छोराले गरे बाबुको हत्या
पाँचथर । पाँचथरमा एक युवकले बुवाको हत्या गरेका छन् । हिलिहाङ गाउँपालिका १ फेदापाका ६९ वर्षीय युवराज राईको हत्या भएको हो । उनको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए ।
उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।
प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । युवराजको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ । रासस
