युवकको वीभत्स हत्या गरी टाउको लिएर प्रहरी कार्यालयमा


कैलाली । कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो ।
हत्यामा संलग्न दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन् । पक्राउ पर्नेमा घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन् ।
प्रहरीका अनुसार खाजा पसलमा रक्सी खाने बेला विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रयोग गरी केशरको टाउको छिनालेका हुन् । हतियार र छिनालेको टाउको बोकेर उनीहरु राति घोडाघोडी नगरपालिका–३ स्थित अस्थायी प्रहरी पोस्ट प्रतिखेत नजिक पुगेका थिए ।
प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए । हत्यामा संलग्न ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।