`

माघ लागेपछि सुन्तला टिप्दै किसान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् ।दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन् । यसअघि मंसिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । यसपालि प्रतिक्रेट रु दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको स्थानीय विकास श्रेष्ठले बताए ।

‘किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था हटाउन सबै मिलेर मूल्य निर्धारण गरेका हौं,’ उनले भने, ‘अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट तीन हजार २०० सम्म मूल्य तिर्न तयार छन् ।’ बयालिस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट एक करोड ६० लाख भित्रिएको थियो । यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताए ।

पोखरा र काठमाडौँका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्लेका सबै घरले सुन्तलाखेती गरेका छन्। गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । ‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्न पनि कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ,’ उनले भने, ‘सुन्तलाबाटै गाउँलेको जीवनस्तर बदलिएको छ ।’

पाइजाका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तलाखेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेती विस्तार गर्दै लगेका छन् ।
परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटले फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक रु तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ । दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ। गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेका स्थानीय मायादेवी गर्बुजाले बताए । रासस

समयमै धानको समर्थन मूल्य नतोक्दा मर्कामा किसान

कैलाली । टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बसेका छन् । चाडपर्वका समयमा घरायसी आर्थिक जोहो गर्न केही धान प्रति क्विन्टल दुई हजार ५०० मा बिक्री गरेका उनले बाँकी धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्नका लागि खाद्यलाई पर्खेर बसेका हुन् । ‘घर खर्चका लागि सस्तोमा पनि धान बिक्री नगरी नहुने भएपछि १० क्विन्टल धान झण्डै एक हजार सस्तोमा बिक्री गर्नुपर्‍यो ।’ उनी भन्छन्, ‘खाद्यले समयमा किसानको धान खरिद गरेको भए मैले १० हजार घाटा खाएर धान बिक्री गर्नुपर्ने थिएन ।’

यो पीडा बन्धुरामको मात्रै होइन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा धान खरिद नगर्दा अधिकांश किसान मर्कामा परेका छन् । घरको आर्थिक जोहो गर्न र उत्पादन भएको धान राख्ने ठाउँ नहुँदा किसान सस्तोमा धान बिक्री गर्न बाध्य छन् । अझै चाडपर्वको समयमा बढी खर्च चाहिने हुँदा किसानले बर्सेनि त्यसको जोहो धान बेचेरै गर्ने गरेका छन् । ‘३०-४० क्विन्टल धान हुन्छ, त्यो व्यवस्थापन गर्ने ठाउँ हुँदैन । बाध्यताले पनि सस्तोमा बिक्री गर्नैपर्‍यो ।’ भजनी नगरपालिका–३ का श्रवण थारु भन्छन्, ‘हरेक अभावका बाबजुद उत्पादन भएको धान किसानले आफ्नो लागत नउठ्दा पनि बिक्री गर्नुपरिरहेको छ ।’

भजनीकै अर्का किसान जयप्रसाद ढुङ्गानाले सरकारले किसानको पीडा कहिल्यै नबुझेको गुनासो गरे । उनले चैते धान बिक्री गर्दा होस् वा बर्खे धान बिक्री गर्दा होस् सरकारले आफै तोकेको समर्थन मूल्यमा समयमा धान खरिद गर्न नसकेको बताए । ‘यो देशमा आन्दोलन नगरी अधिकार पाइँदैन । तर किसानले प्रायः आन्दोलन गर्न जानेका हुँदैनन् ।’ उनी भन्छन्, ‘त्यसैले पनि होला किसानको समस्या न खेती लगाउँदा सम्बोधन हुन्छ, न उत्पादन भएको वस्तु बिक्री गर्दा ।’ किसानका समस्या जबसम्म राज्यले सम्बोधन गर्दैन तबसम्म किसान आत्मनिर्भर बन्न नसक्ने उनको बुझाइ छ ।

कैयौँं किसानले खाद्य संस्थानको पर्खाइमा धान नै भित्र्याएका छैनन् । खेतमै धान थुपारेर केही किसानले खाद्यको बाटो कुरिरहेका छन् । ‘आजसम्म खाद्यले समयमा किसानको धान खरिद गरेको कुनै वर्ष छैन । यसवर्ष पनि त्यहीँ हो ।’ किसान जितबहादुर चौधरी भन्छन्, ‘अब मैले अझै खाद्यको बाटो हेरेर धान भित्र्याएको छैन । अझै धान खरिद गर्ने सम्भावना देखिएको छैन । अब सस्तोमै भए पनि बिक्री गर्नुपर्छ ।’ उनले किसानले उत्पादन भएको वस्तुको बजार मूल्य कहिल्यै नपाएको गुनासो गरे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा चासो नदिएपछि किसानहरुको चौतर्फी विरोध हुँदा स्थानीय प्रशासनसहित सरोकारवालाले यथाशीघ्र किसानको धान खरिद गर्न आग्रह गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतका सरोकारवालाको छलफलले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा बढाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारी स्वामित्वको खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएको छ । खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् । खाद्यले कैलालीको टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढीको मोहनपुर गरी ६ ठाउँमा डिपो राखेर धान खरिद गर्ने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले खरिद केन्द्रमा धान खरिदको तयारी भइरहेको बताए । केन्द्रबाट धान खरिदको परिपत्र नआएको जानकारी दिए । केन्द्रले कोटा निर्धारणसहितको परिपत्र पठाएलगत्तै खरिद सुरु गरिने उनको भनाइ छ । उनका अनुसार कति मात्रामा धान खरिद गर्ने भनेर केन्द्रले कोटा निर्धारण गर्ने गरेको छ । सरकारले यसवर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार चार सय ६३।८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६ सय २८।३३ रुपैयाँ तोकेको छ । रासस

कागतीबाट ‘काइदा’ को कमाइ

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागती खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । घिमिरेले कागती बिक्रीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुने बताए । अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन् । ‘व्यावसायिक रूपमा कागती खेतीमा लागेका छ’, उनले भने, ‘अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु साना बिरुवा पनि विस्तार गरेको छु । ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ ।’

छ वर्षअघिबाट फलफूल खेती सुरु गरेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गरेका छन् । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बाली खेतीमा जोड दिएको उनको भनाइ छ । ‘एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु’, उनले भने, ‘कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु ।’

फलफूल खेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ ।

‘पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ’, अध्यक्ष राईले भने, ‘यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन् । गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ ।’ गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दीगो रूपमा आम्दानी लिनसक्ने भएकाले आवश्यक सहयोग गर्दै आएको बताएकी छन् । किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ । ‘वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूल खेतीमा प्रोत्साहन दिइरहेका छौँ’, उनले भनिन् । रासस

 

 

 

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला । खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएको छ । देशभर तिहार पर्वको रौनकका बीच जुम्लाका किसान भने एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाईले बताए ।

यहाँका अधिकांश किसान दसैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रुपमा रहेको मार्सीधानखेती गर्ने आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डरका आधारमा जिल्लाका किसानहरु धान भित्र्याउन फाँटहरूमा व्यस्त छन् । किसानलाई मौसमले साथ दिएको छ ।

धान चैतमा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन् ।

कृषि कार्यालयका अनुसार आव २०८०÷८१ मा जुम्लामा तीन हजार मेट्रिक टन मार्सी धान उत्पादन भएकामा २५० मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल घट्दै गएको कार्यालयले जनाएको छ ।

गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–एक र चन्दननाथ–तीन का साथै लेकाली–एक र लेकाली– तीन जातको धान रोप्ने गरेका छन् ।

जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ । अहिले मार्सी चामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ । विशेष गरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लिन गरेको सदरमुकामस्थित रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।