`

कोशी व्यारेजमा ठूला गाडी चलाउन रोक, विहारमा पस्यो बाढी

सुनसरी । सप्तकोशी नदीमा पानीको सतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । त्यहाँबाट अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवतजावतमा रोक लगाइएको सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले जनाएका छन् ।

साना र मझौला सवारी साधनलाई रोक छैन । आइतबार अपराह्नदेखि फेरि भारी वर्षाको क्रम शुरु भएपछि हेभी गाडीलाई कोशी व्यारेजमा रोक लगाइएको थेवेले बताएका छन् । अहिले सुनसरीसहित कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा वर्षाको क्रम जारी छ । त्यसैले उच्च सतर्कता अपनाइएको एसपी थेवे बताए ।

कोशी व्यारेजका सबै ढोका खुला गरिएपछि भारतको सुपौलको पूरै र अररिया जिल्लाका केही भागमा बाढी पसेको छ । बाढीबाट भीमनगर, वीरपुर, बसमतियासहितका बस्ती उच्च जोखिममा छन् । त्यहाँका बासिन्दा सुरक्षित स्थलतर्फ लागिरहेको वीरपुरका बासिन्दा रक्की सिंहले बताए । कोशी व्यारेको निरीक्षण गर्न अहिले प्रदेश सरकारका मन्त्री रेवती भण्डारीसहितको टोली त्यहाँ पुगेको छ ।