`

वर्तमान संकट समाधानबारे खग्रेन्द्र संग्रौलासहितका २० लेखकको यस्ता छन् सुझाव

काठमाडौँ । लेखक खग्रेन्द्र संग्रौलासहितका २० लेखकले अहिलेको परिस्थितिमा हुने सहमतिलाई संसदमार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु पर्ने सुझाव दिएका छन् ।

‘हामी राष्ट्रपति, आन्दोलनकारी जेनजी समूह, राजनीतिक दलका साथै नागरिक समाज र बौद्धिक समुदायलाई स्मरण गराउन चाहन्छौं कि सार्वभौम संसद जीवित छ,’ बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दैै भनेका छन्, ‘साथै, अहिलेको असाधारण र विशिष्ट परिस्थितिमा हुने सहमतिलाई संसदमार्फत अनुमोदन गराएर ताजा जनादेशका लागि जनतामा जानु नै सबैभन्दा उपयुक्त, लोकतान्त्रिक, संवैधानिक बाटो हो भन्ने कुरा पनि हामी स्मरण गराउन चाहन्छौं ।’

यद्यपि, दलहरुले आफूलाई सुधार गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । ‘तर संसदमा प्रतिनिधित्व गर्ने दलहरूको असफल नेतृत्व परिवर्तन गरी आफूलाई सुधार, पुनर्संरचना र रूपान्तरण गर्नु अपरिहार्य भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौं,’ उनीहरूको भनाइ छ । अहिले राजनीतिक रिक्तताको अवस्था रहेको भन्दै संविधानका संरक्षक समेत रहेका राष्ट्रपतिले पहल लिनुपर्नेमा जोड दिएका छन् ।

‘अहिले, प्रधानमन्त्रीले राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नियुक्त नभएको कारण देश सरकारविहीन र राजनीतिक रिक्तताको घडीबाट गुज्रिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अब विलम्ब नगरी नेपालको संविधानका पालक र संरक्षक समेत रहनु भएका सम्माननीय राष्ट्रपतिले अहिलेको संकट र रिक्ततापूर्ण अवस्थालाई निष्कर्षतिर लैजाने पहल र नेतृत्व गर्न आवश्यक भएको छ ।’

आन्दोलनकारी जेनजी समूहका साथै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग समेत संवाद गर्नुपर्ने र त्यस्तो संवाद जङ्गी अड्डामा नभइ राष्ट्रपतिको कार्यालयमा गर्नुपर्नेमा उनीहरूको जोड छ ।

हेर्नुस् २० लेखकको संयुक्त अपिल