`

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

गण्डकी । गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा विश्वविद्यालयका तर्फबाट गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले २० हजार नगदसहित उनलाई सम्मान गरेका हुन् ।

हालै सम्पन्न सेन्ट्रल एसियन जोन काभा महिला भलिबल लिगमा नेपाललाई रजत पदक दिलाउन सफल राष्ट्रिय टिमका कप्तान शाही गण्डकी विश्वविद्यालयमा स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा पहिलो व्याचका छात्रासमेत हुन् । उनी हाल छैटौँ सेमेस्टरमा अध्ययनरत छिन् ।

कार्यक्रममा मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर सफलता प्राप्त गरेको भन्दै नेपाली महिला खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले देशको गौरव बढेको बताए ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यही अध्ययनरत विद्यार्थीले देशको प्रतिनिधित्व गर्दै गौरव बढाएका खुसी व्यक्त गरे । कप्तान शाहीले विश्वविद्यालयले गरेको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताइन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको युट्युब च्यानलबाट टिजर सार्वजनिक भएको हो ।

टिजरमा मुख्य कलाकार विजय बराल र प्रकाश सपुत बाबुछोराको भूमिकामा देखाइएको छ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिस बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

आगामी लक्ष्मीपूजाको अवसरमा कार्तिक १५ गतेबाट रिलिज हुने फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ।

https://www.youtube.com/watch?v=ibGjUI50A2s

चाडपर्वमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।


मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्यवस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे ।


उनले भने, ‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन ।’


उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन, निर्यात बढाउन तथा  विषादीयुक्त खाद्यपदार्थ आयात–निर्यात नगर्न आग्रह गरे ।


उनले नेपालमा फलाम, युरेनियमलगायत खानीजन्य पदार्थको उत्खननको क्रम चले पनि तिनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न निर्देशन दिए ।


उनले दैलेखमा  पेट्रोलियम पदार्थको उत्खनन कार्य चाँडो सम्पन्न आग्रह गर्दै पुँजीपतिलाई नाफा हुन्छ भन्दैमा मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पर्ने गाँजाखेतीजस्ता काममा धेरै नहौसिन सुुझाव दिए ।


यसअघि प्रधानमन्त्री ओलीले सोही मन्त्रालयको उद्योग क्षेत्रसँग सम्बन्धित विषयमा ‘ब्रिफिङ’ लिएका थिए । 

कांग्रेस महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदन संशोधनसहित पारित, एक्जिट पोलिसीबारे अनिर्णित

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी पारित गरेको हो ।

महामन्त्री थापाले पेस गरेको प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने विषय उल्लेख छ । कांग्रेसले एक्लै चुनाव लड्ने र कांग्रेसले रुख चुनाव चिह्नमै मतदान गर्नपाउने भनी उनको प्रस्ताव पारित गरिएको छ ।

थापाको पारित प्रस्तावमा भनिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने चुनावहरूमा आफ्नै ताकतमा एक्लै लड्नेछौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।’

महामन्त्री थापाको गठबन्धनबारे प्रस्ताव पारित भए पनि महाधिवेशनको कार्यतालिकाका विषयमा भने अमूर्त निर्णय भएको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रस्तावको व्यक्ति बहिर्गमन व्यवस्थाबारे छलफल गर्दै जाने कुरा भएको छ। उनले भने, ‘एक्जिट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ ।’

पत्रकार महासंघको निर्वाचन असोज पाँच गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन आगामी असोज पाँच गते हुने भएको छ । अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्ति जारी गरी सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । यसअघि सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक–पटक सर्दै आएको थियो ।

१६ करोड बचत अपचलन गरेको आरोपमा एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एभरट्रस्ट सहकारीका उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने अन्यमा सहकारीका सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुगांका ३७ वर्षीय विष्णुप्रसाद फुयाँल, सदस्यहरू ललितपुरका ४८ वर्षीय रामलाल महर्जन र भक्तपुरमा ४६ वर्षीय अमरभाई बज्राचार्य छन् ।

उनीहरूमाथि १५ करोड ९१ लाख रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप लागेको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका १८ निर्णय

काठमाडौं । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले ल्हासा, ग्वान्जाओ र कोलकाताका लागि महावाणिज्यदूत नियुक्त नियुक्त गरेको छ । सहसचिवहरू झक्कप्रसाद आचार्यलाई कोलकाता, भरत खनाललाई ग्वान्जाओ र लक्ष्मीप्रसाद निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त भएका हुन्।

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

यस्तै, बैठकले बहुक्षेत्रीय घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करीव तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।

साथै मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासिनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलव्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

युद्धविराम हुँदा मुक्त गर्ने तयारीमा रहेका ६ बन्धक मारिएका हमासको दाबी

गाजाको सुरुङमा मृत भेटिएका ६ जना इजरायली बन्धकमध्ये केहीलाई युद्धविराम सम्झौता भएको अवस्थामा रिहाईका लागि ‘स्वीकृत’ गरिएको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।

यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको भन्ने ती अधिकारीले नाम नबताउने शर्तमा भने,“इजरायली पक्षले फेला पारेका कैदीहरूको केही नामहरू घोषणा गरिएको छ ।इजरायलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि प्रस्तावित आदानप्रदानका लागि हमासले अनुमोदन गरेको बन्धकहरूको सूचीमा उनीहरू पनि थिए।”

इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।

उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।

युक्रेनद्वारा सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिएका छन् ।

जेलेन्स्कीले भनेका छन्, “अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङ्टनमा काम सहयोग जुटाउनका लागि काम गरिरहेको छ ।”

युक्रेनको उच्च प्राथमिकता रूसको आक्रमण रोक्न आफ्नो रक्षा बललाई लामो दूरीको क्षमताले सुसज्जित गर्नु रहेको राष्ट्रपति जेलेन्स्कीले बताए ।

उनले भने, “विभिन्न स्तरमा बैठकहरू भएका छन्, र हाम्रो शीर्ष प्राथमिकतामध्ये एक हाम्रो रक्षा बलहरूको लागि दीर्घकालीन क्षमताहरू सुरक्षित गर्नु हो। खार्किभ र युक्रेनका अन्य शहरहरूले सहन बाध्य भएको आतङ्कलाई रोक्न यो महत्त्वपूर्ण छ ।”

जेलेन्स्कीले शहरहरूको सुरक्षाका साथै ऊर्जा पूर्वाधारको सुरक्षामा मद्दत गर्न युक्रेनले आफ्ना सहयोगीहरूसँग हवाई प्रतिरक्षाको बारेमा छलफल गरिरहेको पनि बताए ।

गाजा युद्ध अन्त्य गर्ने समय आएको अमेरिकी राष्ट्रपति वाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले संक्षिप्त प्रतिक्रिया दिँदै अब युद्ध अन्त्य गर्ने समय आएको बताएका छन् । गाजा पट्टीबाट एक इजरायली मूलका अमेरिकीसहित बन्धक बनाइएका छ बन्धकको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको बताए । उनले गाजामा युद्ध अन्त्यका लागि आफूहरूले अहोरात्र खटिरहेको पनि बताए ।

राष्ट्रपति बाइडेनले बन्धकको हत्या गरिनु ‘निन्दनीय’ भएको र यस घटनाले आफूलाई स्तव्ध पारेको बताए । “हमासका नेताहरूले यी अपराधको मूल्य चुकाउनेछन्,” उनले भने ।

उनले भने, “अब युद्ध अन्त्य गर्ने वेला भएको छ । प्यालेस्टिनी समूहले बन्धक बनाएका बाँकी बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न अहोरात्र काम भइरहेको छ ।”

बाइडेनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीले मारेका बन्धकमध्ये एक अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन रहेको हामीले पुष्टि गरेका छौँ ।”

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले दक्षिणी गाजाको रफाहबाट बरामद भएका छ वटा शव हमासले आईडीएफ सेना आउनुभन्दा केही समयअघि नै ‘निर्मम हत्या’ गरेका इजरायली बन्धकको भएको बताएको छ ।

यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले एक वक्तव्य जारी गर्दै हमासलाई ‘निर्मूल पार्नुपर्ने’ र गाजालाई नियन्त्रण गर्न दिन नसकिने बताइन् ।

ह्यारिसले २३ वर्षीया अमेरिकी नागरिक गोल्डबर्ग–पोलिनका आमाबुबा जोन र राहेलप्रति समवेदना व्यक्त गर्दै भनिन्, “अमेरिकी नागरिकको सुरक्षाभन्दा मेरो कुनै उच्च प्राथमिकता छैन।

देशभरका बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । 

 सङ्गठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे–जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन दिएका हुन् ।

नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलगायतसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, “बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनी पुर्जाबिना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्छ ।”

प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि आग्रह गरे ।

“बाल सङ्गठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाएसरह सुविधा पाउनुपर्छ । उनीहरु स्वस्थ्य हुनुपर्छ । उचित शिक्षा र मायाा पाउनुपर्छ । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ ।”

सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेकी थिइन् । हाल  सङ्गठनअन्तर्गतका आश्रयमा करिब तीन सय बालबालिका छन् ।

संसदीय छानबिन विशेष समितिद्वारा सामान्य प्रशासनमन्त्री र सचिवसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलगायत अधिकारीसँग छलफल गरेको छ ।

समितिको ४९ औँ बैठकमा संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गत सञ्चालित सहकारीको तथ्यगत विवरण प्राप्त गर्ने विषयमा उक्त छलफल गरिएको हो ।

बैठकमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, मन्त्रालयका सचिव भरतमणि सुवेदीलगायत अधिकारी उपस्थित थिए ।

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिंदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो ।

उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताए ।

उनका अनुसार बिरुवा लगाएको एक वर्षपछि स्याउका बिरुवाले स्याउ उत्पादन दिन थाले पनि दुई वर्षदेखि दिन थालेको स्याउ गुणस्तरीय हुन्छ । थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न मिल्ने र एउटै बोटमा धेरै स्याउ उत्पादन गर्न सकिने प्रमुख मल्लको भनाइ छ ।

परम्परागत जातको स्याउका बिरुवाप्रति हेक्टर तीन सय बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रतिहेक्टर तीन हजारसम्म लगाउन मिल्छ । यो प्रविधिबाट लगाएको फुजी स्याउको बिरुवाले एक वर्षमै फल दिने भए पनि पहिलो पटकको स्याउ कम गुणस्तरको हुने र दोस्रो लटदेखि गुणस्तरीय उत्पादन हुन्छ ।

आथिक वर्ष २०७९/८० मा व्यावसायिक फुजी स्याउ उत्पादन गर्न पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुले उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रमअन्तर्गत दुई वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा आठ सय बिरुवा उपलब्ध गराएको थियो ।

छायानाथ रारा नगरपालिका–४ अन्तर्गत मुसेचौर कृषि पशुपक्षी फर्मलाई पाँच सय बिरुवा र वडा ५ सक्षम कृषि पशुपंक्षी फामलाई तीन सय बिरुवा दिइएको थियो । यस वर्षदेखि प्रत्येक प्रतिबोटमा पाँचदेखि आठ केजीसम्म स्याउ उत्पादन भएको छ ।

अन्य स्याउको तुलनामा फुजी स्याउको माग राम्रो भएको र मूल्य पनि राम्रो पाउने गरेको मुसिचौर कृषि, पशुपक्षी फार्मका सञ्चालक मनबहादुर भाम बताउँछन् । उनी भन्छन्, ‘फुजी स्याउको बिरुवाले छिटै स्याउ उत्पादन दिने र लामो समयसम्म दिने भएकाले हामी जस्ता व्यावसायिक स्याउ खेतीमा लागेका किसानका लागि यो जातको स्याउ उपयुक्त लाग्यो ।’

व्यवसायी जसबहादुर बुढा बाबुबाजेले गर्दै आएको स्याउको तुलनामा यो जातको स्याउले राम्रो आम्दानी दिएको बताए । ‘मेहनतअनुसारको प्रतिफल पाइने र थोरै जग्गामा पनि धेरै विरुवा रोप्न सकिने भएकाले यो राम्रो भएको छ’, उनले भने ।

परियोजना कार्यान्वयन इकाइले आव २०८०/८१ मा नौ सय बिरुवा वितरण गरेको र चालु आर्थिक वर्षमा तीन हजार फुजी स्याउका बिरुवा ५० प्रतिशत अनुदान छुटमा वितरण गर्ने लक्ष्य लिएको छ ।

परम्परागत जातको स्याउको बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिने गरेको इकाइ प्रमुख तेज विक्रम मल्लले बताए ।

राम्रो सुरक्षा, गोडमेल र मलजल पाएमा २० वर्षसम्म फल दिनसक्ने उनको भनाइ छ । फुजी स्याउको उत्पादनबाट मात्रै यस वर्ष यहाँका किसानले पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

गैरन्यायिकरुपमा गरिएको नियमावली संशोधन खारेज गर्न माग गर्दै बार एसोसिएसनद्वारा न्याय परिषदमा धर्ना


काठमाडौं । नेपाल बार एशोसिएशनले न्याय परिषदमा धर्ना दिएको छ । नियमावली संशोधनको माग गर्दै आइतबार नेपाल बारले रामशाहपथस्थित न्यायपरिषदमा धर्ना दिएको हो ।

उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्ने, गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्ने लगायतका माग राखेका छन् ।

न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरिरहेको भन्दै बारले धर्ना दिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले नियमावली संशोधन गरी न्यायाधीशहरूलाई दुईवटा वर्गमा विभाजन गरेको बताए ।

उनले आफूहरूले पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि न्याय परिषद्ले नसुनेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । घिमिरेले गैरसंवैधानिक नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्ति गर्न नदिने जिकिर गरे ।

‘हेर्ने कथा’मार्फत परिवार भेटेका प्रकाश मोक्तानले पाए नागरिकता

काठमाडौं । ‘हेर्ने कथा’मार्फत परिवार भेटेका प्रकाश मोक्तानले नागरिकता पाएका छन् । उनलाई भोजपुरको षडानन्द नगरपालिकाको टोलीले आइतबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो । षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले मोक्तानलाई नागरिकता हस्तान्तरण गरे ।

प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेका थिए । वर्षाैंपहिले करिब १० वर्षको उमेरमा झापाबाट कामको खोजीमा काठमाडौं आएका प्रकाश हराएका थिए ।

उनी गोरखाको एक गाउँस्थित साहुको घरमा काम गर्दै आएका थिए । हेर्ने कथा कार्यक्रममार्फत परिवारसँग उनको पुनर्मिलन भएको हो । अहिले उनी साहुको घरबाट बिदावारी भइसकेका छन् ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् ।

प्रतिकूल मौसमका कारण आन्तरिकततर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्द छन् । आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ । पोखरा विमानस्थलको भिजिविलिटी कमजोर हुँदा काठमाडौँ–पोखरा कुनैपनि उडान भएको छैन । पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ ।

मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडान समेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । यस्तै काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनुसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना पनि महाशाखाले पूर्वानुमान गरेको छ ।

नेप्सेमा ५३ अङ्कको गिरावट, साढे १० अर्बको कारोबार

काठमाडौँ ।  यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । 

आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह तीन दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ९८ र बैंकिङ दुई दशमलव ३४ प्रतिशतले घटेको छ ।

त्यसैगरी, विकास बैंक एक दशमलव ८५, जलविद्युत् दुई दशमलव ४०, लगानी एक दशमलव ३३, जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन एक दशमलव ८०, लघुवित्त एक दशमलव ८८, निर्जीवन बीमा एक दशमलव २३, व्यापार शून्य दशमलव १९ र अन्य समूह एक दशमलव ०४ प्रतिशतले बढेको छ ।

आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको रु ५२ करोड ३१ लाख १० हजार चार सय ९२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको आठ लाख चार हजार आठ सय कित्ता शेयर कारोबार भएको छ ।

चितवनमा गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो ।

निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भएको हो । फाउण्डेसनले उनीहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो ।

प्रमुख संरक्षण अधिकृत पुनले भने, “गत आवमा संरक्षणका क्षेत्रमा हामीले महत्वपूर्ण काम गरेका छौँ । एक वर्षमा ३४ जना चोरी सिकारीमा संलग्न भई फरार अभियुक्त पक्राउ गरिएको यो पहिलो उपलब्धि हो । यसैगरी खगेन्द्र मल्लीभित्रको सत्तरचुली क्षेत्रमा दुईवटा गैँडा खाल्डामा पुरेर चोरी सिकार गरिएका अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सकेका थियौँ ।” उनका अनुसार सालकको चोरी सिकारी गर्ने छजनालाई पक्राउ गरिएको छ ।

प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनासँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको संयुक्त प्रयासले चोरी सिकार नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिएको बताए । संयुक्त प्रयासका कारण निकुञ्जले ठूलो पुरस्कार पाउन सफल भएको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ । यससँगै अन्य वन्यजन्तुको संरक्षण र मध्यवर्तीका बासिन्दासँगको सम्बन्ध सुमधुर बनाएर वन र वन्यजन्तु संरक्षणमा आँफूहरु लागि परेको पुनले जानकारी दिए ।

“यो निकुञ्जमा घडियाल प्रजनन केन्द्र पनि छ । राप्ती र नारायणी नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर यहाँ बच्चा कोरल्ने गरिन्छ । ती बच्चालाई हुर्काएर नदीमा छोड्ने गरिन्छ”, प्रमुख संरक्षण अधिकृत पुनले भने, “पर्या–पर्यटनका हिसाबले यो निकुञ्जलाई मुलुकको महत्वपूर्ण निकुञ्जका रुपमा लिने गरिन्छ । नेपाल आउने पर्यटकको सफारीको महत्वपूर्ण गन्तव्यका रुपमा यो निकुञ्ज छ ।” 

चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस संक्रमण

चितवन । चितवन जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो ।

जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका छन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षण गर्दा दुई सय ४८ जनामा स्क्रबटाइफस देखिएको थियो ।

“स्क्रबटाइफस सङ्क्रमण मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

स्क्रबटाइफस भएमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ”, जनस्वास्थ्य अधिकृत पटेलले भने ।

यसको सङ्क्रमणबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने पटेलले बताए । 

एकसय ५८ वटा युक्रेनी ड्रोन आक्रमणलाई विफल पारेको रूसको दाबी

रूसले युक्रेनको राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर युक्रेनी ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेको जनाएको छ ।

शहर नजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र शहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको बताइएको छ।

रुसी रक्षा मन्त्रालयले युक्रेनसँग सीमा जोडिएको कुस्र्क, ब्रायन्स्क, भोरोनिश र बेल्गोरोड क्षेत्रमा १२२ वटा ड्रोन खसालेको जनाएको छ ।

क्षेत्रीय गभर्नर अलेक्जेन्डर बोगोमाजले भने, “हाम्रा रक्षकहरूले ब्रायन्स्क क्षेत्रको इलाकामा मानवरहित विमानले गरेको ठूलो आक्रमणको प्रयासलाई प्रतिकार गरिरहेका छन्।”

युक्रेनको ऊर्जा पूर्वाधारलाई २०० भन्दा बढी रूसी ड्रोन र क्षेप्यास्त्रले निशाना बनाएको केही दिनपछि यो आक्रमण भएको हो ।

युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण सुरु गरेको पनि करिब एक महिना भइसकेको छ भने पूर्वी युक्रेनमा रूसी सेनाले निरन्तर आक्रमण जारी राखेको छ ।

रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आफ्नो अभियान सुरु गरेदेखि नै दुवै पक्षले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएका छन् ।

मस्को क्षेत्रका एक स्थानीय अधिकारीका अनुसार तीनवटा ड्रोनले कोइलाबाट चल्ने विद्युत् केन्द्र काशीरामा प्रहार गर्ने प्रयास गरेका थिए ।

“आक्रमणबाट कुनै मानवीय वा भौतिक संरचनामा क्षति भएको छैन”, उनले भने,“विद्युत् अझै पनि ग्राहकसम्म सही तरिकाले पुगिरहेको छ ।”

रुसी समाचार संस्थाहरूले पनि कपोट्न्यास्थित मस्कोको तेल प्रशोधन केन्द्रमा आगलागी भएको जानकारी दिएका छन् तर नगर प्रमुख सर्गेई सोब्यानिनले त्यहाँ कुनै क्षति वा हताहत नभएको बताए ।

बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाव ग्ल्याडकोभले भने, “आक्रमणबाट बेल्गोरोडमा तीनवटा आवासीय भवनको सिसामा क्षति पुगेको छ । एउटा निजी आवासमा एउटा युटिलिटी भवन पूरै ध्वस्त भएको छ ।”

बुधबार युक्रेनी ड्रोनले दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्र र उत्तरी किरोभ क्षेत्रमा रहेका दुईवटा इन्धन डिपोमा आक्रमण गरेपछि इन्त्रन डिपोमा आगलागी भएको थियो ।

जापानी जलक्षेत्रमा चिनियाँ नौसैनिक प्रवेश गरेको भन्दै जापानद्वारा चासो व्यक्त

चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै यसप्रति जापानले ‘कडा चिन्ता र विरोध’ व्यक्त गरेको छ ।

आफ्नो हवाई क्षेत्रमा चिनियाँ सैन्य विमान पठाएको जापानले आरोप लगाएको केही दिनपछि शनिबार चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानले यसप्रति विरोध जनाएको हो।

स्थानीय समयानुसार शनिबार बिहान ६ बजे दक्षिणी कुचिनोएराबु टापु नजिकै एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र त्यसको करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिणपश्चिमबाट निस्केको देखिएको रक्षा मन्त्रालयले जनाएको छ।

घटनापछि विदेश मन्त्रालयले टोकियोस्थित चिनियाँ दूतावासलाई यस घटनाबारे चासो व्यक्त गरेको हो।  ‘जापानको समुद्री क्षेत्रमा चिनियाँ नौसैनिक जहाज र अन्यको विगतका गतिविधि र हालै चिनियाँ सैन्य विमानले जापानको क्षेत्रीय हवाई क्षेत्रमा गरेको घुसपैठबारे ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

पूर्वी चीन सागरको डान्जो टापुमा चिनियाँ वाई–९ सर्भिलेन्स एयरक्राफ्टको दुई मिनेटको आक्रमणपछि जापानले सोमबार लडाकु विमानहरू तैनाथ गरेको थियो।

एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आर्थिक र सैन्य प्रभाव र हालै फिलिपिन्ससँगको क्षेत्रीय विवादमा उसको आक्रामकताले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूलाई झकझकायाएको छ।

गत हप्ता जापानको रक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८.५ ट्रिलियन येन (५९ अर्ब अमेरिकी डलर) माग गरेको थियो । यो मार्च २०२८ सम्ममा देशको पाँच वर्षे, ४३ ट्रिलियन येन रक्षा निर्माण योजनाको एक भागको रूपमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रारम्भिक बजेट अनुरोध हो।

यस अनुरोधमा क्षेप्यास्त्र र मानवरहित वाहनहरूको साथ टाढासम्म प्रहार गर्न तथाकथित गतिरोध क्षमताहरूको लागि वित्तपोषण समावेश छ।

यो गत वर्ष मन्त्रालयले गरेको ७.७ ट्रिलियन येनको प्रारम्भिक अनुरोधभन्दा बढी हो, तर चालू आर्थिक वर्षका लागि स्वीकृत ९.४ ट्रिलियन येनको वास्तविक बजेटभन्दा कम हो ।

हरिसिद्धीस्थित क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर एकजना विरामीको मृत्यु

ललितपुर । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर एकजना विरामीको मृत्यु भएको छ । अस्पतालको तीन तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो । तामाङ काठमाडौँ महानगरपालिका–८ की स्थानीय बासिन्दा हुन् ।

तामाङ थाइराइडको क्यान्सर उपचार गराइरहेको प्रहरीले जनाएको छ। उनले शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट हाम फाल्दा गम्भीर घाइते भएकी थिइन्। अस्पतालको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान मृत्यु भएको हो।

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । 


कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।


उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेका छन् । 


सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।


अधिकाङ्श निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ । मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ । 


विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । 

सेवा सञ्चालन गर्छौं : मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयन गर्ने बताए । 


“हामीले सबै अस्पताललाई मन्त्रालयबाट निर्णय गरेर पत्राचार गर्ने तयारीमा रहेका छौँ”, उनले भने, “सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामी छलफलमा छौँ ।” 


उनले सार्वजनिक दिनमा बहिरङ्ग सेवा बाहेकको सबै सेवा सञ्चालन गरेको उल्लेख गर्दै बहिरङ्ग सेवा पनि कर्मचारीलाई अतिरिक्त समय काममा लगाए हुन्छ कि सिफ्टअनुसार हुन्छ भनेर छलफल गरिरहेको बताए । 

बीआरआईबारे सरकारले लिने नीति कार्यान्वयन गर्ने चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन् ।

आइतबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूत ओलीले आफ्नो कार्ययोजना पेस गरेका हुन् । नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग र सहकार्य अघि बढाउने लगायतका उनको कार्ययोजनामा उल्लेख छ ।

यसैगरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा चीनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग नेपाललाई सहयोग पुर्याउन समन्वय र सहकार्य गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ । त्यस्तै चीन सरकारले अगाडि सारेको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे सरकारले लिने नीति कार्यान्वयन गर्ने उल्लेख गरेका छन् ।

उनले भने, ’बीआरआईमा हामी कसरी जाने भनेर सरकारको जे निर्णय हुन्छ, राजदूतले त्यसरी नै जाने हो ।’ चीन सरकारको ऋणमा निर्माण गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेबारे पनि सांसदहरूले प्रश्न गरेका थिए ।

