`

चट्याङ लागेर महिलाको मृत्यु

झापा । झापामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

आज बिहान ११ बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी खेतमा बाख्रा लिन गएका बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङ लागेर बालिकाको मृत्यु, बुबा–आमासहित पाँच जना घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बुबा–आमासहित अन्य पाँच जना घाइते भएका छन् । चट्याङ लागेर तीन वटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।

मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ पर्दा स्थानीय नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको मृत्यु भएको हो । आफ्नै घरमा बुवा–आमासँग सुतिरहेको बेला परेको चट्याङ लाग्दा बालिकाको मृत्यु भएको हो ।

चट्याङ लागेर बालिकाका बुवा २३ वर्षीया नेरसिंह र आमा २२ वर्षीया सुन्तली घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पति–पत्नीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल प्यूठान लगिएको छ ।

त्यस्तै गुल्मीकै इस्मा गाउँपालिका–४ दोहोलीमा पनि हिजो परेको चट्याङले लागेर तीन जना घाइते भएका छन् । इस्मा ४ की ४६ वर्षीया निर्मला खत्री, इस्मा–५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका–७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी चट्याङ लागेर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ लाग्दा घाइते भएका हुन् । घाइते सबैको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । यसैबीच चट्याङ लागेर गुल्मीको मालिका गाउँपालिका–४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरु समेत मरेका छन् ।

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।

सूचना अधिकारी पासवानले भने, ‘अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ ।’ प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

चट्याङ लागेर युवकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौँडा–१६ सानो आकाशधारा घर भई हाल बाराको निजगढ नगरपालिका–१३ बस्दै आएका बुद्धबहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो । स्थानीय धनबहादुर स्याङ्तानले किराना पसलअगाडि अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।