`

कांग्रेस-एमालेबीच मतभेद छैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए ।

उनले भने, ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन् । तर सरकारलाई पूराका पूरा समर्थन छ । बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन ।’

देउवाले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताए । उनले कर्मचारीले जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन ।’

अन्टार्क्टिका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान

बागलुङ । अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

९ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

बागलुङ–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुन् । उनी भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रुपमा त्यहाँ पुगेका थिए ।

प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाएको नगरपालिकाले जनाएको छ ।

“बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रुपमा देशभर परिचय बनाइसक्दा उहाँको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो”, नगरप्रमुख श्रेष्ठले भने, “बागलुङ जिल्लाको नाम चिनाउन उहाँको महत्वपूर्ण योगदान छ ।”

विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका छन्। उनका नाममा बुटवल उपहानगरपालिकाले ‘भुवनसिंह मार्ग’ भनेर सडकको नामाकरण गरेको छ । सम्मान ग्रहणपछि विश्वकर्माले प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित हुँदाभन्दा गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताए ।

उनले गृह नगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गरे। “नेपालका विभिन्न जिल्लामा सम्मान भइसक्दा बागलुङले सम्झेन भन्ने लाग्दथ्यो, बागलुङ नगरपालिकाले भव्य कार्यक्रमकाबीच सम्मान गरेको छ, जन्मगाउँमा केही गर्नका लागि बागलुङ नगरपालिकासँग सहकार्य गर्नेछु”, विश्वकर्माले भने ।

एमालेसँग प्रतिस्पर्धा गर्न दल खोलेर आउन बालेनलाई नेता पोखरेलको चुनौती

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले जबरजस्ती विवादमा पार्न खोजिएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजितज साक्षात्कारमा पोखरेलले काठमाडौं महानगरपालिका प्रमुख मेयर बालेन साहलाई लक्षित गर्दै प्रधानमन्त्री ओली ‘अनपपुलर’ भन्ने भाष्य निर्माण नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘अहिले जबरजस्तरुपमा केपी ओली ‘अनपपुलर’ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’

पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिकाका मेयरलाई स्वघोषित ‘पपुलर’को संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न आउन चुनौती दिए ।

उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरु आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरुले नि गरेहुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धाबाट जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं ।’

उनले प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । उनले भने, ‘ओलीजी र बालेन साहको बीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगाताररुपमा नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन ? एमालेले कहाँ बाधा गर्छ ?’

प्रेमगीतका भक्त प्रल्हाद

गण्डकी । तपाईँलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रल्हाद सुवेदीले भने, “म त्यही गीतको खोजीमा छु ।” घुमाउरो जवाफ फर्काउँदै उनले गीत लेखनप्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गरे । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उनको बुझाइ छ । 


गीत लेखनमा दुई दशक बिताएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन् । लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको सुनाए । उनका गीतका मुख्य भावभूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन् । 


“मेरा अधिकांश गीत प्रेमगीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्”, उनले भने, “माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो । यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ ।” पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र सङ्गीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताउनुभयो ।


बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहेका सुवेदीले सङ्गीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताए । “गीत पनि सङ्गीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु”, उनले भने, “प्रेमगीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ ।” 


पौराणिककालका पात्र विष्णुभक्त प्रल्हाद झै उनी प्रेमगीतका भक्त हुन्  भन्दा अतियुक्ति हुँदैन । सुवेदीले गीतलेखनमा आफूलाई समर्पित गरेको बताए । “सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन”, उनले भने ।


सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोकसङ्गीतलाई दिइसकेका छन् । केही गीतमा उनको स्वर र सङ्गीतसमेत छ । स्नातक पढाइका लागि विसं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झरेका उनले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो । उनका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए । 


विसं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा…’ उनको पहिलो गीत हो । उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ । “गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो”, उनले विगत कोट्याए, “सिर्जनाप्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो ।” उनले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको सुनाए ।


सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिए । विसं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उनी काठमाडौँ पुगे । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले सुनाए । काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उनको भनाइ छ ।


नेपाली सङ्गीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा…’ जस्तो चर्चित गीत लेखे । बसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उनलाई थप उचाइमा पुर्यायो


सुवेदी त्योबेला कीर्तिपूरमा बसेर पढ्थे । एकदिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उनले बताए । “टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाउ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा…’ फुर्यो”, गीतको रचनाबारे उनले भने, “हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै सङ्गीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उहाँले धुन तयार गरेर मलाई पठाउनुभयो ।” 


सङ्गीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पारेको सुवेदीले बताए । त्योबेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, सङ्गीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गरेका छन् । “कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो”, उनले भने । उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिएकी छन् । भृकृटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चलदृश्य छायाङ्कलन गरिएको सुवदीले सम्झिए । 


त्यसअघि सुवेदीले लेखेको ‘जोगीको भेषैमा…’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो । ‘माया हाँसेको…’, ‘शीतल दिने पिपल स्वामी छ…’, ‘अझै कन्य हो…’, ‘बर्बर आँशु झर्दा खेरीमा..’ जस्ता गीतले उनलाई अझ प्रखर गीतकारका रुपमा चिनायो । पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाउनुभएको छ । प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उनका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन् । उनी गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिन्छन् ।


“थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ”, सुवेदीले भने । गीत लेखेरै आफू बाँचेको उनले बताए । साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीतलेखनलाई आफूले मूलः रुपमा अपनाएको उनको भनाइ छ । 


सङ्गीतमय पवर्त–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डोर्याएको सुवेदीले बताए । “न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा सङ्गीतको मुर्छन्ना भेटिन्छ”, उनले भने, “सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो ।”


आफूमा गीतसङ्गीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ । “गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो”, सुवेदीले भने, “रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए ।” पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उनले अनुभव सुनाए । 


चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ । लोकगायक विष्णु खत्रीलगायतलाई उनले आफ्नो प्रेरणाको स्रोत मान्छन् । सुरुवाती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा सङ्गीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उनले कहिल्यै नबिर्सने बताए । गायक क्षेत्री अमेरिकामा छन् भने सङ्गीतकार थापासँग उनको अहिले पनि सहकार्य जारी छ । सुवेदीले लेखेका र सङ्गीत भरेका गीत ‘ऐना सिसाको..’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदैछन् । 


उक्त गीतको चलदृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिए । नआफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन…’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उनले सुनाए । सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डोर्याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याएका छन् । उनको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ । 


सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘बिन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसकेका छन् । शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताए । “बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ”, कुराकानीलाई बिट मार्दै उनले कवि तीर्थ श्रेष्ठको कविता सम्झिए– 


हामीले लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरु
एकछिनमा हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरु
हामी रहँदारहँदै 
नरहने हाम्रा नामहरु 
हामी नरहँदा 
कसरी रहलान् हाम्रा नामहरु !

रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ताका लागि पहल गर्छुः प्रस्तावि राजदूत चौहान

काठमाडौँ । रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताएका छन् ।

उनले नेपालमा लगानी प्रवद्र्धन गर्ने, उल्लेख्य सङ्ख्यामा पर्यटक भित्राउने, दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने, रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ता तथा यसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए ।

संसदीय सुनुवाइ समितिमा बुधबार आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत चौहानले रुससँग केवल औपचारिक सम्बन्ध मात्र बनाइराख्ने अवस्थाबाट माथि उठेर लगानी तथा पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्बन्ध विकासलगायत क्षेत्रमा काम गर्ने बताएका हुन् । 

रुसले नेपालको ऊर्जा, पर्यटन, कृषि, खेलकुदलगायत क्षेत्रमा लगानी गर्न चासो देखाइरहेको उल्लेख गर्दै प्रस्तावित राजदूत चौहानले त्यसलाई वास्तविकतामा बदल्नका लागि आफूले भूमिका खेल्नसक्ने दाबी गरे ।

नेपालले आफ्नो असंलग्न परराष्ट्रनीतिलाई कायम राख्दै दुईपक्षीय हितका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उनको भनाइ छ ।
     
सडक, ऊर्जा, उद्योगलगायत पूर्वाधारका क्षेत्रमा रुसबाट लगानी भित्र्याउन सकिने सम्भावना रहेको पनि चौहानले उल्लेख गरे । रुसका नागरिकहरुले साहसिक पर्यटन निकै रुचाउने र नेपालमा यस्तो पर्यटनको निकै सम्भावना रहेको हुँदा त्यसबाट पनि नेपालले लाभ लिनसक्ने चौहानको भनाइ छ । 

त्यस्तै शैक्षिक क्षेत्रमा विभिन्न छात्रवृत्तिका कार्यक्रममार्फत रुसले नेपाली विद्यार्थी लैजाने गरेकामा पछिल्लो समय त्यस्तो सङ्ख्या घटेको उल्लेख गर्दै उनले त्यसलाई बढाउन सक्नेबारे आफूले पहल गर्ने पनि बताए । 

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्ने र थप नेपाली त्यहाँ भर्ना हुनबाट रोक्नका लागि आफूले भूमिका खेल्नसक्ने पनि उनको दाबी छ । आफूलाई रसियन भाषाको राम्रो ज्ञान रहेका कारण रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्नका लागि अझ प्रभावकारी ढङ्गले काम गर्नसक्ने उनले बताए ।

रुसस्थित नेपाली दूतावासबाट उपलब्ध पछिल्लो विवरणअनुसार रुसी सेनामा भर्ती भएकामध्ये एक सय ७५ जना स्वदेश फिर्ता भइसकेका, सातजना युक्रेनमा युद्धबन्दीका रुपमा रहेका र ४३ जनाको मृत्यु भएको चौहानले बताए ।

मृत्यु भएकामध्ये पाँचजनाको डिएनए परीक्षण भइसकेको, होल्डिङ सेन्टरमा राखिएका बाँकी शव चिन्न नसकिने अवस्थामा रहेका र डिएनए परीक्षण भइरहेको उनको भनाइ छ । बिचौलियामार्फत र व्यक्तिगत सम्बन्धका आधारमा अवैध तरिकाले गएकाले रुसी सेनामा कति सङ्ख्यामा नेपाली छन् भन्ने यकिन हुन नसकेको पनि चौहानले बताए । 

युक्रेनका विदेशमन्त्री कुलेबाद्वारा राजीनामा

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनरगठन गर्ने घोषणा गरेपछि उनको राजीनामा आएको हो । 

कुलेबाको राजीनामाको अनुरोधलाई अर्को पूर्ण बैठकमा सांसद्हरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले बताएका छन् ।

ल्भिभमा रातभर भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको सहरका मेयर एन्ड्री सदोवीले बुधबार बिहान बताए । उनले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिए । 

उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो ।

पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् । 

पोल्टावा मिलिट्री इन्स्टिच्युट अफ कम्युनिकेसनको मुख्य भवनमा क्षेप्यास्त्रहरू प्रहार हुँदा भवनका धेरै तला क्षतिग्रस्त भएका थिए । 

धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।

पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ । 

यो आक्रमण अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । युक्रेनी सेना रुसको कुर्स्क सीमा क्षेत्रमा आफ्नो पकड बनाउन कोसिस गरिरहेको छ र रुसी सेनाले पुर्वी युक्रेनमा गहिराइसम्म आफ्नो मार्ग बनाएको छ ।

रूसले युक्रेनमा आक्रमण गर्दा ५१ जनाको मृत्यु, घटनाको चौतर्फी निन्दा

रूसले युक्रेनी सहर पोल्ताभामा मङ्गलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार यो आक्रमण दुई देश बाीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबै भन्दा घातक आक्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गर्नु भएको छ । रूसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किएभले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रूसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गर्नुुभएको छ भने उद्धारकर्ताहरूले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरूको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताएका छन् ।

यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायतलगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् ।

यसैबीच अमेरीकी राष्ट्रपति बाइडेनले किएभको रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरू प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा गरेका छन् ।

बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भनेका छन् भने जर्मन विदेश मन्त्री एनालेना बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताएका छन् ।

मङ्गोलियाको भ्रमणपछि मङ्गलबार पुटिनले रूसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ ।

पुटिनकोे मङ्गोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का सदस्यसँगको पहिलो भ्रमण थियो ।

मासिँदैछ कालीगण्डकीको जलसभ्यता

ध्रुवसागर शर्मा गलेश्वर (म्याग्दी) । सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ ।


धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो ।


पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गङ्गाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप सङ्कटमा परेको सरोकार भएकाहरुले बताएका छन् ।


मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताए ।


बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा बर्सेनि आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।


हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुङ्गा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गरे । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उनको भनाइ छ । 


बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताए ।


सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरु अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कट बढ्दै गएको उनको भनाइ छ ।


नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोको जोखिम बढ्नाका साथै तटीय क्षेत्रका बस्तीहरु थप जेखिममा पर्दै जान थालेका छन् । नदी साबिकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताए ।


उनका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्च रुपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न÷नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि विसं २०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो । 


तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न÷नगराउन मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको हो ।


यस्तो छ कालीगण्डकीको महत्व


कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र नभई सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रुपमा रहेको विषयलाई कसैले बिर्सन नहुने सरोकार भएकाहरुको भनाइ छ ।


राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।


“विश्वको एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास अहिले पनि प्रचलनमा छ”, उनले भने ।


कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभई पशु, पक्षी, किट, पतङ्गदेखि मानव जातिलाई समेत सेवा पुर्याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताए । “कालीगण्डकीको धार्मिक महत्व अवर्णनीय छ । यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन”, उनले भने ।


कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यस नदीबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालको सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ ।


‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’


राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनी प्रश्न गरेर लेखेको यो कवितांशमा कालीगण्डकीको महिमा झल्किएको पण्डित पराजुलीले उल्लेख गरे ।


शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि पवित्र नदीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको स्थानीय बताउँछन् । नदीको संरक्षण गरी जलसङ्कट अन्त्य गर्न तीनै तहका सरकारत नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उनीहरुले जोड दिए । 

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा १५ लाख अनुदान पाएका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए।

फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए । करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख गरे।

बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए । फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले १५ लाख अनुदान पाएका उनले जानकारी दिए ।

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् ।

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् ।

नयाँ सहर आयोजनाः आठ वर्षमा ९५ करोड लगानी

दमौली (तनहुँ) । नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो ।

कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले बताए ।

आव २०७२/७३ मा रु तीन करोड ७४ लाख विनियोजन भएकामा रु दुई करोड ३६ लाख, आव २०७३/७४ मा रु १३ करोड २६ लाख विनियोजन भएकामा रु आठ करोड ८० लाख, आव २०७४/७५ मा रु २० करोड ६१ लाख विनियोजन भएकामा रु १९ करोड २४ लाख खर्च भएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार आव २०७५/७६ मा रु चार करोड ९१ लाख, आव २०७६/७७ मा रु १० करोड २९ लाख, आव २०७७/७८ मा रु १३ करोड ४९ लाख, आव २०७८÷७९ मा रु १० करोड ८५ लाख, आव २०७९/८० मा रु १० करोड ४४ लाख र गत आवमा रु १७ करोड ३७ लाख विनियोजन भएकामा रु १५ करोड ४४ लाख खर्च भएको छ । कार्यालयमार्फत हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल तथा यातायातअन्तर्गत सडक कालोपत्र, ढल निर्माण, ग्राभेल र कच्ची सडक निर्माण भएको छ ।

