`

पोखरामा तार भूमिगतको काममा ६० प्रतिशत सकियो

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो ।

आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीले पछिल्लो पटक थपिएको ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाएको बताए । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु भएको थियो । त्यसयता ठेक्काको म्याद दुई पटक थप भइसकेको इञ्जिनियर सुवेदीले बताए । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो ।

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने जनाइएको छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इञ्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकदेखि सभागृह र जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ ।

आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गालगायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ ।

‘लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको छ, लेकसाइडको भित्री क्षेत्रमा पनि काम सुरु भएको छ’, इञ्जिनियर सुवेदीले भने, ‘न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी छ ।’ यसअघि विभिन्न कारण देखाउँदै काममा ढिलासुस्ती गरेको निर्माण कम्पनीले तिहारपछि कामलाई गति दिएको उनको भनाइ छ । आयोजनाको इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापर्वाहीका कारण आयोजनाको गति सुस्त हुँदै आएको थियो ।

पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इञ्जिनियर सुवेदीले बताए । पर्यटकीय सहर पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।

जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गरिरहेको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इञ्जिनियर सुवेदीले बताए। तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने हुँदा ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणले काठमाडौँ, पोखरा, भरतपुरजस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ ।
रासस

 

 

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको आज निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयको निरीक्षण गर्दै क्षतिको विवरणबारे चासो राखेका थिए । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले कार्यालयबाट हाल भइरहेका सेवा प्रवाहका बारेमा जानकारी लिएका छन् । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका विभिन्न कक्ष, प्रमुख जिल्ला अधिकारीको निवास, अदालतका इजलास, विभिन्न कक्षहरुको निरीक्षण गरेका छन् ।

उनले आन्दोलनबाट गण्डकी प्रदेशका धेरै जिल्लामा क्षति पुगेको बताउँदै वैकल्पिक व्यवस्थाका माध्यमबाट जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गरे । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाल कार्यालयबाट नयाँ नागरिकता र प्रतिलिपिको काम सुरु गरिसकेको जानकारी दिए ।

आगजनी र तोडफोडबाट प्रशासन कार्यालयको भवन पुनः प्रयोग गर्न असुरक्षित रहेकाले अन्य कार्यालयमा व्यवस्थापन गरेर कार्यालयको सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘हामीले केही कार्यालय हेरेर प्रशासन कार्यालय स्थानान्तरण गर्ने विषयमा पनि हे¥यौ, हालको कृषि ज्ञान केन्द्र अन्यभन्दा उपयुक्त देखिएको छ ।’ निरीक्षणका क्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलगायत उपस्थित थिए ।

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा भएको आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।आगजनीको आरोपमा रुपन्देही घर भई हाल पोखरामा बसोबास गर्दै आएका २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा मुख्यमन्त्री निवासमा आगजनी भएको थियो । त्यसपछि असोज १२ गते पुनः दोस्रो पटक आगजनी भएको घटनामा थापा संलग्न रहेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको छ ।

थापाले राष्ट्र बैंकको कम्पाउण्ड सडक छेउमा रहेको एनआइएमबी बैंकको एटिएम मेशिन ढुङ्गाले प्रहार गरी तोडफोड समेत गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।