`

बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना भारतबाट पक्राउ

काठमाडौं । काठमाडौं बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जना भारतमा पक्राउ परेका छन् । उनीहरुलाई भारतमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी काठमाडौं ल्याएको स्रोतले जानकारी दिएको छ ।

साउन १२ गते राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएको थियो । काभ्रेको रोशी गाउँपालिका १० घर भएका उनी गम्भीर घाइते भएका थिए । यही घटनामा संलग्नहरुलाई भारतमा पक्राउ परेर काठमाडौं ल्याएको हो । यसमा संलग्न तीन जनालाई दिल्लीबाट काठमाडौं ल्याइएको स्रोतले बतायोे ।

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव

अर्घाखाँची । यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए ।

छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् ।