`

६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो महिनाहरुमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ महिनामा ७ ओटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । विभागकाअनुसार गत पुसमा मात्र ३६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यी उद्योगहरुबाट २० हजार १२२ रोजगारी सिर्जना हुने आँकलन गरिएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो महिनाहरुमा उद्योगमा लगानी प्रतिवद्धता बढेको तथ्यले बताउँछ । विभागको तथ्यांकअनुसार साउन महिनामा मात्रै ५९ करोड ७५ लाख ६० हजार प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएकोमा भदौमा ३३ अर्ब ९ करोड २० लाख आएको थियो । त्यस्तै, असोजमा २ अर्ब ४ करोड ५७ लाख वैदेशिक लगानी प्रतिवद्धता आउँदा कात्तिकमा मात्रै १ अर्ब ५४ करोड ३९ लाख प्राप्त भएको थियो भने मंसिरमा मात्रै १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो ।

सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता
चालु आर्थिक वर्षको ६ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । गत साउनदेखि पुस महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांकअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ६ महिनामा १ हजार २२९ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा २ हजार १ सय १७ सय जनाले यस्तो भिसा माग गरेका थिए। यस्तै, ६ महिनामा १ सय ७९ जनाले बिजनेस भिसा मागेका छन् । अघिल्लो वर्ष यही अवधिमा २ सय १ जनाले प्रतिनिधिले भिसा लिएका थिए ।

 

 

 

 

तीन महिनामै ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्ला वर्षहरुमा वैदेशिक लगानी बढेर गएको छ । उद्योग विभागकाअनुसार पछिल्लो तीन महिनामा मात्रै ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ भने गत असोजमा मात्र ७५ वटा साना उद्योगमा २ अर्ब चार करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत गरिसकेको छ । गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

पछिल्ला वर्षमा आएको वैदेशिक लगानीको प्राप्ति हेर्ने हो भने गत आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक लगानी आप्रवाह ४१.८ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष १५ अर्ब २ करोड पुगेको थियो । त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी मुलुकमा भित्रिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा उद्योग विभागबाट स्वीकृत कुल विदेशी लगानी ७४ अर्ब ९७ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । २०८२ असारसम्ममा ६ खर्ब ५१ अर्ब ४५ करोड बराबरको कुल विदेशी लगानी उद्योग विभागबाट स्वीकृत भएको थियो । –न्युज एजेन्सी नेपाल