`

आयल निगमको खुद नाफा १३ अर्ब ६७ करोड

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा १३ अर्ब ६७ करोड खुद नाफा कमाएको छ । निगमका अनुसार गत आर्थिक वर्षमा निगमले ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ । निगमले गत आर्थिक वर्षमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका थिए ।

निगमले सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ, ‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी राजस्वमा १२४ अर्बको योगदान गरेको छ ।’ निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार निगमले गत आर्थिक वर्षमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल १२२ हजार किलोलिटर, मट्टितेल २ हजार किलोटिर र हवाई इन्धन १८ हजार किलोलिटर तटा एलपी ग्यास ४६ हजार टन आपूर्ति गरेको थियो ।

कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आज आर्थिक रूपमा मजबुत बनेको उल्लेख गरे । करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभरि दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै डा। भट्टले कर्मचारीको लगनशीलताको प्रशंसा गरे । एक कर्मचारीले औसत २० हजार सेवाग्राहीलाई सेवा दिइरहेको उनले बताए ।

 

 

पृथ्वी राजमार्गका पेट्रोल पम्पमा पेट्रोलियम अभाव छैन : आयल निगम

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा केही दिनयता पृथ्वी राजमार्गअन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिमा राजमार्गमा रहेका सबै पेट्रोल पम्पहरूमा इन्धन आपूर्ति सहज रहेको र पेट्रोलियम पदार्थको अभाव नरहेको उल्लेख छ । निगमले उपभोक्ताहरूलाई अनावश्यक त्रास नलिन आग्रह गर्दै आपूर्ति प्रणाली नियमित भएको स्पष्ट पारेको छ ।

‘मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।