`

पलेशालाई काठमाडौं महानगरपालिकाबाट ५ लाख नगदसहित सम्मान

Nepal One HD १९ भदौ २०८१ १५:५२
खेलकुद

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ ।

बुधबार महानगरपालिकाका मेयर बालेन साहले पलेशालाई सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेशाकी माता पनिता गोवर्धन र पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा मेयर साहले भने, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’

त्यसक्रममा पलेशाले खेल अनुभव सुनाउँदै भनिन्, मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यसअघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।’

पलेशाले गत शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् ।

पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी थिइन् ।रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेक थिइन् ।


प्रतिक्रिया