यस कार्यमा रु ६३ करोड लगानी भएको छ । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले जानकारी दिए । बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा रु दुई करोड ९० लाख लगानी भएको छ ।

सामाजिक पूर्वाधारतर्फ हरित उद्यान, किरियापुत्री भवन, ज्येष्ठ नागरिक भवन, सिँढी, मञ्च र शौचालय निर्माणमा भएको अधिकारीले बताए । सांस्कृतिक तथा पर्यटनतर्फ सिद्धगुफामा पूर्वाधार, तालपार्कको विस्तृत अध्ययन प्रतिवेदन र स्टोन पार्क निर्माणमा रु दुई करोड लगानी भएको छ । कार्यालयले ३४.७८ किमी सडक ग्राभेल, १.२४ किमी ढलान, २०.३० किमी कालोपत्र, ४४.६२ किमी नाला निर्माण, तीनवटा सामुदायिक भवन, एउटा सरकारी कार्यालय भवन, एउटा खेलमैदान, दुईवटा मनोरञ्जन पार्क र एउटा खानेपानी योजना निर्माण गरेको जनाएको छ ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । सोका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको अधिकारीले जानकारी दिनुभयो । विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो ।

विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको भन्दै बाटोको किल्ला तोक्ने कार्य सकिएको उनले बताए । उनले बताए, “नगर विकास समितिबाट स्वीकृत भई जग्गा अधिग्रहण र जग्गाको कित्ता कायम गर्न बाँकी छ ।” गत आवमा कार्यालयबाट बाह्रपिर्के हाट बजारको परिसर स्तरोन्नतिमा ८० प्रतिशत प्रगति हासिल भएको छ ।

पालुङटार स्मार्ट सिटीमा स्मार्ट डिजिटल जडान गर्नका लागि रु ७६ लाख ६५ हजार छ सय ४७ मा सम्झौता भएकामा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार नयाँ सहर आयोजनाको अपूरो भवन निर्माण गर्न रु दुई करोड १९ लाख ९९ हजारमा सम्झौता भएमा शत्प्रतिशत प्रगति भएको छ । नयाँ सहर आयोजनाका निमित्त प्रमुख अधिकारीले पालुङटार स्मार्ट सिटीमा शिवमन्दिर, खोप्लाङ, लुङ्गी, ज्योतिचौतारा, सडक स्तरोन्नतिका लागि रु एक करोड ७० लाख तीन हजार छ सय चारमा सम्झौता भएकामा श्तप्रतिशत प्रगति भएको उल्लेख गरे ।

डुम्रे भन्सार नारेश्वरटार सडक स्तरोन्नतिका लागि रु ७१ लाख सात हजार तीन सय चारमा सम्झौता भएकामा ६० प्रतिशत भौतिक र ५७ दशमलव सात प्रतिशत वित्तीय प्रगति भएको छ ।

बन्दीपुर–४ तल्लो डुम्रे चुनेढाड, खहरे, बिरुवा, आलेगाउँ हुँदै शिखरडाँडा जोड्ने कच्ची मोटरमार्ग र ढाप्रेबाट बन्दीपुर केबलकारको स्टेसनसम्म जोड्ने सडक स्तरोन्नतिमा शत्प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिए ।

आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि १० नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साबिकको भानु गाविस–१, २, ३, ४ र साबिकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुखात भएको हो ।

टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा शुरु नियुक्ति लिएका थिए ।

त्यसपछि २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको प्रमाणपत्र पेश गरेका थिए । आयोगले उनले झुट्टा प्रमाण–पत्र पेश गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि दाबी गरेको छ ।

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

वाराणसी ।  वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् । 

भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू बिताउन आउने गर्छन् । 

गङ्गाको किनारमा मृत्युवरणले उनीहरूको त्यहीँ अन्त्येष्टि गरिनेछ र उनीहरूको खरानीलाई नजिकको सिँढीहरू वा ‘घाटहरू’ मा पानीमा छरिन्छ भन्ने ग्यारेन्टी दिन्छ । हिन्दूहरू यसबाट पुनरजन्मको चक्रबाट मुक्ति सुनिश्चित गर्छ भन्ने विश्वास गर्छन् । 

बयानब्बे वर्षीय बद्रीप्रसाद अग्रवालले सुदूर पश्चिमी राजस्थानबाट धेरै दिनसम्म एक हजार किलोमिटरभन्दा लामो यात्रा गरे । आफू मर्नका लागि सही ठाउँमा भएको थाहा पाएर शान्तिपूर्वक पर्खन पाउँदा उनी खुसी थिए ।  

लामो र कठिन जीवनको अन्तिम अवस्थामा आराम गर्दै उनले भने, “यो भगवान्को आफ्नै भूमि हो ।” उनका अनुसार  भगवानले उनलाई अझै पाँच महिना बाँच्ने भनेका छन् ।
उनी एउटा धर्मशालामा समय बिताउन सन्तुष्ट छन् । धर्मशालाले अतीतको शान्त चिन्तनमा आफ्ना अन्तिम दिनहरू बिताउन आउनेहरूलाई सेवा गर्दछ ।

अग्रवालले भने, “म हरेक दिन भगवानसँग कुरा गर्छु, चाँडै नै म भगवानको घरमा शान्तिसँग हुनेछु ।”

सहरका धेरै ‘मुक्ति घर’ मध्येको एक ‘मुक्ति खोज्नेहरूको घर’ भनिने मुमुक्षु भवन धर्मशाला नामक परोपकारी अतिथिगृहमा बस्नका लागि उनले ठाउँ पाएका छन् ।

केन्द्रमा ४० वटा कोठा छन् । धर्मशालाले वाराणसीमा मर्न आउने हजारौँ मानिसलाई सेवा दिन्छ । नदीबाट केवल एक मिनेटको पैदल दूरीमा रहेको उक्त धर्मशाला नदीबाट सबैभन्दा नजिक रहेकाले अग्रवाल त्यहाँ आउन पाउँदा प्रसन्न छन् ।

अनादिकालदेखि भइरहे जस्तै त्यहाँ दाहसंस्कारको आगो कहिल्यै निभ्दैन । 

बनारसको नामबाट पनि चिनिने हिन्दूहरूका लागि उत्तरी सहर वाराणसी विश्वको सबैभन्दा पवित्र स्थानमध्येको एक हो । 

यो संहारका देवता भगवान् शिवको सहर हो । हिन्दूहरू भगवान् शिवले पुनःनिर्माण गर्नुअघि नष्ट गर्नुहुने बताउँछन् । ‘मोक्ष’ अर्थात मुक्तिको खोजीमा मानिसहरू शताब्दीयौँदेखि यहाँको यात्रा गर्दै आएका छन् ।

मोक्ष धर्मशालामा केही एक्लै आउँछन् र परोपकारमा निर्भर हुन्छन् भने केही विवाहित जोडी पनि आउँछन् । अन्यले आफ्नो जीवनको बचत आफ्नो मार्ग तिर्न प्रयोग गर्दछन् वा आफ्नो हेरचाहका लागि आफन्तहरूलाई साथमै ल्याउँछन् । 

बिरामीका लागि चिकित्सा सुविधा छ तर यो पवित्र सहरमा मृत्युमा शोक गर्ने कुरा होइन । यसको सट्टा यसलाई आशीर्वाद मानिन्छ किनकि भक्तहरूमा उनीहरूको आत्माले जीवन र मृत्युको चक्रबाट मुक्ति पाउनेछ भन्ने बुझाइ छ ।

बहत्तर वर्षीया नादी बाई दुई वर्षअघि मणिकर्णिका घाट दाहसंस्कार स्थलबाट आफ्नो समयको प्रतीक्षा गर्दै वाराणसी गइन् ।

“मेरो दाहसंस्कार होस् भन्ने म चाहन्छु जसबाट मेरो आत्मालाई शान्ति प्राप्त होस् र मेरो खरानी गङ्गामा विसर्जन होस्”, उनले भनिन् ।

उनले मोक्ष अगाडि छ भन्ने प्रबल विश्वासमा मृत्युवरण गरेकाहरूको उत्सव हेरेकी छन् । “मानिसहरूलाई दाहसंस्कारका लागि लैजाँदा तपाईंलाई भगवानको जस्तै सिंहासनमा बसाएको जस्तो लाग्दछ”, उनले भनिन् “त्यहाँ धेरै सम्मान छ र सबै कुरा राम्रो तरिकाले गरिन्छ ।”

गुलाब बाई ३० वर्षअघि आफ्ना श्रीमानसँग यहाँ आएकी थिइन् । सात वर्षअघि उनको श्रीमानको मृत्यु भयो । अहिले हुर्किसकेका छोराछोरी भेट्न आउँदा उनी जान तयार छिन् ।

हिन्दू धर्मको पवित्र रङ भगवा साडी लगाएकी ९१ वर्षीया बाई शान्तिपूर्वक आफ्नो प्रतीक्षा गरिरहेकी  छन् । “यहाँ मृत्युवरण गर्दा र अन्त्येष्टि गर्दा जीवन र मृत्युको अन्तहीन चक्र तोडिन्छ, त्यसपछि मलाई मोक्षा प्राप्त हुनेछ”, उनले भनिन् ।

 कांग्रेस-एमालेबीच भएको  सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगरौंः गृहमन्त्री लेखक

महेन्द्रनगर। गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन्।

बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए।

‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ ।’ गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’

उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारण व्यक्त गरे। पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाई थियो।

त्यसैगरि कार्यक्रममा बोल्दै उनले संसदमा भएका दुई ठुला दलहरु बीत सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए।

‘दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ ।’ उनले भने–’कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौ सशस्त्रद्वन्द्वलाई शान्तिमा ल्यायौ ।’

उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठुला दलहरु मिलेर देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए।

उनले  एमाले र कांग्रेसबिच भएको सातवुदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गरे। उक्त समारोहमा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए।

‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन ।’ उनले भने–’यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’ उनले नवनिमिर्त भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गरे।

२०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सन संग रु १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको भएको थियो।

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन । जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो ।

शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन् ।

जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनाउन प्रयास गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको उद्घाटन गरेका छन् ।

बुधबार सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्रीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।

‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘बसाइँसराइ, जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

हिमाल पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीबीच लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके आम जनताको मताधिकारको सम्मान हुने उहाँले उल्लेख गरे ।

फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दाः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित भई छलफल हुनेछ ।

उद्घाटनसत्रका अवसरमा  मञ्चका अध्यक्ष भूटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे ।

सम्मेलनमा नेपालका साथै भारत, भूटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी हुनुहुन्छ । फेम्बोसाको ११औँ सम्मेलन दुई वर्षअघि भूटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।

पारा ओलम्पिक्समा पदक विजेता पलेशालाई नगर परिक्रमाकासाथ भव्य स्वागत(फोटोफिचर)

काठमाडौं । पेरिस पारा ओलम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा ऐतिहासिक कांस्य पदक जितेर नेपाल फर्किएकी पलेशालाई बुधबार बिहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अंकले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वरसम्म र्यालीका  साथ परिक्रमा गराइएको थियो ।

तस्बिर: हरिराम भेटुवाल / रासस

नेपाल पनि बन्न सक्थ्यो

डा. विश्व पौडेल ।
केहीअघि प्रतिनिधिसभामा धितोपत्र कारोबार सम्बन्धी ऐनको संसोधन प्रस्तुत भयो । एउटा छलफलमा साथीहरुलाई मैले भनें, धितोपत्र कारोबार सानो कोसिसले नै वर्षको १०० अर्ब रुपैयाँको राजश्व उठाउने संस्था बन्न सक्छ। तर आजकाल महत्वाकाँक्षा भन्दा निराशा बढी बिक्ने भएकोले त्यसमा अरु कुराकानी भएन ।

२०४०–२०५८ को बेला फरक थियो । पञ्चायत पनि असफलताले हण्डर खाएर केही चेतेको थियो, बहुदलले पनि केही गर्ने जोश देखाएको थियो । नेपालमा फ्रेन्च, ब्रिटिश, अरबियन बैंकहरुले शाखा खोल्न थाले । अमेरिकी सिटी बैंकले पनि संपर्क कार्यालय खोल्यो । डाबर, हिन्दूस्तान लिवर, कोल्गेट पाल्मोलिभ, कोडाक, पेप्सी, कार्ल्स्बर्गले फ्याक्ट्री खोले । बीमा कम्पनीहरु खुले, एयरलाइन्स कम्पनीहरु, हेलिकप्टर कम्पनीहरु खुले । यस्तै बृद्धि कार्पेट, गार्मेन्ट, बनस्पती घ्यु, चिनी, चिया, चाउचाउ उद्योगमा भयो । फिनल्याण्डको एन्सो ओयिज भन्ने विशाल कम्पनी (अहिले स्विडिश स्टोरा कम्पनीसँग मर्ज भएर स्टोर एन्सो भएको) नेपालमा आउन तयार थियो ।

विसं २०४७–४८ मा नेपालको निर्यात १.५ अर्ब भएकोमा २०५८–५९ मा २८.९ अर्ब पुग्यो । कुल आयातको झन्डै आधा निर्यात हुन पुगेको त्यहीबेला हो । यसमाथि अझै जलविद्युत र जंगलबाट विशाल आय गर्न सकिने अनुमान गरिएको थियो विसं २०५३ मा फिनल्याण्ड सरकारको सहयोगमा गरिएको एक अध्ययनले नेपालको जंगल व्यवस्थापन फिनल्याण्डतिर जस्तै राम्रोसँग गरेमा वर्षको ३० करोड डलर कमाइ गर्न सकिन्छ भन्ने प्रतिवेदन दियो । (तुलनाको लागि विसं २०५३/५४ को कुल राजश्व अनुमान ३४ अर्ब रुपैयाँ (अर्थात ५९ करोड डलर)को थियो)। त्यहीबेला जलविद्युत क्षेत्र निजी लगानीकर्तालाई खुला गरिएको थियो ।

ठीक त्यहीबेला नेपालले अन्तर्राष्ट्रिय वित्त कारोबारको केन्द्र बन्न सकिन्छ भन्ने आत्मविश्वास हासिल गर्यो । बोस्टनको कोलिन्स एन्ड एसोसियट्सले गरेको एक अध्ययनले अनुकुल मौसम, टाइम जोन आदिले गर्दा काठमाडौं अन्तर्राष्ट्रिय वित्तको केन्द्र हुनसक्छ भन्ने अध्ययन नेपाल सरकारलाई दियो । यो सबैको बीचमा उत्साहित नेपालले विसं २०५४ मा संसदबाट अन्तर्राष्ट्रिय वित्तिय कारोबार ऐन २०५४ पारित गर्यो । अहिलेको मरिसस, हङकङ जस्तै हुनसकिन्छ भन्ने आशा त्यो बेला गरिएको थियो ।

यो मुलुकको दोश्रो औद्योगिकिकरणको वेभको रुपमा एक सुखान्त सफल कथा बन्न सक्थ्यो । तर यसपछि लडाईं चर्क्यो, धेरै फ्याक्ट्रीहरु बन्द भए, नयाँँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीहरु आएनन्, राजाहरु मरेर गए । सँगसँगै हाम्रो महत्वाकाँक्षामा पनि ब्रेक लाग्यो । मलाई लाग्छ, धितोपत्र कारोबारमा व्यापक सुधार गरेर नेपाली स्टकमा भुटान, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड , श्रीलंका लगायत सबै मुलुकका लगानीकर्तालाई स्वागत गरेमा पुरानो सपनाको केही टुक्रा फेरि लिएर उठ्न सकिन्छ ।

