`

महाराजगञ्जका दुई प्रहरीको हत्या आरोपमा थप एक युवक पक्राउ

Nepal One HD ५ कार्तिक २०८२ ११:३५
अपराध

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं महाराजगञ्जका दुई प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा थप एक युवा पक्राउ छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गरेको आरोपमा सोमबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

गोरखाका २१ वर्षीय सोमबहादुर हाल काठमाडौं, धुम्बाराहीमा बसोबास गर्दै आएका थिए । सोही घटनामा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

काभ्रेको रोशी गाउँपालिका– ९ राजबास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का युवराज क्याप्छाकी र मकवानपुरस्थ्ति थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौंको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ कारागार चलान भएका छन् । सोमबार पक्राउ परेका गुरुङ जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । तिहार बिदाका कारण उनको म्याद थप भएको छैन । बिदा सकिनासाथ म्याद प्रक्रिया अघि बढ्ने भट्टराईले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *