काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा उद्यमी आशिफ साहले पार्टीको समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिँदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै शाहले जनताको भावना, पार्टीभित्रका आवाज र आफ्नै आत्ममन्थनका आधारमा यो निर्णयमा पुगेको बताएका छन्। उनले ‘सर्टकट’ बाट सांसद बन्ने बाटो आफूले रोज्न नसक्ने स्पष्ट पार्दै प्रत्यक्ष निर्वाचनमार्फत जनताको मत परीक्षण गर्न चाहेको उल्लेख गरेका छन् ।
साहका अनुसार उनी सुरुदेखि नै प्रत्यक्ष निर्वाचनको पक्षमा थिए । तर बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ जस्ता पात्रहरूको सहकार्य सम्भव होस् भन्ने उद्देश्यसहित भएका पहलमा संलग्न रहँदा साथीहरूको आग्रहमा समानुपातिक सूचीमा नाम राख्न राजी भएका थिए । उम्मेदवारी सार्वजनिक भएपछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रिया र पार्टीभित्रकै साथीहरूको भावनाले भने उनलाई निर्णय पुनर्विचार गर्न बाध्य बनाएको उनले बताएका छन् ।
‘नियत सही हुँदाहुँदै पनि जनभावनामा चोट पुग्छ भने त्यो बाटो मेरो हुन सक्दैन’, भन्दै साहले देश निर्माणको चाहना पदभन्दा ठूलो भएको उल्लेख गरेका छन् । समानुपातिक प्रणालीमार्फत सांसद बन्ने अवसर हुँदाहुँदै पनि त्यसलाई त्याग्नु नै सही निर्णय भएको उनको निष्कर्ष छ ।
साहले आफूले मात्र होइन, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूले पनि जनभावनालाई बुझेर ‘दुई कदम पछाडि हटेर’ प्रत्यक्ष निर्वाचनको तयारी गर्न सुझाव दिएका छन् । आगामी दिनमा जुनसुकै भूमिकामा रहे पनि देशका लागि योगदान दिन प्रतिबद्ध रहेको उनको भनाइ छ । अन्त्यमा उनले काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिने तयारी पूरा भइसकेको जनाउँदै भनेका छन्, ‘देशभन्दा ठूलो केही हुँदैन र जनतासँगै उभिएर चुनाव लड्नु नै मेरो बाटो हो ।’
