`

सुदूरपश्चिममा करिव ६ लाखले गरे स्वास्थ्य बीमा

कैलाली । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो ।

पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ८६ हजार नौं सय १५ पुगेको बताए ।

सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या तीन लाख नौं हजार १२ र पुरुषको सङ्ख्या दुई लाख ७७ हजार एक सय ९० रहेको साउदले बताए ।

स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले दिएको जानकारीअनुसार स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा दुई लाख ९९ हजार एक सय ४५ पुगेको छ भने कञ्चनपुरमा ६४ हजार चार सय २० र अछाममा ५७ हजार नौं सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

यसैगरी बझाङमा ४२ हजार एक सय दुई, बाजुरामा ३६ हजार पाँच सय ३६, बैतडीमा २६ हजार एक सय सात, डडेल्धुरामा २३ हजार पाँच सय ६२, डोटीमा २० हजार नौं सय २८ र दार्चुलामा १६ हजार एक सय ५३ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्याङ्कले देखाएको छ ।

प्रमुख साउदका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक  तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप  सात सय रुपैयाँका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ ।

बिमित परिवारका सदस्य बिरामी हुँदा  एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ ।

स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् ।

सरकारले विसं २०७२ देखि देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो ।

सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी–एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।

पर्यटनका दृष्टिकोणले सूदुरपश्चिम भर्जिन क्षेत्र होः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।

बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ।तर पनि राज्यबाट पछि परेको छ। मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदुपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु।’

मन्त्री पाण्डेले नेपाल ५ सय भन्दा बढी पर्व र १३१ वटा भाषा भएको उल्लेख गरे । उनले भाषा सभ्यता,संस्कृति, वेशभूषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए ।

संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए ।

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

रामपुर (पाल्पा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताएका हुन् ।

युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सहभागी हुन उनी पाल्पा आएका हुन् । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए ।

अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ ।

आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा

बेइजिङ । महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे । 


सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी छन् । 


अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् । 


बिहीबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ भएको बताए । 


“चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार छ”, उनले भने, “आगामी तीन वर्षमा चिनियाँ सरकार तीन खर्ब ६० अर्ब युआन (५० अर्ब ७९ करोड डलर) को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।”


उनका अनुसार उक्त सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लािग प्रोत्साहित गर्नेमार्फत हुनेछ । उनले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि वाचा गरे ।


बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्द्धन गर्न सक्ने’ बताए । 


“गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ”, उनले भने । 

बेइजिङ । महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे । 

सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी छन् । 

अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् । 

बिहीबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ भएको बताए । 

“चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार छ”, उनले भने, “आगामी तीन वर्षमा चिनियाँ सरकार तीन खर्ब ६० अर्ब युआन (५० अर्ब ७९ करोड डलर) को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।”

उनका अनुसार उक्त सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लािग प्रोत्साहित गर्नेमार्फत हुनेछ । उनले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि वाचा गरे ।

बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्द्धन गर्न सक्ने’ बताए । 

“गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ”, उनले भने । 

 नेतान्याहूले गाजा युद्धविरामलाई ‘विफल’ पार्न खोजिरहेको हमासको आरोप

प्यालेस्टिन । हमासले  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा युद्धविराम सम्झौतालाई “विफल“ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।


नेतान्याहुले प्यालेस्टिनी लडाकू समूहले वार्ताका सबै शर्तहरु अस्वीकार गरेको बताएपछि हमासले यस्तो आरोप लगाएको हो ।  

इजरायली अधिकारीहरूले आइतबार गाजाको एक सुरुङबाट ६ जनाको शव निकालेको घोषणा गरेपछि बाँकी बन्धकलाई मुक्त गर्ने सम्झौतामा पुग्न प्रधानमन्त्री नेतान्याहुले विश्वव्यापी दबाबको सामना गरिरहेका बेला दुई पक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।


“हामी वार्ता सुरु गर्ने प्रयास गरिरहेका छौँ”, नेतान्याहुले भने, “हमासले भने वार्ता गर्न अस्वीकार गरिरहेको छ ।”


हमासलाई हतियार तस्करी रोक्न इजरायलले इजिप्ट–गाजा सीमामा रहेको फिलाडेल्फी कोरिडोरमा नियन्त्रण गर्न आवश्यक रहेको नेतान्याहुले बताएका छन् ।


आफ्नो भूभागबाट पूर्ण इजरायली फिर्तीको माग गरिरहेको हमासले बिहीबार सीमा क्षेत्रमा नेतान्याहुको जिद्दीले ‘युद्धविराम सम्झौतामा पुग्न असफल पार्ने लक्ष्य राखेको’ आरोप लगाएको हो ।


केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले उल्लेख गरेको युद्धविराम सम्झौतामा सहमति जनाएका प्यालेस्टिनी लडाकू समूहले नयाँ सम्झौता आवश्यक नभएको बताएका छन् । 


“हामीलाई नयाँ प्रस्तावको आवश्यकता छैन”, समूहले टेलिग्राममार्फत विज्ञप्तिमा भनेको छ, “हाम्रा जनता विरुद्धको आक्रमणलाई लम्ब्याउन वार्ताको प्रयोग गर्ने प्रधानमन्त्री नेतान्याहुको चालमा नफस्न आग्रह गर्दछौँ ।”


यस हप्ता इजरायलको विभिन्न सहरमा भएको विरोध प्रदर्शनमा युद्धविराम सम्झौता गर्न आवश्यक पहल नगरेको भन्दै नेतान्याहुका आलोचकहरूले उनलाई बन्धकहरूको मृत्युको लागि दोषी ठहर्याएका छन् ।

उदयपुरको सोरुङ छविसेमा आमा छोराको हत्या

कटारी । उदयपुरको  कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको बिहीबार बिहान पसलमै शव भेटिएको हो । 

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । “आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको  हो”, वडाध्यक्ष खड्काले भने, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।”

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए । प्रहरी निरिक्षक महतोले भने, “प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छाैं ।”

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए । उनले भने, “तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।”

घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गीताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिइन् । स्थानीय दीपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए ।

“साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे”, राउतले भने, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।”बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन् ।

आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गरेका छन् ।

बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा व्यक्त गरे ।

उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए । राष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए ।

उनले भने, ‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शीर विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन रसुदृढीकरणका लागि यससंस्थामार्फत यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु।’

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाको साझा उद्देश्यहरु प्राप्त गर्न र चुनौतीविरुद्ध सामुहिकरुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहने पनि स्पष्ट पारे ।

त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा भारत, पाकिस्तान, बङ्गलादेश, मालदिभ्सलगायतका सार्क मुलुकका निर्वाचन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

जुम्लाको मार्सीधान खेती

जुम्लाको तातोपानी गाउँपालिका– १ तिला नदी किनारामा गरिएको मार्सीधान खेती । मार्सी चामलको माग पछिल्लो समयमा स्वदेश तथा विदेशमा बढ्दो रहेको छ ।

तस्बिर: विजय रावत /रासस

प्रचण्डको निर्देशनः संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’लाई ‘हिंसा’को रूपमा व्याख्या गर्नेहरुको भण्डाफोर गर्न निर्देशन दिएका हुन् ।

उनले ‘जनयुद्ध’लाई संविधानले ‘सशस्त्र संघर्ष’ भनेकाले त्यसविपरितका अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताए ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भन्ने अभिव्यक्तिको पनि जवाफ दिएका छन् ।

उनले भने, प्रधानमन्त्रीजीले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई प्रचण्डलाई राउण्ड किक हानेको भनेर पनि बोलेको सुनें । अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’

पार्टी पोलिटब्यूरो बैठक समापनका क्रममा बुधबार प्रधानमन्त्री ओलीले आफूले ‘एक राउण्ड किक’ दिँदा प्रचण्ड असन्तुलित भएर बोल्दै हिँडेको बताएका थिए ।

प्रचण्डले सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद रहेको उल्लेख गर्दै यसलाई नीतिगत रूपमै समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘सहिदहरूलाई सम्मान गर्ने सन्दर्भमा विभेदको स्थितिलाई नीतिगत रूपमै समाधान गर्न आवश्यक छ । आउने केन्द्रीय समितिको बैठकमा सहिदहरूलाई सम्मान गर्नेबारे एकरूपताका साथ सबै सहिदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पनि पहल गरिनेबारे जानकारी गराउन चाहन्छु ।’

बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको निगरानी गर्न सिसीटिभी जडान

काठमाडौँ । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु भएको छ ।

फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसिटिभी क्यामरा जडान गरिएको हो ।

साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको हो ।’

क्यामराबाट प्राप्त दृश्यहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार ९ वटा क्यामराको दृश्यबाट साइटको निगरानी हुनेछ ।

पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपिआर) क्यामरा हुन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने, ‘यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।’

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छः गृहमन्त्री लेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । बिहीबार बिहान महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ । उनले भने । उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताए ।

‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।’उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । ‘दुईतीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।’ गृहमन्त्री लेखकले भने–’छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।’

सहकारीमन्त्री अधिकारीको अभिव्यक्तिप्रति सहकारी पीडितको आपत्ति

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी पीडितहरुविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

अभियानका अध्यक्ष कुशलभ केसीले विज्ञप्ति जारी गरी मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । बुधबार सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरु आन्दोलनमा रहेको अभिव्यक्ति दिएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले विगत १६ महिनादेखि तेस्रो चरणको सडक आन्दोलन १०५ दिनदेखि बचत फिर्ताको मुख्य माग राखी आन्दोलनरत समस्त बचतकर्ताको मानमर्दन हुने गरी पीडितको घाउमा मल्हमपट्टि लाउनुको सट्टामा नुनचुक लाउने र संयमपूर्णरुपमा रहेका आन्दोलनकारीहरुलाई उत्तेजित पार्ने खालको आपत्तिजनक र भ्रमपूर्ण संप्रेषित समाचारको भाषाले समस्त बचतकर्ता पीडितलाई मर्माहत बनाएको छ ।’

उनले मन्त्री अधिकारीलाई सार्वजनिकरुपमा माफी माग्नसमेत चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री जस्तो पदीय जिम्मेवार पदाधिकारीले तथ्य विना समस्त सहकारी पीडितको मान मर्दन र मर्ममा चोट पुग्ने गरी दिएको सार्वजनिक अभिव्यक्ति आपत्तिजनक र खेदजनक छ । सहकारी मन्त्रीज्यूलाई यसको तत्काल खण्डन गरी सार्वजनिक माफी माग्न र सम्झौता कार्यान्वयन गर्न सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ आह्वान गर्न चाहन्छ । अन्यथा यसको विरोधमा भ्रष्ट सहकारी संचालकको संरक्षक मन्त्रीको राजीनामा मागसहितको पुत्ला दहन गर्ने कार्यक्रम तय गरिने छ । साथै यही भाद्र २३ गते आइतबार हुने भनिएको पुर्व निर्धारित विरोध कार्यक्रम यथावत रहेको र अझ सशक्तताका साथ अघि बढाइने समेत जानकारी गराउन चाहन्छौं ।’

जर्जियाको एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

बीबीसी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य नौ जना घाइते भएका छन् ।

ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीकाण्ड भएको थियो ।

गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । उनलाई हत्याको अभियोग लगाइने भएको छ ।

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता

इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनएचसिचारले आफ्नो सामाजिक सञ्चाल एक्समार्फत भनेको छ, ‘सेप्टेम्बर १ मा एक जहाज दुर्घटना भएपछि भूमध्यसागरमा बीस जना बेपत्ता भएका छन् ।’

‘इटालीका लागि संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको अधिकारी चियारा कार्डोलेटीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘हाम्रो टोलीले लाम्पेडुसामा लगेर बाँचेका सातजनाको अवस्था गम्भीर छ ।’

केही इटालियन मिडिया रिपोर्टहरूले बेपत्ताको सङख्या २१ जना रहेका, जसमा तीन बच्चाहरू छन् । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का अनुसार सन् २०२३ मा उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेपछि थप तीन हजार आप्रवासी बेपत्ता भएका छन् ।

युरोपेली सङ्घको शीर्ष पदका लागि महिला उम्मेदवार पाउन कठिन

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली सङ्घमा लैङ्गिक समानता कायम गर्न सदस्य राष्ट्रहरूबाट शीर्ष पदका लागि महिला उम्मेदवार प्राप्त गर्न कठिन भएको बताएकी छन् ।

भोन डेर लेयनले जुनमा भएको चुनावपछि आफ्नो नयाँ प्रशासनमा आयुक्तको पदका लागि पुरुष र महिला दुबैलाई मनोनित गर्न युरोपेली सङ्घका देशहरूलाई आग्रह गरेकी हुन् ।

तर अधिकांश सदस्य राष्ट्रले उनको अनुरोधलाई बेवास्ता गरेका छन् । २७ सदस्य राष्ट्र रहेको सङ्घमा केवल नौ महिलालाई मनोनित गरिएको छ, जसमा एस्टोनियाका पूर्व प्रधानमन्त्री काजा कल्लासलाई ब्लकको शीर्ष कूटनीतिज्ञको रूपमा समावेश गरिएको छ।

‘यो कठिन यात्रा हो तर यसले मेरो दृढता र संकल्पलाई परिवर्तन गर्दैन’, भोन डेर लेयनले भनिन् ।’अहिलेसम्म हामी महिलाहरु दोहोरो अंकमा छौं, तर मैले सबै सम्भावित उम्मेदवारहरू पाएको छैन । प्रक्रिया जारी छ ।’

जुलाईमा आयोगको प्रमुखको रूपमा दोस्रो कार्यकाल सुरु गरेको भोन डेर लेयनले अर्को हप्ता शीर्ष पदका लागि आफ्नो प्रस्तावित टोली गठन गर्ने अपेक्षा गरिएको छ ।

उनले क्षमताको आधारमा आयोगको पदाधिकारी चयन गर्नेमा जोड दिइन्। त्यसपश्चात युरोपेली संसदले प्रत्येक उम्मेद्वारलाई जाँच गरी अनुमोदन गर्दै लैङ्गिक सन्तुलन कायम गर्ने प्रयास गर्नुपर्नेछ ।

पोखरीमा डुबेर धनुषामा तीन बालकको मृत्यु

धनुषा । मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान आएको बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ ।

साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए ।

तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको बेलायतका प्रधानमन्त्रीको दाबी

बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार आफ्नो सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको बताएका छन् ।

सोमबारको ३५० हतियार निर्यात इजाजतपत्रमध्ये ३० लाई निलम्बन गर्ने घोषणाले इजरायलको आत्मरक्षाको अधिकारका लागि बेलायतको समर्थनमा आएको परिवर्तनलाई सङ्केत नगरेको स्टारमरले बताए ।

उनले आफ्ना सहयोगीहरूले बेलायतको कदमलाई बुझ्ने विश्वास व्यक्त गरे ।  “यो एक गाह्रो मुद्दा भएको मैले स्वीकार गरेको छु तर यो नीतिगत निर्णय नभएर कानुनी निर्णय हो”, स्टारमरले भने ।

गाजापट्टीमा हमास लडाकुहरू विरुद्ध इजरायलले गरेको युद्धको सम्बन्धमा विदेश मन्त्रालयले गरेको समीक्षापछि यो निर्णय गरिएको उनले बताए ।

आंशिक प्रतिबन्धले गाजामा हालको द्वन्द्वमा प्रयोग गर्न सकिने लडाकू विमान, हेलिकप्टर र ड्रोनहरू समावेश गर्दछ तर उन्नत एफ–३५ स्टील्थ लडाकू जेटहरूको निर्यात निलम्बन गरेको छैन ।

बेलायतको यो निर्णयले इजरायललाई आक्रोशित बनाएको छ र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमलाई “लाजमर्दो” भएको बताए ।

यो कदमले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई सङ्केत गरेको कुरा पनि स्टारमरले अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबार लण्डनले आफ्नो कदमको घोषणा हुनुअघी वासिङ्टनलाई सुचित गरेको बताएका थिए ।

“हामी अन्य राष्ट्रलाई उनीहरूले इजरायललाई कुन हदसम्म समर्थन गर्ने छन् भनेर निर्णय गर्न दिनेछौँ”, किर्बीले पत्रकारलाई भने, “सार्वभौमसत्ता भनेको यही हो।“

लण्डनमा स्टारमरले सांसदलाई भने,“हामीले हाम्रा सहयोगीहरूसँग यस विषयमा कुरा गरेका छौं, उनीहरूसँग फरक कानुनी प्रणाली छ, यही कुरा उनीहरूले राखेका छन् ।”

स्टारमर सरकारले उनको पूर्ववर्ती ऋषि सुनाकको प्रशासनको तुलनामा मध्य पूर्व द्वन्द्वमा बढी सूक्ष्म दृष्टिकोण अपनाइरहेको छ । त्यसैगरी बारम्बार युद्धविराम र गाजामा सहायता वितरणलाई तीव्र बनाउन आह्वान गरेको छ, र हमाससँग अक्टोबर ७ को आक्रमणमा कब्जा गरेका सबै बन्धकको रिहाई माग गरेको छ ।

चीनले बीआरआई देशहरूका लागि उच्चस्तरीय आईपी सम्मेलन आयोजना गर्ने

चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।

चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन (सीएनआईपीए) का अनुसार यस सम्मेलनले ’बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाका प्रमुखहरूलाई निमन्त्रणा गर्ने भएको छ ।

कार्यक्रममा चीनस्थित दूतावासका प्रतिनिधिहरू, सम्बन्धित विभागका अधिकारी र उद्योग व्यवसायीहरूको पनि सहभागिता रहनेछ । यसमा करिब ४५० जना सहभागीहरूको अपेक्षित उपस्थिति रहेको सीएनआईपीएले उल्लेख गरेको छ ।

‘सहभागीहरूले क्षेत्रीय सहयोग, हरित विकास, डिजिटल रूपान्तरण र आईपी मूल्य अभिवृद्धिमा गहन छलफल गर्नेछन्,’ सीएनआईपीएका वरिष्ठ अधिकारी शेङ लीले पत्रकार सम्मेलनमा भने ।

चीनले आईपी नीति, कर्मचारी तालिम, शिक्षालगायत विभिन्न क्षेत्रमा बीआरआई साझेदार देशहरूसँग विचार आदान–प्रदान र सहयोगलाई सक्रिय रूपमा बढाइरहेको छ ।

यसले ५७ बीआरआई साझेदार देशहरूसँग आईपी सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ । बीआरआई साझेदार देशहरूको आईपी क्षमता निर्माणमा सहयोग गर्दै तालिम सञ्चालन गर्न चिनियाँ विशेषज्ञहरूलाई १० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूमा पठाइएको छ ।

आगामी महाधिवेशनमा  सभापतिको उम्मेदवार म हुँः शशांक कोइराला

चितवन ।  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । 

बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताएका हुन् ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशनमा सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । कोइरालाले भने, ‘अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।’

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, ‘सभापतिजीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।’ नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए । 

लामाचौर कप राष्ट्रिय भलिबलमा न्यू डायमण्ड र एपिएफ फाइनलमा

कास्की । पोखराको लामाचौरमा जारी ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत बुधबार सम्पन्न खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ नेपाल पुलिसले जित हासिल गरेको छ ।

नवआदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर यही भदौ १८ गतेदेखि लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भएको हो । महिलातर्फको प्रतिस्पर्धामा डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो ।

पहिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । प्रतियोगितामा लगातार दुई खेल जितेर स्पष्ट छ अङ्क बनाएको डायमण्ड फाइनलमा पुगेको छ । डायमण्डले यसअघि एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।

दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३–० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५–१३ ले हराउन सफल भएको हो । 

यससँगै एपिएफ पनि स्पष्ट छ अङ्कसहित फाइनलमा पुग्न सफल भयो ।  गण्डकी र एभरेष्टले भने कुनै अङ्क जोड्न सकेका छैनन् । चार टिम सहभागी प्रतियोगितामा ‘राउन्ड रोविन लिग’को  आधारमा खेलाइएको छ ।

यता पुरुषतर्फ भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको छ अङ्क छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

यसैगरी आजको अन्तिम खेलमा गण्डकी र एपिएफबीच प्रतिस्पर्धा हुँदाहुँदै दोस्रो सेट सकिँदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १–१ सेट जितेका थिए । 

गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो । बिहान वर्षा भएपछि खेल ढिलागरी सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शङ्कर केसीले जानकारी दिए । 

स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल भोलि हुने केसीले जानकारी दिनुभयो । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट विधागततर्फ आकर्षक पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए । 

वार्षिक कार्ययोजना टुंग्याउने जिम्मा सचिवालयलाई दिने एमाले पोलिटब्युरो बैठकको निर्णय

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिएका थिए । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाएका थिए ।

‘पारदर्शी ढङ्गबाट एउटा विधि बनाएर पार्टी कमिटी र नेता तथा कार्यकर्ता गरेको कामको मूल्याङ्कन प्रणाली बनाउने कुरा भएको छ’, उनले भने, ‘मूल्याङ्कन कमिटीगत रुपमा हुनुपर्नेमा पोलिटब्युरो सदस्यको सुझाव रहेको छ ।’

बैठकमा प्रचार विभाग प्रमुख गौतमले संविधान संशोधनको सन्र्दभमा नेपाली कांग्रेससँग गरिएको सम्झौताअनुसार नै संविधान संशोधन गर्न पोलिटब्युरो सदस्यले सुझाव दिएको बताए । उनले संविधान पुनरावलोकन आवश्यक र पुनरावलोकनको आधारमा संविधान संशोधन गर्न सुझाव दिइएको बताए ।

बैठकमा ५१ जना पोलिटब्युरो सदस्यले महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि सुझाव दिएका थिए । बैठक दुई दिनसम्म पार्टी कार्यालयमा सञ्चालन भएको थियो ।

पलेशालाई सरकारले दिने ६५ लाख पुरस्कारमा कर नकाट्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने स्पष्ट पारेका हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए ।

‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।’, प्रधानमन्त्रीले भने, ‘यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’

सो अवसरमा खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

आगामी निर्वाचन एक्लै लड्ने एमाले पोलिटब्युरो बैठकको निष्कर्ष

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थी मोर्चाको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । दुई दिनसम्म बसेको पोलिटब्युरो बैठकले वामपन्थीको नाममा तत्काल कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको हो ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीन र चरित्रहीन गतिविधि नचल्ने बताएका थिए ।

प्रधानमन्त्रीले कांग्रेस–एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको बताए । त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘निर्वाचनमा एमालेले नीति तथा कार्यक्रमको आधारमा एक्लै चुनाव लड्छ। कसैको बैशाखी टेक्दैन ।’

त्यस्तै संविधानमा देखिएका समस्याहरू पुनरावलोकन हुने निष्कर्ष पनि एमालेले निकालेको छ । बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनमाथि ५१ जना सदस्यले राय प्रस्तुत गरेका थिए । उनीहरूले निर्णय कार्यान्वयन गर्न जोड दिएका थिए ।

यसरी बनिन् पलेशा ऐतिहासिक ओलम्पियन

काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् । चीनको साङ्घाइमा आर्किटेक्चर पढिरहेकी उनले रातभरी नसुतिकन मेहनत गरेकै कारण आज यस सफलता हासिल गर्न सफल भएको बताइन् । उनले भनिन्, “दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेको हो ।”

सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक भाग लिँदा १३ वर्षकी थिइन् । काठमाडौँंको बागबजारमा सन् २००३ मा जन्मेकी पलेशाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन ।

पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता, २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गर्दै पाँचौँ स्थान हासिल गरेकी थिइन् । त्यसपछि सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौँ स्थान हासिल गरेकी थिइन् ।

सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा उनले कास्य पदक जितकी थिइन् । त्यसपछि सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पदकविहीन भएकी थिइन् । तर सन् २०२१ को एसियाली युथ पारा गेम्समा भने पहिलोपटक स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन् ।

सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिँदै आएका पलेशाको मुख्य प्रशिक्षक कविराज नेगीले पलेशाको सफलताले आफूलाई खुसी प्राप्त भएको बताए । उनले पलेशाको मेहनतले नै आज ओलम्पिक्समा कास्य पदक जित्न सफल भएको उल्लेख गरे । प्रशिक्षक नेगीले आफू जिन्दगीभर स्वयंसेवकका रुपमा काम गरेको भन्दै आगामी दिनमा पनि सोहीअनुसारको स्वयंसेवक गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राज्यले खेलाडीलाई खाने, बस्ने व्यवस्था मिलाएर तालिमको वातावरण बनाइदिए ‘पारा’ बाट धेरै खेलाडीले पदक जित्ने सम्भावना रहेको उनले बताए । पारा तेक्वान्दोका प्रशिक्षक नेगीले सन् २०१५ देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।

पेरिस पारा ओलम्पिकमा के–४४ विधाअन्तर्गत ५७ किलोमुनि तौल समूहमा नेपालकी पलेशाले कांस्य पदक जितेकी हुन् ।

नेपालले यसअघि सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन रहेको थियो । नेपालले सन् २००४ को ग्रीसको एथेन्स पारा ओलम्पिकदेखि  ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।

पदक विजेता खेलाडी पलेशा र नेगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो । त्यसैगरी पलेशालाई आज काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई नगद पुरस्कारसहित सम्मान गरे । महानगरले सम्मानबापत पेलेशालाई रु पाँच लाख लाख तथा प्रशिक्षक नेगीलाई रु तीन लाख प्रदान गरेको छ ।

आज नै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेलप्रमि लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशालाई स्वागत गरेका थिए ।

पलेशाको सम्मानमा त्रिभुवन विमानस्थलबाट एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर र्याली टुङ्गिएको थियो ।

पेरिस पारा ओलम्पिक–२०२४ अन्तर्गत भएको  के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित हुन पुगिन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्यपदक नजिक पुगेकी हुन्  ।

गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले  स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् ।

ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

ढोरपाटन (बागलुङ) । यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षणले टेण्डर खुलाएको छ । आगामी असोजदेखि हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, आठ वटा झारल र ११ वटा बँदेल सिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरु हुने उनको भनाइ छ ।

धेरै महँगो र साहसिक हुने हुँदा धेरै जसो विदेशी सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा आएर सिकार खेल्ने उनी बताउँछन् । टेण्डर प्राप्त गर्ने संस्थाले नेपाली तथा विदेशी सिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ ।

ढोरपाटनमा प्रत्येक वर्ष पहिलो सिजन असोज–मङ्सिर र दोस्रो सिजन फागुन–वैशाखमा सिकार याम सुरु हुने उनले बताए । उनका अनुसार गत वर्ष सिकार आरक्षणबाट रु चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको थियो ।

बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरी तीन जिल्ला फैलिएको सिकार आरक्षणलाई सिकार खेल्नका लागि सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरिएको छ ।

यस आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् भने नाउर, झारल, थार र हिमाली भालु पाइन्छन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चरा पाइने सिकार आरक्षण कार्यालयले जनाएको छ ।

अस्ट्रेलियाको वार्षिक जिडिपीमा गिरावट

अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (एक दशमलव पाँच प्रतिशत) को रिपोर्ट गरेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्मको आर्थिक वर्षमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) एक दशमलव पाँच प्रतिशतले बढेको देखाएको छ । यो जुन आव २०२२–२३ मा तीन दशमलव एक प्रतिशत थियो ।

एबिएसका अनुसार सन् १९९१–९२ को आर्थिक मन्दीपछि शून्य दशमलव चार प्रतिशतको आर्थिक वृद्धिदर रहेकामा कोभिड महामारीलाई छोडेर यो अस्ट्रेलियाको सबैभन्दा कम आर्थिक वृद्धिदर हो ।

त्रैमासिक आधारमा अप्रिलको सुरुदेखि जुनको अन्त्य तीन महिनामा अर्थतन्त्र शून्य दशमलव दुई प्रतिशतले वृद्धि भएकामा सन् २०२३ को अन्तिम तीन महिना र सन् २०२४ को पहिलो तीन महिनामा भएको वृद्धिसँग मिल्दोजुल्दो देखिन्छ ।

विश्वव्यापी अनिश्चितता, उच्च मूल्य दर र निरन्तर मुद्रास्फीतिलाई प्रतिबिम्बित गर्दै गत त्रैमासिकमा अर्थतन्त्रमा सीमित वृद्धि भएको पुष्टि गरेको अर्थमन्त्री जिम चाल्मजले तथ्याङ्कको प्रतिक्रिया दिए । 

उनले यसले मानिसहरूको दबाबलाई देखाउने बताए । उनका अनुसार यसले अर्थतन्त्रलाई हानि नपुग्ने गरी मुद्रास्फीतिसँग लड्न र मानिसहरूलाई कडा मेहनत गर्न सहयोग पुर्याउन मुलुकको योजनालाई उचित ठहर्याउँछ ।   

एबिएसले जुनमा समाप्त हुने त्रैमासिकमा घरेलु खर्च अघिल्लो तीन महिनाको तुलनामा शून्य दशमलव दुई प्रतिशतले कम हुँदा जिडिपी वृद्धिमा शून्य दशमलव एक प्रतिशत अङ्कले कमी भएको तर सरकारी खर्च एक दशमलव चार प्रतिशतले बढेको जनाएको छ ।

अघिल्लो दुई त्रैमासिकमा गिरावट आएपछि जुनमा समाप्त हुने त्रैमासिकमा सेवा निर्यात पाँच दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।

अछाममा जिप दुर्घटना हुँदा आठजना घाइते

अछाम । अछामको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

जिपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् ।

घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका–४ बस्ने १७ वर्षीया पुजा सुनार घाइते भएका छन् ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए । चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।

अस्मिता पौडेलले विष खुवाएर किन गरिन् दुई छोरीको हत्या ?

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भई सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पना र एक वर्षीया आइङ्कालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ ।

दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैचा नगरपालिका–७ स्थित केरा बगानमा फेला पारेको थियो । प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा बुधबार झापा जिल्ला विर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

आरोपित अस्मितालाई सञ्चारकर्मीको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताए । आरोपी अस्मिताले श्रीमानले आफूमाथि सधैँ कुटपिट गर्ने र मार्छु भन्ने गरेकाले रिसको झोकमा भदौ १४ साँझ १८ः३० बजे आफूले विष खाइ र छोरीलाई खुवाएकोमा छोरीको मृत्यु भएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।

जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न चार दिनको म्याद गरिएको प्रहरीले जनाएको छ ।

संसदीय सुनुवाइ समितिमा यस्तो छ प्रस्तावित चार राजदूतको प्रतिबद्धता

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बुधबार रुसी महासङ्घ, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ ।

समितिले प्रस्तावित राजदूत क्रमशः जङ्गबहादुर चौहान, नरेशविक्रम ढकाल, प्रा डा कपिलमान श्रेष्ठ र डा शिवमाया तुम्वाहाम्फेको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद्ले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा नाम पठाएको थियो ।

समितिको बैठकमा प्रस्तावित राजदूतले आआफ्नो शैक्षिक योग्यता, अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारीका लागि प्रस्ताव गरिएका मुलुकबीचको सम्बन्ध, उच्चस्तरीय भ्रमण आदानप्रदान, लगानी, व्यापार, पर्यटन, सहयोग तथा निर्यातका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराए ।

त्यसअवसरमा साउदी अरबका लागि प्रस्तावित राजदूत ढकालले ४६ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको साउदी पछिल्लो समय नेपालको महत्त्वपूर्ण श्रम गन्तव्य रहेको हुँदाले अहिले त्यहाँ करिब चार लाख नेपाली श्रमिक रहेको अनुमान गरिएको बताए । उनले भने, “आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरमा दुई देशबीच सम्बन्ध सुदृढ हँुदै गएको छ । साउदीबाट उच्चस्तरको भ्रमण, समयसापेक्ष श्रम सम्झौता नवीकरण र आफ्नै दूतावास भवन निर्माणलाई प्राथमिकतामा दिइनेछ ।”

स्थानीय कानुनबारे जानकारी नहुँदा र विभिन्न घटनामा संलग्न भएको आरोपमा अहिले त्यहाँ करिब छ सय नेपाली जेलमा रहेको जानकारी दिँदै उनले नेपालको भन्दा फरक हावापानीकारण पनि त्यहाँका जाने नेपालीले शास्ती खेप्न परेकाले श्रमिकलाई जनचेतनाका कार्यक्रम आवश्यक रहेको जानकारी दिए ।

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा डा श्रेष्ठले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, नेपालको आत्मसम्मान र राष्ट्रिय हितलाई सर्वाेपरि राखेर आफूले जिम्मेवारी बहन गर्ने बताए ।

उनले भने, “नेपाल र दक्षिण अफ्रिकाले द्वन्द्वपछि शान्ति स्थापनाका लागि गरेका प्रयास विश्वका लागि उदाहरणीय छ । नेपालले त्यहाँबाट लिन सक्ने लाभका क्षेत्र पहिचान गरी उच्चस्तरीय भ्रमण, पर्यटन प्रवर्द्धन र लगानी भ्यिाउन कोसिस हुनेछ ।”

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा तुम्वाहाम्फेले नेपाल र कोरियाबीच कूटनीति, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा निकट र प्रगाढ सम्बन्ध रही आएको बताइन् ।

उनले भनिन्, “हाल दक्षिण कोरियामा ६९ हजार चार सय ३८ नेपाली श्रमसहित विभिन्न पेसा व्यवसायमा संलग्न छन् । त्यस्तै, करिब तीन सय कोरियन पनि नेपालमा पेसा–व्यवसाय गरिरहेका छन् । नेपालमा जलविद्युत्, निर्माण र सेवाका क्षेत्रमा कोरियाले लगानीका लागि चासो देखाएको छ ।”

उनले आगामी दिनमा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताइन् । उनले भनिन्, ‘नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो। इमानदार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ। करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन्। जसका कारण इपिएसमा नेपाली श्रमिकको कोटा बर्सेनि वृद्धि हुँदै आएको छ। इपिएस प्रणालीमा नेपालले दर्शाएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु ।’

यसैबीच, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको संसदीय सुनुवाइ बाँकी नै छ । स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराईको पनि संसदीय सुनुवाइ केही दिनभित्रै हुनेछ । यसअघि भारत, चीन, डेनमार्क, जर्मनी, इजरायल, मेलेसिया, पाकिस्तान, पोर्चुगल र कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भइसकेको छ ।

विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन : नेता महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् । नेपाल प्राध्यापक संघको कार्यकममा सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौँ क्याम्पसलाई सम्बन्धन दिइरहेको प्रति इंगित गर्दै महरले पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्ने बताए ।

‘देशभित्र प्रादेशिक रूपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ । प्रादेशिक स्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने कार्य भइरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तह‌मा विश्वविद्यालय विस्तार गर्दै जानुको औचित्यमाथि प्रश्न उठेको छ,’ उनले भने ।

नेता महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा व्यक्त गरे । ‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनुहुन्छ । यस्तो लापरबाहीमा कुलपति जानकार भएको हो भने अचम्म मान्नुपर्छ । राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधान‌को उद्देश्य मनन् गरिनुपर्छ,’ उनले भने ।

लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरुप सरोकारवाला अगाडि बढ्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयको उद्देश्य राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उनले सुझाव दिए।

विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्ववाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको महरको टिप्पणी छ । उच्च शिक्षामा विद्यमान समस्या समाधानका लागि सरकारसहित सरोकारवाला सबै निकाय गम्भीर र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपति पौडेलबाट पारालम्पिकमा कास्य पदक विजेता पलेशा सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।

शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

त्यस्तै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

एमबीबीएस प्रवेश परीक्षामा भएको त्रुटिबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै त्यसलाई सच्याउन सरकारलाई निर्देशन दिएको हो ।

परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

समितिले यस सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा शिक्षामन्त्री विद्या भट्टराईले पनि आयोगले गम्भीर त्रुटी गरेको भन्दै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी थिइन् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ)का प्रमुखले बताएका छन् ।

विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ ।

तथ्याङ्कअनुसार पछिल्लो समयमा अपेक्षाभन्दा धेरै तापक्रम बढेको र यो हामीले तापक्रम सन्तुलनका लागि जनाएको प्रतिवद्धताभन्दा विपरित भएको डब्ल्युएमओका प्रमुख सेलेस्ट साउलोले बताए ।

ईयूको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ले गत वर्ष अगस्टमा मापन गरिएको रेकर्ड १६.८२ डिग्री सेल्सियसभन्दा माथि रहेको उनले बताए ।

सिङ्गापुरमा स्थानीय मौसम विज्ञान निकायहरूको क्षेत्रीय जलवायुसम्बन्धी एक कार्यक्रममा बोल्दै निर्धारित ‘मापदण्ड’ पार भइसकेको उनले बताए ।

तापक्रम वृद्धि नियन्त्रण गर्न थप स्रोतहरू चाहिने उल्लेख गर्दै साउलोले मौसम विज्ञान निकायका लागि राम्रो निगरानी र समर्थनका लागि पनि आह्वान गरे ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ)ले एसिया र प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारेको पछिल्लो मूल्याङ्कन जारी गरेको केही दिनपछि आएको यस फोरमले धेरै क्षेत्रमा समुद्री सतहको वृद्धि औसतभन्दा माथि रहेको चेतावनी दिएको छ ।

‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’का अनुसार अगस्टसम्मको रेकर्डले १५ महिनाको वृद्धिको निरन्तरतालाई जारी राखेको देखिन्छ भने प्रत्येक महिनामा अघिल्लो बर्षको तापक्रमको रेकर्डलाई तोडेका देखिन्छ ।

जलवायु मञ्चले सिङ्गापुरलाई वनस्पतिमा लागेको आगो र धुवाँले गर्दा हुने प्रदूषण अनुगमन गर्ने क्षेत्रीय केन्द्रको रूपमा घोषणा गरेको छ ।

विश्वभर दुई वटा यस प्रकारका केन्द्र छन् । केन्द्रले आगो र प्रदूषण पूर्वानुमानमा राम्रो गुणस्तरको जानकारी प्रदान गरी क्षेत्रीय तथ्याङ्कमा रहेको अन्तरलाई कम गर्ने अधिकारीहरूले बताएका छन् ।

थाइल्याण्डमा सेना निकट दललाई बाहिरै राखी नयाँ मन्त्रीमण्डलको गठन

थाइल्याण्डका नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले बुधबार आफ्नो मन्त्रिमण्डलको घोषणा गरेकी छन् । उनले सन् २०१९ पछि पहिलो पटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएकी छन् ।

थाइ नरेश महा वजिरालोङकोर्नले फेउ थाइ पार्टीका प्रधानमन्त्री पेतोङ्तार्नले पेश गरेका मन्त्रीमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै मन्त्रीमण्डललाई आधिकारिकता दिएका छन् । उनले अर्को हप्ता संसदमा आफ्नो ‘पोलिसी प्लेटफर्म’ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

विवादास्पद अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पेतोङतार्नलाई गत महिना थाइल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा चयन गरिएको थियो ।

उनले यस पहिलेका धेरै शीर्ष मन्त्रीहरूलाई परिवर्तन गर्नुभएको छैन तर सत्तारूढ गठबन्धनबाट पूर्व सेना प्रमुख र सरकारविरूद्धको ‘कू’ को योजनाकार मानिने प्रवित वोङसुवानको नेतृत्वमा रहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) लाई हटाइएको छ।

पीपीआरपीलाई सन् २०१९ को चुनावमा सैनिक अधिकारीहरूलाई नागरिक भेषमा सत्ताकायम राख्ने साधनको रूपमा स्थापित गरिएको थियो र उक्त दलले गत वर्षको चुनावसम्म सरकारको नेतृत्व गरेको थियो।

फेउ थाईले गत वर्षको अगष्टमा आफ्नो शासकीय गठबन्धनमा पीपीआरपी थप्दा केही समर्थकहरूमा आश्चर्य र त्रास पैदा भएको थियो।

सन् २०१४ मा फेउ थाईका अन्तिम प्रधानमन्त्री पेतोङ्तार्नकी फुपु यिङलक सिनावात्रालाई पदच्युत गरी पाँच वर्षको प्रत्यक्ष सैन्य शासनको मार्ग प्रशस्त गर्ने ‘कू’ योजनाकारका रूपमा प्रवितलाई पनि जिम्मेवार मानिन्छ। एक महिला पत्रकारलाई प्रश्न सोध्न खोज्दा थप्पड हानेको भिडियो सार्वजनिक भएपछि ७९ वर्षीय पवितमाथि अनुसन्धान भइरहेको छ ।

थाक्सिन र उनका सहयोगीहरूसँगको शत्रुताले २० वर्षभन्दा बढी समयदेखि थाई राजनीति अस्थिर बनाएको र वरिष्ठ सैन्य अधिकारीहरूसँग निकट सम्बन्ध रहेको पीपीआरपीलाई अँगाल्नुलाई धेरैले थाई राजनीतिलाई जुवाको रूपमा हेरेका थिए।

थाई राजनीतिक परिदृश्यमा लामो समयदेखि थाक्सिन र राज्यको परम्परावादी सेना समर्थक दल र राजावादी वर्गबीच सत्ताको लागि सङ्घर्ष चलिरहेको समयमा नयाँ मन्त्रीमण्डलको गठन भएको छ ।

पूर्व टेलिकम मालिक र एक पटक म्यानचेस्टर सिटीको लगानीकर्ता समेत रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा र उनको दलबाट विभाजित दलहरूले पटक पटक निर्वाचनमा विजय प्राप्त गरेका थिए । तर, उनीहरूको सरकारलाई ‘कू’ र अदालतको फैसलामार्फत् हटाएर धेरै पटक सेना निकट अधिकारीहरूको नेतृत्वमा सरकारहरू बनेका थिए ।

थाक्सिनलाइ सन् २००६ मा सेनाले ‘कू’ मार्फत् सत्ताच्युत गरी विभिन्न अभियोग लागेपछि उनी गत वर्षसम्म निर्वासनमा रहँदै आएका थिए ।

संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई भङ्ग गरेको एक सातामा प्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेको थियो ।

स्रेथाको बहिर्गमनले पेतोङ्तार्नलाई शीर्ष पद लिन मार्ग प्रशस्त गरेको छ तर उनले अझै पनि कोभिड–१९ महामारी र मौसमी बाढीले राज्यका धेरै प्रान्तहरूमा विपत निम्त्याएको अर्थव्यवस्थालाई सम्हाल्ने कठिन कार्यको सामना गर्नुपरेको छ।

म्यान्मा–लाओस सीमामा डुङ्गा दुर्घटना हुँदा २० जना बेपत्ता

लाओस, म्यान्मा र थाइल्यान्डको बिचमा अवस्थित ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा भएको डुङ्गाा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताहरूको मृत्यु भएको आशङ्का गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।

थाइल्यान्डको उत्तरी चियाङ राई प्रान्तका प्रहरी प्रमुख मनोप सेनाकुलले बताएअनुसार तीन देश विभाजन गरेको नदीमा ‘तीव्र प्रवाह’ को समयमा सोमबार राति ड्ङ्गा दुर्घटना भएको हो । घटनामा परेका थप १६ जना म्यान्माका नागरिकको उद्धार गरिएको उनले जनाएका छन् ।

म्यान्माका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार डुङ्गा लाओसबाट म्यान्मा जाँदै गर्दा इन्जिनमा समस्या आएपछि दुर्घटनामा परेको थियो ।

सामाजिक सञ्जालमा साभार गरिएको भिडियोमा नदीको लाओस छेउमा रहेका मानिसहरूले पानीबाट दुर्घटनामा परेका मानिसहरूलाई बाहिर निकाल्दै गरेको देखाइएको छ ।

अधिकांश बेपत्ता व्यक्ति पूर्वी म्यान्माको अर्ध–स्वायत्त क्षेत्र वाका भएको युनाइटेड वा स्टेट आर्मी (युडब्लुएसए) का प्रवक्ता न्यी रङले बताएका छन् ।

घटनाको अनुसन्धान गरिरहेकाले वास्तविक विवरण अझै आउन सकिनरहेकोे अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार घटना लाओसको गोल्डेन ट्राएङ्गल स्पेशल इकोनोमिक जोन (एसईजेड) नजिकै भएको थियो ।

एसईजेड धेरै चिनियाँ स्वामित्वका क्यासिनो र होटलहरू रहेको स्थान हो ।

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

ढोरपाटन (बागलुङ) । बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट मासुसँगै ऊनको कपडासमेत बिक्री हुँदा किसान उत्साहित हुँदै आएका हुन् ।

दशक अगाडिसम्म भेडाको ऊनबाट बनेका कपडा गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । विदेशबाट माग बढ्न थालेपछि भेडापालक किसान उत्साहित बनेका छन् । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घाम पानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने भएकाले माग बढेको किसान बताउँछन् ।

यहाँका अधिकांश स्थानीयले सयौँको सङ्ख्यामा भेडापालन गर्छन् । काम्लो, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । एउटै परिवारले पाँच सयदेखि एक हजार पाँच सयसम्म भेडाबाख्रा पाल्ने गरेका ढोरपाटन नगरपालिका–९ का बिर्खबहादुर पुनले बताए । “भेडाबाख्राको सङ्ख्या बढी भएकाले ऊन प्रशस्त उत्पादन हुन्छ । मासु र ऊनका कपडाबाट भेडापालक किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन्”, उनले भने ।

मासु स्थानीयस्तरमा बिक्री हुने गरेको भन्दै त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गरेको पुनले जानकारी दिए । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनको भनाइ छ ।

पहिले–पहिले गोठालाले लगाउने ऊनका कपडा अहिले विदेश निर्यात हुँदा अचम्म लाग्ने पुनले बताए । एक दशक अगाडि काम्लो, बख्खु, घुम लगाउने मान्छेलाई लेकाली र गोठालाको सङ्ज्ञा दिने गरिएकामा अहिले विदेशमा बस्नेको रोजाइमा यी कपडा पर्न थालेको उनले जानकारी दिए ।

पुनले एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्ने भन्दै ती सामान विदेश पठाउँदा आम्दानी पनि प्रशस्त हुने बताए । एउटा ऊनको कपडाको मूल्य न्यूनतम १५ हजारदेखि ६० हजारसम्म पर्ने उनले जानकारी दिए ।

आफूहरुले लेकमा उत्पादन गर्ने काम्लो, बख्खु, घुम जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत देशमा निर्यात हुने गरेको पुनले बताए ।

“हामीहरुले घुम, काम्लो ओड्दा भेडाको ऊनको कपडा लगाउने मान्छे भनेर हेपेर गोठाले भन्थे । अहिले धेरैले ऊनको कपडा चाहियो भन्नुहुन्छ, खुसी लाग्छ । गाउँघरसँगै विदेशबाट बढी माग गर्नुहुन्छ” उनले भने, “भेडा पालेर पहिले मासु बेच्थ्यौँ । अहिले त्यसको रौँबाट बनेका कपडा बेच्न थालेका छौँ । नयाँ प्रविधिको प्रयोग गरी कपडा बुन्दा सहज हुन्थ्यो होला, हामीसँग प्रविधि नहुँदा पुरानै सीपको प्रयोगबाट कपडा बनाउने गरेका छौँ ।”

निसीखोला गाउँपालिका–६ का वीरमानबुढा मगरले आफूहरु सानो हुँदा चप्पल, सिरक, डसना र अन्य कपडा पाउन मुस्किल हुने गरेको स्मरण गर्दै उतिबेला ऊनबाट बनेका कपडा प्रयोग गर्ने गरेको बताए । पछिल्लो समय भेडा पाल्ने किसान घट्दै गएको भन्दै ऊनको कपडाको माग भने बढ्दै गएको उनको भनाइ छ ।

मगरले चार पुस्तादेखि भेडा पाल्दै आएको सुनाउँदै आफूपछिको पुस्ताले चासो नदिएको गुनासो पोखे । उनले भने, “पुस्ताले परम्परागत सीप सिक्न मान्दैनन्, हाम्रो पालामा कपडाको अभाव थियो, अभावले ऊनको कपडा बनाएर लगाउन सिकायो । अहिले बजारमा आधुनिक कपडा पाउँछ, त्यही भएर युवापुस्ता सीप सिक्न चाहदैनन् । अहिले यहाँबाट विदेश गएकाले फोन गरेर मलाई काम्लो, हापदुला चाहियो पठाइदिनुस् भन्छन् ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलालबुढा मगरले ऊनका कपडा बनाउनका लागि किसानलाई आधुनिक प्रविधिसँग जोड्ने योजना बनाइएको बताए । तमानखोलाका अधिकांश किसानले भेडापालन गर्दै आएको भन्दै किसानलाई आधुनिक उपकरणसहित आधसनिक सीप सिकाउने योजनामा पालिका रहेको उनले जानकारी दिए ।

किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष बुढा मगर बताए ।

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ । मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा सो उपचार सेवा विस्तार गरिएको हो । 

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको छ ।

अस्पतालमा बुधबार यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल र कोशी प्रादेशिक अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०२४–३० स्वीकृत गरेका थिए । क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ । 

त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।

यसलगत्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो ।

‘शेयर’ बजार बुलमा हुने भूल

अचुतकुमार ओझा
‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले अर्थतन्त्रलाई चलायमान मात्र बनाउँदैन, राज्यकोषलाई समेत सबल बनाउन मद्दत गर्छ । पुराना र अनुभवी व्यक्ति र संस्था मात्रै नभई नयाँ लगानीकर्ताहरु समेत बजारमा प्रवेश हुने गर्छन् । कारोबार रकम, सूचकाङ्क र लगानीकर्ताहरुको ‘पोर्टफोलियो’ सबै बढ्दै गएका सूचना र समाचारहरुले मिडियाहरु रङ्गिएका हुन्छन् । 


सामाजिक सञ्जाल, चोक बजार र बस्तीहरु शेयर बहसले तताएको हुन्छ । यसको प्रभाव सामान्य व्यक्तिदेखि बौद्धिक र व्यवसायीसम्म पर्न पुग्छ । यसरी सबै तह तप्कामा सकारात्मक माहोल बन्दै गर्दा लगानीकर्ताले शेयर बजारमा हुने विपत्ति बिर्सिसकेका हुन्छन् । यस्तो परिस्थितिमा नयाँ, कम अनुभवी र अनुभवीले समेत आफ्ना अनुशासन तथा रणनीति र्बििर्सएर गर्ने व्यवहारका कारण धेरै भूल हुने गर्छ । त्यसलाई जान्न आवश्यक छ ।

बढ्छ अझै बढ्छ  

शेयर बजार जब बुल लयमा हुन्छ । लगानीकर्ता होस् वा कारोबारी हरेकले बजार घट्ने कुरा भुलेका हुन्छन् । लामो समयसम्म घटेको बजार नदेख्दा दिमागको स्मरण शक्तिले बजार ओरालो पनि जान्छ भन्ने कुरा बिर्सिसकेको हुन्छ । यस्तो बजारमा हरेक दिन शेयर बजारमा जोडिएका व्यक्ति बजारले अझै नयाँ उचाइ बनाउने विश्वास बोकेर कुरिरहेका हुन्छन् । तर यथार्थ के हो भने सगरमाथाको चुचुरो धेरैले थुप्रै पटक चुमिसके एकजना व्यक्ति पनि अहिलेसम्म टुप्पोमा बसिराख्न सकेका छैनन् । सबैले ओर्लिन परेको छ । शेयर बजारको बुल पनि सगरमाथा चढे जस्तै हो एउटा विन्दुमा पुगेपछि झर्नै पर्छ । बुलको राप, ताप, बढेको पोर्टफोलियो, बनेको सकारात्मक भाव र मिडियामा आएका समाचारलगायत माहोलले मानिस बजार अझै बढ्ने र धेरै कमाउने लोभको लतले बेच्नै बिर्सन्छन् । यसैले बजार बढी मात्रै रहँदैन, यो घट्छ भन्ने नभुलौँ ।

तल बेच्ने माथि किन्ने 

बुल बजार कैयौँपटक पुतलीलाई लोभ्याउन बत्ती बाले जस्तै हो । खासगरी नयाँ र अनुभव कम रहेका लगानीकर्ताको हकमा बुल बजारले यसरी आकर्षित गर्छ छिमेकी, साथी, पसले, अफिस र आफन्त हरेकले प्रत्येक दिन यति कमाए भनेको सुनेरै बजारमा जोडिन पुग्छन् । कसैलाई सोधेर शेयर किन्छन्, कसैले भन्देकै भरमा नाफा हुन्छ बिक्री गर्छन्, फेरि कसैले भन्छ अझै बढ्छ रे, यति पुग्छ रे, उति पुग्छ रे, पहिला आफूले बेचेको शेयर फेरि माथि गएर आपैmले किन्छन् । यही प्रक्रिया चलिरहँदा अन्तिमपटक खरिद गरिएको शेयर बिक्री गर्न छुट्दा सम्पूर्ण धन डुब्न सक्छ । 

उदाहरणका रुपमा हेरौँ कसैले ‘क’ कम्पनीको शेयर रु तीन सयमा किनेर रु चार सयमा बिक्री गर्छ, फेरि कसैले भन्छ ‘क’ कम्पनीको शेयर रु आठ सय पु¥याउने कुरा छ, फलानो समूह वा खेलाडीले उठाउन थाल्यो किन्दा हुन्छ । आपैmँले बेचेको शेयर पुनः रु पाँच सयमा किन्छ । उक्त कम्पनीको मूल्य रु सात सय पुग्छ, कसैले भन्छ बजार घट्ला जस्तो छ बेच्दा हुन्छ, त्यसैका आधारमा बेचिन्छ । केही दिन बजार ‘करेक्सन’ हुन्छ । फेरि बढ्न थाल्छ । उक्त कम्पनीको मूल्य रु नौ सय पुग्छ । फेरि उसैले भन्छ रु एक हजार तीन सय पु¥याउने कुरा छ किन्दा हुन्छ । उसैगरी किनिन्छ तर बजार केही माथि त पुग्छ तर बिक्री गर्न नपाउँदै घट्न थाल्छ र बजारले बियरिस (घट्दो) लय समात्न थाल्छ । यसपछि त्यस्ता लगानीकर्ताले कि त घाटामा बिक्री गरेर निस्कनुपर्छ कि त अर्कै बुल कुर्नुको विकल्प हुँदैन । यसैले बुल बजारमा तल बेच्ने माथि किनेर पनि कमाउन सकिन्छ भन्ने भ्रमबाट बच्ने रणनीति हरेकले बनाउन आवश्यक छ ।

खरिद गर्न नपाइने अत्यास

बुल बजारमा खरिदकर्ता यति धेरै भोकाएका हुन्छन् । बिक्रेताले जुन दरमा शेयर बिक्री गर्न चाहन्छन् । त्यही दरमा खरिद गरिदिन्छन् । पैसा बोकेर बसेका क्रेता बजार बढेको देखेर आफूले कमाउने अवसर गुमाएकामा पश्चातापको अनुभूति गरिरहेका हुन्छन् । माग यसरी बढ्छ कैयौँपटक आपूर्ति शून्य हुन्छ । लगानीकर्ता बजारमा छिर्न ढिलो भएकामा थकथक मानिरहेका हुन्छन् । न खरिद कर्ता न बिक्रेता दुवै पक्ष बजार रकेट गतिमा अझै अगाडि जाने विश्वास गरेर शेयर जम्मा गर्न चाहन्छन् । यसले गर्दा बजारमा शेयर अभाव हुन पुग्छ र यो सधँै रहिरहने विश्वास यति बलियो भएर जान्छ । 

मानिस शेयर आफ्नो हातबाट फुस्कन नदिन कर्जा लिएर बजारमा उत्रिन्छ । खरिद गर्न नपाइने अत्यासले लगानीकर्ता निराश हुन्छन् र जुनसुकै मूल्यमा छिटोछिटो शेयर उठाउन थाल्छन् । यो एउटा भ्रम हो । बजार करेक्सन हुन्छ नै, शेयर खरिद गर्ने अवसर बजारले दिन्छ नै तर बुल बजारले शेयर खरिद गर्न पाइँदैन भन्ने अत्यास देखाएर नयाँलाई मात्र नभई अनुभवी लगानीकर्तालाई समेत भूलमा पारिदिन सक्छ ।

बुलमा जान्नु र छानु पर्दैन 

बुल बजारमा आमबुझाइ नै ‘सबै शेयरको मूल्य बढ्छ’, ‘जुन कम्पनीको शेयर लिए पनि हुन्छ’, ‘बुलमा छानिरहनु पर्दैन’, ‘बरु छिटो किन नत्र महङ्गोमा परिएला’ भन्ने रहेको पाइन्छ । यस्तो बजारमा कैयौँपटक आधारभूत पक्ष बलियो भएका कम्पनीको भन्दा कमजोर कम्पनीको मूल्य उच्च हुने गर्छ, भएका पनि छन् । चाहे त्यो बजारमा गलत सूचना दिएर होस्, शेयर सङ्कलन गरेर होस् वा हल्ला गराएर होस् मूल्य अस्वाभाविक रुपमा बढाउने र चलखेल गर्ने गरेको पाइन्छ । यसैको लहलहैमा थुप्रै लगानीकर्ता पछि लाग्ने गरेका छन् । तर सत्य के हो भने कुनै विन्दुसम्म बढे तापनि जब बजारको बेलुनको हावा फुस्कन्छ तब ती शेयरको मूल्य आफ्नै धरातलमा फर्कन बाध्य हुनेछ । यसरी तलतिर आउँदै गर्दा राम्रा कम्पनीको मूल्य माथि नै बस्ने छभने खराब कम्पनीको मूल्य भुइँमा आउने निश्चित छ । एउटा स्तरबाट माथि लागेपछि लगानीकर्ताले खोजीखोजी छानेर राम्रा शेयर मात्र खरिद गर्ने हुँदा सबै कम्पनीका शेयरको मूल्यसँगसँगै बढ्न सम्भव छैन । यसैले बुल होस् वा बियरिस होस् सबै अवस्थामा उत्तम कम्पनी छानेर शेयर किन्ने गर्नुपर्छ ।

