`

तीजको अवसरमा श्री महाकालेश्वर ज्योतिर्लिङ्गमा आरती सम्पन्न

उज्जैन (मध्यप्रदेश), २०८२ भदौ १० । हरितालिका तीजको पावन अवसरमा उज्जैनस्थित प्रसिद्ध श्री महाकालेश्वर ज्योतिर्लिङ्ग मन्दिरमा भव्य आरती सम्पन्न गरियो। भगवान् शिवलाई समर्पित बार्ह्र ज्योतिर्लिङ्गमध्ये एक मानिने यस मन्दिरमा हजारौँ भक्तजनहरूले दर्शन तथा आशीर्वाद लिनका लागि उपस्थित भएका थिए।

बिहानैदेखि पण्डित/पुरोहितहरूले परम्परागत विधिअनुसार पूजाआजा गर्दै भगवान् शिवलाई फूल, बेलपत्र अर्पण गर्दै वैदिक मन्त्रोच्चार गरेका थिए। आरती सुरु भएलगत्तै मन्दिर परिषर सम्पूर्ण रूपमा भजन, शंखध्वनि र घण्टको आवाजले गुन्जायमान भई आध्यात्मिक वातावरण सिर्जना भएको थियो।

हरितालिका तीजको व्रत बस्ने महिलाहरू श्रद्धापूर्वक सहभागी भई वैवाहिक सुख-समृद्धि, परिवारको कल्याण तथा दीर्घ आयुका लागि प्रार्थना गरे। यसै क्रममा देवी पार्वतीलाई समर्पित विशेष पूजा पनि सम्पन्न गरिएको थियो, जसमा देवीले भगवान् शिवलाई वर पाउन कठोर तपस्या गरेको कथा स्मरण गरिएको थियो।

मन्दिर क्षेत्र दीप र फूलले सजिएको थियो, जसले उत्सवको रौनकता थप आकर्षण बढाएको थियो। मध्यप्रदेश मात्र नभई देशभरका भक्तजनहरू उज्जैन पुगेका थिए, जसले महाकालेश्वरको धार्मिक महत्वलाई अझ प्रगाढ बनाएको छ।

यस दिन सम्पन्न भव्य आरती हजारौँ भक्तजनहरूको लागि आध्यात्मिक उन्नतिको क्षण बनेको थियो।

विश्वकै सबैभन्दा गर्ह्रौं १५ सय किलोको पारद शिवलिङ्ग, जहाँ दैनिक हुन्छ सुनको आरती

उज्जैन, भारत। धार्मिक राजधानीका रूपमा परिचित उज्जैन महाकालेश्वर ज्योतिर्लिङ्गका कारण विश्वभर ख्यातिप्राप्त छ। तर महाकाल वनमा यस्ता धेरै शिवलिङ्ग रहेका छन्, जसको पूजा-अर्चनाले चारै पुरुषार्थ प्राप्त हुने विश्वास गरिन्छ। तीमध्ये एक अद्वितीय शिवलिङ्ग हो, पारद शिवलिङ्ग (मर्करीबाट बनेको शिवलिङ्ग)। जनश्रुतिअनुसार पारद शिवलिङ्गमा स्वयं भगवान् शिवको वास हुन्छ र यसको दर्शन मात्रले सुख, सौभाग्य, आयु, आरोग्य र ऐश्वर्य प्रदान हुन्छ।

२००४ मा स्थापना गरिएको थियो १५ सय किलोको पारद शिवलिङ्ग
शिप्राको नृसिंहघाट नजिकै रहेको श्री सिद्ध आश्रममा श्री पारदेश्वर महादेवको भव्य मन्दिर अवस्थित छ। यस मन्दिरमा १.५ टन (१५ सय किलो) पारा/पारद अर्थात मर्करीबाट निर्मित विश्वकै सबैभन्दा ठूलो पारद शिवलिङ्ग विराजमान छ। सन् २००४ मा महामण्डलेश्वर स्वामी डा. नारदानन्दजी महाराजले यस शिवलिङ्गको स्थापना गरेका थिए। दैनिक सयौं भक्तजन यहाँ दर्शनका लागि पुग्छन्।

स्वर्ण आरतीको अद्भुत अनुभव
यस मन्दिरमा प्रत्येक दिन बिहान ९ बजे सार्वजनिक स्वर्ण आरती हुन्छ। आरतीको क्रममा शिवलिङ्गमा राखिएको सुन पात आरती गरेको केही क्षणमै बिलिन हुन्छ। जसलाई सिद्ध आश्रमका प्रमुख स्वामी डा. नारदानन्दका अनुसार ‘शिवलिङ्गले सुनको पातलाई ‘पिएको’ भन्ने बताउनुहुन्छ। वर्षौँदेखि चलिरहेको यो क्रम एकदिन रोकिन्छ र त्यतिबेला पारद शिवलिङ्ग ‘पारस’ मा परिणत भई पूर्ण स्वर्णिम हुनेछ भन्ने मान्यता छ।

पारा/पारद अर्थात मर्करीलाई अभिमन्त्रित गरेर तयार गरिएको शिवलिङ्ग
स्वामीज्यूका अनुसार यो शिवलिङ्ग पारा अर्थात मर्करीलाई अभिमन्त्रित गरेर तयार गरिएको हो। वैज्ञानिक रूपमा समेत प्रमाणित यो अद्भुत प्रक्रिया अनुसार, पाराले जतिबेला निश्चित मात्रामा सुनलाई अवशोषित गर्छ, त्यतिबेला त्यो पारस बन्छ। पारसको शक्ति त्यति अद्भुत हुन्छ कि यसमाथी फलाम घस्दा फलाम पनि समेत सुनमा परिणत हुने शक्ति राख्दछ।

शिप्राको किनारमा अवस्थित यो अद्वितीय पारदेश्वर महादेव मन्दिर आज विश्वका भक्तजनको आस्थाको केन्द्र बनेको छ, जहाँ दर्शन र स्वर्ण आरतीको अनुभव आफैंमा अनुपम छ।