अंशु गौतम हत्याकाण्ड : छिमेकी नै पक्राउ
विराटनगर । मोरङको लेटाङमा १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले स्थानीय छिमेकी पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । स्तब्ध बनाउने उक्त घटनामा लामो समयसम्म दोषी पहिचान नहुँदा प्रहरीले आलोचना खेपिरहेको अवस्थामा, अन्ततः प्रहरीले छिमेकीलाई मुख्य अभियुक्तका रूपमा पक्राउ गरेको पुष्टि भएको छ ।
असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत भेटिएकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनापछि मोरङ प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मिलित संयुक्त टोलीले दुई महिनासम्म अनुसन्धान चलाएको थियो ।
अनुसन्धानकै क्रममा प्रहरीले लेटाङ–२ का करिब ५० वर्ष उमेर समूहका छिमेकी पुरुषलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिले प्रारम्भिक सोधपुछमै अंशुको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । उनीले मृतक परिवारसँगको पुरानो रिसइबीका कारण योजनाबद्ध रूपमा घटना घटाएको प्रारम्भिक अनुमान रहेको सुराकीहरूले बताउँदै आएका छन् ।
तर औपचारिक रूपमा प्रहरीले आरोप र घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ र केही महत्वपूर्ण पक्ष खुल्न बाँकी रहेको छ । अंशु गौतम लेटाङस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । स्थानीय समुदाय यस घटनापछि त्रसित बनेको छ भने परिवार न्यायका लागि प्रतीक्षारत छ ।
