`

शीतल निवासबाट बाहिरिए प्रधानसेनापति, राष्ट्रपतिसँग के भयो छलफल ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल सकेर प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिएका छन् । प्रधानसेनापति सिग्देलले राष्ट्रपति पौडेलसँग आधा घण्टा छलफल गरेका थिए । छलफलको विषय आधिकारिक रुपमा सार्वजनिक नभए पनि विकसित पछिल्लो घटनाक्रम अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ ।

आजै जेन–जीले प्रधानमन्त्रीका रुपमा अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोलीले राष्ट्रपतिसँग छलफल गर्नेछ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्री प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्नका लागि पहल भइरहेको बताइएको छ ।

ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो । अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजीले संसद विघटनलाई ‘बटमलाइन’ बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै कुरा अड्किएको स्रोतहरूको भनाइ छ ।

बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल बढेको बताएका छन् ।