काठमाडौं । चुनावको मुखमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । सो पार्टीकी सह–अध्यक्ष रेणु यादवले जसपा नेपालसँग एकता गर्ने निर्णय गरेकी हुन् । सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् । उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) बीच एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो’ सहमति पत्रमा उल्लेख छ । यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै बहुमत केन्द्रीय सदस्यसहित जसपाले जसपा नेपालसँग पार्टी एकीकरण गरेको जानकारी दिएका छन् । हिजो मात्रै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको थियो । अशोक राईले उपेन्द्र यादवसँग अलग भएर २०८१ वैशाख २३ गते जसपा गठन गरेका थिए ।