कम पुँजी भएका कम्पनीमा उचालिनु 

बुल बजारमा लगानीकर्ताहरुको मनोविज्ञान धेरै, छिटो र छोटो माध्यमबाट कमाउनु हुन्छ । यसका विविध विकल्पहरु हुन सक्छ तर खतरा उच्च हुने गर्छ । लगानीकर्ताहरु यति धेरै भोकाएका हुन्छन् तातेको बजारबाट काँचो खानेकुरा पाक्ने मात्र होइन, सडेका र बिग्रेका वस्तुहरु समेत शुद्धीकरण गर्न सकिने आत्मविश्वास बोकेर लगानीलाई केन्द्रीकृत गरिरहेका हुन्छन् । खासगरी कम्पनी छनोटमा आधारभूत पक्ष सबल भएकाभन्दा पनि कम पुँजी भएका कम्पनीको बहुसङ्ख्यक शेयर सङ्कलन गर्ने र आफूले चाहेको मूल्यमा उचाल्ने र खसाल्ने ढङ्गबाट लगानी गर्ने प्रवृत्ति बजारमा विकास हुँदै गइरहेको छ । यसले कम पुँजी भएका कम्पनीको शेयर बजारमा अभाव सिर्जना गरी त्यही मौकामा मूल्य अत्यधिक वृद्धि गराएर लगानीकर्ताहरुलाई किन पहिला किनेनछु भन्ने बनाउँदै स्मार्ट लगानीकर्ताहरुले नयाँ र कम अनुभवीलाई माथिलो विन्दुमा शेयर जिम्मा लगाएर आफू विस्तारै लाभांश क्षमता उच्च रहेका, संस्थागत सुशासन राम्रो भएको र भविष्यमा थप उन्नति गर्नसक्ने कम्पनीमा सर्ने गरेको देखिन्छ । 


यसैले बुल बजारमा उच्च जोखिम बहन गर्नसक्ने र ठूलो पुँजी रहेका कम्पनीको भन्दा पनि कर्नलिङ् (सङ्कलन) गर्न सजिलो हुने कम्पनीका शेयरमा लगानीकर्ता छिटो उच्च लाभ पाउने आशामा उचालिँदा फस्ने सम्भावना सधैँ धेरै हुनेगर्छ । लगानीकर्ताले सानो पुँजी रहेका, मूल्य अकाशिएका तर क्षमता नभएकाभन्दा पनि बलिया कम्पनी छनोट गर्न सक्नुपर्छ । शेयर बजारमा सधैँ तातो आलु अरूलाई भिडाएर आफू उम्कन्छु भन्दा आलु लिने कोही भेटिएन भने आपैmँलाई पोल्न सक्छ ।  

हरेक सूचनामा बहकिने 

बियरिस बजारमा पनि सूचना पासोमा फसिने सम्भावना रहन्छ तर तुलनात्मक रुपमा बुल बजारमा त्योभन्दा बढ्ता छलकपट हुनसक्ने हुन्छ । बुल बजारमा नयाँ व्यक्तिदेखि अनुभव कम भएका र अनुभवी सबैमा लोभ बढ्छ । त्यसैको फाइदा उठाउँदै बजारमा अनेक किसिमका हत्थकण्डा लगाएर शेयरको मूल्य उचाल्ने खेल हुन्छ । यसको मूल उपाय सूचना पासो नै हो । यसका लागि सामाजिक सञ्जाल, सञ्चारमाध्यम, कम्पनी, नियामक वा व्यक्तिगत भेटघाट र सम्बन्धहरुको माध्यमबाट हल्ला, भ्रामक सूचना, शेयर सङ्कलन र बिक्री, शेयर मूल्य तोकेर हल्ला गर्ने, विश्लेषण सुनाउने र नीतिगत पासोहरु आदि फ्याँकेर बजारलाई जुरुक्कै बनाउने व्यक्ति, समूह र निकायहरुका जालसाजीमा लगानीकर्ता झुक्किने प्रबल अवस्था हुन्छ । यसैले आफूले पाएको सूचना कति साँचो र सत्य छ थप अनुसन्धानसहित परीक्षण गरेर मात्रै आफ्नो निर्णय प्रक्रियामा उक्त सूचनालाई प्रयोग गर्ने गर्नुपर्छ । अन्यथा सूचना पासोमा परिएर भुइँको टिप्न खोज्दा पोल्टाकै पोखिन सक्छ । 


बुल बजारमा सूचनाका माध्यमबाट ठगी गर्नेको र ठगिनेको सङ्ख्या दुवै अधिक हुनेहुँदा हरेक सूचनालाई प्रयोग गर्नु अगाडि त्यसको तथ्यलाई जाँच गर्न आवश्यक छ । किनकि सबै सूचना त्यसरी जारी गरिन्छ जहाँ सामान्य मान्छेलाई लोभ्याउने र यो नै सत्य हो भन्ने पार्न सकिने ढङ्गले डिजाइन गरेर बजारमा फ्याँकिएको हुन्छ । यसले गर्दा बुलमा हरेकलाई प्रत्येक सूचना साँचोजस्तो लाग्नु किन स्वाभाविक हो भने त्यसैका कारण आफ्नो पोर्टफोलियो बृद्धि भइरहेको हुन्छ । तसर्थ, सबै सूचना वास्तविक नहुन सक्छन् । यस्तो सूचना खेतीबाट जोगिन र सूचना पासोका कारण कुनै क्षति नहोस् भनेर बुल बजारमा लगानीकर्ता थप जागरुक हुन आवश्यक छ ।

अरूले कमाएको सुनेर बजार छिर्ने गर्नु  

भारतमा एउटा भनाइ छ ‘दिल्लीको रेल स्टेसनमा उभिदिए पुग्छ भीडले रेल आफैं चढाउँछ, ओर्लने समयमा ढोका छेउमा उभिदिए पुग्छ हुलले आफैं झारिदिन्छ ।’ बुल बजारको चरित्र पनि यस्तै हो, अरूले कमाएको कहानी सुन्दासुन्दै त्यही सुनेर शेयरका बारेमा ‘श’ थाहा नभएका व्यक्तिहरु बजार छिर्ने गर्छन्, आफूलाई रोक्नै सक्दैनन् । बजारमा हावा यसरी आउँछ, हरेक व्यक्तिलाई आकर्षित गर्छ, एक व्यक्तिको फ्रिक्वेन्सीले अर्को व्यक्तिलाई तानिदिन्छ । 

हरेकलाई बजारले लोभ जगाउँछ, अरू धनी हुँदै गएको र आफू छुटेकामा कैयौँपटक रिस पनि उठ्छ । सके उसलाई भेट्टाउने र नसके कम्तीमा कमाउनेको नजिक पुग्ने हतारोमा मान्छे बजारमा पौडिन हम्फाल्छ तर उससँग पोखरी कति गहिरो र अप्ठेरो हुन सक्छ भनेर पौडी खेलेको अनुभव नै हुँदैन । तैपनि ऊ पनि अरूलाई भेट्टाउन र बजारलाई जित्न हतारिन्छ । यसले सिङ्गो बजार र स्वयम् व्यक्तिको निजी जीवनलाई तहसनहस बनाउन सक्छ र बनाएका थुप्रै समचार हामीले पढेका छौं । यसैले अरूले कमाएको देखेर मात्रै बजार छिर्नुभन्दा केही सिकेर, केही जानेर र केही अध्ययन गरेर बजारमा कारोबार र लगानी गर्न जाने गरौँ । पौडी खेल्न सिकेपछि मात्रै पोखरीमा हम्फाल्यौँ भने सुरक्षित हुन सकिन्छ, नत्र सधैँ कागताली सम्भव छैन, सधैं  सबैलाई चिट्ठा पर्दैन ।


(लेखक शेयर बजारका जानकार हुनुहुन्छ)

पलेशालाई काठमाडौं महानगरपालिकाबाट ५ लाख नगदसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ ।

बुधबार महानगरपालिकाका मेयर बालेन साहले पलेशालाई सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेशाकी माता पनिता गोवर्धन र पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा मेयर साहले भने, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’

त्यसक्रममा पलेशाले खेल अनुभव सुनाउँदै भनिन्, मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यसअघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।’

पलेशाले गत शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् ।

पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् ।रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेक थिइन् ।

९० अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । मंगलबार सामान्य बढेको नेप्से बुधबार ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा झरेको छ ।

यसअघि गएको आइतवार नेप्से २७ सय विन्दुबाट तल झरेको थियो । आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यपार, अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ । आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।