`

छठका लागि बेहुली झै सिंगारियो वीरगञ्जको घडिअर्वा पोखरी (तस्बिरहरु)

वीरगन्ज । वीरगन्जको घडिअर्वा पोखरी छठका लागि बेहुली झै सिंगारिएको छ । छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ति जडान गरी सिंगारिएको हो ।

वीरगन्जको घडिअर्वा पोखरी लगायत विभिन्न छठ घाटलाई सजाइएको छ । पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिकको पहिचानका रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठ मनाउन कामपाले तोक्यो आठ स्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका छन् ।

पाण्डेका अनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडी, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ । यी ठाउँहरूमा महानगरले सरसफाईको कार्य थालनी गरेको पाण्डले जानकारी दिए ।
उनकाअनुसार ३ सय भन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन् ।

काठमाडौँ महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रूपमा तयारी गरिएको उनले जानकारी दिए । उनले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताए । उनले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गरे। पाण्डेले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गरे । यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ । छठ पर्व नदी किनारामा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ ।