भारतीय कप्तान जिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने


काठमाडौं । भारतीय महिला भलिबल टिमकी कप्तान जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) खेल्ने भएकी छन् ।
इन्फिनिटी ड्रिम्सको बयोजनामा आगामी असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशाला कभर्डहलमा हुने लिगका लागि मधेशले मंगलबार आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा जिनीलाई अनुबन्ध गरेको हो । लिगमा तीन विदेशी खेलाडी राख्न पाउने नियम अनुसार मधेशले तीन विदेशी खेलाडी नै अनुबन्ध गरिसकेको छ ।
मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ ।
२८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेपछि मधेशको विदेशी कोटाको खेलाडी अनुबन्ध पूरा भएको छ । ‘अनुभवी सेटर जिनीलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । जिनीको आगमनले मधेश युनाइटेडको टिम अझ राम्रो र मजबुत हुने विश्वास छ । तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ ।’ मधेश युनाइटेडले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
जिनीको कप्तानीमा भारतले केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको थियो । जिनीसँग भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।
जिनीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । ‘मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईटेडबाट खृल्न आउँदैछु । म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।’
मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई मधेश टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुने बताईन् ।
नेपाली राष्ट्रिय महिला टिमका सहायक प्रशिक्षक भरत यादव मुख्य प्रशिक्षक रहेको मधेश युनाइटेडमा राष्ट्रिय टिमकी निरुता ठगुन्ना मार्की प्लेअरको रुपमा छन् । मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ, यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

