साढे ६ लाखको ‘सुपारी’ दिएर सफारी चालकको हत्या
सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । दशैंलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा सुटरसहित सात जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएको प्रहरीलाई बताएका छन् । चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए । उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ ।