पारा ओलम्पिक्समा पदक विजेता पलेशालाई आज नगरपरिक्रमा गराइने

काठमाडौं । पारा ओलम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई आज नगरपरिक्रमा गराइने भएको छ । पेरिसमा भएको पारा ओलम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् ।

यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पदक विजेता पलोशा आज काठमाडौं आइपुग्दै छिन् । उनीसहित नेपाली टोलीलाई नगर परिक्रमासहित स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपका अनुसार आज विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्याली सुरु हुनेछ । गौशला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर समापन हुनेछ ।

युक्रेनमा रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु, २१९ घाइते

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् । युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार बताए ।

अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताए । पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

नौ सय दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको देखिन्छ ।

“(पोल्टावा सैन्य) सञ्चार संस्थानको भवनहरूमध्ये एक आंशिक रूपमा नष्ट भएको थियो, मानिसहरूले आफैँलाई भग्नावशेषमुनि पाएका थिए, धेरै मानिसलाई बचाइएको छ”, जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भने, “उद्धार कार्यमा सबै आवश्यक सेवाहरू समावेश छन् ।”

उनले घटनाको ‘पूर्ण र द्रुत जाँच’ को आदेश दिएका छन् । धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ । तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो ।

पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीन दिने शोकको घोषणा गरेका छन् । “पोल्टावा क्षेत्र र सम्पूर्ण युक्रेनका लािग ठूलो त्रासदी”, उनले आफ्नो टेलिग्राम पेजमा लेखेका छन्, “दुश्मनलाई निश्चित रूपमा मानवताविरुद्धको सबै अपराधको जवाफ दिनुपर्छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाको भ्रमण गरेकै दिन उक्त आक्रमण भएको हो । कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय वारेन्टमा पुटिनलाई पक्राउ गर्ने मागलाई मङ्गोलियाले ध्यान दिने कुनै सङ्केत थिएन ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिमी साझेदारहरूसँग सैन्य सहायताको तत्काल डेलिभरी सुनिश्चित गर्नका लागि आफ्नो अपीललाई दोहोर्याएका छन् ।

यसअघि उनले अमेरिका र युरोपेली मुलुकहरूसँग सहयोगको आफ्नो वाचाहरू पूरा गर्न ढिलो भएको भन्दै आलोचना गरेका थिए ।

गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउः बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले आफ्नो फेसबुकमा राखेको पोस्ट हटाइएकोमा आपत्ति जनाएका छन् ।

नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण हटाइएकोमा आपत्ति जनाएका हुन् ।

मेयर साहले सोमबार प्रदेश सांसद शर्माले बाल श्रम शोषण गरेको र उनलाई कारबाही गर्न माग गर्दै प्रधानन्त्रीको ध्यानाकर्षण गराएका थिए । तर बालेनको फेसबुक पोस्ट मंगलबार हटाइएको थियो । उनले त्यो फेसबुक पोस्ट सरकारले हटाएको आशंका गरेका छन् । उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

मंगलबार कार्यपालिका बैठकसमेत मेयर साहको कार्यशैलीप्रति उपमेयर सुनिता डंगोलले समेत आपत्ति जनाएकी थिइन् ।

सोमबार बालेनले फेसबुकमा यस्तो लेखेका थिए

अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा होइन । बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण गर्‍यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन । जुन रिट अदालतले खारेज गरेको छ । अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ ।

आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबा सँगै बस्न पाउने अधिकार हुन्छ ,सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ । हाम्रो द्वन्द्व बालिकाको आमा बाबु सँग थिएन । त्यसैले बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन् ।

बालिकाको उद्धार त भयो तर बाबुआमा जीवित हुँदा हुँदै बाबुआमाको काखबाट खोसेर यो हदसम्मको अन्याय र शोषण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन ?

महानगरले जेठ १४ गते बालिकाको उद्धार गरेपश्चात् ३ चरणको काउन्सिलङ गर्‍यो । सोही काउन्सिलङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत ८ वर्ष देखि आफ्नो जैविक बाबु आमा नभेटेको ,घरमा पोछा लगाउने ,करेसाबारीमा काम गर्ने ,खाना पकाउने लगायतका काम गर्नुपर्ने ,केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको ,तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।

त्यसपछि , जेठ २५ गते देखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसद विरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरी भन्दा अगावै निज रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाइन्छ ।

यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरका विरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मा लाई विपक्षी बनाइ बालबालिकासम्बन्धी एन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २(ङ) र मुलुकी फौजदारी संहिता एन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गर्छ ।

यता प्रहरीले घटनास्थल मुचुल्का लगायत अनुसन्धानको काम गर्दै गर्दा रेखा कुमारी शर्मा निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुग्छिन् । अदालतले अन्तरिम आदेश जारी गर्दै प्रहरीलाई धरपकड नगर्नु (पक्राउ नगर्नु) भन्दै आदेश गर्‍यो ।

उक्त मुद्दाको बहस र बालिकाको बाबुको सर्वोच्चको मुद्दाको बहस दुवैमा वरिष्ठ अधिवक्ता टङ्क प्रसाद दुलाल र विद्वान अधिवक्ता रेणुका सिटौलाले बहस गर्नुभएको थियो । यसले रेखा कुमारी शर्माकै डिजाइनमा बालिकाको बाबुले महानगरका विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट हालेको देखिदा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्दछ ।

उच्च अदालतको अन्तिम फैसलाले रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको छ । श्रावण २३ गते आएको उच्चको फैसला कार्यान्वयनका लागि प्रहरीलाई लिखित पत्र र मौखिक मार्फत पटक पटक ताकेता गरे तापनि कुनै पनि जवाफ नआएको अवस्था छ ।

समग्रमा भन्नुपर्दा रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै‌ं सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दैछिन र आफैं हार्दैछिन । महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन , अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ ।

प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।

प्रचण्डको अभिव्यक्ति सत्ताबाट हट्नुपर्दाको पीडा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सत्ताबाट हट्नुपर्दाको पीडा भएको बताएका छन् ।

मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले श्रीलंका र बंगलादेश हुन्छ भन्ने प्रचण्डको अभिव्यक्ति सत्ता छाड्नपर्दाको पीडा भएको बताएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन पनि अराजकता निम्त्याउने खालको रहेको बताए । बंगलादेश र श्रीलंकाको उदाहरण दिएर जिम्मेवार नेताले सदनमा बोल्नु गलत भएको बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले देश र जनतामा केन्द्रित भएर सरकार अघि बढेको बताएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

माओवादी अध्यक्ष प्रचण्डले नेपाल पनि श्रीलंका र बंगलादेश बन्ने अभिव्यक्ति दिँदै आएका छन् । प्रचण्डले नेपाली सत्तारुढ दललाई यसबारे ध्यान दिन आग्रह गर्ने गरेका छन् ।

तर सत्तारुढ दलका नेताहरुले भने त्यसको प्रतिवाद गर्दै आएका छन् । बैठकमा सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरूलाई जनस्तरमा पुर्याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । यस्तै, नयाँ पुस्तामा पार्टीको काम व्यवस्थित गर्ने कुरालाई पनि विशेष जोड दिएको उनको भनाई छ ।

महिला लिग फुटबलमा चन्द्रपुर र कर्णालीको खेल बराबरी

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको  महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको खेलमैदानमा मंगलबार भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै समान एक–एक अङ्क बाँडेका हुन् ।

खेलको छैटौँ मिनेटमा सुनकला राईको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरले एक गोल गर्दै खेललाई बराबरीमा ल्यायो । चन्द्रपुरका लागि सेनु परियारले दिएको सुन्दर पासको सदुपयोग गर्दै रजनी थोकरले गोल गरेकी थिइन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन गर्न गठित विशेष समितिको म्याद १५ दिन थप गरिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्य थापाले समितिको १५ दिन म्याद थपका लागि गरेको प्रस्तावलाई सभाले सहमति जनाएको हो ।

