`

एक खेल अगावै सुपर सिक्स पुगेका नेपाल र जापान भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इष्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपाल र जापान भिड्दै छन् । एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’ मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उप–विजेताको टुंगो लाग्नेछ।

बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन् ।
नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’ मा अतिरिक्त अंक लिएर जानेछ । त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । यस्तै विश्वकप छनोटका तीन खेल आजै हुँदैछ। आइसीसी पुरुष टी–२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन् । आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४ः१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८ः४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्ने छन् ।

मलेसियाविरुद्धको चौ‌थो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् । मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् । नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

फिफा विश्वकप छनोट : बुल्गेरियामाथि स्पेनको सहज जीत

काठमाडौं । विश्वकप छनोटको अर्को खेलमा स्पेनले बुल्गेरियामाथि तीन–शून्य गोलको सहज जीत हात पारेको छ । गए राति भएको खेलमा भ्रमणकारी टिम स्पेनले सुरुवाती पाँच मिनेटमा नै अग्रता लिएको थियो ।

मिकेल ओयासाबलले, लमिन यामल, पेड्री हुदै मार्टिन जुबीमेन्डीबाट आएको बललाई गोलमा परिणत गरेका हुन् । उनको पछिल्लो छैटौं अन्तर्राष्ट्रिय खेलमा यो पाँचौ गोल हो । ३० औं मिनेटमा मार्क कुकुरेयाले अग्रता दोब्बर बनाए ।

कुकुरेयाले स्पेनका लागि पहिलो पटक गोल गरेका हुन् । ३८ औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि स्पेन, बुल्गेरिय विरुद्ध पहिलो हाफमा नै तीन–शून्यले अघि रहेको थियो ।

पुरै खेल अवधिभर दबाब बनाएको स्पेनसँग ब्रेकपछि पनि बुल्गेयिाले पुनरागमन गर्न सकेन । स्पेनले भने थप गोलको अवसर गुमाएको थियो । समूह–इ मा रहेको स्पेनको तीन अंक भएको छ ।

यसै समूहमा रहेको टर्कियले जर्जियालाई तीन–दुई गोलले पराजित गरेको छ । समूह जीमा रहेका नेदरल्यान्डस र पोल्यान्डले भने एक–एक गोलको बराबरी खेलेका छन् । घरेलु टिम नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन ।

२८ औं मिनेटमा डेन्जल डम्फ्रिजले डच टिमका लागि गोल गरेका थिए । रोवर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डका लागि बराबरी गोल भने डिफेन्डरले फर्काए । ८० औं मिनेटमा माटी क्यासले गोल गरेपछि पोल्यान्ड हारबाट जोगिएको हो । गत मार्च यता लेवान्डोस्कीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।