`

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । 

उनले भने, ‘दशैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।’ सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधिन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस सडक खण्डमा रहेका १९ पुलमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो ।  चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । पन्ध्र पुलको लागत  एक अर्ब २८ करोड रहेको छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो ।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो ।  विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ ।

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

दाङ। फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई कापी कलम लगायत शैक्षिक सामग्री वितरण गरिइएको हो ।

बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानका संयोजक निमबहादुर बुढाथोकीले बताए ।

‘हाम्रो सरसफाइ अभियान १६४औँ हप्तामा प्रवेश गरेको छ, हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यही क्रममा भेटिएका पानीका बोतल सङ्कलन गरेर विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौँ ।’

विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो । सोही विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन् । धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए ।

विसं २०४५ सालमा उक्त विद्यालय स्थापना भएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ८८ विद्यार्थी अध्ययन गर्छन् भने सातजना शिक्षक कार्यरत छन् ।

संचारमन्त्री गुरुङलाई पदबाट बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

विज्ञप्ति जारी गरी सासद भण्डारीले देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई सञ्चारमन्त्रीले सार्वजनिक रुपमा अपशब्द व्यक्त गरेको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय नेपालमा घटिरहेको घटनाक्रम र सरकारका गतिविधिबाट मलाई एउटा राजनीतिककर्मी भएका नाताले अत्यन्त छटपटी लागेको हुँदा मैले यो वक्तव्य निकाल्न पर्ने स्थिति आएको छ। देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले संचार मन्त्रीलाई बर्खास्त गर्न आव्हन गर्दछु।’

मन्त्री गुरुङले केहीदिन अघि पोखरामा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

भण्डारीले विज्ञप्तिमा भनेका छन्, ‘शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने कुरा व्यक्त गर्न चाहन्छु ।सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी –पार्टी बीच सम्बन्ध नबिगार्न सबैलाई अनुरोध गर्दछु।’ यस विषयमा मन्त्री गुरुङलाई प्रधानमन्त्रीले ओलीलेसमेत सचेत गराएका छन् ।

परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त बनेका नरैनापुरका श्यामलाल

 राँझा । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी भदौ १० गतेदेखि बिरामी परिन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि नै उनको मृत्यु भयो ।

श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट संक्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो । त्यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भयो ।

२/२ दिनको फरकमा परिवारका ३ जना सदस्य गुमाउनु परेपछि यतिबेला श्यामलाल विक्षिप्त छन् । ५ दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उनी अहिले घरको बाहिरै टोलाएर बस्छन् ।

‘सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ’, उनले भने, ‘स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीनजनाको निधन भयो ।’ श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखको पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् ।

गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताउनुभयो । स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गरे ।

स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराएको उनले बताए । अचानक पखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ ।

श्यामलालको एकै घरको तीनजनासहित गेगली गाउँमा एक हप्ताको बीचमा चारजनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

तीन सय ६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीनजनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए । ‘झाडापखालाको जोखिमको जानकारी पाउनासाथ हामी यहीँ छौं, अहिले अवस्था सामान्य छ’, उनले भने, ‘स्वास्थ्य जाँचका क्रममा झाडापखाला देखिएका तीनजनामध्ये दुईजना अहिले उपचारपछि घर फर्किनुभएको छ भने एकजनालाई भेरी अस्पतालमा पठाइएको छ ।’

भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो । भदौकै १४ गते ६५ वर्षीया शान्ति पासी र १६ गते आइतबार १२ महिनाकी बालिका नन्दनी पासीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए ।

उनले मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशंका गरिएको बताए । युसुपमा ज्वरो आउने समस्या पनि देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।

झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा जाँचका लागि आएका तीन सय ६५ नागरिकलाई स्वास्थ्य अवस्थाअनुसार जीवनजललगायत औषधि वितरण गरिएको उनले जानकारी दिए ।

स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको बताए ।

घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक गुजारा

भजनी । कैलालीको भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ । वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन् ।

खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै माछाको खोजीमा जाने गरेको सोमती बताउँछिन् । ‘घरमा खासै काम हुँदैन । फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मरे पनि आफूलाई खान हुन्छ । बढी भए सुकाएर भोलिका लागि हुन्छ । त्यो भन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ’, उनी भन्छिन्, ‘हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्नमै बितेको छ ।’

वर्षात्‌को समयमा थारू समुदायका लागि सोमती एउटा उदाहरण मात्र हुन । नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गरेका छन् । कतिपयले त्यसलाई वर्षात्‌को समयमा आम्दानीको स्रोत नै बनाएका छन् ।

‘घरमा चारजना छौँ । दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ’, भजनीकै जीतेन्द्र चौधरी भन्छन्, ‘केही भएन भने पनि दिनमा तीन–चार केजीसम्म सङ्कलन भइहाल्छ । त्यो बिक्री गरेपछि रु एक हजारदेखि एक हजार पाँच सयसम्म आइहाल्छ ।’

उनले झिँगामाछा र घोँगी बेचेर साउनमा मात्रै करिब ६५ हजार रुपैयाँ आम्दानी गरेको सुनाए । भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ । कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ । डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउँछन् ।

‘नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन् । त्यसमा जाल हाल्यो भने दुई–तीन केजी दिनमा भेट्टाइन्छ’, उनले भने, ‘बिक्री गर्नका लागि बजारको समस्या छैन । नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ ।’

आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायले फुर्सदको अधिकांश समय माछाको खोजीमा बिताउने गरेको रञ्जितले बताए । बजारमा घोँगीको मूल्य प्रतिकेजी दुई सय रुपैयाँसम्म छ । झिँगामाछा चारदेखि ६ सय रुपैयाँसम्म बिक्री हुन्छ ।

ठूलो माछा रु आठड सयसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउँछन् । उनका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी ल्याउने गरेका छन् । तीन–चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उनको भनाइ छ ।

‘दैनिक १०–१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ । बढी भएको अन्य होटलमा पठाउँछौँ’, जीतबहादुरले भने, ‘यो याममा एउटै महिलाले रु ६० देखि ७० हजारसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको मैले देखेको छु ।’

फुर्सदको समयमा माछा र घोँगीबाट राम्रो आम्दानी भए पनि जोखिम त्योभन्दा बढी छ । धमिलो फोहर पानी, हिलाम्मे भएर दिनभर चर्को घामको राप स्वास्थ्यको दृष्टिकोणले निकै जोखिम छ । वर्षामा भिज्दा झन् डर हुन्छ ।

डर हुँदाहुँदै पनि पैसाको अगाडि सबै बिर्सने गरेको विन्दु चौधरीको भनाइ छ । ‘पानी तलको भुइँ देखिँदैन । अनुमानका भरमा जोखिम मोलेर हातले घोँगी खोज्नुपर्छ’, उनले भने, ‘हातमा सधैँ घोँगी आउँछ भन्ने छैन । फोहर पानीमा डुबेको शरीरले कुन रोगको सङ्क्रमण निम्त्याउने हो, त्यसको ख्याल गरिँदैन ।’

जोखिम मोलेरै भए पनि वर्षात्‌को सुरुआती चरणमा घोँगीबाट र अन्तिम चरणमा माछाबाट सोचेभन्दा राम्रो कमाइ हुने गरेको उनको भनाइ छ ।

