`

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण : सुशासन पहिलो प्राथमिकता

जनकपुर । मधेसका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गरेका छन् । आइतबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

उनले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुने गरी चाँडै नै मन्त्रिमण्डल विस्तार गर्ने बताए । मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए । उनले मधेस प्रदेशमा अब स्थायित्व कायम हुने बताए ।