`

पक्राउ परेका विद्यार्थी नेता ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विद्यार्थीहरूलाई फोटो–भिडियोका आधारमा सरकारले छानछानी पक्राउ गरेको भन्दै अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले कडा आपत्ति जनाएको छ । समितिका इञ्चार्ज निरोज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थीमाथि गरेको दमन, गिरफ्तारी तथा राजनीतिक प्रतिशोधपूर्ण गतिविधि तत्काल रोक्न माग गरिएको छ ।

विज्ञप्तिमा नेपाल ल’ क्याम्पसका पूर्व अध्यक्ष तथा स्ववियुका पूर्व सभापति, अधिवक्ता विष्णु ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागी घटनाका ‘मुख्य आरोपी’ का रूपमा प्रस्तुत गर्दै गरिएको गिरफ्तारी अन्यायपूर्ण भएको उल्लेख छ । समितिले उक्त कदमलाई ‘राजनीतिक प्रेरित’ र ‘पूर्व नियोजित दमन’ को रूपमा व्याख्या गरेको छ ।

अखिल (क्रान्तिकारी) ले आन्दोलनका क्रममा विगतमा भएका दमनका घटनाहरू स्मरण गर्दै ७२ जनाको हत्या गर्न आदेश दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी नेतृत्व तथा आन्दोलनकै नाममा हत्या गराउनेहरूविरुद्ध कारबाही नहुँदा उल्टै विद्यार्थीहरू लक्ष्य बनिनु अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी गरेको छ । जेनजी आन्दोलनका घटनाहरूको अनुसन्धानका लागि जाँचबुझ आयोग गठन भइसकेको भन्दै समितिले आयोगमार्फत नै निष्पक्ष छानबिन हुनुपर्ने माग पुनः दोहोराएको छ ।

समितिको भनाइअनुसार, भदौ २३–२४ का केही दृश्य र क्लिपलाई मात्र आधार बनाएर विद्यार्थीहरूलाई योजनाबद्ध रूपमा गिरफ्तार गर्नु स्वीकार्य हुँदैन । समितिले भदौ २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधि वास्तविक घुसपैठ समूहले नै गराएको दाबी गर्दै त्यसबारे छानबिन र कारबाही ती व्यक्तिहरूमाथि मात्र गर्नुपर्ने बताएको छ । विज्ञप्तिमा अन्त्यमा विष्णु ढुङ्गेलसहित अन्य युवा विद्यार्थीलाई बिना शर्त तुरुन्त रिहाइ गर्न सरकारसँग माग गरिएको छ ।