`

सुत्केरीको हवाई उद्धार

संखुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि संखुवासभाको मकालु गाउँपालिका– ३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ । पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज (सोमबार) बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।

आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । स्वास्थ्यकर्मीले उनको परीक्षणका क्रममा नवजात शिशुको अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकोप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो । थपलियाले भनिन्, ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’ राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको हो । रासस

दोलखामा पहिरोका कारण अलपत्र चार विदेशी पर्यटकको उद्धार

दोलखा । दोलाखाको बिगु गाउँपालिका–१ को लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका चार जना विदेशी पर्यटकको आज उद्धार गरिएको छ । ध्यान तथा भ्रमणमा गएका रुसका दुई र स्वीजरल्याण्डका दुई जना पर्यटकको उद्धार गरिएको हो । चार जना पर्यटक असोज २१ गते लप्ची गुम्बाबाट काठमाडौ फर्कने क्रममा दोलखाको लामाबगरको लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका हुन् । आज बिहान सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी संगीता राईले जानकारी दिइन् ।

रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो । सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

इलाममा बालिकासहित थप चार जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत झापा लगिएको छ ।

पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्‍याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजके सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङगाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षितस्थानमा राखिएको छ ।

भैरहवामा अलपत्र ७०० यात्रुलाई चार्टर जहाजमा काठमाडौँ ल्याइँदै

काठमाडौं । भैरहवा विमानस्थलमा दुई दिनदेखि अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायु सेवा निगमको ठूलो जहाज पठाइने भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले चार्टर गरी ठूला जहाज पठाउन लागेको हो । मौसमका कारण हिजो दिनभर आन्तरिक उडान अवरुद्ध भएका थिए ।

टिकट काटिसकेर पनि काठमाडौँ आउन नसकेका यात्रुहरूलाई उद्धार गर्न प्रधानमन्त्री कार्कीले मुख्य सचिव एकनारायण अर्याललाई निर्देशन दिएकी थिइन् । मुख्य सचिव अर्यालले निगमसँग समन्वय गरी उडानको तालिका बनाउन लगाएका छन् ।

‘सबै यात्रुको उद्धार हुने गरी व्यवस्थापन मिलाउन प्रधानमन्त्री ज्यूले निर्देशन दिनु भएको छ,’ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले भने, ‘आज साँझ एउटा उडान हुन्छ । भोलि बिहान अर्को उडान हुन्छ ।’