`

मुद्दा छिटो किनारा लगाउन प्रक्रियागत चुनौतीहरू छन् : न्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायपालिकाले मुद्दाहरूलाई छिटो किनारा लगाउने प्रयास गरिरहेको बताएका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । तर प्रक्रियागत कारणले गर्दा ढिलाइ हुने गरेको स्वीकार गरे । न्यायपालिकाको भूमिका, मुद्दाको प्रक्रिया र संघीय प्रणालीको प्रवद्र्धनबारे छलफल गर्दै उनले न्यायपालिकालाई संविधानको संरक्षकको रूपमा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको जोड दिए।

न्यायाधीश श्रेष्ठकाअनुसार अदालतले मुद्दाको प्रकृति र उपलब्ध जानकारीलाई हेरेर प्राथमिकता दिने गर्छ । जसले गर्दा केही मुद्दा तीन महिनाभित्रै फैसला हुने गरेका छन् । हालैको तथ्यांकअनुसार कम्तीमा १५० मुद्दा तीन महिनाभित्र फैसला भएका छन् । तर सात वर्ष पुराना मुद्दाहरू पनि बाँकी छन् । यसको कारण प्रक्रियागत जटिलता र स्रोत साधनको कमी भएको उनले उल्लेख गरे । न्यायाधीश संख्या २५ बाट घटेर २१ भएको र मुद्दाको संख्या ९–१० हजारबाट बढेर २६–२७ हजार पुगेको अवस्थामा न्यायपालिकालाई दोष मात्र दिन नहुने उनको छ । संघीय प्रणालीमा अवशिष्ट अधिकार संघमा राखिएको नेपाली अभ्यासलाई अन्य देशहरूसँग तुलना गर्दै उनले न्यायपालिकाको भूमिकालाई संवैधानिक सर्वोच्चता र स्वतन्त्रताको संरक्षणमा केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी एउटा अहिले जुन किसिमको प्रणालीमा छौँ । अघि श्रीमानले भन्दै हुनुहुन्थ्यो हामी संविधानवाद, संवैधानिक सर्वोच्चता र संवैधानिक स्वतन्त्रताको संरक्षकको रूपमा न्यायपालिका यो नेपालले मात्रै गरेको होइन । सबै ठाउँमा गरेको हो । अघि यहाँहरूले भन्दै हुनुहुन्थ्यो हामी संघीयता अपनाउने अवशिष्ट अधिकार संघमा राख्ने । अब त्यो त हाम्रो विषय भएन । धेरै ठाउँमा कतिपय अमेरिकामा अवशिष्ट अधिकार राज्य राज्यहरूमा छ । यहाँ अवशिष्ट अधिकार संघमा राखेको छ ।’

उनले भने, ‘विभिन्न देशका आफ्ना–आफ्ना अभ्यासहरू छन् । तथापि हाम्रो न्याय प्रणालीको, हाम्रो न्यायपालिकाको भूमिका भनेको अहिलेको संघीय प्रणालीलाई कसरी प्रवद्र्धन गर्ने ? यसलाई कसरी प्रभावकारी बनाउने र साथसाथै हामी संविधानकै संरक्षकको रूपमा कसरी भूमिका निर्वाह गर्ने भन्ने कुराहरूमा रहेको छ । यद्यपि यसमा रहेका कमी कमजोरीको बारेमा अघि प्रशस्त आइसकेको छ । २५ जना न्यायधीश थिए । जब संवैधानिक इजलासमा पाँच जना राख्ने ग¥यौं, अनि न्यायधीश संख्या घटाएर २१ बनाइदियौँ । हामी आफूलाई दिएको स्रोत, साधन क्षमता भित्र रहेर हामीले आफ्नो भुमिकालाई कसरी छ प्रभावकारी बनाउन सक्छौँ भन्ने कुरा सायद आज हामी सबैको गम्भीर सरोकार र चिन्ताको विषय हुनुपर्छ र त्यसप्रति न्यायपालिका पनि त्यसरी नै गम्भीर र चिन्तित रहेको छ ।’

उनले भने, ‘म यति कुरा यहाँहरूलाई भन्न चाहन्छु र अहिले जस्तो न्यायिक समितिको विषयमा म सानो जानकारी खाली हाम्रो जिल्ला न्यायधीश ज्यूहरूबाट अनुगमन निरीक्षणको विषय छ । यसमा पनि एकरूपता भएन भन्ने हिसाबले हाल सालै त्यसमा एउटा निर्देशिकाहरूको मस्यौदा भइराखेको छ। सायद निकट भविष्यमै यसलाई सरसातको फुलकोटबाट पारित गरेर एउटा निरीक्षणबाट जाँदाखेरी के हेर्ने र न्यायिक समितिहरूले कसरी गर्ने भन्ने विषयहरूमा एउटा निर्देशिकाहरू बनिराखेको विषय पनि म जानकारी गराउन चाहन्छु र त्यो निर्देशिका निर्माणका क्रममा धेरै ठाउँमा न्यायिक समितिका पदाधिकारी ज्यूहरूसँग उहाँहरूसँग बोल्यौँ, परामर्श उहाँहरूको सुझाव र त्यसमा बढी आधारित छ र त्यो कुरामा पनि म जानकारी गराउन चाहन्छु । अन्त्यमा फेरि पनि यो न्यायपालिका यो हामी यो कस्तो हुँदो रहेछ भने हामी एकदम गौरव साथ भन्ने गर्छौं ।’

न्यायिक समितिहरूको अनुगमन र निरीक्षणमा एकरूपता ल्याउन हालै निर्देशिकाको मस्यौदा तयार भइरहेको जानकारी दिँदै श्रेष्ठले यसमा न्यायिक समितिका पदाधिकारीहरूको सुझाव समावेश गरिएको उल्लेख गरे । यो निर्देशिका चाँडै सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित हुने अपेक्षा गरे । न्यायपालिकाका कमी कमजोरीहरू स्वीकार गर्दै उनले यसलाई प्रभावकारी बनाउन सबै पक्षको गम्भीर सरोकार आवश्यक रहेको बताए ।

नेपालको न्यायपालिका विकास विरोधी छैन : न्यायाधीश ढुंगाना

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपालको न्यायपालिका विकास विरोधी नभएको स्पष्ट पारेका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समय समयमा अदालत विकास विरोधी भयो कि भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले न्यायालयले विकास निर्माणसम्बन्धी मुद्दामा विषेश ध्यान दिने गरेको जिकिर गरे ।

उनले स्थानीय तह तथा प्रदेश सरकारमा सञ्चालित विकास निर्माणसम्बन्धी मुद्दाहरुलाई फास्ट ट्रयाकमा अघि बढाउने गरेको बताउँदै बढीमा एक वर्षभित्र अन्तरिम आदेश दिने गरेको बताए । यस्ता मुद्दामा अदालतले विपक्षी निकायहरूको भनाइ नसुनी कुनै पनि अन्तरिम आदेश दिने नगरेको उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश तथा स्थानीय तहबीच देखिने राजनीतिक सहकार्य र समन्वयसम्बन्धी समस्या आपसी समझदारीमै टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘अदालत कतै विकास विरोधी त भएन भन्ने प्रश्न संसदीय समितिमा उठेको थियो । त्यसपछि अदालतले निकै ध्यान दिएको छ । यस्ता मुद्दाहरु अहिले ६ महिनादेखि १ वर्षसम्म सुनुवाई गर्ने गरेका छौँ । सर्वोच्च अदालतमा पनि हामी हरेक दिन विशेष कोर्टमार्फत यस्ता काम कारबाही गरिरहेका छौं । हामीले विपक्षी निकायहरुको कुरा नसुनिकन हामी कुनै पनि अन्तरिम आदेश दिने गरेका छैनौँ । स्थानीय तह विपक्षी भएका निवेदनमा कानूनी प्रतिरक्षा कमजोर भएको मैले महसुस गरेको छु ।’ उनले स्थानीय तहमा गठित न्यायिक समिति अदालतका लागि महत्वपूर्ण सरोकारको विषय भएको भन्दै आवश्यक सहकार्य गरेर अघि बढ्न न्यायपालिका तयार रहेको पनि बताए ।

 

करमा आधारित विकासले जनतामा असहजता बढायो : वरिष्ठ न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले अदालतले विकास रोकेको नभई दिगो र वातावरणमैत्री विकासलाई प्रोत्साहन गर्दै आएको बताएकी छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानअनुसार विकाससँगै वातावरण संरक्षण अनिवार्य रहेको स्पष्ट पारिन् ।

वातावरणीय सन्तुलनमा असर पार्ने किसिमको विकासका पक्षमा अदालत उभिन नसक्ने उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश सरकारले विकास निर्माणका कामहरु गर्दा पर्यावरणमा पर्नसक्ने असरहरुको बारेमा गम्भीर हुन जरुरी रहेको बताइन् । उनले स्थानीय तहले अत्यधिक कर लिने गरेको विषयमा अदालतमा धेरै निवेदन आउने गरेको उल्लेख गर्दै उनले करमा आधारित विकासले जनतामा असहजता सिर्जना गरेको बताइन् ।

उनले करमा आधारिक मोडेलको विकासमा जाने कि आफूसँग उपलब्ध स्रोतको उपयोग गरेर विकासका कामहरु अगाडि बढाउने ? भन्दै स्थानीय तहहरुलाई प्रश्न गरिन् । उनले जेनजी आन्दोलनको क्रममा भएको आगलागीका कारण सर्वोच्च अदालतमा संवैधानिक इजलासलाई प्रभावकारीता तरिकाले बढाउन समस्या भइरहेको पनि बताइन्।

उनले भनिन्, ‘संविधानले विकास र पर्यावरणलाई संरक्षण गर्नुपर्ने भनेको छ । अदालतले विकास रोकेको छैन । अदालतले पर्यावरणीय सन्तुलन राख्ने अदालतलाई हेर्नुपर्छ । यदि त्यस्तो असरहरु पर्छ भने त्यसमा हामीले गम्भीर हुनुपर्छ । वातावरणमैत्री विकासले नहुँदा हुने विकासेल गम्भीर असरहरु पार्छ जुन हामी सुधार गर्नै सक्दैनौँ । जहाँ यस्तो असर पर्दैन त्यस्तो विकसलाई स्थानीय तहले लैजान सक्छ ।’

उनले भनिन्, ‘तर वातावरणलाई नै हार्म गर्ने विकासको पक्षमा अदालत उभिन सक्दैन । हामी हरेक किसिमका विकासलाई रोकेका छैनौँ । तर दीगो विकासलाई प्रोत्साहन गर्नु अदालतको दायित्व हो । अहिले स्थानीय तहले कर धेरै लिएका निवेदनहरु धेरै आइरहेको छ । तपाईहरु खाली करमा आधारित विकासमा लागिरहनु भएको छ । तपाईहरुले करमा आधारित विकासमा जाने कि आफ्नो स्रोतको आधारमा विकास निर्माणमा जाने ? यसले जनतामा समेत असहजताको अनुभूति भएको अवस्था छ । संघीय कानूनलाई समेत हेरेर स्थानीय तहले कानून निर्माणमा पनि जानुपर्‍यो । संविधानको कुनै एउटा धारा मात्र हेरेर नजानुहोस् भन्ने मेरो आग्रह छ ।’ उनले जेन–जी विद्रोपछि उत्पन्न समस्याका बाबजुद न्यायपालिका प्रभावकारी ढंगले अगाडि बढ्न प्रयत्नरत रहेको बताइन् ।

 

प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय प्रधानमन्त्रीबाट सदर

काठमाडौं । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ । महाप्रबन्धक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए। सञ्चालक समितिले उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छन् ।

निर्णयमा लेखिएको छ, ’२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको, सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौंलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ‘ब्लक बी’ भवन दुई पक्ष (काठमाडौं जिल्ला अदालत र प्राधिकरण) बीच आवश्यक सम्झौता गरी काठमाडौं जिल्ला अदालतको सेवा सञ्चालन गर्न दिने ।’ काठमाडौं जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आजगनीका कारण क्षतिग्रस्त छन् ।