`

विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्नु हुँदैनः शिक्षामन्त्री भट्टराई

Nepal One HD २० भदौ २०८१ १५:१०
शिक्षा

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गरिन् । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उनको भनाइ छ ।

मन्त्री भट्टराईले समस्याका रुपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रुपमा लागिरहेको स्पष्ट पारिन् ।

उनले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताइन् । उनले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भाबी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको उल्लेख गरिन् ।

विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने मन्त्री भट्टराईको भनाइ छ । 


प्रतिक्रिया