समिति गठन भएको भदौ २३ गते तीन महिना पूरा हुँदैछ । तर समितिले काम पूरा नभएको भन्दै समय थप्न माग गरेपछि १५ म्याद थप गरिएको हो । सहकारीपीडितले समितिको कामलाई सूक्ष्मतापूर्वक हेरिरहेका छन् ।

नेपाली कांग्रेसको लामो बिरोधपछि संसद्बाट जेठ २३ गते समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरुसँग पनि छलफल गरिसकेको छ । राजनीतिमा आउनुअघि नेटवर्कमा आबद्ध पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि समितिले सोधपुछ गरिसकेको छ ।

असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी वितरण गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए ।

मौसममा सुधार आउने वित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए ।

तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ । अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई आग्रह गरिएको बताए ।

सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।

यस्तो छ कतारका लागि प्रस्तावित राजदूत पौडेलको कार्ययोजना

काठमाडौँ । कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले कतारमा कार्यरत आफू नेपाली श्रमिकका समस्या समाधानका लागि लाग्ने बताएका छन् ।

मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पौडेलले आफ्नो पहिलो प्राथमिकता श्रमिकका समस्या समाधान गर्ने रहेको बताएका हुन् ।

उनले कतारले आफ्ना नागरिकले काम गर्दा पाउने सेवासुविधा नेपाली श्रमिकलाई दिने भनेपनि त्यो नपाएकोले त्यसलाई संशोधनका लागि प्रयास गर्ने बताए । श्रमिकका बारेमा आफूलाई ज्ञान र अनुभव रहेको भन्दै उनले विराटनगर जुट मिलको पुनर्संरचनाको लागि ६ महिना लागिपरेर त्यसको प्रतिवेदन पनि नेपाल सरकारलाई बुझाएको उल्लेख गरे ।

उनले नेपाल र कतार दुवैमा क्रिकेट लोकप्रिय रहेकाले त्यसको विकासमा पहल गर्ने उल्लेख गरेका छन् ।

यस्तो छ प्रस्तावित राजदूतको कार्ययोजना

नेप्सेमा १३ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ६ दशमलव ९० अंकले बढेर २८३०.१६ अंक कायम भएको हो ।

आज ३२८ कम्पनीको ३ करोड ५ लाखभन्दा बढी कित्ता सेयर १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाँमा खरिदबिक्री भएको छ। आज १२ कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लाग्यो ।

एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इस्नर्ट हाइड्रोपावर, सप्तकोशी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो ।

५ वटा उपसमूह बढ्दा बाँकी समूहमा गिरावट देखियो। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ४.७८ ले बढेको छ। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स अग्र स्थानमा रह्यो । आइतबार घटेको बजार सोमबार भने १२७.३२ विन्दुले बढेको थियो।

चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न सांसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गरे ।

सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरिन् ।

सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गनुपर्नेमा जोड दिए ।

यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले केही दिनपहिले प्रहरी प्रमुखका सम्बन्धमा दिएको भनिएको अभिव्यक्तिका बारेमा सत्यतथ्यसहित यथार्थ कुरा सदनलाई जानकारी गराउन माग गरिन् ।

सांसद नारायणदत्त मिश्रले ब्राजिलको विमानस्थलमा नेपाली अलपत्र परिरहेको तथा रसियामा पनि नेपालीको अवस्था उस्तै रहेको बताए ।

सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैरकानुनी रुपमा नेपाली नागरिकलाई सेनामा भर्ना गरेको र हालसम्म ४० नेपालीको निधन भइरहेको पाइएकाले तत्काल नेपाली नागरिकको जीवन सुरक्षाका लागि पहल गर्न माग गरिन् ।

सांसद युवराज शर्माले सङ्घीय प्रणालीलाई सुदृढ बनाउनका लागि प्रहरी समायोजनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

लेखासमितिको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

काठमाडौँ । संसदको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ । लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आईपिओ) जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो ।

लेखासमितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी परेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए ।

“लेखा समितिले धितोपत्र बोर्डलाई विसं २०८० पुस १२ गते रु ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएको र यसले पुँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै विषयमा अर्थ समितिमा उजुरी परेको छ । धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिन्छ”, समिति सभापति चालिसेले आजको बैठकमा भने ।

पछिल्लो समय अधिकांश कम्पनीले ‘प्रिमियम’ मूल्यमा आईपिओ जारी गर्ने गरेका छन् । प्रिमियममा आईपिओ जारी गर्न दिँदा बोर्डको तजविजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रुपमा रहेको लेखासमितिको निर्देशनमा उल्लेख छ ।

“धितोपत्र बोर्डले नियम संशोधन गरी कम्पनीको पुनःमूल्याङ्कन गरी मूल्य बढाएर आईपिओ जारी गर्ने प्रयोजनका लागि नेटवर्थमा गणना गर्न पाउने बनाएपश्चात् ‘लिक्विडेसन’मा जान लागेको कम्पनीले पनि आफुखुसी मूल्याङ्कन बढाएर आईपिओ जारी गर्न थालेको देखिन्छ”, लेखासमितिको उक्त निर्देशनमा भनिएको छ, “लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने बुक बिल्डिङ प्रक्रिया अवलम्बन गर्न र पुनःमूल्याङ्कन नगरी नेटवर्थ ९० रुपैयाँ भन्दाबढी भएका कम्पनीलाई मात्रै आइपिओ जारी गर्न दिनेगरी कार्यसम्पादन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देश गर्दछ ।”

अन्यथा घाटामा गएका कम्पनीले पुनःमूल्याङ्कन गरी मूल्य बढाएर शेयर बिक्री गर्ने र सर्वसाधारण लगानीकर्ता अत्यधिक जोखिममा पर्नसक्ने भएकाले त्यस्तो अवस्था आउन नदिने यो निर्देशन दिईएको लेखासमितिको भनाइ छ ।

लेखासमितिको उक्त निर्देशनविरुद्ध अर्थ समितिमा परेको उजुरीमा ९० रुपैयाँ प्रतिशेयर नेटवर्थ कायम नहुने कम्पनीलाई आइपिओ निष्कासनका लागि रोक लगाउँदा यसबाट पुँजी पलायन हुने, ठूला लगानीकर्ताले लगानी गर्न सक्ने अवस्था नरहने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्न जाने उल्लेख छ ।

त्यस्तै, बाढीपहिरोबाट प्रभावित जलविद्युत् आयोजनाको पुनःनिर्माण गर्न ५० प्रतिशत ‘प्रमोटर’ शेयरमा ‘लकइन’ अवधिको व्यवस्था हटाउन यसअघि भएका निर्णयको कार्यान्वयनका लागि समितिमार्फत् निर्देशनको माग उजुरीकर्ताले गरेका छन् ।

त्यसैगरी, अर्थसमितिको आजको बैठकले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्तावको छलफल सकेको छ । उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका थिए ।

सार्वजनिक बिदाको दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकरको निर्णय अवैज्ञानिक भएको चिकित्सक संघको ठहर

काठमाडौं । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका हुन् । संघले सरकारले यो निर्णय फिर्ता लिन पनि माग गरेको छ ।

संघले सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको बताएको छ । संघले स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको ठहर गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन गदिएको थियो ।

मन्त्रालयले ३४ अस्पताल र प्रयोगशाला लगायतका स्वास्थ्य निकायलाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरेको थियो ।

यसरी मन्त्रालयले परिपत्र गरेपछि चिकित्सक संघले अपत्ति जनाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयकाअनुसार परिपत्र गरिएका अस्पतालहरुमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् ।

प्रतिफल दिने क्षेत्र लगानीको प्राथमिकतामाः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताएका हुन् ।

उनले नेपालका लागि विस्तारित कर्जा सुविधाअन्तर्गत चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारका पक्षमा प्रतिबद्ध व्यक्त गर्दै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौं  समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत् र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पुँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने धारणा व्यक्त गरिन् । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

सरकारलाई राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्रीसँग छलफल गर्दै समितिले संविधानको व्यवस्था र राजदूत नियुक्ति निर्देशिका–२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको हो । 

समितिका सभापति राजकिशोर यादवले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई दृष्टिगत गरी सरकारले राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउनुपर्ने बताए । समितिले राजदूत नियुक्ति निर्देशिकाबारे पनि परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने उनले बताए ।

समितिले परराष्ट्रमन्त्रीसँग हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल गरेको हो । बैठकमा सांसदहरुले राजदूत सिफारिसलाई पारदर्शी र विवादरहित बनाउनुपर्नेमा जोड दिएका थिए । सांसद विमलेन्द्र निधिले परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमण फलदायी रहेको भन्दै यसबाट दुई देशबीचको आपसी हित र सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

सांसद रघुवीर महासेठले परराष्ट्रमन्त्रीको भारत भ्रमण सफल रहेको र अन्य मुलुकसँगको कूटनीतिक सम्बन्धलाई पनि समान रुपमा बलियो बनाइनुपर्नेमा जोड दिए ।

सांसद पशुपतिशमशेर जबराले लामो समयदेखि चर्चामा आएको पञ्चेश्वर आयोजनाको प्रगतिबारे जानकारी गराउन माग गरे । सांसद भीमप्रसाद आचार्यले विभिन्न मुलुकमा नियुक्ति भएर जाने राजदूतलाई मुलुक र जनताप्रति जिम्मेवार बनाइनुपर्नेमा जोड दिए ।

सांसद एकनाथ ढकालले आगामी दिनमा राजदूत नियुक्ति निर्देशिकाअनुरुप राजदूतको सिफारिसलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । सांसद शिशिर खनालले राजदूत नियुक्ति प्रक्रिया निर्देशिकाबमोजिम हुनुपर्नेमा जोड दिए ।

सांसदहरु हितबहादुर तामाङ, प्रभु साह, प्रेम सुवाल, गङ्गाराम चौधरी र सुनिता बरालले परराष्ट्रमन्त्रीस्तरीय भ्रमण उपलब्धीमुलक रहेको तथा भ्रमणमा उठेका विषयको कार्यान्वयनका लागि नेपालले पहल गर्नुपर्ने धारणा राखे । साथै उनीहरुले राजदूत सिफारिस पारदर्शी हुनुपर्नेमा समेत जोड दिए ।

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे। अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८/७९ मा छजनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको लेक लागेर मृत्यु भएको थियो। कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आवमा १४ जनाले लेक लागेर मुस्ताङमा ज्यान गुमाए। लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन्।

चौधमध्ये दश भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक रहेको प्रहरी निरीक्षक अधिकारीले बताए। “मुस्ताङमा लेक लागेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ”, उनले भने, “पछिल्लो समय मुक्तिनाथमा लेक लागेका पर्यटकको प्रारम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा आएको छ।”

पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए। “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उनले भने, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ।”

काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रदर्शक गुरुङले बताए। “पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैपटकमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ”, उनले भने।

मुक्तिनाथ समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर र तिलिचो ताल चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ। स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक गुरुङको भनाइ छ। उनले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाए।

शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताए। नयाँ र टाढाको गन्तव्यस्थल छभने एक्लै पदयात्रा गर्न नहुने उनको भनाइ छ।

“पदयात्रा गर्दा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ”, उनले भने, “पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने सरकारको नीति कार्यान्वयन हुन सकेमा पदयात्रामा आउने जोखिम घटाउन सकिन्छ।” उनका अनुसार नेपालको हिमालय क्षेत्रमा झन्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन्।

पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्ने गुरुङले बताउनुभयो। कतिपयलाई तीन हजार मिटरदेखि नै ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिने हुँदा एकै दिन धेरै नहिँडी विश्राम लिँदै पदयात्रा गर्नुपर्ने उनको भनाइ छ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यान जाने गरेको बताए। “लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ”, उनले भने, “लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ।” लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिने गरेको प्रमुख चिकित्सक प्रधानको भनाइ छ।

“लेक लाग्न नदिन केही औषधि पनि खान सकिन्छ, तर सामान्य लक्षण देखिए पनि तल फर्किनुपर्छ, सावधानी अपनाइएन भने स्वास्थ्य अवस्था जटिल बन्न सक्छ, समयमा उद्धार र उपचार हुन सकेन भने मत्यु नै हुन्छ”, उनले भए।

उनले स्थानीय वातावरणमा अनुकूलन नभई एकै पटकमा मुक्तिनाथलगायत उच्च हिमाली भेगमा जाँदा भारतीयलगायत विदेशी पर्यटकको लेक लागेर मृत्यु हुने गरेको बताए।

“मुक्तिनाथ जाँदा एक दिन जोमसोममा विश्राम लिएर जानु उपयुक्त हुन्छ”, उनले भने, “हिमाली भेगको यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले लेक लागेका पर्यटकलाई हेलिकप्टरबाट उद्धार गरेर बचाइएको बताए। आयोजना कार्यालयले गत वर्षदेखि लेक लागेका घटनाको तथ्याङ्क राख्न सुरु गरेको उनको भनाइ छ।

“लामो दूरीको पदयात्रामा निक्लँदा एक्लै जानु हुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँड्नुपर्छ”, डा कडरियाले भने, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ।” अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका क्रममा गत आवमा लडेर तीन विदेशी पर्यटकको मृत्यु भएको उनले  जानकारी दिए।

ईपीजीको प्रतिवेदनकाबारेमा दुबैतर्फबाट कुरा उठेनः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवदेनबारे कुरा नउठाएको बताएकी छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री राणाले ईपीजी प्रतिवेदनबारे दुबै तर्फबाट कुरा नभएको बताएकी हुन् ।

उनले समय आएपछि दुबै देशले बनाएको प्रतिवेदन बुझ्ने काम हुने बताइन् । उनले भनिन्, ‘ईपीजीको प्रतिवेदनकाबारेमा भारत भ्रमणमा हामीले पनि कुरा उठाएनौं र उताबाट पनि उठेन । उचित समयमा प्रतिवेदनमा आवश्यक कारबाही हुने कुरामा आशावादी छौं ।’

उनले आफनो भ्रमणको बेला पञ्चेश्वरबारे कुरा भएको बताइन् । परराष्ट्रमन्त्री राणाले राजदूत सिफारिस समावेशी नभएकोमा भने माफी मागेकी छन ।

उनले भनिन्,’राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं। यसपटक समावेशी भएन, आई एम सरी।’

यो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा मंगलबार आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरुपमै अन्त्य गरिएको स्पष्ट पारे ।

संविधान बन्नुअघि संसद्बाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको उल्लेख गर्दै उनले यो महत्वपूर्ण उपलब्धि भएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको सुनाए ।

नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरि सबै नागरिकलाई अधिकार सम्पन्न बनाउन सम्भव नहुने बताए ।

उनले भने, ‘हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्नेछौँ । अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ । नेपालको गरिबी उन्मूलन गर्नेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ ।”

मुलुकलाई समृद्ध नबनाइ जनतालाई खुसी बनाउन नसकिने भएकाले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानव अधिकार आयोगसँगै काम गरिरहेको उनले अवगत गराए । “मुलुकको विकासका लागि समृद्धिले मात्रै काम गर्दैन । शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्नुपर्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ”, उनले भने ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा सामान्य होइनः गृहमन्त्री लेखक

