एक सातादेखि बेपत्ता सरोजको हत्या, खोलामा गाडिएको अवस्थामा भेटियो शव
झापा । झापाको शिवसताक्षी नागरपालिका माइधारका सरोज शर्माको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शर्मा कार्तिक ९ गतेदेखि गाडीसहित बेपत्ता थिए ।
शर्माको शव आज बिहान झापाको बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाका बीचमा रहेको बिरिंग खोला किनारमा प्लाष्टिकमा बेरेर गाडिएको अवस्थामा फेला परेको थियो । ३३ वर्षीय शर्माले चढ्ने बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा केही पनि अघि नै फेला परेको थियो । उनले चढ्ने कारमा आगो लगाइएको थियो ।
शर्माको शव झापा गाउँपालिका र बाह्दशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले जानकारी दिएका छन् । उनले शर्माको शव खोला किनारमा गाडिएको र दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए । लिम्बुले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, शर्माको के कारणले हत्या भएको हो यसबारेमा अनुसन्धान भइरहेको छ ।
