`

संविधान नपढी मन्त्री बन्न गएको होइनः कानूनमन्त्री सिन्हा

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका छन् ।

नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताए ।

कार्यक्रममा सहभागी एमाले नेता अग्नी खरेलले पुर्वन्यायधीश र प्रधानन्याशीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताएपनि मन्त्री सिन्हाले यस्तो जवाफ दिए । उनले मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको बताए ।

उनले मतदान गर्ने अधिकार दिएपछि संविधानले आफूहरुलाई उम्मेद्वार बन्न पाउने अधिकार पनि दिएको बताए । उनले आफूहरु अफ्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको बताए । उनले आफुलाई आगामी दिनमा चुनाव लड्ने, मन्त्री बन्ने ईच्छा पनि नरहेको बताए ।

उनले भने, ‘असंवैधानिक किन रे ! भन्दाखेरी त्यो चाँही नी सरकारी पदमा बस्नको निम्ति न्यायधीशलाई बन्देज लगाएको भनेर भने । म सरकार पद हो की होईन यसो हेरे, मैले संविधान पल्टाएर हेरे । नपढीकन चाहीँ गएको होईन होला म त्यो दिन त्यहाँ । एक घण्टा पढ्ने मौका पाएको थिए । अरु बेला त पढे, त्यो धारा चाँही त्यो बेला पढे । मैले देखे मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरुले बञ्चित गर्नु भएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार, स्वतन्त्र होस् या पार्टी समातेर होस्, म उम्मेद्वार बन्ने मेरो अधिकार छ कि छैन ? मसंग अधिकार छ ।’

मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गरे। सरकारले हरेक राजनितिक दलका जिम्मेवार नेताहरुसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिए । राजनितिक दलहरु निर्वाचनबाट पछाडी नफर्कने पनि उनले विश्वास व्यक्त गरे ।

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैन : कानूनमन्त्री सिन्हा

काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उनले यस्तो दाबी गरेका हुन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरुसँगको पटक–पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरुसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पारे ।

सरकारले राजनीतिक दलहरुलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभूति गरिरहेको उनको भनाई थियो । मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिए पनि असन्तुष्ट पक्षको सुनुवाई गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाए जस्तो देखिएको पनि तर्क गरे । उनले शुरुका दिनमा सरकारले जेन–जी समूहहरुसँगको छलफलमा धेरै समय बिताउनुपरेको पनि उल्लेख गरे ।

मन्त्री सिन्हाले भने, ‘हामी संसदीय अभ्यास अलिकति बे्रक भएको बेलामा यसको एउटा पुल निर्माण गरेर पुन जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्नको निमित्त एक मात्र लक्ष्य लिएर हिँडेका छौँ । तर चुनाव मात्रै लक्ष्य रहँदैन रहेछ । चुनावको तयारीको क्रममा गर्नुपर्ने विभिन्न कामको साथसाथै असन्तुष्ट कतिपय पक्षको कुरा सुन्नुपर्ने कारणले गर्दा र सरकारको दैनिकी समेत सञ्चालन गर्नुपर्ने कारणले गर्दा हामीहरु अलिकति ढिलो भएको हो ।’

मन्त्री सिन्हाले भने, ‘हामीहरुले दलहरुसँग सम्पर्क गर्न केही ढिला भएकै थियो । जेन–जीका जुन समूहहरु हुनुहुन्छ । उहाँहरुसँगको पटक पटकको छलफलमा धेरै समय गएको पनि थियो । यो सरकारले कहिल्यै पनि दलहरुलाई अवमूल्यन गरेको छैन भन्ने कुरा यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । दललाई अवमूल्यन गर्दाखेरी कस्तो असहज अवस्था सिर्जना भएको थियो भनेर हामीले अनुभूति गरिसकेका छौ । हामीले शुरुशुरुमा सुरक्षाको प्रत्याभूति दिनुपर्ने अवस्था थियो ।’

उनले थपे, ‘अल्पकालीन सुरक्षाको प्रत्याभूतिको अवस्था थियो । मध्यकालीन र दीर्घकालीन ३ वटै सोच बनाउनुपर्ने कारणले गर्दा सुरुको स्थिति सम्हाल्नको निमित्त हामीहरुलाई गाह्रो परेकै हो । हामी नेपाली नागरिकहरु कति सुर छौँ भन्नेकुरा कहाँबाट देखियो भने त्यत्रो घटना भएको तेस्रो दिनदेखि बाटोमा निस्केर सौहार्दपूर्ण वातावरण निर्माण गर्न जनतानै लागि रहनु भएको थियो । जुत्ता, चप्पल, लुगा केही नभएका, पकाउन भाँडा नभएका, पकाउने सामान नभएका हाम्रा सुरक्षाकर्मीहरुलाई जनताले नै यति सहयोग गर्नु भयो कि त्यसका निम्ति आभार व्यक्त गर्ने मसँग शब्द नै छैन ।’ मन्त्री सिन्हाले मुलुकको सुरक्षा अवस्थालाई सहज बनाउन सर्वसाधारण जनताले प्रहरीलाई गरेको सहयोगको समेत खुलेर प्रशंशा गरे । उनले सुरक्षा व्यवस्थालाई सहज बनाउने कठिन कार्यमा सरकारलाई सर्वसाधारण जनताले ठूलो साथ दिएको समेत बताए ।