`

एआईले समाचारको मूल्य र मान्यता मारिरहेको छ : सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मारिरहेको बताएकी छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उनको भनाइ छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने हो भन्ने अनिश्चितता बढाएको उनले बताइन् । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनको भनाइ छ ।

पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् । उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’ पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको उल्लेख गर्दै सचिव अर्यालले सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे

ललितपुर । सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको बताएका छन् ।

डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलनमा उनले संसद् तथा समितिमा हुने गतिविधिका साथै सदस्यहरुका अभिव्यक्तिलाई ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, विधेयकसँग सम्बन्धित ‘डेटा’ शीघ्र पत्ता लगाउने तथा विश्लेषण गर्ने भएकाले एआई उपयोगी हुने बताए ।

सभामुख घिमिरेले गलत सूचना, ‘ह्याकिङ’ र डेटा सुरक्षाको चुनौतीलाई दृष्टिगत गरी कृत्रिम बौद्धिकताको प्रयोग र नियमन गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी भइरहेको जानकारी दिए ।

“प्राविधिक र व्यावहारिक रूपले जटिल यस्ता विषयमा कानुन निर्माणमा संसद् वा सरकारको क्षमताले मात्र नपुग्न सक्छ, यसमा विषयगत विज्ञहरू, सरोकार भएकाहरूको पहलकदमी र सक्रिय सहभागिता जरूरी छ”, उनले गत साउनमा सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति स्वीकृत गरेको स्मरण गर्दै भने ।