`

बुहारीले विष मिसाएर खाना दिंदा सासुको मृत्यु, ससुराको अवस्था गम्भीर

विराटनगर । बुहारीले खानामा विष मिसाएर दिंदा मोरङ बेलबारी–२ मा सासुको ज्यान गएको छ भने ससुरा गम्भीर बिरामी परेका छन् । बुहारीले खानामा हालेर विष खुवाउँदा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुहारीले वृद्ध सासु–ससुरालाई विष मिसाएर खाना खुवाएको घटनाले सिंगो गाउँमा त्रास फैलिएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो सिंहदेवी टोलमा अत्यन्तै अस्वाभाविक दृश्य देखिएको हो । स्थानीयले घर नजिकैको खोल्सामा भक्तबहादुरलाई अचेत अवस्थामा लडिरहेको देखे । उनलाई तत्काल उद्धार गरी घर पुर्‍याए । घरभित्र उनकी पत्नी इन्द्रमाया राई समेत बेहोस अवस्थामा ढलिरहेको भेटिइन् । वरपर हेर्दा घरको खोरमा रहेका तीनवटा कुखुरा समेत मरिरहेको भेटिए । एउटै घरका मानिस एवं पशुपंक्षी एकैसाथ अचेत र मरेको अवस्था भेटिएको घटनामा गम्भीर आशंका जन्मियो ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली तत्काल घटनास्थलमा पुग्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार अचेत अवस्थामा भेटिएका दम्पतीलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालको आईसीयूमा राखेर उपचार थालिए पनि इन्द्रमाया राईको अवस्था सुधार हुन सकेन । उपचारकै क्रममा राति १०ः४० बजेतिर उनको मृत्यु भयो । शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार भक्तबहादुरको अवस्था अत्यन्तै गम्भीर छ ।

डीएसपी चौधरीका अनुसार वृद्ध दम्पती अचेत हुनु, कुखुरा मर्नु र घरभित्रको अवस्थाले खानामा विषादी मिसाइएको प्रबल संकेत दिएको थियो । थप अनुसन्धानका क्रममा घरमै बस्दै आएकी भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनी हाल इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा छन् । सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले घटनास्थलबाट विषादीको एउटा बट्टा समेत फेला पारेको छ । तर, त्यो बट्टा अँगेनोमा जलाइएको अवस्थामा भेटिएकाले कुन प्रकारको विष प्रयोग भएको थियो भन्ने कुरा तत्काल यकिन हुन नसकेको डीएसपी चौधरीले बताए । थप अनुसन्धान र विशेष परीक्षणपछि मात्रै वास्तविक विषको प्रकार पुष्टि हुने प्रहरीको भनाइ छ । घटनाको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक बयान र प्रमाणको आधारमा सुनीताले वृद्ध सासु–ससुरालाई विष मिसाएर खाना खुवाएको निष्कर्षमा प्रहरी पुगेको हो । प्रहरीका अनुसार दम्पतीले आफूहरुले खाएपछि बाँकी रहेको खाना कुखुरालाई खुवाएका थिए। त्यही खाना खाएका कारण कुखुरा समेत मरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तबहादुर र इन्द्रमायाका सन्तान थिएनन् । उनीहरू आफ्ना भतिजा प्रशान राई र उनकी पत्नी सुनीता कार्कीलाई आश्रय दिएर सँगै बस्दै आएका थिए । घटना भएको समयमा प्रशान घर बाहिर रहेका थिए । घरभित्र वृद्ध अवस्थाका सासु–ससुरासँग सुनीता मात्रै रहेको र खानामा विष हालेर दिएको पाइएको प्रहरीले जनाएको छ । खाना विष मिसाउनुको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताए ।

सम्पत्तिको लोभ, पारिवारिक कलह वा अन्य कुनै विवादका कारण बुहारीले यस्तो कृत्य गरिन् भन्ने बारेमा विस्तृत अनुसन्धानपछि पत्ता लाग्ने उनको भनाइ छ । उनका अनुसार पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीसम्बन्धी प्रयोगशाला परीक्षणलगायतका प्रक्रिया पूरा गरेर अनुसन्धान सकिएपछि घटनाको वास्तविक कारण सार्वजनिक गर्न सकिनेछ ।

 

 

साढे ६ लाखको ‘सुपारी’ दिएर सफारी चालकको हत्या

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । दशैंलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा सुटरसहित सात जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएको प्रहरीलाई बताएका छन् । चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए । उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ ।

 

चार महिने छोराको हत्या र पत्नी कुटेर भागेका असई पक्राउ

काठमाडौँ । आफ्नै चार महिने छोराको घाँटी रेटेर हत्यापछि पत्नी कुटेर फरार रहेको आरोपमा नेपाल प्रहरीका असई पुष्कर कार्की पक्राउ परेका छन् । आइतबार दिउँसो सिनामंगलस्थित कोठा भाडा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका थिए भने श्रीमतीलाई कुटपिट गरेका थिए । त्यसपछि फरार भएका असई कार्कीलाई बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार जन्मेदेखि नै ब्रेन ट्युमरका कारण बिरामी रहेर उपचाररत शिशु सुतेकै अवस्थामा रहेका बेला असई कार्कीले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका हुन् । पक्राउ परेका कार्की अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । श्रीमती पनि प्रहरी हुन् ।

अंशु गौतम हत्याकाण्ड : छिमेकी नै पक्राउ

विराटनगर । मोरङको लेटाङमा १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले स्थानीय छिमेकी पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । स्तब्ध बनाउने उक्त घटनामा लामो समयसम्म दोषी पहिचान नहुँदा प्रहरीले आलोचना खेपिरहेको अवस्थामा, अन्ततः प्रहरीले छिमेकीलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरेको पुष्टि भएको छ ।

असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत भेटिएकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनापछि मोरङ प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मिलित संयुक्त टोलीले दुई महिनासम्म अनुसन्धान चलाएको थियो ।

अनुसन्धानकै क्रममा प्रहरीले लेटाङ–२ का करिब ५० वर्ष उमेर समूहका छिमेकी पुरुषलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिले प्रारम्भिक सोधपुछमै अंशुको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । उनीले मृतक परिवारसँगको पुरानो रिसइबीका कारण योजनाबद्ध रूपमा घटना घटाएको प्रारम्भिक अनुमान रहेको सुराकीहरूले बताउँदै आएका छन् ।

तर औपचारिक रूपमा प्रहरीले आरोप र घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ र केही महत्वपूर्ण पक्ष खुल्न बाँकी रहेको छ । अंशु गौतम लेटाङस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । स्थानीय समुदाय यस घटनापछि त्रसित बनेको छ भने परिवार न्यायका लागि प्रतीक्षारत छ ।

डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा गम्भीर घाइते

सिरहा । सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा गम्भीर घाइते भएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् । दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए । दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ । डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।

फेसबुकमा परपुरुषसँग कुरा गरेको आरोपमा श्रीमतीको हत्या

रुपन्देही । रुपन्देहीमा एक युवतीको हत्या प्रकरणले ठूलो चासो पैदा गरेको छ । सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा झगडा हुँदै आएको पारिवारिक विवादले अन्ततः ज्यानै जानेस्थितिमा पुगेको प्रकरणमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ निसीखोला गाउँपालिका–६ का ३२ वर्षीय वीरबहादुर कुँवर (विजय) लाई रूपन्देही प्रहरीले बुटवल बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी कार्तिक २८ गते साँझ लुकिछिपी भाग्ने तयारीमा रहेको अवस्थामा पक्राउ परेका हुन् ।

कार्तिक २७ गते बिहान सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेट नजिक रहेको होटल ‘लुम्बिनी गेट’ को स्टाफ क्वार्टरभित्र २० वर्षीया मेलिना परियार मृत भेटिएकी थिइन् । होटलमा काम गर्दै आएकी मेलिनाको घटनास्थलमै गरिएको प्रारम्भिक अनुसन्धानले उनको मृत्युलाई ‘कर्तव्य गरी हत्या’ (हत्या गर्ने नियत बिना समेत कर्तव्यवश हुने हत्या) को श्रेणीमा पर्ने देखाएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मेलिना र उनका श्रीमान वीरबहादुरबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको खुलेको छ । प्रहरीका अनुसार अभियुक्तले मेलिना अन्य पुरुषसँग फेसबुकमा कुरा गर्छिन् भन्ने शंकाका कारण बारम्बार झगडा गरिरहने गरेका थिए । घटनाको दिन पनि सोही विषयमा विवाद चर्किएको र मादक पदार्थ सेवन गरेको अवस्थामै कुँवरले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।

घटना भएको केही समयपछि वीरबहादुर घटनास्थलबाट फरार भएका थिए । विभिन्न सुराकी र प्राविधिक विवरणको आधारमा प्रहरीले खोजी तीव्र बनाएर अन्ततः उनलाई बुटवल बसपार्क क्षेत्रमा भेटेर पक्राउ गरेको हो । प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेका कुँवरलाई विस्तृत अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको छ । घटनाको सबै पक्ष पुष्टि गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वैवाहिक बलात्कार आरोपमा जेल, छुटेकै दिन घर गएर पत्नीको हत्या

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले जेलबाट छुटेकै दिन घर पुगेर ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका छन् । कुटपिटबाट बेहोस सीतालाई प्रहरीले उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।

कुटपिटको घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरे लगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।

अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए ।

मिटरव्याज पीडित महिलाको बीभत्स हत्या, गहना पनि लुटियो

धनुषा । धनुषामा एक मिटर व्याज पीडित महिलाको बीभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो । सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन् ।

घटनापछि धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाबारे राति ९ बजे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक महिलाले लगाएका सुनचाँदीका गरगहना समेत लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् । त्यसकै निहुँमा उनको हत्या भएको आशंका प्रहरीको छ । प्रहरीले लुटिएको गहना बरामद गरेको छ । कसले लुटेको भनेर खुलाएको छैन ।

 

 

छोराले गरे बाबुको हत्या

पाँचथर । पाँचथरमा एक युवकले बुवाको हत्या गरेका छन् । हिलिहाङ गाउँपालिका १ फेदापाका ६९ वर्षीय युवराज राईको हत्या भएको हो । उनको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए ।

उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ । रासस

छोराले गरे बाबुको हत्या, आमा गम्भीर घाइते

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गरी आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हँसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिए। दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी भएलगत्तै प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्ती नेतृत्वको टोली खटिएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थल पुगेको छ । कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा बिकको मानसिक सन्तुलन ठीक नभएको खुलेको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एक सातादेखि बेपत्ता सरोजको हत्या, खोलामा गाडिएको अवस्थामा भेटियो शव

झापा । झापाको शिवसताक्षी नागरपालिका माइधारका सरोज शर्माको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शर्मा कार्तिक ९ गतेदेखि गाडीसहित बेपत्ता थिए ।

शर्माको शव आज बिहान झापाको बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाका बीचमा रहेको बिरिंग खोला किनारमा प्लाष्टिकमा बेरेर गाडिएको अवस्थामा फेला परेको थियो । ३३ वर्षीय शर्माले चढ्ने बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा केही पनि अघि नै फेला परेको थियो । उनले चढ्ने कारमा आगो लगाइएको थियो ।

शर्माको शव झापा गाउँपालिका र बाह्दशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले जानकारी दिएका छन् । उनले शर्माको शव खोला किनारमा गाडिएको र दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए । लिम्बुले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, शर्माको के कारणले हत्या भएको हो यसबारेमा अनुसन्धान भइरहेको छ ।

 

सुतेकै ठाउँमा फरुवाले हानेर आमाको हत्या

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आमाको हत्या गरेका छन् । डिएसपी मोहनजंग बुढथापाका अनुसार करिब ३०–३५ वर्षका कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनिकला बस्नेतमाथि शुक्रबार बिहान करिब ७ बजे घरमै सुतिरहेको अवस्थामा फरूवाले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी धनिकला बस्नेतलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पु¥याइएको थियो । तर, उपचारका क्रममा बिहान करिब ८ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले फरार रहेका कविराम बस्नेतलाई छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनलाई हाल प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

‘जात्रा हेर्न’ भन्दै दैलेखबाट जाजरकोट पुर्‍याएर साथीको हत्या

सुर्खेत । जाजरकोटमा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या भएको छ। जाजरकोटको जुनीचाँदे गाउँपालिका-८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका-४, उत्तिसेनीका ३९ वर्षीय लालबहादुर पुन मगरको हत्या भएको हो। हत्यामा संलग्नहरू पनि नौमुलेकै रहेको जाजरकोट प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका-४, कै भित्रिखोलाका २९ वर्षीय पदमबहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर छन्।

जाजरकोट प्रहरीका अनुसार, कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो। सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीरबहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए।

५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए। घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

 

महाराजगञ्जका दुई प्रहरीको हत्या आरोपमा थप एक युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं महाराजगञ्जका दुई प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा थप एक युवा पक्राउ छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गरेको आरोपमा सोमबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

गोरखाका २१ वर्षीय सोमबहादुर हाल काठमाडौं, धुम्बाराहीमा बसोबास गर्दै आएका थिए । सोही घटनामा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

काभ्रेको रोशी गाउँपालिका– ९ राजबास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का युवराज क्याप्छाकी र मकवानपुरस्थ्ति थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौंको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ कारागार चलान भएका छन् । सोमबार पक्राउ परेका गुरुङ जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । तिहार बिदाका कारण उनको म्याद थप भएको छैन । बिदा सकिनासाथ म्याद प्रक्रिया अघि बढ्ने भट्टराईले जानकारी दिएका छन् ।

 

एक वर्षअघि विवाद, यसपालि गाउँकै तीन जना मिलेर गरे युवकको हत्या

बझाङ । बझाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट जयपृथ्वी नगरपालिका–५ डिलबगर गाउँका २० वर्षीय अभिशेष थापा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कैलालीको धनगढीस्थित निःर्सग अस्पतालमा सोमबार उनको मृत्यु भएको हो ।
काठमाडौंमा अध्ययनरत अभिशेष तिहार मनाउन कात्तिक २ गते घर आएका थिए । घर आउने क्रममा २ गते बेलुकी ८ बजेतिर गाउँकै २२ वर्षीय प्रचण्ड थापा, २६ वर्षीय अनिल थापा र २१ वर्षीय खगेन्द्र जोशीले मिलेर उनीमाथि कुटपिट गरेका थिए ।

उनीहरूले अभिशेषको टाउकोमा लाठी प्रहार गरेका थिए । बझाङका प्रहरी प्रमुख डिएसपी खगेन्द्र धमलाका अनुसार अभिशेषमाथि कुटपिट गर्नमध्ये प्रचण्ड थापा नेपाली सेनाका सिन्धुपाल्चोकस्थित ईन्द्रध्वज गणमा कार्यरत सिपाही रहेको रहेको खुलेको छ ।
तिहार मनाउन घर बिदामा आएका सेनाका जवान प्रचण्ड लगायत गाउँ घरकै चिनजानका तीन युवाले अभिशेष माथि पुरानो रिसिइबीका कारण कुटपिट गरेको कुरा खुल्न आएको डिएसपी धमलाले बताए ।

‘गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगिताका क्रममा उनीहरुबीच विवाद भएको रहेछ,’ डिएसपी धमलाले भने, ‘सोही विषयमा उनीहरूबीच फेरि भनाभन हुँदा तीन जना मिलेर लाठी अभिशेषमाथि निर्घात कुटपिट गरेका रहेछन् ।’ टाउकोमा लाठी प्रहारबाट भित्री चोट खेपेका अभिशेषको बझाङमा प्रारम्भिक उपचारपछि सिटी स्क्यान गर्न भनेर धनगढीस्थित निःर्सग अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार त्यही उनको मृत्यु भएको थियो ।

आरोपित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र थप सोधपुछ हुन बाँकी रहेको डिएसपी धमलाले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा पोष्टमर्टमपछि आफन्तले अभिशेषको शव बुझिसकेको भए पनि अन्त्येष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अभिशेखका घर परिवारले तीन जनाबिरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

पुजारीको गोली हानेर हत्या

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेर हत्या गरेको स्थानीयको भनाइ छ । घटना भएको जानकारी पाए लगत्तै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

घटनास्थलमा गोलीका दुईवटा खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि जाँच तीव्र बनाइएको छ ।

सिंहदरबार अगाडि राइफलसहित प्रदर्शन गर्ने ‘सम्राट’ ज्यान मार्ने उद्योगसहित आठ मुद्दाका अभियुक्त

काठमाडौं । सिंहदरबार अगाडि प्रहरीको राइफल बोकेर जेनजी आन्दोलनका क्रममा प्रदर्शन गरेका राजु परियार भनिने ३६ बर्षीय ‘सम्राट’, एक महिनाको खोजीपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले सुनाकोठीबाट उनलाई पक्राउ गरेको हो । पक्राउपछि परियारले आफू नै राइफलसहितको फोटो र भिडिओमा देखिएको व्यक्ति भएको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार परियारले जेनजी आन्दोलनको बेला प्रहरीको सेल्फ लोडिङ राइफल (SLR) लुटेर प्रदर्शन गरेका थिए । उक्त दृश्य सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको थियो । अनुसन्धानका क्रममा परियारले प्रारम्भिक बयानमा हतियार सेना समक्ष बुझाएको बताएका छन् । तर, सेनाबाट उक्त राइफल पुनः प्रहरीले नपाएको स्रोतको दाबी छ ।

अपराधिक इतिहासको लामो सूची
क्राइम रेकर्ड सिस्टम (CRS) अनुसार, परियारको नाममा यसअघि नै ज्यान मार्ने उद्योगदेखि ठगी र अभद्र व्यवहारसम्मका ८ वटा मुद्दा दर्ता छन् ।
–ज्यान मार्ने उद्योगमा काठमाडौं र ललितपुर परिसरमा मुद्दा दर्ता
–गंगामाया देउलाको जाहेरीमा एक मुद्दा काठमाडौं परिसरमा
–बानेश्वर, महाराजगञ्ज, ललितपुर, स्वयम्भू प्रहरी वृत्तहरूमा ठगी र बैंकिङ कसुरका अन्य मुद्दा
–अभद्र व्यवहारका दुई फरक मुद्दा पनि ऋच्क् मा सूचीकृत

प्रहरीका अनुसार, परियारले सवारी अनुमति पत्र (लाइसेन्स) बना इदिने भन्दै रकम ठगी गर्ने गरेको खुलेको छ। उनले बिचौलियाका रूपमा काम गर्दै सर्वसाधारणबाट पैसा असुलेको आरोप छ ।

अदालतबाट म्याद लिएर अनुसन्धान
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव अन्तर्गत म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । अनुसन्धानपछि उनलाई सम्बन्धित कसुरअनुसार मुद्दा चलाइनेछ ।

 

 

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि…

चितवन । चितवनको कालिका नगरपालिका–६, सिमलघारी टोलमा सोमबार (असोज २७) मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि उनीहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणानुसार, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा उनीहरू चोरी गर्न आएका थिए । खतिवडासँग जम्काभेट भएपछि उनीहरू आफूलाई प्रहरी भन्दै उम्किएका थिए ।

खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो ।’ ‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चिज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ, अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरन्डाबाट आँगनमा निस्किए’, घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासी नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर ! भन्ने सम्झेँ । तर, बोल्न सकिनँ ।’

ती व्यक्तिले ‘यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे, कहाँ छ ?’ भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताए । भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्कंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए। उनीहरूले आफूहरू प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएका उनले सुनाए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए । राति नै प्रहरीलाई खबर गरी घटना विवरण सुनाएको उनले जानकारी दिए ।

मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखिएको खतिवडाले बताए । उनका अनुसार, नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए ।

इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन गरिएको जानकारी दिए । घटनाको अध्ययन थालिएको उनले बताए । उनीहरू प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले उल्लेख गरे । जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले फरार कैदीबन्दी हुन सक्ने आशंकाबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।’ चितवनसहित देशका धेरै कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार रहेका छन् । रासस

 

 

 

काठमाडौं गौरीघाटमा महिलाको हत्या

काठमाडौं । काठमाडौं गौरीघाटमा एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको हो । संखुवासभा खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन् ।

आइतबार बिमला कोठामा मृत फेला परेकी थिइन् । मृत फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीले तेन्जिङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको खुलेको छ । त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

‘भारत जाने तयारीमा थिए केशर, नफर्कने गरी अस्ताए’

कैलाली । कैलालीको घोडाघोडी–८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरी सन्नाटा छाएको छ । हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उनलाई खपिनसक्नु भएको हो ।

भारतमा मजदुरी गरी परिवार पाल्दै आएका बुढा आज भारतको गुजरात जाने तयारीमा थिए । शुक्रबार श्रीमतीसँग मिलेर आवश्यक सामग्री जुटाउने काम सकिएको थियो । ‘भोलि जान्छु, जुत्ता, लुगासहित आवश्यक सामग्रीको व्यवस्था गरौँ भनेर भन्नुभयो’, रुँदै केशरकी श्रीमतीले भनिन्, ‘आज आफै कहिल्यै नफर्कने गरी हामीलाई छोडेर जानुभयो ।’

शुक्रबार साँझ केशर रिचार्जकार्ड किनेर आउँछु भन्दै घरबाट निस्किएको बताउँदै अस्मिताले राति अबेरसम्म पनि केशर नफर्केपछि चिन्ता बढेको उल्लेख गरिन् । ‘केशर अबेर रातिसम्म पनि घर नआउँदा तनाब भए पनि फर्किनु हुन्छ भन्ने आशा थियो । समय घर्किँदै जाँदा केशर आएनन्, तर केशर जस्तै देखिने एक युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ, भन्दै प्रहरी घरमा पुगे’, उनले भनिन् ।

हत्या गरिएको शव केशरको नहोस् भनेर मनमा प्रार्थना गर्दै घटनास्थल पुगेको भन्दै अस्मिताले काटिएको शरीर केशरकै रहेको पुष्टि भएको बताइन् । ‘शव नजिक पुग्दा मेरो सारा संसार थामिएझैँ भयो । रिचार्जकार्ड किनेर फर्किहाल्छु भन्ने केशर अब कहिले नफर्कने गरी अस्ताइसकेका थिए । केशरले घर चलाउन भारतमा श्रम गर्ने गर्थे । तीन सन्तानको भविष्य उनको हातमा थियो’, उनले भनिन् ।

के थियो घटना ?
‘गए राति ११ बजेतिर केशरको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर १८ वर्षीय बलबहादुर विक र १९ वर्षीया गङ्गा बुढा क्षेत्री घोडाघोडी नगरपालिका–६ स्थित प्रतिखेतमा हिँडिरहेका थिए । अस्थायी प्रहरी पोस्टमा ड्युटीमा खटिएका कर्मचारीले उनीहरूलाई देखेर सोधपुछ गरेपछि बलबहादुर र गङ्गाले हत्या गरी टाउको बोकेर ल्याएको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा खबर गरियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट मेरो नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको हो’, प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले भने ।

‘राति ११ बजेतिर खबर आयो ‘एक जनालाई मारियो’ भनेर । त्यसपछि हामी घटनास्थल पुग्यौँ’, उनले भने । अवस्थीका अनुसार टाउको एकातिर र शरीर एकातिर भएको अवस्थामा शव फेला परेकाले कसको हत्या भएको हो भन्ने थाहा पाउन सुरुमा समस्या भएको थियो । खोजी गर्दै जाँदा हत्या भएका व्यक्तिको मोबाइल फुटेको अवस्थामा फेला परेको जनाउँदै उनले भने, ‘फोन गर्दै जाँदा माइजू नाता पर्ने फेला पर्नुभयो ।’

प्रहरी नायब उपरीक्षक अवस्थीले माइजू नाता पर्ने घटनास्थल पुगेपछि केशरको घरमा प्रहरी पुगेको जानकारी दिए । उनका अनुसार बिहान ३ बजेतिर मात्रै केशर बुढाको हत्या भएको हो भन्ने कुरा पत्ता लागेको थियो । घटनाको कारण सामान्य विवाद रहेको अवस्थीले बताए । ‘हत्या गरिएका केशर र हत्या गर्नेहरूबीच चिनजान नै रहेनछ । रक्सी खाने क्रममा होटेलमा उनीहरूको भेट भएको थियो । सोधपुछका क्रममा विवाद हुँदा केशरले गालीगलौँच गरेपछि हत्या गरेको बलबहादुर र गङ्गाले बताएका छन्’, उनले भने । अहिले पोस्टमार्टमका लागि शव टिकापुर पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

यो घटनाले जरही गाउँमा त्रास फैलिएको छ । स्थानीयको भनाइ अनुसार घरमा छोराछोरीलाई छाडेर यो गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् । अभिभावकविहीन अवस्थामा रहेका किशोरकिशोरीलाई सम्झाउने, बुझाउने कोही नहुँदा यस्ता घटनाको जोखिम हुने गरेको स्थानीय बताउँछन् ।

होटेल सञ्चालक रत्न सिजालीले भने, ‘दुई वर्ष अघि यो ठाउँमा बसाइँसराइ गरेर आएको हुँ, अहिले किन आए भन्ने भएको छ । यो मात्रै होइन यहाँ अन्य घटना पनि भइरहन्छन् । हिजो घटना भएका युवा पनि मेरै होटलमा आएर रक्सी खाएका थिए । नदिँदा भने तोडफोड गर्देलान् भन्ने डर लाग्छ, दिँदा यस्ता घटना हुन्छन् ।’ रासस

युवकको वीभत्स हत्या गरी टाउको लिएर प्रहरी कार्यालयमा

कैलाली । कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो ।

हत्यामा संलग्न दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन् । पक्राउ पर्नेमा घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन् ।

प्रहरीका अनुसार खाजा पसलमा रक्सी खाने बेला विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रयोग गरी केशरको टाउको छिनालेका हुन् । हतियार र छिनालेको टाउको बोकेर उनीहरु राति घोडाघोडी नगरपालिका–३ स्थित अस्थायी प्रहरी पोस्ट प्रतिखेत नजिक पुगेका थिए ।
प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए । हत्यामा संलग्न ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टोखामा पाँचथरका युवकको हत्या

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो । पक्राउ परेकाहरुमाथि प्रहरी हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।

निदाएका बेला ओच्छ्यानमै श्रीमानको हत्या

दाङ । दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकै ६२ वर्षीया श्रीमती छाँयादेवी चौधरी पक्राउ परेकी हुन् ।

शनिबार राति १० बजेतिर आपसी विवादका क्रममा श्रीमती छाँयादेबीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लाइट प्रहार गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । टर्च प्रहारबाट ढालबहादुरको टाउको फुटेको थियो । अत्यधिक रक्तश्रावका कारण बिहान ढालबहादुर मृत फेला परेका थिए ।

घरको छुट्टै कोठामा बुहारी र नाति नतिनाहरु पनि थिए । सँगसँगै मदिरा पिएपछि उनीहरूबीच भनाभन भएको थियो । त्यसपछि निदाएका ढालबहादुरलाई छायादेवीले ओछ्यानमै टर्चलाइटले हानेकी थिइन् । प्रहरीले हत्या आरोपी छायादेवीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी शाहले जानकारी दिए ।

दशैं मेलामा ‘ग्याङ फाइट’, एक युवकको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा आयोजित दशैँ मेलामा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ । मंगलबार राति भएको झडपमा घाइते भएका २० वर्षीय युवकको नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको नाम खुलिसकेको छैन ।

पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो । गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

युवकले गरे श्रीमतीको हत्या

सुनसरी । सुनसरीको इटहरीमा एक युवतीको हत्या भएको छ । इटहरी उपमहानगरपालिका–१२ मा डेराभाडामा बस्ने खोटाङ ऐसलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिसा भट्टराईको हत्या भएको हो ।

अनिसाको हत्या उनकै श्रीमान सुमन दाहालले गरेको खुल्न आएको प्रहरीले जनाएको छ । सुमनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए ।

घरायसी विवादका क्रममा सुमनले अनिसालाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो । अनिसाको उपचारका क्रममा गए राति सवा ९ बजेतिर मृत्यु भएको डीएसपी हमालले बताए ।

 

चन्द्रागिरिमा महिलाको हत्या

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् ।

थापागाउँ नै घर भएका सरोजले चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप छ । दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

 

खोटाङकी रेस्मिकाको सामुहिक बलात्कारपछि हत्या, एक जना छिमेकी पक्राउ

खोटाङ । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका शिवा परियारको सोमबार सामुहिक बलात्कारपछि हत्या भएको खुलेको छ । उनको हत्यामा संलग्न एक जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नाम समेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जनाएको छ ।

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ । डीएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ । उनले अपराधीलाई कारबाही नगरेसम्म खोटाङमा प्रहरीको विशेष अपरेशन जारी रहने बताए ।

सहकारीमा काम गर्ने युवतीको शव जंगलमा फेला, बलात्कारपछि हत्याको आशंका

खोटाङ । खोटाङमा एक युवतीको शंकास्पद अवस्थामा शव भेटिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका शिवा परियारको शव स्थानीय जंगलमा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् । ‘भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले सुनाए, ‘उनको शव पोष्टमार्टमको लागि घोपा क्याम्प धरान पठाइएका छौँ ।’

रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका स्थानीयको छ । तर, प्रहरीले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘शंकास्पद अवस्थामा शव फेला परेको छ । थप विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्छ,’ उनले भने, ‘हामी घटनाको विस्तृत अनुसन्धानकै क्रममा छौँ ।’ इन्सपेक्टर मिश्रले घटनाका सम्बन्धमा धेरैसँग सोधपुछ भए पनि अहिलेसम्म कोही पक्राउ नपरेका बताए ।

रेश्मीका कार्यरत कृषि सहकारीका अध्यक्ष सागर तामाङकाअनुसार रेश्मीका आइतबार दिउँसो ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म पनि उनी घर नपुगेपछि खोजी गर्ने क्रममा आइतबार राति ८ बजेतिर सडकबाट करिब एकसय ५० मिटर तल बाँसघारीमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार रेश्मीको चप्पल सडकमुनि कुनामा भेटिएको थियो । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

भतिजले गरे काकीको हत्या : पाँच बालबालिकाको बिचल्ली

बैतडी । बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ ।

चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमती समेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले हत्यामा संलग्न यज्ञसिंह पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

आमा बुवा दुवै गुमाएका बालबालिकाको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव विष्टले जानकारी दिए । उनले भने, ‘दिदीको मृत्यु भएपछि बालबालिकाको बिचल्ली भएको छ । घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन् । निकै समस्या भएको छ ।’

घरको साहरा ढलेपछि अहिले बालबालिकालाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताए । उनले भने, ‘पीडित बालबालिकाका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत सङ्कलित रकम बालबालिकालाई प्रदान गरिनेछ ।’ बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । बेलमतीको परिवारमा निकै समस्या रहेको सिगास –२ वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले बताए ।

वीरगञ्ज चोकमै युवतीमाथि गोली प्रहार

वीरगञ्ज । वीरगञ्जस्थित रजत जयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ । भारत घर भएकी करिब १८ वर्षीया निशाकुमारीमाथि नेपाल–भारत सीमा नजिकै वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा सोमबार गोली प्रहार भएको हो । युवती निशाको गालामा गोली लागेको छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

एसपी मिश्रका अनुसार युवतीमाथि गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको छ । भारततर्फ भाग्दै गरेको अवस्थामा भारतको झारखण्ड बस्ने २६ वर्षीय सञ्जीव शर्मालाई नियन्त्रणमा लिइएको उनले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा वीरगञ्जस्थित एक होटलमा खाजा खाने क्रममा विवाद हुँदा निशामाथि गोली हानिएको हो । घटनाबारे अनुसन्धान भइरहेकोले गोली हान्नुको कारण खुल्ने उनले बताए ।

बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना भारतबाट पक्राउ

काठमाडौं । काठमाडौं बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जना भारतमा पक्राउ परेका छन् । उनीहरुलाई भारतमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी काठमाडौं ल्याएको स्रोतले जानकारी दिएको छ ।

साउन १२ गते राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएको थियो । काभ्रेको रोशी गाउँपालिका १० घर भएका उनी गम्भीर घाइते भएका थिए । यही घटनामा संलग्नहरुलाई भारतमा पक्राउ परेर काठमाडौं ल्याएको हो । यसमा संलग्न तीन जनालाई दिल्लीबाट काठमाडौं ल्याइएको स्रोतले बतायोे ।

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव

अर्घाखाँची । यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए ।

छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् ।