निदाएका बेला ओच्छ्यानमै श्रीमानको हत्या


दाङ । दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकै ६२ वर्षीया श्रीमती छाँयादेवी चौधरी पक्राउ परेकी हुन् ।
शनिबार राति १० बजेतिर आपसी विवादका क्रममा श्रीमती छाँयादेबीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लाइट प्रहार गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । टर्च प्रहारबाट ढालबहादुरको टाउको फुटेको थियो । अत्यधिक रक्तश्रावका कारण बिहान ढालबहादुर मृत फेला परेका थिए ।
घरको छुट्टै कोठामा बुहारी र नाति नतिनाहरु पनि थिए । सँगसँगै मदिरा पिएपछि उनीहरूबीच भनाभन भएको थियो । त्यसपछि निदाएका ढालबहादुरलाई छायादेवीले ओछ्यानमै टर्चलाइटले हानेकी थिइन् । प्रहरीले हत्या आरोपी छायादेवीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी शाहले जानकारी दिए ।