`

सिन्धुली एसबीआई बैंक लुटपाट प्रकरण : चार जना पक्राउ, पौने दुई करोड नगद बरामद

Nepal One HD ३० पुष २०८२ ११:४५
अपराध

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकको शाखामा भएको ठूलो परिमाणको लुटपाट घटनामा संलग्न समूह काभ्रेको बनेपाबाट आएको खुलेको छ । लुटपाटपछि फरार रहेका समूहका सदस्यहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ भने हालसम्म चार जनालाई पक्राउ गरी पौने दुई करोड रुपैयाँ बढी नगद बरामद गरिएको छ ।

मंगलबार राति करिब ८ः४० बजे घ्याङलेख गाउँपालिका–२ बस्तीपुर (हायुटार) स्थित बैंक शाखामा ५–६ जनाको समूहले लुटपाट गरेको थियो । बैंकका कर्मचारीका अनुसार लुटेराहरूले काउन्टरबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ नगद लुटेका थिए। लुटपाटका क्रममा बैंकका सुरक्षा गार्ड रुद्र कार्कीमाथि खुकुरी प्रहार गरी घाइते बनाइएको थियो । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि परिचालित प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा घ्याङलेख–१ सुकाचुरी क्षेत्र आसपास लुटेराहरूलाई घेरा हालेको थियो । सो क्रममा चारजनालाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट तथा जंगलमा फालेको अवस्थामा एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार लुटेराहरूले भाग्ने क्रममा रकम झण्डै डेढ किलोमिटर टाढा जंगलमा फालेका थिए । लुटपाटमा प्रयोग भएको बीएड–०३९८ नम्बरको टाटा सुमो गाडी घटनास्थलबाट करिब १ किलोमिटर टाढा फेला परेको छ । उक्त गाडी काभ्रेको बनेपाबाट रिजर्भ गरिएको र चालक भवत सिंह थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बनेपा–१० निवासी थापाले आफूले लुटेराहरूलाई नचिनेको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार लुटपाटमा संलग्न समूह रातको समय र बैंक जंगल नजिकै रहेको अवस्थाको फाइदा उठाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

‘बरामद हुन बाँकी रकम र फरार लुटेराहरूको खोजी जारी छ’, उनले भने, ‘छिमेकी जिल्लाका नाकाहरूमा समेत निगरानी कडा पारिएको छ ।’ प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । स्थानीयको सक्रियताका कारण लुटिएको आधाभन्दा बढी रकम फेला परेको भन्दै प्रहरीले सहयोगप्रति आभार व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *