिक्रमासमेत गराए । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार उनले सरकारका तर्फबाट ६५ लाख पुरस्कारसमेत पाउनेछिन् ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका सबै राजनीतिक दल तथा आम नागरिकले समेत उनलाई बधाई र आगामी यात्राका लागि शुभकामनासमेत दिइरहेका छन् । त्यो भव्य स्वागत र सम्मानपछि पलेसाले भनेकी थिइन्– ‘अब गर्वका साथ हामीले भन्न पाउनेछौं, हामीसँग पनि पदक छ’ । यो पदकलाई उनले आफूभित्रको दरिलो साहस र बलियो आत्मविश्वासको परिणाम भनेकी छिन् र यो पदक उनले राष्ट्र अनि सारा नेपालीका लागि समर्पण पनि गरेकी छिन् । पलेसाले ल्याएको यो पदक मात्रै उनले आफूमा त्यो सफलतालाई सिमित गरेकी छैनन् । बरु राष्ट्र अनि आम नागरिकका लागि त्यो पदकलाई समर्पण गरेकी छिन् । यो भनेको एउटा खेलाडीमा भएको राष्ट्रप्रेम पनि हो । एउटा खेलाडी आफ्नो ज्यानको बाजी लगाएर मात्रै आफ्ना लागि खेल्दैन । ऊ राष्ट्रको नाममा खेलिरहेको हुन्छ । आफ्नो सारा सपना र चाहनाहरूलाई खेलमै समर्पित गरेर उसले राष्ट्रको ध्वजा अन्तर्राष्ट्रिय मञ्चमा फहराइरहेको हुन्छ । राष्ट्रलाई सारा संसारमाझ चिनाइरहेको हुन्छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल’ भन्ने स्थापित मान्यतालाई हेर्ने हो हरेक खेलमा युवा जमात जोडिएको हुन्छ । जो वर्तमानको भरोसा अनि भविष्यको आशा पनि हो । खेलकुद जति राष्ट्रका लागि गौरव हो मानव स्वास्थ्यका लागि उत्तिकै आवश्यक पनि हो । तर हाम्रो राज्य खेल अनि खेलाडीप्रति उति सारो उदार छैन । हरेक क्षेत्रमा घुसिसकेको राजनीतिले खेल क्षेत्रलाई अस्तव्यस्त मात्रै पारेको छैन, बरु अन्तर्राष्ट्रियरुपमा देशको छवि पनि धमिल्याइरहेको छ । नेपालमा सयौँ खेलका विधा छन् । हजारौँ खेलाडी छन् । तर राष्ट्रिय अनि अन्तर्राष्ट्रियरुपमा देशलाई चिनाउने खेलाडीहरूको अवस्थाबारे हाम्रो राज्य अनि यसका सञ्चालकहरू कहिल्यै गम्भीर भएको देखिन्न । खेल अनि खेलाडीहरू राष्ट्रका प्रतीक पनि हुन्छन् । कतिपय खेल राष्ट्रिय गौरव पनि हुन्छन् । खेल अनि खेलाडीका लागि राज्यले उत्तिकै लगानी पनि गरिरहेको हुन्छ । तर हाम्रो देशको बिडम्बना नै भनौँ सारा जीवन खेलका लागि समर्पण गरेका खेलाडीलाई साँझबिहान छाक टार्नै मुस्किल हुन्छ ।

अरुजस्तै एउटा खेलाडीको पनि आफ्नो जीवन हुन्छ । परिवार हुन्छ । उसका पनि परिवार अनि समाजप्रति जिम्मेदारी हुन्छन् । तर खेलमात्रै खेलेर हाम्रा खेलाडीले आफ्नो जीवन बिताउन सक्ने स्थिति छैन । आफू अनि परिवारका लागि उनीहरूले खेलमार्फत आर्थिक जोहो गर्ने अवस्था नै छैन । नेपाली खेलाडीकोस्तर अरु देशका खेलाडीको तुलनामा कत्ति पनि कम छैन । नेपाली खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनिएको छ । तर राज्यले महत्व नदिँदा सारा खेलक्षेत्र राष्ट्रभित्रै लथालिङ्ग अवस्थामा छन् । पलेसाले पनि कैयौँ चुनौती पार गर्दै ओलम्पिकसम्म पुगेर राष्ट्रका लागि पदक जितेर फर्किएकी छिन् । आर्थिक अभावदेखि अरु खेलाडीले जस्तै उनले पनि खेल अभ्यासका लागि कठीन सङ्घर्ष गर्नुपर्यो। हाम्रा कतिपय खेलका लागि गतिला रङ्गशाला छैनन् । चरिचरण डाँडाजस्ता मैदानमा खेलेर केही समयअघि मात्रै नेपाल क्रिकेटको विश्वकपसम्म पुग्न सक्यो ।

न यहाँ एउटा गतिलो रङ्गशाला छ अनि कुनै मैदान अनि न कुनै अभ्यास गर्ने स्तरीय कभर्ड हल । पलेसाजस्ता कैयौँ त्यस्ता खेलाडी छन्, जसले ऋण धन काढेर अनि आफ्नै बलबुतामा खेलअभ्यास गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाइरहेका छन् । त्यसकै परिणाम हो, राष्ट्रिय अनि अन्तर्राष्ट्रियरुपमै चिनिएका विभिन्न विधानका हाम्रा खेलाडी अहिले जीवन धान्नका लागि धामाधम विदेश पलायन भइसकेका छन् । हाम्रा नेताहरूले खेल र खेलाडीको विकास अनि उनीहरूको स्तरीय जीवनका लागि चुनावी घोषणा त गरिदिन्छन् तर नीति निर्णय गर्ने ठाउँमा पुगिसक्दा उनीहरूले नै खेल क्षेत्र भुलिसकेका हुन्छन् । खेल क्षेत्र हाम्रो राज्यको प्राथमिकतामा कहिल्यै पर्न सकेको छैन । यो यथार्ततालाई हाम्रा नीति निर्माताले हेक्का गर्नैपर्छ र आत्मसमीक्षा अनि आगामी रणनीतिका बारेमा सोच्नैपर्छ ।

पलेसाले पेरिसबाट ल्याएको त्यो पदक उनको मात्रै नभएर सिङ्गो राष्ट्रको इज्जत हो । खेल इतिहासमा देशको नाम लेखिएको एउटा गौरवको चिनो हो । क्षणिक रोमाञ्चकता अनि क्षणभरको प्रसिद्धीको नाममा खेलाडीलाई बधाई अनि पुरस्कार दिने मात्रै होइन, खेल क्षेत्रको दिगो विकास र कम्तीमा एउटा खेलाडीले व्यावसायिक रुपमा खेलेर आफ्नो र परिवारको जीवन धान्नसक्ने वातावरण बनाउनका लागि हाम्रा राजनीतिक दल अनि राज्य सञ्चालकहरू अहिलेदेखि नै लाग्नुपर्छ । जे होस्, देश अनि सारा नेपालीको गौरवलाई संसारभरि फिजाएइन् खेलाडी पलेसाले । यो सफलताको पर्दापछिका नायक प्रशिक्षक कविराज नेगी लामा जसले नेपालका लागि दर्जन अन्तर्राष्ट्रिय पदक दिलाइसकेका छन्, अनि उनको सिङ्गो टिमलाई हार्दिक बधाई अनि आगामी यात्रा सफलाताका लागि शुभकामना ।

नेपालमा जस्तै भारतको मुम्बईमा पनि नेपाली महिलाले धुमधामसँग मनाए तीज

विष्णुप्रसाद गौतम, मुम्बई । प्रवासमा भारतमा रहेका विभिन्न नेपाली संघ संगठनहरुले धुमधामसँग तीज मनाएका छन् । विशेष गरी महाराष्ट्रको मुम्बई र पुनेका विभिन्न सहरहरुमा विगतका वर्ष जस्तै यसवर्ष पनि महिलाहरुले तीज मनाएका हुन् ।

घर माइतदेखि टाढा भएपनि सबै दिदीबहिनी एकै ठाउँमा जम्मा भएर रमाइलो गरेका हुन् । मुम्बई, पुने, अमदनगर, कल्याण भिबन्डी लगायतका ठाउँमा तीज भब्यताका साथ मनाइएको छ ।

संयुक्त नेपाली महासंघ मुम्बई, नेपाली जनसम्पर्क समिति भारत, प्रवासी नेपाल संघ भारत, नेपाली एकता समाज भारत, गोर्खाली आमा समूह भारत, सुनखरी महिला समाज भारत, पशुपतिनाथ नेपाली समाज भारत, सुदूरपश्चिम सास्कृतिक मंच भारत, प्रवासी नेपाली सम्पर्क विभाग भारत, मुक्तिनाथ फाउन्डेसन भारतलगायत थुप्रै संघ संगठनले आआफ्नै तरिकाले तीज मनाएका छन् ।


त्यस्तै भारतीय कामगार सेनाका अध्यक्ष माष्टर थापाले तीजका अवसरमा आयोजित कार्यक्रममा भारत र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताए ।

उनले भने, ‘भारत–नेपालको सम्बन्ध बेटीरोटीको सम्बन्ध हो । हामी सबै हिन्दू हौं ।’ महासंघका पूर्वअध्यक्ष जगतबहादुर सिंहले पनि महिलाहरुलाई तीजको शुभकामना दिएका थिए ।

प्रचण्डले भने जस्तो परिवर्तन उल्ट्याउन संविधान संशोधन गर्न लागिएको होइनः महासचिव पोखरेल

कर्णाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय मर्यादाविपरीत भ्रम छर्ने खालका अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले संसदीय राजनीतिको मूल्य र मान्यता विपरीत प्रचण्डले दिइरहेका अनावश्यक अभिव्यक्ति लोकतन्त्रको पक्षमा नरहेको बताए ।

सरकारबाट बाहिरिएपछि प्रचण्डले कांग्रेस–एमाले मिलेर संविधानमा रहेका कमीकमजोरीका विषयमा गर्न खोजेको समीक्षालाई आम जनतामा भ्रमको विषय बनाएको पोखरेलले बताए ।

उनले मुलुकमा दुई दलीय प्रणाली नभई राजनीतिक स्थायित्व र समृद्धिका लागि शक्तिशाली दुई दल आवश्यक रहेको बताए ।

महासचिव पोखरेलले अन्य दल नै खोल्न नपाइने गलत भाष्य प्रचण्डले प्रयोग गरिरहेको बताए । एमाले–कांग्रेसले अघि सारेको संविधान संशोधन प्रचण्डले भने जस्तो परिवर्तन उल्ट्याउन नभई व्यवस्थालाई बलियो र सुदृढ बनाउन रहेको उनले दाबी गरे । प्रचण्डले जिम्मेवार प्रतिपक्षीको भूमिकासमेत निर्वाह गर्न नसकेको पोखरेलले आरोप लगाए ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सत्ता नपाएको झोंकमा देशलाई बंगलादेश, श्रीलंका बनाइदिने भन्दै अभिव्यक्ति दिइरहेका प्रचण्डले नै समाजमा अराजकता फैलाउन खोजेको उनको भनाइ थियो ।

ट्रम्पसँग हुने बहसका लागि ह्यारिस पाँच दिन पेन्सिलभेनियामा रहने

उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने भएकी छन् ।

फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने भएकी  हुन् । त्यहाँ उनले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्ने द वासिङ्टन पोस्टले जनाएको छ  ।

उनको अभियान कार्यक्रम निर्धारित गरिएको छैन तर मतदाताहरूसँग अनौपचारिक बैठकहरूमा भाग लिने अपेक्षा गरिएको छ । 

६ हप्ताअघि राष्ट्रपतिको दौडमा ह्यारिसको प्रवेशले बाइडेनको ट्रम्पविरुद्ध जितको न्यून सम्भावनाले निराश भएका डेमोक्रेटहरूबीच उत्साह छरेको छ । हाल दुवै दलले नोभेम्बर ५ मा हुने चुनावका लागि तयारी गरिरहेका छन् । 

अमेरिकी निर्वाचनमा पेन्सिलभेनिया, जर्जिया र अन्य स्विङ राज्यहरू निर्णायक हुने अपेक्षा गरिएको छ । आगामी हप्ता हुने बहसले निर्वाचन अभियानको सबैभन्दा गहन चरणको सुरुवातलाई चित्रित गर्नेछ भने यो ह्यारिस र ट्रम्प बीचको पहिलो भेट हुनेछ ।

ह्यारिसको पेन्सिलभेनियामा हुन लागेको तयारीले मेरिल्यान्डको क्याम्प डेभिडमा ट्रम्पसँगको जुन २७ को बहसका लागि बाइडेनको एक हप्ता लामो तयारीलाई प्रतिबिम्बित गर्दछ । यसले उहाँको राष्ट्रपति अभियानलाई प्रभावकारी रूपमा समाप्त गरेको थियो ।