राज्यले नबुझेको समाजशास्त्र

नारायण गाउँले ।
पश्चिमतिर धन हुनेले दिल खोलेर खर्च गरेको राम्रो मानिन्छ । खर्च हुने धन सरकारी ट्याक्सदेखि सेवा र उत्पादन बेच्ने आम मान्छेसम्म कुनै न कुनै रूपले वितरण हुन्छ । धन जति तरल हुन्छ र खर्च हुन्छ, अर्थतन्त्र त्यति नै चलायमान र सबल हुन्छ ।
पार्टी प्यालेसमा हुने एउटा भव्य पार्टीमा खर्च भएको पैसा दूध या गोलभेडा उत्पादन गर्ने कृषकदेखि बाजा बजाएर संस्कृति र जीविका बचाउनेसम्म पुगेको हुन्छ । नसक्नेले नगर्ला, गर्न उपयुक्त नहोला, तर सक्नेले पनि गरेन भने त्यसले धेरैलाई असर गर्छ । धन खर्च नभई एक ठाउँमा जम्मा भयो भने मन्दी शुरू हुन्छ । आर्थिक मन्दी भनेको पैसा नहुनु होइन । पैसा त हिजो जति थियो, त्यो छँदै छ । हुने र सक्नेले खर्च नगर्ने अवस्था नै मन्दी हो ।

निश्चित सीमासम्म मात्रै धनीले धनको निजी प्रयोग गर्ने हो । अलिकति माथि उठेपछि त्यो कागज र अङ्कमात्रै हो । त्यसको प्रयोग गर्ने त बजार र हामीले नै हो । इलन मस्कÞको सम्पत्ति दिनहुँ एक खर्ब रुपियाँभन्दा धेरैले तलमाथि भइरहेको हुन्छ । मिनेटमैं करोडौं रुपियाँ घट्ने र बढ्ने हुन्छ । त्यो धनको निजी उपयोगले हुने होइन । हामीले खर्बपति मानेका विनोद चौधरी खर्बको बिटोलाई शिरानी बनाएर सुत्ने होइन । त्यो खर्ब उद्योगको रूपमा, व्यवसायको रूपमा, लगानीको रूपमा जमीनमैं हुने हो । त्यसको रस कामदार, म्यानेजर, सप्लायर, विक्रेता, ब्याङ्कर, उत्पादक या उपभोक्तासम्मले लिने हो । त्यो पैसा लगानी नभई, बजारमा नआई, रोजगारी सिर्जना नगरी, आर्थिक गतिविधि वृद्धि नगरी र रसको भागबण्डा नगरी बढ्नै सक्दैन । इलन मस्कको नाममा भएको बिलियन–बिलियन डलरको रस अमेरिकादेखि चाइना र जर्मनीसम्मका विशाल फ्याक्ट्री र त्यसका कामदारसम्म भिजेको हुन्छ । हामी गरिबको धन मकैको बोटजस्तो हुन्छ । जरा धेरै भए पनि सजिलै उखेलिने । पहाड गए पहाड जाने, मधेस झरे मधेस झर्ने । तर धनीको धन पीपलको बोटजस्तै हो । त्यो सजिलै उखेलिन्न । त्यसमा चरादेखि कीटपतङ्ग र यात्रीदेखि घाँसदाउरा गर्नेसम्म धेरैले सहारा लिन सक्छन् ।

पश्चिमतिर सरकारको नीतिगत ध्यान नै हुनेले खर्च गर्ने वातावरण मिलाउनतिर केन्द्रित हुन्छ । पूँजी ’बगाउन’तिर हुन्छ । बग्यो भने निम्न वर्गसम्म पनि आइपुग्छ भन्ने तर्क हुन्छ । र सबैभन्दा धेरै खर्च मुख्य चाडबाडकै वरपर हुन्छ । त्यतिबेलाका आर्थिक सूचकहरू अर्थतन्त्रका लागि धेरै महत्त्वपूर्ण मानिन्छन् । युरोपमा क्रिस्मश आउनु एक डेढ महिनाअघि देखि नै साजसज्जा, क्रिस्मश डिनर, क्रिस्मश पार्टी जस्ता गतिविधि सुरु हुन्छन् । सरकारी निकायले पनि साजसज्जामा ठूलो खर्च गर्छन् । सडक र अफिसहरू सिँगारिएका हुन्छन्, पसलहरू भरिभराउ हुन्छन् । अझ ठूलो स्केलमा व्यापार हुने र थोरै मुनाफा राखे पनि कुल नाफा बढ्ने भएकाले खाद्य सामग्री अरूबेला भन्दा सस्तो र सुलभ हुन्छ । एक महिनाअघि नै मान्छेले बजारबाट क्रिस्मश–ट्री किनेर घरमा सजाउँछन् । आफन्त र इष्टमित्रलाई गिफ्ट किनेर बाँड्ने चलन हुन्छ ।

हाम्रो सोच र परिस्थिति अलग छ । हामी सबै धनी बन्न त चाहन्छौं, तर धनी मान्छेहरू प्रति हाम्रो दृष्टिकोण सकारात्मक छैन । ती हाम्रै खून चुसेर धनी भएका हुन् भन्ने हाम्रो सोच छ, स्कुलिङ छ । छिमेकी धनी भएकै कारण हामी गरिब भएको जस्तो हाम्रो सोच छ । नाफा र कमिशन शब्दप्रति हामी कति ‘निगेटिभ’ छौं भन्ने सबैलाई थाहा नै छ । धनी हुने भनेको पूँजी, सिप र आइडियालाई बजारमा उतारेर हो । पूँजी बजारमा उत्रिनु भनेकै धेरैसम्म पुग्नु हो । अपवादबाहेक कोही मान्छे एक्लै धनी हुनै सक्दैन । ऊसँगसँगै प्रत्यक्ष–अप्रत्यक्ष धेरै मान्छे धनी हुन्छन् । रोजगारी पाउनु पनि धनी हुनु हो ।

अझ खर्च गर्ने धनीहरू त समाजका दुश्मन नै हुन् जस्तो हाम्रो सोच छ । एउटा अर्बपति मान्छेले सय रुपियाँ खर्चेर बिहे गर्यो भने त्यो हाम्रो लागि आदर्श भयो । उसले करोड़ खर्च गर्यो भने त्यो समाजको तारो भयो । उसो त कन्जूस भन्ने शब्द पनि हाम्रै हो फेरि । खुला समाज भने पनि हाम्रो समाज बन्द खाले नै हो । तास र खोड़खोडे खेल्नसमेत सरकारको अनुमति चाहिने खाले । सरकारले जन्ती र दक्षिणा तोक्ने समाज हो हाम्रो । आमसभामा लाख मान्छे गाडी चढेर जान र मासुभात खान हुने तर जन्ती जान नहुने, त्यो पनि नेताका लागि लागू नहुने समाज हो हाम्रो ।

मान्छेले खर्च गर्ने भनेकै लाउने र खानेमा हो । त्यसैमा हाम्रो राष्ट्रिय आपत्ति छ । बजारमा पैसा आउने नै यसैबाट हो । तीजमा तडकभडक र खर्च गरेको भेटिए निगरानी र कारबाही गरिने सरकारले चेतावनी नै दिएको छ । यद्यपि कुन खर्च या नाचगान तडकभडक हो र कुन होइन भन्ने स्पष्ट कानुन छैन ।

देउसी भैलोमा त यतिभन्दा बढ़ी दिन नपाइने, यति बजेभन्दा उता खेल्न नपाइने, यतिभन्दा बढी मान्छे जम्मा भएर खेल्न नपाइने जस्ता कड़ा कानुन बन्छन् । मान्छेले चाडबाड आफूखुसी मनाऊन्, नाचून्, रमाऊन् अनि सक्नेले खर्च गरून् र नसक्नेका लागि सरकारले व्यवस्था गरोस् भन्ने हाम्रो सोच छैन ।अझ दुःखलाग्दो त के छ भने चाडबाड आउनेबित्तिकै हामी एकाएक समाजवादी चिन्तक बनेर निस्किन्छौं । आर्थिक–सामाजिक र सांस्कृतिक विश्लेषक बनेर देखा पर्छौं । खानपान र रहनसहनदेखि चाडको गरिमामाथि नै अपमानजनक टिप्पणी गर्छौं !

मुश्लिम बहुल देशमा ईदको, क्रिश्चियन बहुल देशमा क्रिस्शको विरोध गरेको, लाखौं बाख्रो किन मारेको, लाखौं टर्कीको किन हत्या गरेको जस्तो प्रश्न उठेको सुनिन्न । मनाउनेहरू मनाउँछन्, खाने या पिउनेहरू पिउँछन्, अल्छी गर्नेहरू चुपचाप घरमैं बस्छन्, बजारबाट आलु किनेर खान्छन् तर हामीजस्तो भयङ्कर समाज र पर्व सुधारक बनेर देखा पर्दैनन् । महिना दिन लामा र कडा उपवास हुन्छन् ती धर्ममा पनि । दिनभर पानीसमेत नपिई उपवास हुन्छ । तर कसैले स्वास्थ्य, मानवअधिकार या औचित्यबारे प्रश्न गर्दैन । गर्नेले उपवास गर्छ, नगर्नेले हल्ला नगरी चुपचाप खान्छ । तीजको एक दिन व्रत पनि हाम्रो लागि विद्वता देखाउने र भडास पोख्ने विषय बन्छ । हामी जेमा पनि असन्तोष र खोट मात्रै देख्ने दुःखी प्राणी त भएनौं ?

मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएर दुर्घटना

काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा कार चालक घाइते भएका प्रहरीले जनएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
तस्बिरः शेर कार्की

भारतीय कप्तान जिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

काठमाडौं । भारतीय महिला भलिबल टिमकी कप्तान जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) खेल्ने भएकी छन् ।

इन्फिनिटी ड्रिम्सको बयोजनामा आगामी असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशाला कभर्डहलमा हुने लिगका लागि मधेशले मंगलबार आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा जिनीलाई अनुबन्ध गरेको हो । लिगमा तीन विदेशी खेलाडी राख्न पाउने नियम अनुसार मधेशले तीन विदेशी खेलाडी नै अनुबन्ध गरिसकेको छ ।

मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ ।

२८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेपछि मधेशको विदेशी कोटाको खेलाडी अनुबन्ध पूरा भएको छ । ‘अनुभवी सेटर जिनीलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । जिनीको आगमनले मधेश युनाइटेडको टिम अझ राम्रो र मजबुत हुने विश्वास छ । तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ ।’ मधेश युनाइटेडले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जिनीको कप्तानीमा भारतले केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको थियो । जिनीसँग भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

जिनीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । ‘मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईटेडबाट खृल्न आउँदैछु । म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।’

मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई मधेश टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुने बताईन् ।

नेपाली राष्ट्रिय महिला टिमका सहायक प्रशिक्षक भरत यादव मुख्य प्रशिक्षक रहेको मधेश युनाइटेडमा राष्ट्रिय टिमकी निरुता ठगुन्ना मार्की प्लेअरको रुपमा छन् । मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ, यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

एन्जिलाले ग्रिक क्लबबाट लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् ।

एञ्जिला आगामी सिजन २०२४-२५ का लागि ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउमा अनुबन्ध भएकी हुन् । उनको सम्झौता रकम भने खुलाइएको छैन ।

एपीएफबाट घरेलु फुटबल खेल्ने एन्जिला पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकी हुन् ।

पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् । ‘पहिलो पटक युरोपियन लिगका लागि अनुबन्ध हुँदा खुशी,’ एञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । लामो प्रयासपछि यो पूरा हुन लागेको छ । म एकदमै उत्सहित छु ।’

एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् । सावित्रा हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् ।

एन्जिलाले यसअघि भारतीय क्लब सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन् । उनले दुवै क्लबमा कप्तानी समेत गरेकी थिइन् ।

सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा महिला क्लब च्याम्पियनसिप खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट काभा महिला क्लब च्याम्पियनसिप खेल्ने भएका छन् ।

पुलिसले माल्दिभ्समा हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि अन्य क्लबबाट खेलाडी अनुबन्ध गरेको हो ।

पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडीले पुलिसबाट खेल्ने पुष्टी गरे ।

घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ तथा सुमिताले न्युडायमण्ड युथ स्पोर्टर्स क्लबबाट खेल्छन् ।

पुलिसले पहिलो पटक काभा महिला क्लब भलिबल खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षण सुरु गरिसकेको छ ।

पुलिसमा राष्ट्रिय टिमकै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तीकला तामाङ जस्ता खेलाडी छन् भने तीन खेलाडी थपिएपछि टिम अझ बलियो र सन्तुलित बनेको छ ।

काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।

टानको अध्यक्षमा सागर पाण्डे विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । प्रत्यासी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन्।

पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत हात पारे गरे । यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन्। उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराए। चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए। प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालर द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए ।

सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भए। सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चयन भए । पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्य पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो।

मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउछौंः खेलकुदमन्त्री चौधरी

सिरहा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने बताएका छन् । मधेस प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उनले बताए ।

सोमबार सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रङ्गशाला नभएको प्रसङ्ग उल्लेख गरे ।


“यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेसमा खेलकुदको विकास हुन्छ ?”, उनले भने । उनले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिए ।


त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने उनको भनाइ छ ।


मन्त्री चौधरीले राष्ट्रको सर्वाङ्गिण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राखे । उनले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन आग्रह गरे । खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उनले बताए ।


मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेस प्रदेशको वीरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिने बताए ।


यसक्रममा जीर्ण रहेको वीरगञ्जस्थित नारायणी रङ्गशालाको केही दिनअघि निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रङ्गशालाको निरीक्षण गरेको जानकारी दिए ।


नेपाली कांग्रेस सिरहाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्वागत र सम्मान गर्दै मधेसको खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका थिए ।

रुसी ‘जासुस ह्वेल’ नर्वेनजिकै समुद्रमा मृत फेला

बीबीसी । रुसी सेनाले तालिम दिएको र जासुसी गर्न प्रयोग भएको आशङ्का गरिएको एउटा ‘बलूगा ह्वेल’ नर्वेको तटनजिकै समुद्रमा मृत फेला परेको छ ।

‘ह्वाल्दिमिर’ उपनाम दिइएको उक्त ह्वेलको शव दक्षिणपश्चिमी नगर रिसाभिकानजिकै पानीमा भेटिएको थियो। त्यसपछि त्यसलाई परीक्षणका लागि नजिकैको बन्दरगाहमा लगियो ।

नर्वेको पानीमा पहिलो पटक पाँच वर्षअघि देखा परेको उक्त ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो र त्यसमा ‘गोप्रो’ क्यामरा जडान गरिएको थियो।

उक्त पट्टीमा ‘सेन्ट पिटर्स्बर्गको उपकरण’ लेखिएको थियो । त्यसपछि उक्त समुद्री जीव ‘जासुस’ हुन सक्ने चर्चा चल्यो। विज्ञहरूले विगतमा पनि ह्वेल प्रयोग गरेर जासुसी गरिएको औँल्याएका छन् ।

तर मस्कोले उक्त विषयबारे कुनै प्रतिक्रिया दिएको छैन । ’मरीन माइन्ड’ नामक संस्थाले ह्वाल्दिमिरको शव यो सप्ताहान्त फेला पारेको हो। उक्त संस्थाले सो जीवको गतिविधि केही वर्षदेखि निगरानी गर्दै आएको थियो।

ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको छ। बलूगा प्रजातिका ह्वेलहरू ६० वर्षसम्म बाँच्न सक्छन् । ह्वाल्दिमिर पहिलो पटक इन्गोया टापुनजिकै अप्रिल २०१९ मा नर्वेली डुङ्गाहरूको छेउमा पुगेको थियो ।

सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुराउने गृहमन्त्रीकाे लक्ष्य

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक वर्तमान सरकार बनेको सय दिनभित्र संसदमा पुर्याउने लक्ष्य रहेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सम्बन्धी मस्यौदामाथि छलफलमा गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन बनाउने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा सोमबार भएको छलफलमा उनले भने, ‘सय दिनभित्र गर्ने काममा मैले सम्मानीय प्रधानमन्त्रीजीसँग गर्ने कार्य सम्झौताको एक नम्बरमा यी काम राखिएका छन् ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कानुनमा प्रस्टता नहुँदा मुद्दा अदालतमा पुगेको भन्दै सरकार र सुरक्षा निकायबिच कानुनी विवाद देखिएको बताए ।

‘नेपाल प्रहरीका सन्दर्भमा २०७१ सालमा सर्वोच्च अदालले केही बोल्यो । हामीले अदालतले भनेअनुसार कानुन संशोधन गर्न सकेनौं । पछिल्लो समयमा कानुनको अस्पष्टता, ऐनमा हुनेपर्ने कुरा नियममा परेको, नियमबाट ऐनमा सार्नु पर्ने कुरा सार्न नसकिएको जस्ता समान्य विषयले पनि अदालतमा मुद्दा जाने अवस्था आयो,’ उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी अदालतमा पुग्नुभयो । यस अनौठो पनि देखियो । सरकार बनेको त समग्रतामा हो । हाम्रैबीचमा एक खालको कानुनी विवाद रह्यो ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सम्बन्धि ऐन, कानुन, नियमहरुमा अस्पष्टताले सरकार र संगठन दुबैलाई फाइदा नहुने गृहमन्त्री लेखकले बताए ।

‘विधेयकमा सशस्त्र प्रहरी बल नेपालले गर्ने काम सीमा सुरक्षा नै हो भनेर विशिष्टिकृत गरिएको छ । सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपद्मा उद्दार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरुद्ध काम गर्ने कुराको विशिष्टिकृत भएको छ,’ उनले भने, ‘प्रचलित नेपाल कानुनले अवराधजन्य काम भनेर घोषणा गरेको कुरा सशस्त्र प्रहरीले देख्यो भने तत्काल नियन्त्रण गरेर नेपाल प्रहरीलाई बुझाउ छ । यसले हाम्रोबिचमा भएका अस्पष्टतालाई यो कानुनले स्पष्ट गरेको छ ।’

समाजको गति अनुसार कानुनमा पनि संशोधन भइरहने गृहमन्त्री लेखकले बताए । आर्थिक भार पनि नबढ्ने र सेवामा अकर्षण पनि बढ्छ कि भनेर उमेर हद बढाउने र पेन्सनको अवधि घटाउने विषय विधेयकमा राखेको उनको भनाइ छ ।

उनका अनुसार विल्लादार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन अवधि कायम गर्ने, विभिन्न दर्जाको पूर्वानुमान योग्य, बढुवा, सरुवाको व्यवस्था ऐनमा नै गर्न लागिएको छ ।

विधेयकलाई भदौ २१ गते गृह मन्त्रालयबाट निर्णय गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी रहेको गृहमन्त्री लेखकले सुनाए ।

‘सरकार बनेको सय दिनमा यो विधेयकलाई क्याविनेटमा पुर्याउने भन्ने हो । तर मेरो लक्ष्य संसदमै पुर्याउने हो,’ उनले भने, ‘नयाँ कुरामा जाँदा कहीनिर विवाद र समस्या हुने, कोही बढी खुसी हुने, कसैको चित्त दुखाइ हुने कुरा हुन्छ । सबै कुराले सबैलाई सम्बोधन गर्ने सकिँदैन ।’

तथापि सबैलाई लागि यत्तिसम्म ठीकै छ भन्ने अवस्था बनाउनुपर्नेमा उनको जोड थियो । उमेर र पदावधिमा गरिएको घटबढ र स्वेच्छिक अवकाशको व्यवस्थामा गरिएको परिवर्तनले पर्ने आर्थिक भार र हुने लाभ दुबैलाई हेर्नुपर्ने उनको भनाइ छ । १६ वर्षमा स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था ठीकै रहेको गृहमन्त्री लेखकले बताए ।

यस्तै शसस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले त्याग विना संगठन नबन्ने भन्दै व्यक्तिगत सन्तुष्टि पनि नहुने बताए । ‘सबै जनाले आफूलाई भन्दा पनि आगामी पुस्तालाई हेर्नुपर्छ । विधेयकमा आएका कुरालाई हामीले आत्मसाथ गरेरै जानुपर्छ,’ उनले भने ।

छलफलमा गृह मन्त्रालको कानुन महाशाखा प्रमुख एवम् सहसचिव भरतमणि रिजालले ५९ पेजको विधेयकको मस्यौदा प्रस्तुत गरेका थिए । सबै दर्जाका प्रतिनिधिमुलक सहभागी भएको यश छलफल कार्यक्रममा उपत्यका सबै वरिष्ठ प्रहरी अधिकृत एवम् भर्चुअल रुपमा सबै प्रदेशका बाहिनी पति एवम् अन्य अधिकृतहरुको सहभागिता रहेका थियो ।

पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’

काठमाडौँ । कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका अलावा बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय रहेको छ ।

सङ्कल्प भुजेलको छाँयाङ्कन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।

तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबु आमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताए ।

चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा छन् ।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताएका छन् ।

सोमबार आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधरणसभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।

‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’, उनले भने, ‘पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र पनि प्रभावकारी हुनु पर्छ ।’

मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै हवाई सुरक्षा अभिवृद्धिमा सरोकारवालाले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको जानकारी दिए । हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको उनले बताए ।

फरक प्रसङ्गमा मन्त्री पाण्डेले वर्तमान सरकार २०८४ सम्मै रहने विश्वास व्यक्त गरे । आवश्यकताअनुसार अन्य दललाई समेत साथमा लिएर अघि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाबीच समन्वय र सहकार्य जरुरी रहेको बताए।

टानका अध्यक्ष नीलहरि बास्तोलाले टानलाई व्यवसायमैत्री बनाएर पदमार्गको संरक्षण प्रवर्द्धनमा जोड दिए । टानको नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरुले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्दै छन् । अध्यक्षका दुई आकाङ्क्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डे समूहगत रूपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।

टानका महासचिव विनोद सापकोटाका अनुसार नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान जारी रहेको छ । साँझ ६ बजेसम्म मतदान हुनेछ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । निर्वाचनमा एक हजार तीन सय ९७ मतदाता रहेका छन् ।

कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन प्रधानमन्त्रीलाई बालेनको सुझाव

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् ।

सोमबार सामाजिक संजालमार्फत मेयर साहले प्रधानमन्त्रीलाई आफ्ना कार्यकर्तालाई राजनीतिको सामान्य ज्ञान दिन सुझाव दिएका हुन् ।

उनले भनेका छन्,‘…तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनुहोला। पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इसारामा चल्ने हुनुपर्ला।’

यस्तो छ बालेनको फेसबुक स्टाटस

अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा होइन । बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण गर्‍यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन । जुन रिट अदालतले खारेज गरेको छ । अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ ।

आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबा सँगै बस्न पाउने अधिकार हुन्छ ,सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ । हाम्रो द्वन्द्व बालिकाको आमा बाबु सँग थिएन । त्यसैले बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएका छन् ।


बालिकाको उद्धार त भयो तर बाबुआमा जीवित हुँदा हुँदै बाबुआमाको काखबाट खोसेर यो हदसम्मको अन्याय र शोषण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन ?

महानगरले जेठ १४ गते बालिकाको उद्धार गरेपश्चात् ३ चरणको काउन्सिलङ गर्‍यो । सोही काउन्सिलङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत ८ वर्ष देखि आफ्नो जैविक बाबु आमा नभेटेको ,घरमा पोछा लगाउने ,करेसाबारीमा काम गर्ने ,खाना पकाउने लगायतका काम गर्नुपर्ने ,केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको ,तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।

त्यसपछि , जेठ २५ गते देखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसद विरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरी भन्दा अगावै निज रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाइन्छ ।

यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरका विरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मा लाई विपक्षी बनाइ बालबालिकासम्बन्धी एन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २(ङ) र मुलुकी फौजदारी संहिता एन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गर्छ ।

यता प्रहरीले घटनास्थल मुचुल्का लगायत अनुसन्धानको काम गर्दै गर्दा रेखा कुमारी शर्मा निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुग्छिन् । अदालतले अन्तरिम आदेश जारी गर्दै प्रहरीलाई धरपकड नगर्नु (पक्राउ नगर्नु) भन्दै आदेश गर्‍यो ।

उक्त मुद्दाको बहस र बालिकाको बाबुको सर्वोच्चको मुद्दाको बहस दुवैमा वरिष्ठ अधिवक्ता टङ्क प्रसाद दुलाल र विद्वान अधिवक्ता रेणुका सिटौलाले बहस गर्नुभएको थियो । यसले रेखा कुमारी शर्माकै डिजाइनमा बालिकाको बाबुले महानगरका विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट हालेको देखिदा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्दछ ।

उच्च अदालतको अन्तिम फैसलाले रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको छ । श्रावण २३ गते आएको उच्चको फैसला कार्यान्वयनका लागि प्रहरीलाई लिखित पत्र र मौखिक मार्फत पटक पटक ताकेता गरे तापनि कुनै पनि जवाफ नआएको अवस्था छ ।

समग्रमा भन्नुपर्दा रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै‌ं सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दैछिन र आफैं हार्दैछिन । महानगरले उनी विरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन , अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ ।

प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।

दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । सोमबार नेकपा एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत उनले राजीनामा पठाएका हुन् ।

सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए । वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेर मनाङेले राजीनामा दिएका हुन् । उनले आफूले स्वकीय सचिवमार्फत राजीनामा पठाएको जानकारी दिएका छन् ।

उनले सरकारमा बस्न अल्छी लागेकाले राजीनामा दिएको बताए । एमालेका चार मन्त्रीले शपथ लिँदा मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद मनाङेलाई यथावत राखेका थिए । तर मनाङेले राम्र्रो मन्त्रालय नपाएका भन्दै राजीनामा दिएका छन् ।

संसदीय छानबिन विशेष समितिले गर्यो कृषिसँग सम्बन्धित ३५ सहकारीका संचालकहरुसँग छलफल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले कृषिसँग सम्बन्धित सहकारीका संचालकहरुसँग छलफल गरेको छ ।

सोमबार समिमतिले संसदले दिएको कार्यादेशअनुसार सहकारीको रकम दुरुपयोगका सम्बन्धमा देशभरि संचालित १३ सय ६९ वटा साना किसान कृषि सहकारी संस्थाहरूका अध्यक्ष, पदाधिकारी, प्रबन्धक र संचालक सदस्यसहितका नेतृत्वकर्ताहरूमध्ये प्रतिनिधिमूलक ढंगले छलफल गरेको हो ।

छलफलमा ३५ जना सहकारी संचालकहरूलाई बोलाइएकोमा २८ जनाले आआफ्नो संस्था संचालनको अनुभव र स्थितिको जानकारी गराएका समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । समितिले आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग छलफल गरेको थियो ।

छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, सचिव भरतमणि सुवेदीलगायत अधिकारीहरुको उपस्थिति थियो । समितिले देशभरका सबै स्थानीय तहसँग सहकारीसम्बन्धी विवरण माग गरेकामा अहिलेसम्म नपाएको र समितिका अवधि पनि समाप्त हुन लागेकाले छिटो विवरण पठाउन सभापति सूर्यबहादुर थापाले अनुरोध गरेका थिए ।

मन्त्री गुप्ताले पाँच दिनभित्र सबै पालिकाबाट विवरण उपलब्ध गराउने गरी सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका अधिकारीको भनाइ सुन्ने, बुझ्ने गरी अध्ययन गरिरहेको छ । समिति गठन भएको भदौ २३ गते तीन महिना पूरा हुँदैछ ।

समितिको अवधि तीन महिना तोकिएको छ । सहकारीपीडितले समितिको कामलाई सूक्ष्मतापूर्वक हेरिरहेका छन् । नेपाली कांग्रेसको लामो बिरोधपछि संसद्बाट जेठ २३ गते समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरुसँग पनि छलफल गरिसकेको छ । राजनीतिमा आउनुअघि नेटवर्कमा आबद्ध पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि समितिले सोधपुछ गरिसकेको छ ।

सर्पले टोकेर धनगढीमा पाँच वर्षीय बालकको मृत्यु

कैलाली । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति घरमा सुतिरहेको बेला सर्पले टोकेको थियो । उपचारको क्रममा राति १ः ५० बजे सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो ।

त्यसैगरी गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् ।

विष्टलाई उनकै किराना पसलको घर आगनमा दाँहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ ।

१२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । सोमबार नेप्से १२७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नौ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी उन्नति कोषको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।आज तीन सय ३५ वटा कम्पनीका तीन करोड १४ लाख कित्ता शेयर १३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले  भेट गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले  कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।

उनले गौतम बुद्ध र महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा तथा विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताए । 

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे ।

भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत सहभागी थिए ।

अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला परेका छन् । ४७ वर्षीय शान्तलाल प्रधान मेरिल्याण्डमा मृत फेला परेका छन् । सन् २०१५ देखि अमेरिकामा बस्दै आएका ४७ वर्षीय प्रधान मंगलबार मेरिल्याण्डको अपर मार्लबोरोस्थित आफ्नै कोठामा मृत फेला परेका थिए ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनी चितवनको भरतपुरका हुन् । उनी केही वर्षअघि टेक्सास लुटेरा समूहको आक्रमणबाट बच्न सफल भएका थिए ।

बाइडेन र ह्यारिसले गाजा बन्धक सम्झौताका लागि अमेरिकी वार्ता दललाई भेट्ने

गाजामा एक अमेरिकी नागरिकसहित ६ बन्धकको मृत्यु भएपछि राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी वार्ताकारहरूसँग इजरायल–हमास युद्धमा बन्धकहरूको रिहाइको सम्झौताका लागि जोड दिने ह्वाइट हाउसले बताएको छ । 

ह्वाइट हाउसको बैठकका लागि समय निकाल्न बाइडेनको आधिकारिक कार्यक्रमलाई संशोधन गरिएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुनेछिन् । उपराष्ट्रपति ह्यारिसले नोभेम्बरको राष्ट्रपति निर्वाचनमा बाइडेनको उत्तराधिकारी हुन उम्मेदवारी दिएकी छन् ।

बाइडेन र ह्यारिसले सोमबार अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन र अन्य पाँच बन्धकको शनिबार हमासले हत्या गरेपछि अमेरिकी बन्धक सम्झौतामा वार्ता गर्ने टोलीसँग भेट गर्ने र बाँकी बन्धकको रिहाइका लागि सुरक्षित सम्झौतातर्फ अगाडि बढ्ने प्रयासबारे छलफल गर्ने बाइडेनको अद्यावधिक कार्यक्रमको घोषणा गर्दै एक विज्ञप्तिमा बताइएको छ । 

संयुक्त राज्य अमेरिकाले साथी मध्यस्थकर्ताहरू इजिप्ट र कतारसँग गाजा युद्धमा बन्धक–कैदीहरूको आदानप्रदान तथा युद्धविरामका लागि महिनौँ बिताएका छन् । 

नोभेम्बरमा एक साताको युद्धविराममा सयौँ बन्धकलाई रिहा गरिएको थियो । प्रचारक र परिवारका सदस्यहरूले बाँकी बन्धकको फिर्ती सुनिश्चित गर्न अर्को सम्झौता सबैभन्दा राम्रो विकल्प हुने विश्वास व्यक्त गरेका छन् । 

बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको सरकारमाथि दबाब बढाउने उद्देश्यले इजरायलमा राष्ट्रव्यापी हडताल सोमबार हुने भएको थियो । 

बन्धकका आफन्त र अधिवक्ताहरूले नेतान्याहु प्रशासनमाथि बन्दीहरूलाई जीवित फर्काउनका लागि पर्याप्त कदम नचालेको आरोप लगाएका छन् । साथै उनीहरूले बाँकी मानिसलाई बचाउन तत्काल युद्धविरामको आह्वान गरेका छन् ।

आफ्नो देशमा शरणका लागि आएकी हसिना भारतका लागि कूटनीतिक टाउको दुखाइ

नयाँदिल्ली । विद्यार्थीहरूको नेतृत्वको क्रान्तिका क्रममा हेलिकप्टरमा चढेर बङ्गलादेशबाट भागेको चार सातापछि पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो आतिथ्यताका लागि भारतमा कूटनीतिक टाउको दुखाइ बनेको  विश्लेषकहरूले बताएका छन् । 


अधिकारहरूको हनन र विपक्षीमाथि कारबाहीको १५ वर्षपछि प्रदर्शनकारीहरू ढाकामा उनको निवासतर्फ अगाडि बढेपछि हसिनाको कठोर कार्यकाल गत महिना समाप्त भएको थियो । 


विद्रोहको नेतृत्व गर्ने बङ्गलादेशी विद्यार्थीहरूले विद्रोहका क्रममा प्रदर्शनकारीहरूको हत्याका लागि उनीमाथि मुद्दा चलाउन उनको सबैभन्दा ठूलो सहयोगी भारतबाट फर्काउन माग गरिरहेका छन् ।  


यद्यपि ७६ वर्षीया हसिनालाई फिर्ता पठाउँदा दक्षिण एसियामा आफ्ना अन्य छिमेकीहरूसँग भारतको अवस्था कमजोर बनाउने जोखिम छ । 


“भारत स्पष्ट रूपमा उहाँलाई बङ्गलादेशमा सुपुर्दगी गर्न चाहँदैन”, द्वन्द्व समाधान थिङ्क–ट्याङ्क इन्टरनेसनल क्राइसिस ग्रुपका थोमस किनले भने, “दिल्लीको नजिक रहेका यस क्षेत्रका अन्य नेताहरूलाई पठाउने सन्देश धेरै सकारात्मक हुँदैन, ताकि भारतले तपाईंको रक्षा गर्दैन ।”


राम्रो सम्बन्ध आवश्यक

नयाँदिल्लीले गत वर्ष माल्दिभ्समा आफ्नो मनपर्ने राष्ट्रपति पदका उम्मेदवारले प्रतिद्वन्द्वीसँग हारेको देखेको छ । हसिनाको पतनबाट भारतले यस क्षेत्रमा आफ्नो सबैभन्दा नजिकको सहयोगी गुमाएको छ । 


हसिनाको शासनमा पीडित बङ्गलादेशीहरू उहाँको सरकारद्वारा भएका दुर्व्यवहारका लािग खुलारूपमा भारतप्रति शत्रुतापूर्ण छन् । 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हसिनाको स्थान लिने सरकारलाई समर्थन दिने वाचा गरेका छन् । यद्यपि उनले युनुसको प्रशासनसँग बङ्गलादेशका हिन्दू धार्मिक अल्पसङ्ख्यकहरूको रक्षा गर्न आग्रह गरेका छन् ।


हसिनाको अवामी लिगलाई बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) को तुलनामा बङ्गलादेशका हिन्दू अल्पसङ्ख्यकहरूका लागि अधिक सुरक्षात्मक मानिन्छ । 


मोदीले १७औँ शताब्दीको लालकिल्ला माथिबाट आफ्नो वार्षिक स्वतन्त्रता दिवसको सम्बोधनको प्रयोग गरी बङ्गलादेशी हिन्दूहरू खतरामा रहेको बताए र पछि यो मामिलालाई अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष उठाए । 


हसिनाको पलायनपछि भएका अराजकतामा केही बङ्गलादेशी हिन्दू र हिन्दू मन्दिरहरूलाई निशाना बनाइयो र यसको विद्यार्थी नेता र अन्तरिम सरकारले निन्दा गरे । 


तर पछि सरकार समर्थक भारतीय समाचार च्यानलहरूले हिंसाको अतिरञ्जित विवरणहरू पेस गरेपछि मोदीको भारतीय जनता पार्टी (भाजपा) सँग जोडिएका हिन्दू कार्यकर्ता समूहहरूले विरोध प्रदर्शन सुरु गरे । 


बिएनपीका शीर्ष नेता फखरुल इस्लाम आलमगिरले भारतले हसिनालाई समर्थन गरेर ‘आफ्नो सम्पूर्ण फल एउटै टोकरीमा राखेको’ र यसलाई कसरी उल्ट्याउने उसलाई थाहा नभएको बताए ।


हसिनाको कार्यकालमा गिरफ्तार गरिएका हजारौँ बिएनपी सदस्यमध्येका एक आलमगिरले भने, “बङ्गलादेशीहरू भारतसँग राम्रो सम्बन्ध चाहन्छन् तर आफ्नो स्वार्थको मूल्यमा होइन, दुर्भाग्यवश भारतको रवैया आत्मविश्वास पैदा गर्न अनुकूल छैन ।”


तानाशाहलाई आश्रय


अविश्वासको वातावरण कतिसम्म भयो भने अगस्टमा दुवै मुलुकमा विनाशकारी बाढी आउँदा केही बङ्गलादेशीले बाढीबाट भएका मृत्युहरूका लागि भारतलाई दोषी ठहर्याए । 


बङ्गलादेशको अन्तरिम सरकारले सार्वजनिक रूपमा नयाँदिल्लीसँग हसिनाले भारतमा शरण लिएको मुद्दालाई उठाएको छैन । हसिनाको अन्तिम आधिकारिक ठेगाना राजधानी नजिकै एक सैन्य विमानस्थल हो तर ढाकाले उहाँको कूटनीतिक राहदानी रद्द गरेको छ । यसले उहाँलाई अगाडिको भ्रमण गर्नबाट रोकेको छ । 


दुवै मुलुकबीच सन् २०१३ मा हस्ताक्षर गरिएको द्विपक्षीय प्रत्यर्पण सन्धि छ । सन्धिले आपराधिक मुद्दाको सामना गर्न फर्कन अनुमति दिन्छ । यद्यपि सन्धिको एक खण्डमा अपराध ‘राजनीतिक चरित्र’ को भए प्रत्यर्पण गर्न अस्वीकार गर्न सकिने व्यवस्था छ । 


बङ्गलादेशमा भारतका पूर्वराजदूत पिनाक रञ्जन चक्रवर्तीका अनुसार ढाकाका लागि द्विपक्षीय सम्बन्ध यति महत्त्वपूर्ण छ कि हसिनाको फिर्ताका लागि दबाब दिएर सम्बन्धमा तित्तता उत्पन्न हुनसक्छ ।  


“कुनै पनि परिपक्व सरकारले हसिनालाई भारतमा रहनुलाई मुद्दा बनाएर उनीहरूलाई कुनै फाइदा हुनेछैन भन्ने महसुस गर्नेछ”, उनले भने । 

गण्डकीमा एमालेका नवनियुक्त चार मन्त्रीले लिए शपथ

गण्डकी । केन्द्रमा नयाँ सरकार गठन भएको डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । सोमबार नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका चार जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सोमबार शपथ ग्रहण गरेका हुन् ।

एमालेकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री, कृष्णप्रसाद पाठकले स्वास्थ्यमन्त्री, मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्री र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्रीको शपथ लिएका हुन् । सात वटा मन्त्रालय रहेकोमा दुई मन्त्रालय थपेर आइतबार ९ पुर्यााइएपछि एमाले सरकारमा सहभागी भएको हो ।

हालका भौतिक मन्त्री दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् ।

कांग्रेसका टकराज गुरुङ आर्थिक मामिलामन्त्री, नेसपाका फणीन्द्र देवकोटा पनि उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा यथावत छन् ।

वीरगञ्ज नाकाबाट  जिप र कारको आयातमा कमी, मोटरसाइकल आयात दोब्बर

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल आयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आवको साउनमा भने रु ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए ।  

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा  २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा  १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए । 

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट  ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने  ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

पाल्पामा स्कुटर दुर्घटनामा चालकको मृत्यु

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर सोमबार बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते  भएका थिए ।

उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । 

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । 

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ । 


आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र छ जना घाइते भएका प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए । 


सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच द्वन्द्व सुरु भएको थियो । उक्त जातीय द्वन्द्वमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो । 


प्रतिद्वन्द्वी मिलिसियाले युद्धग्रस्त म्यान्माको सीमासँग जोडिएको राज्य मणिपुरका केही भागमा नाकाबन्दी गरेका छन् । 


दुवै समूहबीच लामो समयदेखिको तनाव भूमि र सार्वजनिक जागिरहरूका लागि प्रतिस्पर्धाको वरिपरि घुमेको छ । अधिकार कार्यकर्ताहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभ हासिल गर्नका लागि जातीय विभाजनलाई बढाएको आरोप लगाएका छन् । 


“सामान्यतया ड्रोन बमहरूको प्रयोग सामान्य युद्धमा प्रयोग गरिन्छ तर सुरक्षा बल र सर्वसाधारणविरुद्ध विस्फोटक पदार्थहरू तैनाथ गर्नका लागि ड्रोनको यो हालैको तैनाथीले महत्त्वपूर्ण वृद्धिको सङ्केत गर्दछ”, मणिपुर प्रहरीले विज्ञप्तिमा भनेको छ । 


राज्यको राजधानी इम्फालबाहिरको आक्रमण ‘कथित कुकी’ विद्रोहीहरूले गरेको विज्ञप्तिमा उल्लेख छ । 


घाइते हुनेमा मृत्यु हुने महिलाकी आठ वर्षीया छोरीका साथै तीन सर्वसाधारण र दुई प्रहरी अधिकारी रहेका छन् । 


“सम्भवतः प्राविधिक विशेषज्ञता र सहयोगका साथ उच्च प्रशिक्षित पेशेवरहरूको सहभागितालाई अस्वीकार गर्न सकिँदैन”, प्रहरीले भनेको छ । 

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ ।

सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोले आपतकालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताए । उहाँका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् ।

“हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ”, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गरेका छन् ।

वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो ।

किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताए ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विस्फोट भएका छन् । खार्किभ क्षेत्रका प्रमुख ओलेह सिनिहबोभले खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताए ।

रुसको सेनाले करिब साढे दुई वर्षदेखि चलिरहेको युद्धको सबैभन्दा ठूलो युक्रेनी आक्रमणमा धेरै रुसी क्षेत्रलाई लक्षित गरी एक सय ५८ युक्रेनी ड्रोनहरूलाई रोकेको र नष्ट गरेको रिपोर्ट दिएको एक दिनपछि रुसबाट यो आक्रमण भएको हो ।

यो आक्रमण रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । मस्कोको सेनाले अहिलेसम्म युक्रेनी सेनालाई पछाडि धकेल्नका लागि सङ्घर्ष गरेको छ र क्रेमलिनले यसको जवाफ दिने वाचा गरेको छ ।

साउनमा मेची भन्सारबाट एक अर्ब ८० करोडको मालबस्तु निर्यात

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालबस्तु विदेशी मुलुकमा निर्यात गरेको छ ।

जुन गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजार रुपैयाँले घटेको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार रुपयाँ बराबरको मालबस्तु निर्यात भएको थियो ।

उनका अनुसार चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालबस्तु निर्यात भएको छ ।

मेची भन्सारको तथ्याङ्क अनुसार गत साउनमा ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ । जुन गत आव २०८०/८१ को तुलनामा क्रमश. ३८ दशमलव ०८ प्रतिशत र ४३ दशमलव ४९ प्रतिशतले बढी हो ।

यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात हुँदा ३४ करोड ९२ लाख ५९हजार रुपैयाँ बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । जुन गत आवको साउन महिनाको तुलनामा ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले निर्यात घटेको हो ।

त्यस्तै भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउली लगायतका बस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा

भैरहवा ।  रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ।

पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए। पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएका छन्।

निगमले तीनवटा ठेकेदारमार्फत गत जेठ १८ गतेदेखि भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ। भण्डारण गृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणी खोलमा आएको बाढीले केही समय ढिला भएको निगमको भनाइ छ।

‘बर्खायाममा रोहिणी खोलामा पानीको सतह बढेको तथा ढुङगाको सहज उपलब्धता नहुँदा पहिलो प्याकेजमा केही ढिलाइ भएको हो’, साइट इन्जिनियर अङ्कित रिमालले भने, ‘अन्य प्याकेजका काम अन्तिम चरणमा छन्, अबको एक महिनाभित्र पहिलो चरणका सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’

रोहिणी खोलाको समानान्तर छ मिटर अग्लो छ सय २० मिटर ग्याविन र जग्गाको उत्तरतर्फ चार दशमलव दुई मिटर अग्लो एक सय ५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ। भण्डारणस्थल प्रस्तावित जग्गालाई रोहिणी खोलामा आउने बाढीबाट सुरक्षित बनाउन परियोजनास्थलभन्दा माथि करिब एक सय ८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ।

रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ। ग्याविन पर्खालका लागि छ र जग्गा पुर्नका लागि एक गरी सात वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको थियो। सात वटा प्याकेज आठ करोडमा ठेक्का लागेको थियो। प्याकेज नं ७ अन्तर्गत जग्गा पुर्ने तथा सम्याउने कार्य लगभग सम्पन्न भएको छ।

प्याकेज नं ४, ५ र ६ मा ग्याबिन पर्खाल लगाउने काम सम्पन्न भइसकेका छन्। प्याजेक नं ३ अन्तर्गत करिब ७० प्रतिशत काम सकिएको छ। काठमाडौंस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगन्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चार वटा प्याकेजमा काम गरिरहेको छ।

अबको एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउण्ड’ निर्माणको काम थालिने इन्जिनियर रिमालको भनाइ छ। रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता न्यून तथा घनाबस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ।

उक्त भण्डारण निर्माण भएसँगै लुम्बिनी प्रदेशका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ। सो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ।

निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा नयाँ भण्डारण गृह निर्माण तथा क्षमता विस्तार गर्दै आइरहेको छ। रोहिणी क्षेत्रमा करिब तीन अर्ब लागतमा नयाँ भण्डारण गृह निर्माण गरिने परियोजना संयोजक यादवले जानकारी दिए।

सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्याङ्क निर्माण गरिनेछ।भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ।

असोजभित्र परियोजनाको डिजाइन सम्पन्न हुने निगमले जनाएको छ। परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गरिरहेको छ। आगामी मङ्सिरमा भण्डारण गृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। 

आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक, अगष्टमा भित्रिए ७२ हजार

काठमाडौँ । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । 


सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् ।


अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् । 


बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा ६ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी अघि बढेको भौतिक पूर्वाधारमन्त्री दाहालको दाबी

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताए ।

मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे ।

‘सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ’, उनले भने ।

मुख्य राजमार्गका रूपमा रहेको यो सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको भन्दै मन्त्री दाहालले भने,’सरकारका तर्फबाट उहाँहरूलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ ।’

उनले बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रष्ट पारे । मन्त्री दाहालले भने, ‘बर्सात सकिने बित्तिकै उहाँहरूले तीव्रगतिमा काम अघि बढाउन नसकेमा हामीले ठेक्का तोडेर जानुपर्ने हुन्छ, अर्को विकल्प दिनुपर्ने हुनसक्नछ । यस्तो गर्न नपरोस् भन्ने हाम्रो चाहना छ ।’

यसैगरी उनले सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिए । लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख लाइसेन्स बन्ने प्रक्रियामा रहेका र पाँच लाख लाइसेन्स बनिसकेको बताए ।

मन्त्री दाहालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले के—के काम गर्ने भन्ने स्पष्ट भएकाले यातायात क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जाने धारणा राखे ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले रेलमार्गको अध्ययनका लागि बर्सात सकिएपछि काम सुरु हुने बताए । रेलमार्गको रेखाङ्कन भए पनि बैङ्कले ऋण प्रवाह नगर्ने, जग्गा खरिद बिक्री नहुनेजस्ता समस्याका कारण स्थानीय आक्रोशित भइरहेको सुनाए । सचिव शर्माले स्थानीयको मागलाई सम्बोधन गरेर मात्र मन्त्रालयलले रेलमार्ग निर्माण गर्ने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले पदभार ग्रहण गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यसक्रममा बोर्डका कर्मचारीहरुले फूलमाला लगाएर डीसीको स्वागत गरेका छन् । पदभार ग्रहण गर्दै डीसीले फिल्म ज्ञान शास्त्रलाई निर्माण इजाजतपत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसक्रममा उनले आफू जागिर खान मात्रै नआएको भन्दै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तस्बिरमा ढोरपाटन सिकार आरक्षको सुनदह

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस

एकीकृत समाजवादीद्वारा वरिष्ठ उपाध्यक्ष पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिए । आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव छन् ।

कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा गङ्गालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीका विभिन्न विभाग, इन्चार्जसहितका विभिन्न नेतालाई जिम्मेवारी छिट्टै तोकिने जनाइएको छ ।

११ आंगिक क्याम्पसको प्रमुखका लागि त्रिविले माग्यो आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले सोमबार सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहाको लागि क्याम्पस प्रमुख माग गरिएको छ ।

त्यसैगरी रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्न चाहेको त्रिविले जनाएको छ । योग्यता पुगेका इच्छुकलेसात दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

फेसबुकमा चिनजान गरेको व्यक्तिले भारतको वेश्यालयमा लगेपछि….

काठमाडौँ । चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो । श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो ।  

कसरी बालबच्चालाई पेटभरी ख्वाउने भन्ने चिन्ताले विपनालाई सधैँभरी सताईरहन्थ्यो । यत्तिकैमा एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो । विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गरिन् । पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल (फेसबुक) मा साथी बन्न अनुरोध पठाए । विपनाले अनुरोध स्वीकार गनिर् र साथी बनिन् । 

फेसबुकमा कुरा हुँदै जाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाए । विपनाले भनिन्, “घरमा पनि सधैँभरी लाउन खानकै दुःख, अरु भन्दा पनि छोराछोरालाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरेँ ।” 
फोन गर्ने मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा पाउनुभयो । एक बर्षपछि विपना आफन्तको सहयोगमा नेपाल फर्किन सफल भइन्  ।
  
यसरी प्रलोभनमा पारेर भारतमा बेचिकी विपना एक उदाहरण मात्रै हुन् । बढ्ढो सूचना, सञ्चार र प्रविधिको विकासले मानव बेच बिखन सजिलो भएको छ । पहिले गाउँका सोझा महिला मात्रै बेचिन्थे । अहिले सहरका टाठाबाठा सजिलै बेचिने गरेका छन् । पछिल्ला पाँच वर्षयता सहरकै शिक्षित महिला बेचविखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन रोक्न तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मावन बेचविखन तथा ओसारपसार गर्न दलालहरुलाई सजिलो भएको छ । 

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि मावन बेचविखन रोक्न पहल गरिरहेका छन् । तर, मावन बेचविखनको अवस्था घट्नुको सट्टा बढ्दै गएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने मानव बेचविखनमा पर्ने ८० प्रतिशत बढी महिला छन् । पछिल्लो समय पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले नेपाली युवती विवाह गरेर लैजाने र बेचविखनमा पर्ने गरेको माइती नेपाल नामक संस्थाले जनाएको छ । 

नेपालबाट विवाह गरेर लगे पनि ती महिलालाई पछि घरमै बन्धकझैँ बनाएर यातना दिने गरेको माइती नेपालको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि लैजाने तर प्रक्रिया नपुर्याई लैजाँदा श्रम शोषण, यौनशोषण हुने गरेको छ ।

विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेकै बाट बेचिने गरेका छन् । पछिल्लो समय धनुषा जिल्लाका सात र सिरहा जिल्लाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ जना पुरुष बन्धक बनाइएको भारतीय गैरसरकारी संस्था किन इण्डियामार्फत जानकारी हुन आएको थियो । 

मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इण्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित/प्रभावितलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ ।

मानव बेचविखनबाट पीडित र प्रभावितको उद्धार तथा संरक्षणलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ । यो घटनाको संवेदनशीतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ पुरुषलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको समुपस्थितिमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत निजको परिवारसँग पुनःमिलन गराइएको छ । 

यसरी पछिल्लो समय मानव बेचविखनको शैली परिवर्तन हुँदै गएको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको सङ्ख्या बढेसँगै बेचविखनको जोखिम बढेको हो । सामाजिक सञ्जालमा आम नागरिकको पहुँच भएकाले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन फस्टाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । 

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा बेचबिखनको जोखिम बढेको जनाइएको छ । प्रविधिको विकाससँगै बढ्दो मानव बेचविखन तथा ओसारपसार रोक्न राज्यले सोही अनुरुप सक्रियता देखाउनुपर्ने देखिन्छ ।

प्रिमियर लिगमा लिभरपुलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडविरुद्ध फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले म्याचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

लिभरपुलका लागि लुइस डाइजले ३५औँ र ४२औँ मिनेटमा गोल गरे । त्यस्तै मोहम्मद सालाहले ५६औँ मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध ३–० को जित सुनिश्चित गरे ।

लिगअन्तर्गत नै न्युकासलले टोटनहामलाई २–१ गोलले पराजित गर्यो । न्युकासलको जितमा हार्भी बार्नेसले ३७औँ र एलेक्जेन्डर इसाकले ७८औँ मिनेटमा गोल गरे ।

टोटनहामले ५६औँ मिनेटमा आत्मघाती गोल उपहार पाए पनि हार टार्न भने सकेन । त्यस्तै लिगअन्तर्गतकै अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।