कैलाली । गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन् ।

प्रेस युनियन कैलालीले मंगलबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताए ।

उनले भने, “सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा हुँदैन, विशिष्ट परिस्थितिमा हामीले मिलेर सरकार बनाउने गरेका छौँ ।” 

इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको उनको भनाइ छ । उनले भने, “खास गरेर देशमा महत्वपूर्ण ‘एजेन्डा’ हुन्छन्, त्यस्ता एजेन्डालाई हामीले मिलेर सम्बोधन गरेका छौँ ।”

गृहमन्त्री लेखकले स्थिर सरकारका लागि स्थिर समीकरण बनाउनु परेको उल्लेख गर्दै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको बताए ।

“हामीले मिलेर संविधान बनायौँ, नेपाली कांग्रेसले निरङ्कुश पञ्चायती व्यवस्थासँग लड्नका लागि कम्युनिष्टसँग मिलेर बहुदलीय प्रजातन्त्रको स्थापना गर्यौँ”, उनले भने, “दशवर्षे माओवादी सशस्त्र सङ्घर्षलाई मिलेर नै शान्तिमा रुपान्तरण गरयौँ ।”

अस्ट्रेलियामा १६ वर्षीय किशोरमाथि आतङ्कवादी योजना र तयारीको आरोप

अस्ट्रेलियाली प्रहरीले मङ्गलबार पूर्वी सहर ब्रिस्बेनमा चलिरहेको आतङ्कवाद विरोधी अनुसन्धानको एक हिस्साको रूपमा एक १६ वर्षीय किशोरलाई आरोप लगाएको छ ।

एक आतङ्कवाद विरोधी संयुक्त टोलीले उक्त व्यक्तिलाई आतङ्कवादी कार्यहरूको योजना र तयारी गरिरहेको आरोप लगाएको प्रहरीले जनाएको छ ।

एक १६ वर्षीया किशोरले सहरको उत्तरमा रहेको विद्यालयमा आक्रमण गर्ने योजना बनाएको स्थानीय सञ्चारमाध्यमले जनाएको हो ।

सुरक्षा सेवाले किशोरलाई केही समयका लागि निगरानीमा राखेको ब्रिस्बेन टाइम्सले जनाएको छ ।

अस्ट्रेलियाली सङ्घीय प्रहरीले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गर्दै “सार्वजनिक सुरक्षामा हाल कुनै खतरा नरहेको विश्वास व्यक्त गरेका छन् ।

इजरायलले सैन्य दबाब कायम राखे बन्धकलाई ‘कफिनभित्र’ फर्काइने हमासको चेतावनी

हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू ‘कफिनभित्र’ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई नयाँ निर्देशन दिइएको चेतावनी दिएको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउदै आएको छ । यसैगरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दावी गर्दै आएका छन् ।

यही स्थिति कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसअघि ६ जना बन्धकलाई मृत्युदण्ड दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ ।

राष्ट्रपति पुटिन र मङ्गोलियाका समकक्षीबीच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षीसँग भेट गरेका छन् ।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उनको यो पहिलो भ्रमण हो।

आइसिसी, कियभ, पश्चिमी राष्ट्रको आह्वान विरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको पुटिनलाई भ्रमणका क्रममा अघिल्लो रात राजधानीमा आइपुगेपछि सम्मान गार्डले स्वागत गरेका थिए ।

त्यसपछि उनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गरेका हुन् ।

सन् २०२२ मा रुसी सेनाले देशमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगस्थित आइसिसीले रुसी नेतालाई खोजिरहेको छ ।

अधिकारीहरूले उनलाई विमानस्थलमा हिरासतमा नलिएपछि पुटिनको “युद्ध अपराध” का लागि मङ्गोलिया पनि जिम्मेवार रहेको आरोप लगाउँदै युक्रेनले यस यात्रामाथि आक्रोशका साथ प्रतिक्रिया दिएको छ ।

कियभले मङ्गोलियालाई गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्न आग्रह गरेको थियो । आइसिसीले गत हप्ता अदालतले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने “दायित्व” सम्पुर्ण सदस्य राष्ट्रहरुको रहेको बताएको थियो ।

विशाल रूस र चीनबिच अवस्थित मङ्गोलियाको मस्कोसँग घनिष्ठ सांस्कृतिक सम्बन्धका साथै बेइजिङसँग महत्वपूर्ण व्यापारिक सम्बन्ध रहेको छ ।

यो सोभियत युगमा मस्कोको अधीनमा रहेको थियो । सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि मङ्गोलियाले क्रेमलिन र बेइजिङ दुबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजिरहेको छ ।

देशले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन साथै संयुक्त राष्ट्रमा द्वन्द्वमा मतदान गर्दा अनुपस्थित रहेको थियो ।

गत हप्ता क्रेमलिनले भ्रमणका क्रममा पुटिनलाई पक्राउ गरिने चिन्ता नभएको जनाएको थियो ।

बेलायतबाट इजरायल निर्यात हुने हतियारमा आंशिक प्रतिबन्ध

बीबीसी । बेलायतले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनका लागि प्रयोग हुन सक्ने ‘स्पष्ट जोखिम’ देखिएको भन्दै इजरायललाई केही उपकरण र हातहतियार निर्यात गर्न रोकेको छ ।

ब्रिटेनका विदेशमन्त्री डेभिड ल्यामीले इजरायललाई निर्यातका लागि स्वीकृति दिइएका ३५० हतियारमध्ये ३० वटाको अनुमतिपत्र स्थगित गरिएको बताए। त्यसरी रोकिएका सामग्रीमा लडाकु विमान, हेलिकप्टर र ड्रोनका पार्टपुर्जा पनि छन् ।

इजरायलका रक्षामन्त्री योआभ गालान्टले ’एक्स’मा टिप्पणी गर्दै उक्त कदमप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने विदेशमन्त्री इजरेल काट्सले त्यसबाट हमास र इरानलाई मात्रै फाइदा पुर्याउने बताएका छन्।

यद्यपि ब्रिटिश विदेशमन्त्रीले इजरायलको आत्मरक्षाको अधिकारलाई बेलायतले समर्थन गर्दै आएको जनाउँदै अहिलेको निलम्बन हतियार आपूर्तिमा ‘पूर्ण प्रतिबन्ध नभएको’ बताए ।

इजरायलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरेको दाबी काट्सको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था एम्नेस्टी इन्टनेशनलका प्रमुख कार्यकारी साचा देशमुखले बेलायतको निर्णय ‘साँघुरो र छिद्रैछिद्रले भरिपूर्ण रहेको’ प्रतिक्रिया दिएका छन् ।

ब्रिटेनका विदेशमन्त्रीले कैयौँ सांसद, वकिल र अन्तर्राष्ट्रिय सङ्गठनहरूले इजरायललाई हतियार निर्यात गर्न ब्रिटेनले दिएका अनुमतिपत्रबारे प्रश्न उठाएको बताए ।

गाजामा आक्रमण गर्न इजरायलले प्रयोग गरिरहेका एफ ३५ लडाकु विमानका कतिपय पार्टपुर्जा बेलायतमा उत्पादन भइरहेका छन् । तर ती प्रतिबन्धमा परेका छैनन् । विश्वव्यापी कार्यक्रमअन्तर्गत ती विमानको उत्पादन भइरहेको छ । बेलायतले गर्ने प्रतिरक्षा सामग्रीको कुल निर्यातमध्ये जम्मा एक प्रतिशत मात्रै इजरायलमा हुने गर्छ ।

टानको नवनिर्वाचित कार्य समितिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

टानको निर्वाचनबाट पार्टीसम्बद्ध सागर पाण्डे अध्यक्षमा विजयी भएपछि अध्यक्ष दाहालले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

‘बिहानै खुसीको खबर बाँड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीलाई हार्दिक बधाई छ’, अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै भनेका छन् ।