`

आँखामा ‘आइ लेन्स’ र तासमा चिप जडान गरेर क्यासिनोमा ठगी, सात जना पक्राउ

काठमाडौं । क्यासिनोमा अत्याधुनिक प्रविधि प्रयोग गरी ठगी गर्ने गिरोहलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । आँखामा विशेष ‘आइ लेन्स’ लगाएर खेलको नतिजा पहिल्यै थाहा पाउने र तासमा चिप जडान गरी क्यासिनो खेलमा हेरफेर गर्ने गतिविधिमा संलग्न ७ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरूलाई काठमाडौं महानगरपालिका–२६ स्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् । उनीहरूमध्ये केही भारतीय नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार भारतबाट संगठित रूपमा आएको गिरोहले ‘क्यासिनो इभेन्ट’ आयोजना गर्ने बहानामा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले प्रविधिको दुरुपयोग गर्दै क्यासिनो खेलमा अनियमितता सिर्जना गरी ठूलो रकम हिनामिना गर्ने योजना बनाएको पाइएको छ ।

एसएसपी थापाले भने, ‘आँखामा विशेष प्रकारको लेन्स प्रयोग गरेर कार्डको स्थिति थाहा पाउने, तासमा इलेक्ट्रोनिक चिप जडान गर्ने जस्ता गतिविधि अत्यन्तै योजनाबद्ध र संगठित देखिन्छन् । यसले क्यासिनो क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।’ प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान जारी राखेको जनाएको छ । साथै, घटनामा अन्य व्यक्ति वा अन्तर्राष्ट्रिय सञ्जाल संलग्न भए–नभएकोबारे पनि खोजी भइरहेको छ । प्रहरीका अनुसार क्यासिनो सञ्चालनमा संलग्न व्यवसायीहरूलाई पनि सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र यस्ता प्रविधिगत ठगीप्रति सतर्क रहन आग्रह गरिएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी