`

बर्दिया घटना छानबिन गर्न बन्यो समिति

काठमाडौं । बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएपछि आत्महत्याको बाटो रोजेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ । गृह मन्त्रायलले घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई हिजो प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गर्न निर्देशन दिएकी थिइन् । आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन समिति बनाइएको हो । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ ।