काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीले सडकमा गुडिरहेका सवारीसाधनमाथि आक्रमण गरेपछि केही गाडीमा क्षति पुग्दा राजमार्गमा आवागमन समेत केही घण्टासम्म अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर खेम नेपालका अनुसार मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी करिब ४० वर्षीय राजकुमार चौधरी छन् । चौधरी ना४ख १८३० नम्बरको ट्रक चालक थिए । सोमबार बिहान करिब ८ बजे जंगली हात्तीले ट्रकमाथि आक्रमण गर्दा चौधरी ट्रकबाट हाम्फालेर भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घटनास्थलमै ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार आइतबार बेलुकादेखि नै सो क्षेत्रमा दुई वटा जंगली हात्ती देखिएर आतंक मच्चाइरहेका थिए । हात्ती सडकमा गुडिरहेका सवारीसाधनमाथि आक्रमण गर्दै जंगलको बाटो हुँदै राजमार्गमा पुगेपछि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीहरू त्रसित बनेका थिए । प्रशासनले बेलुकादेखि नै वैकल्पिक बाटो प्रयोग गर्न चालकहरूलाई आग्रह गरे पनि केही सवारीसाधनले अटेर गरेपछि दुर्भाग्यपूर्ण घटना भएको प्रहरीले जनाएको छ ।
आक्रमणका कारण सडकका केही सवारीसाधनमा क्षति पुगेको र बिहानको समयमा पथलैया–निजगढ सडक खण्डमा आवागमन पूर्णरूपमा रोकिएको थियो । पछि सुरक्षाकर्मी र वनकर्मी परिचालन गरी हात्ती धपाउने प्रयास गरिएको थियो । बारा र चितवन दुवै क्षेत्रबाट हात्ती सहितको वन टोली परिचालन भएपछि करिब १२ः३० बजे राजमार्गमा पुनः सवारी आवागमन खुला गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार पछिल्ला दिनमा पथलैया–निजगढ सडकखण्डमा बारम्बार जंगली हात्ती देखा परिरहेका छन्, जसले यात्रु र चालकहरूमा त्रास फैलाएको छ । वन क्षेत्र छेउ हुँदै राजमार्ग बनेका कारण हात्ती सडकमा निस्कने घटना बढ्दै गएको भन्दै स्थानीयले स्थायी समाधानको माग गरेका छन् ।
