`

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

Nepal One HD १७ भदौ २०८१ ७:५५
खेलकुद

गण्डकी । गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा विश्वविद्यालयका तर्फबाट गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले २० हजार नगदसहित उनलाई सम्मान गरेका हुन् ।

हालै सम्पन्न सेन्ट्रल एसियन जोन काभा महिला भलिबल लिगमा नेपाललाई रजत पदक दिलाउन सफल राष्ट्रिय टिमका कप्तान शाही गण्डकी विश्वविद्यालयमा स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा पहिलो व्याचका छात्रासमेत हुन् । उनी हाल छैटौँ सेमेस्टरमा अध्ययनरत छिन् ।

कार्यक्रममा मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर सफलता प्राप्त गरेको भन्दै नेपाली महिला खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले देशको गौरव बढेको बताए ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यही अध्ययनरत विद्यार्थीले देशको प्रतिनिधित्व गर्दै गौरव बढाएका खुसी व्यक्त गरे । कप्तान शाहीले विश्वविद्यालयले गरेको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताइन् ।


प्रतिक्रिया