`

ओखलढुङ्गामा दम्पतीको बीभत्स हत्या

Nepal One HD १६ पुष २०८२ १०:३९
अपराध

ओखलढुङ्गा । ओखलढुङ्गामा दम्पतीको बीभत्स हत्या भएको छ । चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । बिहान अबेरसम्म उनीहरू घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी थालेका थिए । बाहिरबाट बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएपछि घरभित्र पसेर हेर्दा दुवै मृत भेटिएको छिमेकीले जनाएका छन् ।

घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको छ । ‘घटना अनुसन्धान गर्न कोसी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर ल्याएका छौँ,’ इन्सपेक्टर भट्टराईले सुनाए, ‘कुकुर राति यहाँ आइपुगेको छ । राति पनि हामीले कुकुरसहित केही अनुसन्धान गर्‍यौं । अहिले बिहानबाट थप अनुसन्धान थालेका छौं ।’

उनले शव अहिले पनि घटनास्थलमै रहेको जानकारी दिए । ‘त्यो घरमा दम्पती मात्रै बस्नु हुने रहेछ, छोराछोरी बाहिर हुनुहुन्छ भन्ने छ ।’ उनले भने । हत्या कसले र किन गर्‍यो खुलेको छैन । दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ । ‘हामीले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखेका छौँ । अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ इन्सपेक्टर भट्टराईले भने । केही महिनाअघि पनि सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरैमा हत्या भएको थियो । कार्कीका हत्यारालाई अझै पत्ता लागेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *