`

अर्थमन्त्री खनालले गरे ध्वस्त सीजी डिजिटल पार्क अवलोकन

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन् ।

आन्दोलनकारीले गरेको आगजनीका कारण खरानीमा परिणत भएको यस संरचना चौधरी ग्रुपको प्रमुख औद्योगिक एकाइमध्ये एक हो । मन्त्री खनालले शनिबार क्षतिग्रस्त संरचना अवलोकन गर्दै आन्दोलनका कारण अर्बौँ रुपैयाँ बराबरको क्षति व्यहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘निजी क्षेत्रको सक्रियता र लगानी विना यो सम्भव छैन । सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार छ ।’

जेन–जेड आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासहरूमा व्यापक तोडफोड तथा आगजनी भएको थियो । सतुंगलस्थित यो पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिएको थियो । साथै, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरणहरू पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए ।

आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भएता पनि सीजी र एलजीका विद्युतीय सामग्री आपूर्ति शृंखलामा अवरुद्ध हुन नदिने चौधरी ग्रुपले जनाएको छ । मन्त्री खनालको भ्रमणलाई निजी क्षेत्रको मनोबल उच्च राख्ने प्रयासका रूपमा लिइएको छ ।