एक वर्षअघि विवाद, यसपालि गाउँकै तीन जना मिलेर गरे युवकको हत्या


बझाङ । बझाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट जयपृथ्वी नगरपालिका–५ डिलबगर गाउँका २० वर्षीय अभिशेष थापा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कैलालीको धनगढीस्थित निःर्सग अस्पतालमा सोमबार उनको मृत्यु भएको हो ।
काठमाडौंमा अध्ययनरत अभिशेष तिहार मनाउन कात्तिक २ गते घर आएका थिए । घर आउने क्रममा २ गते बेलुकी ८ बजेतिर गाउँकै २२ वर्षीय प्रचण्ड थापा, २६ वर्षीय अनिल थापा र २१ वर्षीय खगेन्द्र जोशीले मिलेर उनीमाथि कुटपिट गरेका थिए ।
उनीहरूले अभिशेषको टाउकोमा लाठी प्रहार गरेका थिए । बझाङका प्रहरी प्रमुख डिएसपी खगेन्द्र धमलाका अनुसार अभिशेषमाथि कुटपिट गर्नमध्ये प्रचण्ड थापा नेपाली सेनाका सिन्धुपाल्चोकस्थित ईन्द्रध्वज गणमा कार्यरत सिपाही रहेको रहेको खुलेको छ ।
तिहार मनाउन घर बिदामा आएका सेनाका जवान प्रचण्ड लगायत गाउँ घरकै चिनजानका तीन युवाले अभिशेष माथि पुरानो रिसिइबीका कारण कुटपिट गरेको कुरा खुल्न आएको डिएसपी धमलाले बताए ।
‘गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगिताका क्रममा उनीहरुबीच विवाद भएको रहेछ,’ डिएसपी धमलाले भने, ‘सोही विषयमा उनीहरूबीच फेरि भनाभन हुँदा तीन जना मिलेर लाठी अभिशेषमाथि निर्घात कुटपिट गरेका रहेछन् ।’ टाउकोमा लाठी प्रहारबाट भित्री चोट खेपेका अभिशेषको बझाङमा प्रारम्भिक उपचारपछि सिटी स्क्यान गर्न भनेर धनगढीस्थित निःर्सग अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार त्यही उनको मृत्यु भएको थियो ।
आरोपित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र थप सोधपुछ हुन बाँकी रहेको डिएसपी धमलाले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा पोष्टमर्टमपछि आफन्तले अभिशेषको शव बुझिसकेको भए पनि अन्त्येष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अभिशेखका घर परिवारले तीन जनाबिरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।