`

सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा महिला क्लब च्याम्पियनसिप खेल्ने

Nepal One HD १८ भदौ २०८१ १०:०३
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट काभा महिला क्लब च्याम्पियनसिप खेल्ने भएका छन् ।

पुलिसले माल्दिभ्समा हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि अन्य क्लबबाट खेलाडी अनुबन्ध गरेको हो ।

पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडीले पुलिसबाट खेल्ने पुष्टी गरे ।

घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ तथा सुमिताले न्युडायमण्ड युथ स्पोर्टर्स क्लबबाट खेल्छन् ।

पुलिसले पहिलो पटक काभा महिला क्लब भलिबल खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षण सुरु गरिसकेको छ ।

पुलिसमा राष्ट्रिय टिमकै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तीकला तामाङ जस्ता खेलाडी छन् भने तीन खेलाडी थपिएपछि टिम अझ बलियो र सन्तुलित बनेको छ ।

काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।


प्रतिक्रिया