जवाफमा ओलीले सरकारको तहबाट नै उक्त कार्य भइरहेकाले आफूले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए । त्यसैगरी चिनियाँ पर्यटकलाई नेपाल भित्राउनका लागि आफूले पहल गर्ने पनि उनले बताए ।

हालसम्म चीनबाट नेपाल आउने पर्यटकको संख्या बढीमा १ लाख ४७ हजार मात्रै रहेको उल्लेख गर्दै ओलीले आगामी दिनमा १० लाखसम्म पर्यटक ल्याउन सके नेपालका लागि ठूलो उपलब्धि हुने बताए ।

दमौली आउँदै गरेको जिप दुर्घटना, ६ जना घाइते

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार बिहान भएको जिप दुर्घटनामा ६ जना घाइते भएका छन् ।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा  दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात १७ करोड ७५ लाख एक हजारले बढेको बताए । गत आवको साउनमा रु दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ ।

कार्यालयका गत साउनमा रु ४९ लाख ४८ हजार आठ सय १८ लिटर जुस जाम निर्यात हुँदा रु ४८ करोड नौ हजार विदेशी मुद्रा भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा रु ५३ लाख २७ हजार आठ सय ६७ लिटर जुस जाम निर्यातबाट रु ५१ करोड ४१ लाख २२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार नौ सय १० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ३७ करोड ३९ लाख ९१ हजार विदेशी मुद्रा आर्जन भएको छ । गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार चार सय २० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ४४ करोड ४५ लाख ८२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार दुई सय ६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ । गत आवको सोही अवधिमा एक लाख १२ हजार एक सय ४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा रु १९ करोड ४३ लाख २३ हजार विदेशी मुद्रा प्राप्त भएको थियो ।

गैँडा चोरी सिकारीमा फरार चौतिस जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो ।

निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु. तीन लाखसहित सम्मान गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भएका हुन् । फाउण्डेसनले उनीहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो ।

प्रमुख संरक्षण अधिकृत पुनले भने, “गत आवमा संरक्षणका क्षेत्रमा हामीले महत्वपूर्ण काम गरेका छौँ । एक वर्षमा ३४ जना चोरी सिकारीमा संलग्न भई फरार अभियुक्त पक्राउ गरिएको यो पहिलो उपलब्धि हो । यसै गरी खगेन्द्र मल्लीभित्रको सत्तरचुली क्षेत्रमा दुईवटा गैँडा खाल्डामा पुरेर चोरी सिकार गरिएका अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सकेका थियौँ ।” उनका अनुसार सालकको चोरी सिकारी गर्ने छजनालाई पक्राउ गरिएको छ ।

प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनासँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको संयुक्त प्रयासले चोरी सिकार नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिएको बताए । संयुक्त प्रयासका कारण निकुञ्जले ठूलो पुरस्कार पाउन सफल भएको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ । यससँगै अन्य वन्यजन्तुको संरक्षण र मध्यवर्तीका बासिन्दासँगको सम्बन्ध सुमधुर बनाएर वन र वन्यजन्तु संरक्षणमा आँफूहरु लागि परेको पुनले जानकारी दिए ।

“यो निकुञ्जमा घडियाल प्रजनन केन्द्र पनि छ । राप्ती र नारायणी नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर यहाँ बच्चा कोरल्ने गरिन्छ । ती बच्चालाई हुर्काएर नदीमा छोड्ने गरिन्छ”, प्रमुख संरक्षण अधिकृत पुनले भने, “पर्या–पर्यटनका हिसाबले यो निकुञ्जलाई मुलुकको महत्वपूर्ण निकुञ्जका रुपमा लिने गरिन्छ । नेपाल आउने पर्यटकको सफारीको महत्वपूर्ण गन्तव्यका रुपमा यो निकुञ्ज छ ।”

कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अन्दाजी १ः१० बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ आउँदै गरेको से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको शरीरमा गम्भीर चोट लागेको थियो ।

घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ । सोही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागि अवस्था मध्यम रहेको छ । ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

सरकारका प्रवक्तालाई प्रश्नः नयाँ सरकारले गठन भएको डेढ महिनामा के गर्यो देखिने काम ?

काठमाडौँ । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ ।

देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति प्रदान गर्ने मूलभूत उद्देश्य लिएर अघि बढेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् ।

लामो राजनीतिक पृष्ठभूमिसहित मुख्यमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभवबाट खारिएका मन्त्री गुरुङ सूचना प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँछन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगलाई व्यवस्थित गर्न नीतिगत एवं विभिन्न कार्यक्रमको कार्यान्वयनमा मन्त्री गुरुङले जोड दिएका छन् । सरकार गठन भएको डेढ महिनाको अवधिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मन्त्रालयमा सय दिने कार्ययोजना बनाएर डिजिटल विकासमा सक्रिय रुपमा काम गर्दै आएका छन् । प्रस्तुत छ, सूचना विकास र प्रविधिको क्षेत्रसँग सम्बन्धित जिज्ञासाबारे मन्त्री गुरुङसँग राष्ट्रिय समाचार समिति(रासस)का आलेख प्रमुख कृष्ण अधिकारी र उपसमाचारदाता मधु शाहीले गरेको कुराकानीः

वर्तमान सरकार गठन भएको डेढ महिना पूरा भएको छ, सरकारको गति कस्तो छ ?

हामी सरकारमा आएपछि जनता धेरै आशावादी भएका छन् । तुरुन्तै परिणाममुखी कार्य देख्न चाहन्छ्न्, जुन स्वाभाविक पनि छ । तर, आन्तरिक कार्यसम्पादन हेर्ने हो भने स्थिति त्यस्तो छैन । किनभने यसअघि भत्किएका, बिग्रिएका र लथालिङ्ग भएका धेरै कुराहरुलाई सुधार गर्दै विकासको गति समाउनुपर्ने भएको छ । यसलाई अझ यसरी बुझौँ, हामी अहिले आफ्नो मेसिनरीलाई ठीक गरेर मात्रै विकासको गति अगाडि बढाउनेतर्फ लाग्दैछौं ।

सरकारको मुख्य प्राथमिकता के–कस्ता रहेका छन् ?

जनतासँग जोडिएका सबै जिम्मेवारी पूरा गर्नुपर्ने यो सरकारको दायित्व छ । यति मात्रै होइन, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको मुद्दा विगतमा जति ओझेल परेका थिए, त्यसलाई सुधारेर एउटा सन्तुलित परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गर्नुपर्ने हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । परराष्ट्र नीतिअन्तर्गत दुवै छिमेकी मुलुकहरुसँग र अरु हाम्रा सहयोगी मुलुकहरुसँगको सम्बन्धलाई सन्तुलित, व्यवस्थित र मर्यादित बनाउने काम हामीले सुरु गरिसकेका छौँ । त्यसको पहिलो सङ्केतका रुपमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भारत भ्रमणलाई लिएका छौँ । परराष्ट्रमन्त्री राणाको भारत भ्रमणले अहिलेसम्म नेपाल र भारतको सम्बन्धलाई अलिकता ट्र्याकमा ल्याउने काम गरेको छ । सम्भवतः भारतको प्रधानमन्त्रीको पनि नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कुरा पनि तय हुन्छ भन्ने लाग्छ । यसले सरकारका कूटनीतिक पक्षमा विस्तारै गति लिन थालेको देखिन्छ ।

नयाँ सरकार गठनपछि देखिनेगरी केही काम गर्न सकेको उदाहरण छन् कि ? 

थुप्रै छ नि । म उदाहरणको रुपमै भन्न सक्छु, एकदमै थिलोथिलो बनेको, झन्डै आर्थिक सङ्कटको डिलमा पुगेको अर्थतन्त्रलाई अलिकति तन्दुरुस्त बनाउने काम गरिरहेका छौं । अहिले राजस्व विस्तारै बढ्न थालेको छ । मूल्यवृद्धि नियन्त्रणमा आउन थालेको छ । आयात–निर्यातको असन्तुलनको विषय त ‘ओभरनाइट’मै व्यवस्थित हुन सम्भव छैन तर अर्थतन्त्रको जे समस्या छ त्यसलाई विस्तारै सही गतिमा ल्याउने सरकारको अर्को प्राथमिकता हो । यसको परिणाम आउन भने समय लाग्छ । तेस्रो कुरा यो पुँजीगत खर्च गर्न नसक्नु, राष्ट्रिय गौरवका योजना समयमै सम्पन्न गर्न नसक्नु, छरिएर रहेको बजेटलाई एकीकृत गरेर बहुप्रतिष्ठित योजनामा लगाउन नसक्नुलगायत विषयलाई गम्भीर रुपमा लिएका छौँ ।

लामो समयदेखि अवरुद्ध भएर बसिरहेको विकास निर्माणका कामलाई गति दिने कार्य सरकारको प्राथमिकता छ । कुनै राष्ट्रिय योजना जहाँको त्यहीँ अधुरो अवस्थामा छन् । कतिपय योजना १५/१७ वर्षदेखि अलपत्र छन् । यस्ता योजनाहरुलाई गति दिनुपर्छ भन्ने पक्षमा छौँ । छरिएर रहेका बजेट व्यवस्थापन गर्ने, बग्रेल्ती रहेका बुहप्रतिष्ठित योजनाहरुको प्राथमिकताका आधारमा छनोट गरेर सम्पन्न गर्नेतर्फ हामी केन्द्रित हुन्छौँ । उत्तर–दक्षिण करिडोरको निर्माण, पूर्व–पश्चिम मदन भण्डारी राजमार्गजस्ता महत्वपूर्ण राजमार्ग निर्माणको धिमा गतिलाई तीव्र बनाउनु छ । करिब साढे तीन वर्षको सरकारको कार्यकालमा ढिलो भइरहेका विकासका काम सम्पन्न गर्ने र अर्को चुनावमा नयाँ ढङ्गले जानुपर्छ भन्नेमा छौं । चौथो प्राथमिकतामा शान्ति सुव्यवस्थालाई अलि भरपर्दो बनाउनुपर्ने छ । म सुरक्षित छु भन्ने भाव जनतामा ल्याउने स्थिति निर्माण गर्न सरकार लागेको छ । सुशासन कायम गर्ने कुरामा पनि हामी उत्तिकै चिन्तित छौँ । लामो समयदेखि प्रहरीका ऐन आउन सकेको छैन, सङ्घीय निजामती ऐन आएको छैन । नीति कार्यान्वयन गर्ने अङ्गहरु यिनै हुन् । यी अङ्गहरुलाई व्यवस्थित गर्ने तयारीमा छौँ । हामी लक्ष्यउन्मुख भएर काम गर्दैछौँ ।

तपाईं सरकारको प्रवक्ता पनि हुनुहुन्छ, सरकारको न्यूनतम् साझा कार्यक्रम अझै सार्वजनिक हुन सकेको छैन । यस सम्बन्धमा के भइरहेको छ ?

सरकारको साझा नीति कार्यक्रम भन्नाले हाम्रो सातबुँदे सहमति मूल साझा नीति हो । समय अभावले नयाँ नीति कार्यक्रम र बजेट ल्याउने सरकारको स्थिति छैन । यही नीति कार्यक्रम र बजेटलाई व्यवस्थित गर्ने र परिणाममुखी बनाउने ढङ्गले अघि बढ्छौँ । नयाँ नीति कार्यक्रम र बजेट ल्याउँदा समय लाग्ने र त्यसले काम गर्ने समय नहुने भएकाले त्यतातिर जान आवश्यक देखेनौँ ।

विगतमा लामो समय अड्किएको शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्साका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्ले हालै पारित गरेको छ र राष्ट्रपतिबाट पनि प्रमाणीकरण भएको छ । यसले शान्ति प्रक्रियालाई कसरी निष्कर्षमा पुर्‍याउँछ भन्ने लाग्छ ?

विस्तृत शान्तिसम्झौता भएको यति लामो अवधिसम्म पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा ल्याउन फलामको चिउरा चपाए जस्तै कठिन रहेको थियो । नेकपा (माओवादी)का अध्यक्ष नै प्रधानमन्त्री हुँदासमेत उहाँले यो विषयलाई टुङ्गोमा पुर्याउन सक्नु भएन । हामी सरकारमा आएपछि जनतामा एकखाले विश्वास भयो र विधेयक स्वीकृत गर्न सफल भयौँ । विधेयक संसद्बाट पारित भई राष्ट्रपतिबाट पनि प्रमाणीकरण भइसकेको छ । अब कार्यान्वयनमा जाने कुरा मात्रै हो । सङ्क्रमणकालीन आयोग बनाएपछि त्यसमा कस्ता मान्छे राख्छौँ भन्ने अबको महत्वपूर्ण विषय हो । हामी समझदारीमै राम्रा मान्छे राख्छौँ । त्यही आयोगले काम गर्छ । टिआरसी विधेयक पास हुनु सरकारको महत्वपूर्ण उपलब्धि हो । यसले यो सरकारको आयु लामो छ भन्ने सङ्केत गर्छ । बिहानीले दिउँसोको झल्को दिन्छ भने जस्तै शान्ति प्रक्रियाअन्तर्गत लामो समयदेखि सङ्कटमा परेको सङ्क्रमणकालीन न्यायसम्बन्धीको विधेयक पारित गराउन सफल र सक्षम यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ भन्ने सङ्केत गरेको छ ।

नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थालाई कसरी हेर्नु हुन्छ ? 

नेपालको सञ्चार क्षेत्र अरु मुलुकको दाँजोमा राख्दा कमजोर देखिँदैन । तर, अझै मर्यादित हुन सकेको भने छैन । यो क्षेत्रले जे मागेको छ, त्यो माग पूरा हुन सकेको छैन । अन्तर्राष्ट्रिय आमसञ्चारको अवस्थालाई यहाँको परिस्थितिसँग ठ्याक्कै मेल खाँदैन । सार्क क्षेत्रमै नेपालको प्रेस सबैभन्दा धेरै स्वतन्त्र छ । खुला समाजमा हुनुपर्ने पत्रकारिता भरपुर भए पनि नीतिगत हिसाबले व्यवस्थित नभएको देख्छु । हालै मलेसिया, सिङ्गापुरजस्ता विकसित मुलुकका पत्रकारिताको अवस्था प्रत्यक्ष नियाल्ने अवसर पाएको थिएँ । त्यहाँ सीमित मिडिया छन् । हाम्रो समाज बहुलवादी खुलापनमा विश्वास गर्ने भएकाले प्रेस स्वतन्त्रताको हिसाबले कमजोर छ भन्न मिल्दैन । संरचनागत सुधार र नीति व्यवस्थापन भने गर्नुपर्ने छ । कुनै पनि स्वतन्त्रता निश्चित सीमाभित्रै हुन्छ र राज्यभित्रै हुन्छ । यद्यपि नेपालमा त्यस्तो किसिमको नियन्त्रित लोकतन्त्र छैन । तर, यसको नियमन, मर्यादित गर्न भने जरुरी छ । त्यो पनि राज्यले नियन्त्रण गर्ने होइन, सरोकारवालाहरुकै सल्लाह र सुझावका आधारमा मिडियालाई मर्यादित र व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउँदैछौँ । प्रेस स्वतन्त्रता नियन्त्रित होइन, व्यवस्थित बनाउन सरकार तयार छ ।

सञ्चारसँग सम्बन्धित केही विधेयकहरु संसद्मा विचाराधीन छन् । ती विधेयकहरु यसै अधिवेशनबाट पारित गराउन सम्भव होला ? 

मन्त्रालयको कामको चापले गर्दा समय पाएको छैन । सार्वजनिक सेवा प्रसारण विधेयक अन्तिम अवस्थामा पुगेको छ । राष्ट्रियसभाबाट पारित भएर उक्त विधेयकको प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । अर्को आमसञ्चार विधेयक छ, गोरखापत्र ऐन, राससको ऐनलगायत पुराना ऐन संशोधन गर्नुपर्ने छ । यो एक वर्षभित्र सबै पुराना ऐन संशोधन गर्ने र केही नयाँ ऐन बनाउने योजनामा छौँ । सामाजिक सञ्जाललाई मर्यादित, व्यवस्थित, स्वायत्त र स्वतन्त्र बनाएर लैजानमा हामी तत्पर छौँ ।

संसद्मा सञ्चार क्षेत्रसँग सम्बन्धित कुनै नयाँ विधेयकलाई पनि लैजाने तयारी पनि छ कि ? 

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक बनाउँदैछौँ । छलफलका क्रममा छ । त्यस्तै छलफलकै क्रममा रहेको मिडिया विधेयक पास हुन भने केही समय लाग्न सक्छ । आमसञ्चार विधेयक पनि हामी ल्याउँदैछौँ । दूरसञ्चार विधेयक संशोधन गर्नुपर्ने छ । अर्थ मन्त्रालयले खर्च व्यवस्थापन गर्नका लागि दूरसञ्चार तथा सूचना प्रविधि (साइबर क्राइम) विधेयक गाभ्ने सुझाव दिएको छ । यो विधेयक अरुभन्दा बृहत् पनि छ । यो वर्ष हुलाकदेखि लिएर सञ्चारसँग जोडिएका सबै कानुन बन्दैछन् । तसर्थ यो वर्ष चाहिँ मन्त्रालयले कानुन तथा नीति निर्माण गर्ने वर्ष मानेर काम गरिरहेको छ ।

अघिल्लो सरकारले सामाजिक सद्भावमा प्रतिकूल प्रभाव पारेको भन्दै टिकटकलाई प्रतिबन्ध लगाएको थियो । तर, वर्तमान सरकारले त्यो प्रतिबन्ध खुला गरेको छ, यसमा मन्त्रीज्यूको भनाइ के छ ? 

सामाजिक सद्भाव खल्बलाएको भन्दै एउटा घटनाले गर्दा अघिल्ल्लो सरकारले टिकटक बन्द गरेको रहेछ । बन्द गरेकै दिनदेखि टिकटक सञ्चालन गर्ने कम्पनीबाट खोल्नुपर्छ भन्दै थुप्रै निवेदन आएका रहेछन् । ती निवदेन यत्तिकै थाती राखिएको रहेछ । म आएपछि त्यसलाई बुझ्ने प्रयास गरेको छु । फेसबुक, इन्स्ट्राग्राम, टिकटकलगायत थुप्रै सामाजिक सञ्जालबाट हजारौँको सङ्ख्यामा युवाले रोजगार पाएका छन् । टिकटक बन्द हुँदा अलिकति भने पनि प्राप्त गरिरहेको अर्थोपार्जन खोसिँदै गएपछि युवामा निराशा आउनु स्वाभाविकै हो । मैले यसमा के रहेछ भनेर दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षलाई सोध्दा टिकटक चलायो भने राज्यलाई करिब रु तीन अर्ब राजस्व बढ्छ, भन्नुभयो । पहिले नै सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी निर्देशिका बनेको रहेछ । त्यो निर्देशिकाको दफा ३ मा टिकटक प्रयोगकर्ता वा संस्था दर्ता हुनुपर्छ भन्ने रहेछ । दर्ता गरेपछि निर्देशिकाको दफा ६ मा उल्लेख भएअनुसार ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्छ । यी दुई शर्त पूरा भएपछि टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने भनिएको छ ।

यसका साथै टिकटक सञ्चालक कम्पनीका प्रतिनिधिलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नु भनेर प्रस्ताव गरेको छु । हाम्रा यी सबै प्रस्तावमा उहाँहरु सकारात्मक हुनुहुन्छ । आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, सामाजिक दूरभावना फैलाउने खालका ‘कन्टेन’भित्र रहेका शब्द, वाक्यहरुको अङ्ग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेशन’ र ‘मोडरेशन’ गर्नुपर्छ भनेका छौं । यी सबै शर्तहरु पूरा गर्ने शर्र्तमा हामीले टिकटक खोल्ने निर्णय गरेका हौँ । यी शर्तहरु अरु सामाजिक सञ्जालको हकमा पनि लागू हुन्छ । टिकटकलगायत विभिन्न सामाजिक सञ्जाललाई व्यवस्थितगरी सञ्चालन गर्न सकिएमा हजारौँ युवाले रोजगारी पाउने र राज्यलाई पनि करोडौँ राजस्व प्राप्त हुने देखिन्छ ।

यहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सूचना प्रविधि क्षेत्रको विकासमा कस्ता चुनौती देख्नुभएको छ ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसअन्तर्गत रहेका अधिकांश निकायमा ठोस नीतिको समस्या रहेछ । पुराना ऐन, नियमअनुसार चलेका रहेका छन्, तिनमा संशोधन गर्नु पहिलो चुनौती छ । त्यसअनुसार नियमावली पनि संशोधन हुनुपर्छ । धेरै ठाउँका संरचना र संस्थाहरु भद्दा प्रकृतिका छन् । तेस्रो गतिशील खालको जनशक्तिको पनि अभाव देखिन्छ । पुराना जनशक्तिबाट नतिजामुखी प्रतिफल आउन कठिन छ । क्षमता अभिवृद्धि र समयसापेक्ष परिवर्तन गर्न जरुरी छ । त्यसैले काममा परिणाम आउँदैन । बजेटमा पनि त्यति महत्व दिएका रहेनछौँ । आमसञ्चार क्षेत्रलाई व्यवस्थापन गर्नु अर्को चुनौती छ । हिजो राज्यको सेवाका लागि मात्रै संस्था खोलिएका थिए । अब निजी क्षेत्र आएपछि हामी राज्यमै केन्द्रित भएर चल्नु हुँदैन । सरकारकोतर्फबाट जनतालाई सूचनाको हक दिँदै व्यवसाय पनि गर्नुपर्छ । राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्रजस्ता सरकारी सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउन जोड दिनुछ ।

डिजिटल नेपाल फेमवर्कलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य गौरवका आयोजनाको कार्यान्वयनमा के–कस्ता गृहकार्यहरु भइरहेका छन् ? 

डिजिटल नेपाल फ्रेमवर्क अपुरो छ । त्यसकारण यसलाई हामी पुनरावलोकन गर्दैछौँ । कामभन्दा पनि नाराबाजीमै रमाइरहेको अवस्था रहेछ । सही अर्थमा डिजिटल नेपाल बनाउँदा कमसेकम सात सय ५३ स्थानीय तह, वडा, प्रदेश कार्यालय, जिल्ला कार्यालय वा सबै सरकारी र अर्धसरकारी कार्यालय मात्रै डिजिटलाइज गर्न सकियो भने पनि नेपाल डिजिटलाइज भयो भन्ने आधार सिर्जना हुन सक्छ । निश्चित समय तोकेर मूल्याङ्कन गरेर डिजिटल नेपालसम्बन्धी नीति नै बनाएर काम सुरु गुर्नपर्ने देखिन्छ ।

नेपालमा सूचना प्रविधिको विकासको सम्भावना उच्च छ भनिन्छ, नेपाललाई ‘आइसिटी हब’ का रुपमा विकसित गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? 

मेटा, टिकटक, स्टारलिङ्कजस्ता डिजिटल प्लेटर्फमका प्रतिनिधिहरुले छलफलमा सार्क क्षेत्रमा नेपाल सूचना प्रविधिका हिसाबले अगाडि बढ्दै गएको मूल्याङ्कन गरेका थिए । भारतपछि त नेपालमा नै अनलाइन मिडिया, प्रेसको गतिविधि धेरै उच्च रहेछ । नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सकिने प्रशस्त सम्भावना छ । हामी आफ्नै स्याटलाइट बनाउँदैछौं । सुशासन कायम गर्ने, गरिबी निवारण गर्न, रोजगारी सिर्जना गर्ने सबै क्षेत्रमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ । यति महत्वपूर्ण विषयलाई अभियानका रुपमा थालनी गर्न मन्त्रालय तयारीमा जुटेको छ ।

संसदीय सुनुवाइ समितिमा प्रस्तावित १७ राजदूतको सुनुवाइ सुरु

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आइतबार चारको सुनुवाइ गर्ने कार्यतालिाका बनाएको छ ।

समितिले आइतबार चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मासँग छलफल गर्न लागेको हो । समितिले शुक्रबार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गर्दै छलफल गरेको थियो ।

समितिले सुरुवातमा चीनका लागि प्रस्तावित प्राडा ओलीबाट छलफल सुरु गरेको छ । समितिको बैठकमा कार्ययोजना पेस गर्दै उहाँले नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने र जनस्तरमा थप विस्तार गर्ने बताए । सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना पेस गरिरहेका छन् ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ ।

त्यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेकामा समितिले ६ जना उजुरीकर्तालाई बैठकमा उपस्थित भई आफ्ना भनाइ प्रस्तुत गर्न अनुमति दिएको थियो । उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गरेका थिए ।

प्रस्तावित व्यक्तिका सम्बन्धमा उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको विषय र त्यसको औचित्यता स्पष्ट पार्न लगाउने तथा प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्नेलगायतका काम गरी सुनुवाइ प्रक्रियाभित्र पर्छ ।

गाजाको सुरुङमा ६ जना बन्धकको शव फेला

इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित ६ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।

उनीहरुको अवशेष शनिबार ‘राफा क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोलाई बन्धक बनाइएको थियो।

गाटलाई दक्षिण इजरायली किब्बुट्ज समुदायको बिरीबाट लगिएको थियो भने बाँकी २३ देखि ३२ वर्ष उमेर समूहका पाँच जनालाई गाजाको सीमा नजिकैको एक सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो।

अक्टोबर ७ मा भएको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ९७ जना गाजामा बन्धक बनाइएका थिए जसमध्ये करिब ४० जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

सेनाका प्रवक्ता डेनियल हागारीले भने,“उनीहरूलाई हामी त्यहाँ पुग्नुभन्दा केही समयअघि हमासका लडाकूहरूले निर्मम हत्या गरेका थिए।”

एएफपीलाई प्राप्त इजरायलको आधिकारिक तथ्याङ्कअनुसार हमासको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो।

इजरायलको आक्रमणमा गाजामा कम्तीमा ४० हजार ६९१ जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ ।

सुनको मूल्य तोलामा ६ सयले घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार लागि  एक लाख ५२ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । 


यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

निजी क्षेत्रको मनोबललाई उच्च राख्नको लागि आधारशिला खडा भएको छः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रितीमा सायद इतिहासमै तल छौँ । त्यसैगरी बाह्य क्षेत्रसँगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था र सबलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरू तल रहेकोे बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरूलाई अगाडि बढाउनको लागि र निजी क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।

सरकार निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताएका हुन् ।


‘आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ’, अर्थमन्त्री पौडेलले भने, ‘केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’


उनले आफूहरुले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताए । अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उनको भनाइ थियो । 


मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए ।


निजी क्षेत्रले गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने धारणा पनि अर्थमन्त्री पौडेलले बताए । 


‘अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईंहरुका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ’, उनले भने, ‘निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।’


चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए ।

नेतृत्व हस्तान्तरणका लागि उत्तराधिकारी तयार गर्दैछुः प्रचण्ड

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् ।

प्रेस सेन्टर बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरे ।

‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन’, अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।’

आफूलाई अध्यक्ष भइरहने रहर नभएको उनले दाबी गरे । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ ।

‘अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ’, उनले भने, ‘तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।’

पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उनले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उल्लेख गरे ।

‘हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो’, उनले भने, ‘त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए । उनले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाए ।

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी…

काठमाडौँ ।
सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा
लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा ।
यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा अधिकांशले आफ्नै वेदना प्रस्तुत भएको अनुभूत गरिरहे ।

तिजका गीत मायापिरती, वेदनाकै हुनुपर्छ र यस्ता गीतले मात्र लोकप्रियता हासिल गर्दछ भन्ने होइन । समाजमा सुसुप्त एवं व्याप्त तर हालसम्म उठान नभएका महिलाको प्रजननसित सम्बन्धित नयाँ समस्यालाई समयमै उजागर गराउँदा धेरैको जीवनमा परिवर्तन आउन सक्छ । भनिन्छ ,साहित्यले आम भोगाइलाई बोल्नुपर्छ, अनिमात्र साहित्यक साहित्य जस्तो हुन्छ ।  गीतले ‘मेनोपोज’ बाट उत्पन्न समस्यालाई यसरी शब्दमा उनेकोे छ–

उमेर पनि ढल्दै गयो जीवनको खेलमा
मासिक धर्म टाढा भयो यही बेलामा ।
गरमी र पसिना मनमा छ डर चिन्ता
के भो के भो थाहा छैन लाग्छ पिरता ।
चाल बदलियो शरीरको कहिले खुसी कहिले पिर
नानाथरि कुरा खेल्छन् छैन मनमा थिर ।

उमेर बढ्दै जाँदा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या महिलामा देखापर्दछन् ।   त्यस्ता समस्यालाई गीतका माध्यमबाट आम समुदायमा मनोरञ्जनले प्रस्तुत गर्दा जनचेतना बढाउन कोशेढुङ्गाको काम गर्दछन् । चिकित्सकका अनुसार महिलाका साझा समस्यामध्ये ‘मेनोपोज’ प्रमुख मानिन्छ । गीतले मनोपोज हुँदाको लक्षण एवं अवस्थालाई यसरी  मार्मिक रुपमा प्रस्तुत गरेको छ–

किन हो र झर्किएकी बोल्दा पनि बोल्दिनौँ
हस्पिटलै लान्छु बरु कुरै खोल्दिनौँ ।
हस्पिटल आउनुभयो राम्रो भयो बस्नुहोस्
मेनोपोजको समस्या छ बुझी जानुहोस् । 
महिनावारी बन्द हुन्छ यो उमेरमा नारीलाई
परिवारले बुझ्नुपर्छ पिरको भारीलाई ।

‘मेनोपोजा’बाट पीडित महिला, तिनकी सासू, श्रीमान् र चिकित्सकबीचको त्रिपक्षीय पात्रलाई प्रतिबिम्ब बनाइ यी नै पात्रका माध्यमबाट ‘मेनोपोज’को समस्यालाई  यथार्थपरक ढङ्गमा अभिव्यक्त  गरिएको छ –

मन जाँदैन पहिलाजस्तो कुनै पनि काममा
मानसिक रोग लाग्न सक्छ यस्तो बेलामा ।
निद्रा पनि टाढा भाग्छ हर्मोनको खेल हो
परिवारको साथ चाहिने यस्तै बेला हो ।
हड्डी पनि कमजोर हुन्छ मन त्यसै मर्दछ
क्याल्सियम र पोषकतत्व खानु पर्दछ ।

‘मेनोपोजा’बाट उत्पन्न समस्याका बारेमा अधिकांश महिला एवं तिनका परिवारलाई जानकारी नै छैन । यस्तो अनभिज्ञताले महिलालाई विभिन्न रोगको जोखिम बढाएको छ  । यसले गर्दा उनीहरुको स्वास्थ्यमा थप जटिलताहरू सृजना भइरहेका छन् ।

चिकित्सकका अनुसार निन्द्रा नलाग्ने, चिडचिडापन, रुन पन लाग्ने, चिन्ता लाग्ने, खलखल पसिना आउने, शरीर अचानक धेरै तातो हुने, कुराहरू चाँडै बिर्सने, यौन सम्पर्क गर्न अनिच्छुक हुने, कपाल झर्ने, पिसाब छिटोछिटो लाग्ने, पिसाब चुहिनेजस्ता लक्षणहरू मेनोपोजका लक्षणहरू हुन् ।

सामान्यतया यस्ता लक्षणहरू ४५ वर्षको उमेदेखि ५५ वर्षको उमेरसम्म देखिन्छ । महिनावारी सुक्नुभन्दा केही वर्षअघिदेखि केही वर्षपछिसम्म यस्ता लक्षण देखिने अवधिलाई ‘पेरिमेनोपोज’ भनिन्छ । कुनै–कुनै महिलालाई ४० वर्षको उमेरमा पनि मेनोपोजका लक्षण देखिन सक्छ । गीतले भन्दछ–

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी
सानो–सानो कुरामा नि गर्थिन् झर्किनी ।   
हर्मोनको गडबडीले भाको रैछ समस्या
मेनोपोजलाई बुझी साथ दिन्छौँ अवश्य ।
माया अनि साथ दिन्छौँ सजिलैसँग हुन्छ पार
सहज जीवन हाँसीखुसी हुन्छ परिवार ।
दिदीबहिनी सबले बुझौँ बढाऔँ जनचेतना
८१ साल तिजपर्वको शुभकामना ।

नेपाल मेडिकल एशोसिएसनले सन् २०१७ मा ४० वर्ष नाघेका दुई हजार महिलामा गरेको अध्ययनअनुसार ५९ दशमलव दुई प्रतिशत महिलालाई मेनोपोजका लक्षण र जटिलताबारे जानकारी छैन । यसैले घरघरमा, टोलटोलमा मेनोपोजका बारेमा जनचेतना जगाउन आवश्यक छ । यसका लागि गीत–सङ्गीतका माध्यम सशक्त र प्रभावकारी हुन्छन् ।

चन्द्रागिरि–१० स्थित नयाँ बस्तीमा बसोबास गर्ने महिलाद्वारा गठित नवज्योति महिला समूहले प्रस्तुत गरेको जनचेतनामूलक ‘मेनोपोज’सम्बन्धी तिजगीत केन्द्रबिन्दुमा रह्यो । साथै प्रतियोगितामा  प्रथम स्थान हासिल गरेको छ ।

गीतको शब्द तथा लय संयोजन समूहका सदस्य उषा रिमालले गरेकी थिइन् भने वाद्यवादनको संयोजन भगवती थापाले गर्नुभएको थियो । त्यस्तै गायनतर्फ समूहका सदस्यहरु उषा रिमाल, सृजना खतिवडा, सरस्वती भण्डारी, शान्ता थापा, कमला खत्री, ऋतुकला पाण्डे, सीता विष्टलगायतले भाग लिएका थिए । गीतमा अप्सरा खड्का र कविता थापाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

समूहका अध्यक्ष शारदा खतिवडाले भनिन्, “तिज गीत प्रतियोगितामा भाग लिनु त छँदै छ, आम महिला दिदीबहिनीमा ‘मेनोपोज’का लक्षण, यसले उत्पन्न गर्न सक्ने जटिलता र समाधानका उपायका बारेमा सन्देश प्रवाह गर्नु र जनचेतना जगाउनु नै हाम्रो समूहको मुख्य ध्येय हो । यसैले  समूहले कार्यक्रममा भाग लिने र  मेनोपोज सम्बन्धी  गीत रचना  गर्ने सङ्कल्प गर्यौँ । यसमा समूहका सबै सदस्यले अथक साथ र सहयोग गर्नुभयो ।  प्रतियोगितामा गीततर्फ हाम्रो समूह प्रथम भयो, निर्णायकमण्डलले गीतलाई न्याय दिनुभएको छ । ” उनले यसबाट  आगामी दिनमा समूहलाई अझ रचनात्मक सामाजिक काम गर्ने  हौसला मिलेको  बताइन् ।

प्रतियोगितामा  प्रथम, द्वितीय, तृतीय एवं सहभागीलाई चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१० का वडाध्यक्ष शिवकुमार महर्जन, वडासदस्यद्वय भेषनाथ उपाध्याय र सीता महर्जनले पुरस्कार प्रदान गरेका थिए ।

एमाले र माओवादीबीच विवाद बढ्नुको कारण

ऋषि कट्टेल ।
सरकारको गठबन्धन फेरिएपछि एमाले माओवादीबीचको अन्तरविरोध शत्रुतापूर्ण बन्दै गइरहेको छ । योगेश भट्टराईले ‘हिंसा’ शव्द प्रयोग गरेपछि निषेधको तहसम्मका धम्कीपूर्ण वक्तव्यहरु माओवादीले आधिकारिकरुपमै सार्वजनिक गरिररहेको छ । चरित्रहत्याका अनेकन आरोपहरु सार्वजनिक भइरहेका छन् । माओवादी केन्द्रका माहासचिव देव गुरुङले अबको मुख्य संघर्ष एमालेसँगै हुने भनेपछि अन्तरविरोधको स्तर अझै बढ्नेछ । माओवादी केन्द्रका सुप्रोमोको अभिव्यक्ति पनि काँग्रेसप्रति नरम र एमालेप्रति गरम आएपछि तलसम्मका माओवादीका कार्यकर्ताहरु उत्तेजित बनेका छन् । यसो सतहमा हेर्दा यिनीहरुबीच भौतिक रुपमै भिडन्त हुने आशंका भैरहेको छ ।

यसो किन भैरहेको छ ? के यी दुईमा चलेको द्वन्द्व सैद्धान्तिक हो ? पटक्कै हैन । यी दुवै कम्युनिष्ट आन्दोलनका विसर्जनवादी हुन् । संसदवादमा पतन भएका प्रतिक्रियावादका मतियार हुन । एमसीसी जस्ता राष्ट्रघातका मतियार हुन् । दुवै लम्पसारवादी हुन् । यती, ओम्नी, एनसेल, लडाकू घोटाला, सुन तस्करीलगायत अनेकन काण्डका सहकर्मी हुन् । सारतः यी दुवै दलाल पुँजीवादका खेताला हुन् ।

एउटै वर्ग चरित्र र व्यवहार भएकाहरुबीच किन शत्रुतापूर्ण अन्तर विरोध ? भन्ने प्रश्न उठछ । उनीहरुको बीचको शत्रुता लुटतन्त्रको स्वमित्वको लागि हो । नक्कलीनै भएपनि यी दुवैले आफूलाई कम्युनिष्ट भनिरहेका छन् । अब संसदमा यी दवै समान अस्त्विमा रहन सक्दैनन् । यी दुवैको भोट बैंक एउटै हो । २०६४ मा माओवादी केन्द्रले एमालेको भोट बैंक तान्यो माओवादी ठूलो पाटी बन्यो । २०७९ सम्म आइपुग्दा सबैजसो मत एमालेले तान्यो माओवादी अस्तित्व रक्षाको ठाँउमा पुग्यो । सरकारमा बसेर जेनतेन अस्तित्व बनाइरहेको थियो त्यो पनि सायद अब कहिल्यै नफर्किएला जस्तो गरी गुम्यो । यही मौकामा एमाले माओवादी केन्द्रलाई धकेलेर भित्तामा पुरयाएर आत्मसमर्पण गराउन चाहन्छ र लुटतन्त्रमा आफ्नो एकाधिकार बनाउन चाहन्छ । माओवादी केन्द्र सहजै आत्मसमपर्णण गर्न तयार भैरहेको छैन ।

अहिले माओवादी केन्द्र जनयुद्धलाई महानताको संज्ञा दिएर, उज्यालो नेपालको जनप्रियतालाई भजाएर र भ्रष्टाचारको फाइल खोलेर आफूलाई जोगाउन सकिन्छ भनेर लागिरहेछ भने एमाले युद्धलाई अपराधीकरण गरेर, उज्यालो नेपालको नायक बनाइका कुलमान घिसिङलाई कमिसन एजेण्ट प्रमाणित गरेर र दाहालसँग सम्बन्धित फाइलहरु खोलेर माओवादीका मुद्दाहरुलाई निस्तेज गराउन मात्र हैन उसलाई समाप्त गर्ने हतियारको रुपमा प्रयोग गर्न चाहन्छ । रक्षात्मक अवस्थामा पुगेको माओवादी केन्द्रलाई आक्रामक अवस्थामा पुगेको एमालेसँग जुध्न निकै कठिनाई दखिँदैछ । अहिले एमाले माओवादीबीच चलिरहेको अन्तर्य यही हो । अरु सबैकुरा बहानावाजी हुन् ।

माओवादी अध्यक्ष प्रचण्डद्वारा नेपालगञ्ज रंगशालाको अवलोकन

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । आइतबार बिहान अध्यक्ष प्रचण्डले रंगशालाको अवलोकन गरेका हो ।

त्यसक्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । यसअघि उनले शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अवलोकन गरेका थिए ।

माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी महेश्वर गहतराज संघीय खेलकुदमन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको उनले बताए ।

कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै उनले नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिनुपर्ने बताए ।

सिमलताल नजिकै बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना

काठमाडौं । चितवनको सिमलताल नजिकै बस र ट्रक आपसमा ठोक्किएका छन् । आइतबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल नजिकै बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय नम्बरको बस र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनामा परी बसमा सवार तीन जना यात्रु घाइते भएका छन् । त्यस्तै ट्रक चालकलाई पनि चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

तस्बिर: नर्बु गुरुङ्ग

एमपक्स नेपालमा पनि आउनसक्छ

काठमाडौं ।  जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।


जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एसोसिएसनद्वारा शनिबार राजधानीमा आयोजित ‘वर्तमान विश्वमा स्वास्थ्य जीवनसम्बन्धी’ गोष्ठीमा  डा. पुनले हाल अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स (मङ्की पक्स) नेपालमा पनि आउन सक्ने बताए ।


विगतमा स्वाइन फ्लु र कोभिडको प्रकोप पनि दक्षिण एसियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताए । “कतै देखिएको प्रकोपलाई हामी त्यो देशभन्दा धेरै टाढा छौँ भनेर ढुक्क हुने अवस्था छैन,” उनको भनाइ थियो । 


यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको पनि डा पुनले बताए । यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको डा पुनले बताए ।


सन् १९५८ मा बाँदरहरुमा देखिएका कारण मङ्की पक्स नाम पाएको यो रोग सन् १९७० मा कङ्गोका एकजना नौवर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो  । ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । 

पछिल्लो समय लामुखुटे नियन्त्रण प्रभावकारी नहुँदा डेङ्गीको समस्या बढ्दै गएको पनि उनले बताए । यसबाहेक हैजाको समस्या भने जार वा बोटलको पानी भन्दै नउमाली खाने बानीले बढाएको देखिएको पनि उनले बताए ।


कार्यक्रममा हृदयरोग विज्ञ डा ओम मूर्ति अनिलले हृदय रोग, मधुमेह र मिर्गाैला रोग लाग्न नदिन बूढेसकाल लागेपछि होइन युवा उमेरदेखि नै अनुशासित खानपान र जीवनशैली हुनुपर्ने बताए ।


शरीर ३० वर्षको आसपासमै अधिक तौल आदिले समस्या उन्मुख भइसकेको हुन्छ । त्यस्तो मानिसले ५० वर्षपछि कुनै अप्ठ्यारो परेर स्वास्थ्य जाँच गर्दा समस्या दीर्घकालीन भइसक्छ, उनको भनाइ थियो । 


कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपालमा वायु र जल प्रदूषण जनस्वास्थ्यका लागि सबैभन्दा प्रमुख चुनौतीका रुपमा देखिएको बताउँदै यसको समाधानका लागि स्वस्थ्य खानेपानीको आपूर्ति र वायु प्रदूषणका कारकहरू नियन्त्रण गर्नुपर्ने बताए ।