`

‘जात्रा हेर्न’ भन्दै दैलेखबाट जाजरकोट पुर्‍याएर साथीको हत्या

Nepal One HD १० कार्तिक २०८२ १२:१४
प्रमुख खबर

सुर्खेत । जाजरकोटमा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या भएको छ। जाजरकोटको जुनीचाँदे गाउँपालिका-८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका-४, उत्तिसेनीका ३९ वर्षीय लालबहादुर पुन मगरको हत्या भएको हो। हत्यामा संलग्नहरू पनि नौमुलेकै रहेको जाजरकोट प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका-४, कै भित्रिखोलाका २९ वर्षीय पदमबहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर छन्।

जाजरकोट प्रहरीका अनुसार, कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो। सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीरबहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए।

५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए। घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *