भारत, गुरुग्राम। प्रसिद्ध भारतीय युट्युबर, बिग बोस (Bigg Boss OTT – Season 2)का विजेता तथा अभिनेता एल्विश यादवको घरमा शनिबार बिहान करिब ५:३० देखि ६ बजेबीच गोली चलेको छ। मोटरसाइकलमा आएका तीन अज्ञात हमलावरहरूले गुरुग्रामको सेक्टर-५७ स्थित उनको घर बाहिर झण्डै २५ राउन्डभन्दा बढी गोली प्रहार गरेपछि घटनास्थलबाट भागेका थिए। घटनाको समयमा एल्विश घरमा थिएनन्, तर उनका बुबा-आमासहित परिवारका अन्य सदस्य घरमा थिए, जो अहिले त्रासमा छन्।
“जतिखेर हमला भयो त्यस बखत गहिरो निन्द्रामा थियो परिवार”
एल्विश यादवका बुबाले भारतीय मिडियाहरुलाई दिएको बयानका क्रममा उनले भने, “एल्विश घरमा थिएन, त्यतिखेर हामी परिवारका सबै सदस्य त्यतिबेला सुतिरहेका थियौं। अकस्मात् बदमाशहरु हाम्रो घर बाहिर आएर कैंयन राउण्ड फायरिङ गरेर भागे। हामीले प्रहरीलाई खबर गर्यौं, त्यसपछि प्रहरी आयो र आवश्यक छानबिन गर्यो।”
परिवारका सदस्यहरुका अनुसार, यस घटनाअघि परिवारलाई वा एल्विशलाई कुनै प्रकारको धम्की आएको थिएन। प्राप्त सीसीटीभी फुटेजमा घरको गेटबाहिर दुईजना उभिएको देखिन्छ।
विवादले चर्चामा आएका एल्विश यादव
एल्विश यादव युट्युब भ्लग्स र रोस्ट भिडियोका कारण एक चर्चित नाम हुन्। सामाजिक सञ्जालमा उनको बलियो फ्यान फलोइङ छ। तर उनी यसअघि पनि धेरै विवादका कारण बारम्बार चर्चामा आइरहन्छन।
उनीमाथि ‘रेव पार्टी’ र ‘सर्पको विष’ स्मग्लिङ काण्डमा संलग्न भएको आरोप लागिसकेको छ। त्यस्तै, अभिनेत्री चुम दाराङमाथि आपत्तिजनक टिप्पणी गरेको, राजस्थान प्रहरीले गरेको कारबाहीबारे गलत दाबी गरेको, विभिन्न पटक हातपात, अभद्र व्यवहार र धम्की दिएको जस्ता घटनामा पनि उनको नाम जोडिँदै आएको छ। सर्प विष मामिलामा गायक राहुल फाजिलपुरियाको नाम पनि जोडिएको थियो।
उनी हाल एक वेब सिरिजको छायाङ्कनमा व्यस्त छन्। केही समयअघि उनी ‘लाफ्टर शेफ’ कार्यक्रममा समेत देखिएका थिए।
गुरुग्राममा लगातार निशानामा चर्चित अनुहार
अब एल्विश यादवको घरबाहिर २५ राउन्डभन्दा बढी गोली चलेको घटनाले यसलाई कुनै ‘मेसेज’ दिने प्रयासको रूपमा लिइएको छ। प्रहरीको अनुमानमा, यस्ता घटनाहरू प्रायः पैसा असुल्न वा दबाब सिर्जना गर्न ग्याङ्गस्टरहरूले गराउने गर्छन्। हाल घटनाबारे स्थानीय प्रशासनले विस्तृत अनुसन्धानका लागि आवश्यक आसपासका सीसीटीभी फुटेजहरु खोज्ने काम गरिरहेको छ।