`

ग्लोबल आइएमई बैंकलाई दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनद्वारा प्रदान गरिएको प्रतिष्ठित ‘बेस्ट बैंक अवार्ड २०२५’ बाट दोस्रो पटक सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक साझेदारी, व्यावसायिक र ग्राहकमैत्री सेवा विकास, तथा क्रेडिट रेटिङका मापदण्डमा उत्कृष्ट ठहरिँदै ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि नेपालकै उत्कृष्ट बैंकका रूपमा चयन भएको हो । यसअघि पनि बैंकले सन् २०२४ मा यही अवार्ड प्राप्त गरेको थियो ।

अध्यक्ष ढकालले यस सम्मानले बैंकलाई अझ नवप्रवर्तनशील र उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गर्ने बताए । उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी, कर्मचारी, ग्राहक र साझेदारहरूलाई आभार व्यक्त गर्दै भने, ‘यो अवार्ड हाम्रो सबैको सामूहिक प्रयासको परिणाम हो ।’
ग्लोबल फाइनान्स म्यागाजिनले यस वर्ष अफ्रिका, एसिया–प्यासिफिक, ल्याटिन अमेरिका, मध्यपूर्व, र युरोपका उत्कृष्ट बैंकहरूलाई समेत सम्मान गरेको छ । सो सूचीमा हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, जापानको एसएमबीसी, मलेशियाको यूओबी, बंगलादेशको सिटी बैंक र नेपालको ग्लोबल आइएमई बैंक पनि समावेश छन् ।

ग्लोबल आइएमई बैंक यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। यसअघि पनि बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४, २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, र बेस्ट इम्प्लोयर अवार्ड जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेको छ ।

वर्तमानमा बैंकले देशका ७७ वटै जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले विश्वका विभिन्न देशहरू–अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, कतार, साउदी अरब, मलेशिया, यूएई लगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।