कोरियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उनको सम्भावित उत्तराधिकारीको रूपमा स्थान बलियो बनाउने कदमका रूपमा विश्लेषकहरूले हेरेका छन् । नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ संकेत दिएको बताइएको छ ।
करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन प्यालेस अफ द सनमा आफ्ना आमा–बुबासँगै उपस्थित भई गहिरो सम्मान प्रकट गरेका थिए । यही दरबारमा उनका दिवङ्गत जिजुहजुरबुबा किम जोङ इल र हजुरबुबा किम इल सुङको शव संरक्षण गरी राखिएको छ । शुक्रबार सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम जु ए अगाडिको पंक्तिमा उभिएर श्रद्धापूर्वक नमन गरिरहेका छन् ।
दक्षिण कोरियाको निजी सेजोङ संस्थानका उपप्रमुख चेओङ सेओङ–चाङका अनुसार कुमसुसन दरबारलाई उत्तर कोरियाली शासनको वैधताको प्रतीक मानिन्छ । उनका अनुसार वर्कर्स पार्टीको आगामी काङ्ग्रेसको सन्दर्भमा किम जु एलाई त्यहाँ उपस्थित गराइनु राजनीतिक रूपमा योजनाबद्ध कदम हो, जसले उनलाई भावी उत्तराधिकारीका रूपमा प्रस्तुत गर्ने उद्देश्य बोकेको हुनसक्छ । ४१ वर्षीय किम जोङ उन सन् १९४८ मा उत्तर कोरियाको स्थापना भएयता शासन गर्दै आएको किम परिवारको तेस्रो पुस्ता हुन् । उनले प्रायः प्रमुख राज्य वार्षिकोत्सवका अवसरमा कुमसुसन दरबारमा पुगेर आफ्ना पिता र हजुरबुबाप्रति श्रद्धा अर्पण गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।
चेओङ सेओङ–चाङले किम जोङ उनले आगामी वर्कर्स पार्टी काङ्ग्रेसमा आफ्नी छोरीलाई पार्टीको पहिलो सचिवजस्तो महत्त्वपूर्ण पद दिन सक्ने सम्भावना औँल्याएका छन् । तर अन्य केही विज्ञहरूको मतमा किम जु ए यति उच्च–प्रोफाइल जिम्मेवारी सम्हाल्न अझै कम उमेरकी छन्, त्यसैले उनलाई तल्लो तहको पदबाट राजनीतिक अभ्यास सुरु गराउन सकिने अनुमान गरिएको छ । पाँच वर्षपछि हुन लागेको यो काङ्ग्रेसको उद्देश्य राज्यका नीतिगत प्राथमिकता पुनःनिर्धारण गर्नु र नेतृत्व तहमा फेरबदल गर्नु हो । उत्तर कोरियाले काङ्ग्रेसको मिति औपचारिक रूपमा सार्वजनिक नगरे पनि दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यो जनवरी वा फेब्रुअरी महिनामा हुनसक्ने सम्भावना छ ।
नोभेम्बर २०२२ मा पहिलो पटक राज्य सञ्चारमाध्यममा देखा परेपछि किम जु ए आफ्ना बुबासँग सैन्य परेड, अन्तरमहादेशीय मिसाइल प्रक्षेपण लगायतका महत्त्वपूर्ण कार्यक्रममा निरन्तर सहभागी हुँदै आएकी छन् । सेप्टेम्बरमा उनी आफ्ना बुबासँगै बेइजिङ भ्रमणमा गएकी थिइन् । यसै साता नयाँ वर्षको उत्सवका क्रममा उनले आफ्ना बुबाको गालामा चुम्बन गर्दै निकट पारिवारिक सम्बन्धसमेत सार्वजनिक रूपमा देखाएकी छन् । जनवरी २०२४ मा दक्षिण कोरियाली गुप्तचर एजेन्सीले किम जु एलाई किम जोङ उनको सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिएको जनाएको थियो । यद्यपि उनको कम उमेर र उत्तर कोरियाको शक्ति संरचना अत्यन्त पुरुष–प्रधान रहेको तथ्यलाई आधार बनाएर केही अन्तर्राष्ट्रिय विज्ञहरूले उक्त मूल्याङ्कनप्रति असहमति जनाउँदै आएका छन् । एजेन्सी
