`

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो । बलियो स्कोरतर्फ लम्किँदै गर्दा दुईवटा रनआउटले नेपालको गतिमा ब्रेक लगाइदिएको थियो । राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्लले सातौँ नम्बरमा आएर महत्वपूर्ण योगदान दिए । यस्तै, आरिफ शेखले ३० रन बनाएर आउट भए । दशौं नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाउँदै नेपालको स्कोर माथि उकास्न मद्दत गरे । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका निकाल्न सफल भए । युएईका जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिए ।

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।

अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । लिग–२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थानमा छ ।